गुजराती बुवा र नेपाली आमाको छोरा हुँ म

- कृष्ण भट्टराई

पुस ५, २०७३-  

मोडलिङ गर्दा–गर्दै भिडियो जक्की बनेका एसराज गराज पछिल्लो समय नेपाली चलचित्रमा अभिनेताका रूपमा स्थापित भएका छन् । ५ फिट ११ इन्च अग्ला एसराजले प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र ‘स्वर’ बाट अभिनयमा पदार्पण गरेका हुन् । चलचित्र ‘मायाको बारीमा’ मा मुख्य अभिनेताका रूपमा प्रस्तुत भएयता एसराजले पछाडि फर्केर हेर्नु परेको छैन । एसराजले अभिनय गरेका माइ लाइफ, त्यो दश घण्टा, नागबेली आदि चलचित्र प्रदर्शन भैसकेका छन् भने गीति चलचित्र भाग्य, उफ यो मन, सन्त्रास तथा ऐतिहासिक विषयमा आधारित ‘कीर्तिपुर’ एसराजले अभिनय गरेका प्रदर्शन हुन बाँकी चलचित्र हुन् । पछिल्लो चलचित्र कीर्तिपुरमा एसराजले पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेका छन् । फेसन कोरियोग्राफरका रूपमा समेत सक्रिय एसराजले आफ्ना सेक्रेट यसरी सार्वजनिक गरेका छन् । 

 

शाकाहारी
म शुद्ध शाकाहारी हुँ । विगत १५ वर्ष यता मैले मासु खाएको छैन । मैले जीवनभर शाकाहारी हुने दृढ संकल्पसमेत गरिसकेको छु । 

गायन तथा नृत्य
म नृत्यमा पारंगत छु, गीत पनि मीठै गाउँछु । म बाल्यकालदेखि नै नृत्य गर्न अग्रसर हुन्थें । 
चलचित्रमा आइसकेपछि भने गायनमा पनि रुचि बढ्यो । फुर्सदमा तथा साना–ठूला जमघटमा प्राय: गीत गाउँछु । सुरज चन्दको नयाँ चलचित्रको एउटा गीतमा मेरो पाश्र्व गायन छ । 

देब्रे हाते
म लेफ्ट ह्याण्डर हुँ । म आफ्ना अधिकांश काम देब्रे हातले गर्छु । मैले दाहिने हातले गर्ने काम असाध्यै कम छन् । पहिले–पहिले हात मिलाउँदा पनि देब्रे हात नै अघि बढ्थ्यो, अहिले बानी पारेर दाहिने हात बढाउन थालेको छु । 

मोडल/भिजे
चलचित्रमा आउनुअघि म मोडलका रूपमा सक्रिय थिएँ । त्यसबाहेक मैले दुई–तीनवटा टेलिभिजन च्यानलका लागि भिडियो जक्कीका रूपमा समेत काम गरेको छु । पहिलो पटक टेलिभिजनमा काम गर्ने क्रममा मैले १४ महिना जति भोलेन्टियर (पारिश्रमिक बिना) का रूपमा काम गरेको छु । पहिलो गेम शोमा क्यामेराम्यानको ब्याग, त्राइपोड आदि बोकेर उनको पछि–पछि पनि कुदेको छु । 

बुवा–आमा
मेरो थर देखेर साथीहरू अचम्मित हुन्छन् । गराच भन्ने थर नेपालमा त्यति सुनिँदैन । वास्तवमा मेरो बुवा भारतीय (गुजराती) हुनुहुन्छ । उहाँकै थर हो गराच । बुवा भारतीय भए पनि उहाँले नेपालीसँग अन्तजार्तिय विवाह गर्नु भएको हो । मेरी आमाको थर चाहिँ कार्की हो । मेरा बुवाका अनुसार हामी हाम्रो हजुरबुवाको पालादेखि नै नेपाल बसोबास गरिरहेका छौं । 

सुरजबाट एसराज
मेरो वास्तविक नाम सुरज कार्की हो । करियर प्रारम्भ गरेको ६–७ वर्षसम्म पनि खासै प्रगति नभए पछि आमाले एक जना ज्योतिषसँग सल्लाह गरेर मेरो नाम परिवर्तन गर्ने निर्णय गर्नुभयो । मेरो नामको अक्षर अलि लामो भएकाले चार अक्षरको मात्र राख्ने सुझाव आएपछि मैले सुरजबाट एसराज अर्थात् चार अक्षरको नाम राखेको हुँ । 

हिरो बन्ने भाग्य
चलचित्र ‘मायाको बारीमा’ का लागि मुख्य अभिनेताको भूमिका प्राप्त गर्नु आफैंमा संयोगको कुरा थियो । उक्त चलचित्रबाट हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यले अभिनेताका रूपमा पदार्पण गर्ने कुरा थियो तर उहाँको परिवारमा दु:खद घटना घटेपछि उक्त भूमिकाका लागि म लागि छनोट भएँ । 

 

प्रकाशित :पुस ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्