राजनैतिक दलजस्तै चलचित्र क्षेत्र

- साप्ताहिक संवाददाता

पुस २, २०७३

 

नेपालका राजनैतिक दलहरू कति बेला टुट्छन्–फुट्छ, टुक्रिन्छन्–जोडिन्छन् थाहै हुँदैन । नामै त राजनीति, टुक्रिने र जोडिने क्रम जारी नै रहन्छ । सयौंको संख्यामा रहेका राजनीतिक दलहरूको टुट्ने र जोडिने क्रमसंग आम नेपाली राम्रोसँग जानकार छन् । प्रमुख राजनीतिक दल भित्र त दुई–चार वटा गुट–उपगुट हुन्छन् भने स–साना राजनीतिक दलको त के कुरा ? 

यतिबेला नेपाली राजनीतिक दलहरूको टुट्ने र जोडिने रोग चलचित्र क्षेत्रमा समेत सर्न थालेको छ । नेपालका राजनैतिक दलहरू जस्तै नेपाली चलचित्र क्षेत्रका संघ–संगठनहरू पनि टुट्ने–फुट्ने, टुक्य्राउने, विभाजन हुने क्रम तीव्र छ । पछिल्लो समयमा नेपाल चलचित्र निर्माता संघ फुटेको छ । नेपाल चलचित्र निर्माता संघमा रकमको हिनामिना भयो भनेर निर्माता तथा अभिनेता नवल खड्काको नेतृत्वमा नयाँ निर्माता संघको औपचारिक घोषना नै भैसकेको वर्तमान अवस्थामा नेपाल चलचित्र निर्माता संघ टुक्रिएको हो भन्दा फरक पर्दैन ।

 

रकम हिनामिना भयो भनेर संघ टुक्रिएको भनिए पनि यसका अन्य विविध कारण हुन सक्छन् । रकम हिनामिना भए पनि संघ नै विभाजन गर्नुपर्ने आवश्यकता थिएन । संघमा रकमको हिनामिना भएको भए पनि त्यसको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ, संघलाई अनुशासित, बलियो, भरपर्दाे एवं सक्रिय बनाउनुपर्नेमा किन टुक््रयाउनै पर्‍यो भनेर पनि चर्चा नचलेको होइन । नेपालमा थुप्रै राजनीतिक दल भएजस्तै नेपाली चलचित्र क्षेत्रमा पनि चलचिसम्बन्धी थुप्रै संघ–संगठनहरू छन् । नेपालमा भएका चलचित्रसँग सम्बन्धित संघ–संस्थाहरूको नाम धेरैजसो कलाकर्मीलाई समेत सम्झना छैन ।

 

नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्माता संघ नेपाल, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्देशक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ, नेपाल चलचित्र नृत्य कलाकार संघ आदि । यस्ता कतिपय संघ पद मात्रका लागि स्थापना भएका जस्ता पनि देखिन्छन् । यीमध्ये केही संघ–संस्था त निक्रिय नै छन् । चलचित्रसँग सम्बन्धित संघहरूले चलचित्र क्षेत्र र चलचित्रकर्मीहरूका लागि खासै उल्लेखनीय काम पनि गर्न सकिरहेका छैनन् । 

नेपाली चलचित्र क्षेत्र र नेपाली चलचित्रकर्मीहरूको हकहित तथा अधिकार र नेपाली चलचित्रको विकास, विस्तार एवं संरक्षणका लागि भनेर नै चलचित्र क्षेत्रसँग सम्बन्धित संघहरू स्थापना भएका हुन्, तर पनि यस्ता संघले चलचित्रकर्मर्ीहरूको पक्षमा कुनै उल्लेखनीय काम गर्न सकिरहेका छैनन् । उदाहरणका लागि नेपालमा बक्स अफिसको व्यवस्था भए निर्माताहरूलाई नै फाइदा हुने हो तर निर्माताहरू यस्तो कार्यमा ध्यान दिनुभन्दा पनि निर्माता संघ विभाजन गर्नमै गर्व गरिरहेका छन् भने कतिपय संघ भने चलचित्र एवार्ड वितरण गर्ने विवादास्पद कार्यमा सीमित छन् । प्राविधिकहरूको हक र हितका लागि काम गर्ने प्राविधिक संघले नेफ्टा नामको एवार्ड विदेश पुगेर वितरण गर्छ । यद्यपि त्यस्तो समारोहमा स्वयं प्राविधिकहरूको उपस्थिति अत्यन्त न्यून हुन्छ । 

 

नेपाली चलचित्रले अझैसम्म राम्रो व्यापार गर्न नसकिरहेको अवस्था छ अर्थात् अधिकांश चलचित्र व्यापारका हिसाबले सफल हुन सकिरहेका छैन भने एकै दिन तीन–चारवटा नेपाली चलचित्र प्रदर्शन भैरहेका छन् । यसले पनि चलचित्रको व्यापारमा नकारात्मक प्रभाव परेको देखिन्छ । नेपालमा बर्सेनि एक सयको हाराहारीमा चलचित्र प्रदर्शन हुने गरेका छन्, तर व्यापारका हिसाबले पाँच–सातवटा चलचित्रले मात्र राम्रो व्यापार गरेका हुन्छन्, धेरैजसो चलचित्र निर्माताले आफ्नो लगानी गुमाउँछन् । 

 

यस्तो अवस्थामा चलचित्रकर्मीहरू एकजुट भएर नेपाली चलचित्रकर्मी तथा चलचित्रका लागि काम गर्नुपर्नेमा चलचित्रकर्मीहरू भने विभाजित भैरहेका छन् । चलचित्रकर्मीहरूका संघ–संस्था फुट्नु–फुटाउनु राम्रो त होइन । यद्यपि कतिपय अध्यक्ष पदको लोभले त कतिपयको नितान्त व्यक्तिगत स्वार्थका कारण पनि संघ–संगठनहरू फुट्ने गरेका छन् । हुन त संघ–संस्थाहरूमा गुटबन्दी हुनु, फुट्नु–फुटाउनु, विभाजन गर्नु नेपाली सन्दर्भमा नौलो कुरा मान्नुपर्ने स्थिति भने छैन । 

प्रकाशित :पुस २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्