साँफेबगर स्मार्ट सहर

- किशोर नेपाल

पुस ५, २०७३

 

डोटी राम्रो डडेलधुरा

अछाम राम्रो साँफे...

यो लोकगीतमा वर्णन गरिएजस्तै सुदूरपश्चिमको डडेलधुरा र अछामको साँफेबगर सौन्दर्यका दृष्टिले दिव्य छन् । डडेलधुरा निकै प्रसिद्ध छ हाम्रो क्यालेन्डरमा प्राय: छाइरहने जिल्लाका रूपमा, तर साँफे भने फरक छ । यो सहर भर्खर स्मार्ट सिटीका रूपमा अघि बढ्न खोज्दैछ ।

डोटीको बाटो अछाम छिर्दा बूढीगंगाको किनारमा बसेको छ— साँफेबगर बजार । अब यो नगरपालिका भैसकेको छ । नदीकिनारमा बसेको बजार र बस्ती भएकाले साँफेबगर भनिएको हुनुपर्छ यो बस्तीलाई । बस्तीबाट परपर मोटरको बाटो बन्दै र सर्दै जाँदा पहाडका बजारहरू पनि आवश्यकताअनुसार परपर सर्दै जान्छन् । मोटरको बाटोले बजारलाई लखेट्छ, तर स्थायी बजार कहिल्यै सर्दैनन् र कहिल्यै लखेटिँदैनन् । साँफे अछामको स्थायी र निकै सम्पन्न बजार हो । यहाँ थोक सामान खरिद गर्न बाजुरादेखिका व्यापारी आइपुग्छन् । बूढीगंगाको किनारामा रहेको यो सानो तर रमणीय उपत्यका सदरमुकाम मंगलसेनबाट ३९ किलोमिटरको दूरीमा छ । 

साँफे अछामकै प्रसिद्ध पहाडी सहर–बजार भएर पनि जिल्लाका अरू भेगमा जस्तो यहाँ छुवाछूत र छाउको विकृति छैन । गाई–भैंसीको दूधमा पनि छुवाछूतको विकृति छैन । दूधको चिया सबैले खान पाउँछन् ।

पूर्व पाँचथरको फिदिमबाट सुरु भएर पश्चिम बैतडीको पाटनमा टुंगिने १७५६ किलोमिटर लामो मध्यपहाडी राजमार्गका छेउमा निर्माण हुने १० वटा छरिता सहर (स्मार्ट सिटी) मध्ये साँफे एउटा सानो उपत्यका हो । यद्यपि छरितो सहरका रूपमा छानिनुअघि नै यसको प्रसिद्धि फैलिइसकेको छ । समयमा अलिकति अवसर पाएको भए यो अहिले राम्रो सहरका रूपमा विकसित भैसकेको हुन्थ्यो । अहिले नै पनि छरितो र रमाइलो सहरका रूपमा यसको पूरै विस्तारका लागि धेरै समय लाग्ने छैन । साँफेमा रमाइला सहरका चरित्रहरूको विकास भएको पनि निकै समय भैसकेको छ ।

सहर निर्माणका योजनाकारहरूले आफ्नो काम सुरु गरिसकेका छन् । जग्गा अधिग्रहण गर्ने, सडकहरूको रेखांकन गर्ने र सहरका बस्तीहरूको व्यवस्थापन गर्ने मास्टर प्लान तयार गर्ने काम भैरहेको छ । यति ठूलो काम सुरु भएको छ र पनि राजनीतिक तहमा गाउँ, नगर, जिल्ला र केन्द्रीय स्तरमा संरचनात्मक सञ्चार सम्बन्ध छैन । राजनीतिक दलका मानिसहरू आफ्नै अनुकूलका कर्मचारी ल्याउन प्रतिस्पर्धामा लागेका छन् । 

कालुसिंह कुँवर भन्छन्, ‘साँफे जोखिमको ठाउँ हो । यो ठाउँलाई सुरक्षित बनाउन चिबेखोला र बूढीगंगामा तटबन्ध बनाउनुपर्छ । यी दुई नदीले साह्रै दु:ख दिन्छन् साँफेलाई ।’ साँफे त्यत्तिकै चर्चित भएको होइन । कुनै समय यस्तो थियो साँफेमा नियमित विमान सेवा सञ्चालन हुन्थ्यो । काठमाडौं र नेपालगन्ज दुवै ठाउँबाट । त्यतिबेलाको साँफे जगमग थियो । विमान आएको र नआएको दुवै समयमा बजारमा गतिविधिहरू बढ्थे । साँफेको सिकार, ठूलाबडा काजी र हाकिमहरू कालिजको सुप, बँदेलको मासु, हरिण र मृगजस्ता वन्यजन्तुका सुकुटी मन पराउँथे । समय अहिलेको जस्तो थिएन । साँफे वरपरका जंगलमा ती वन्यजन्तु प्रचुर मात्रामा पाइन्थे । यी मासु कोसेलीका रूपमा काठमाडौं पठाउने चलन पनि थियो ।

 

अहिले खुसी छन् यहाँका बासिन्दाहरू । विकासका संरचनाहरू बढ्दैछन् । जग्गाको भाउ निकै उकालो लागिसकेको छ । राजन कुँवर भन्छन्– केही समयपछि जग्गाको भाउ छुनै नसकिने हुन्छ होला । 

‘साँफे विमानस्थलमा जहाज नओर्लिंदा पनि ‘स्मार्ट सिटी’ का लागि यसको प्रतीकात्मक महत्व छ’ शिवबहादुर कुँवर बताउँछन्, ‘हामीले विमानस्थलमा चार पटक महोत्सव मनायौं, तर विमानस्थल सञ्चालनमा ल्याउन सकेनौं । अब स्मार्ट सिटीले हाम्रो यो प्रयास पूरा गरिदिनेछ ।

 

त्यसो त नेपाल वायुसेवा निगमले खटाएका कर्मचारी भागेर नगएका भए विमानस्थल सञ्चालनमा  आइसक्ने थियो । साँफे सहरमा सुविधाहरू बढ्दैछन् । सहरवासीहरू उत्साहपूर्ण स्वरमा भन्छन्, हामी १० स्मार्ट सिटीमा सबैभन्दा टपमा हुनेछौं । होटलको विस्तार हुँदैछ । उद्यमीहरूले साँफेमा थ्रीस्टार होटल निर्माण गर्ने योजना बनाएका छन् । अछामको प्रसिद्ध स्थान रामारोशनलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्न लगानीकर्ताहरू उत्साहित छन् । स्थानीय उत्पादनका लागि बजारको व्यवस्था महत्वपूर्ण हो । बूढीगंगा हाइड्रो प्रोजेक्ट निर्माणको सम्भावना बढ्न थालेको छ ।

प्रकाशित :पुस ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्