फिलोसोफीका आठ सय पुस्तक पढिसकेको छु

- कृष्ण भट्टराई

मंसिर २८, २०७३- 

नेपाली चलचित्रमा डरलाग्दा स्टन्ट तथा द्वन्द्वको ट्रेण्डको थालनी गर्ने श्रेय पाएका निखिल उप्रेती यतिबेला अभिनेताका रूपमा मात्र सीमित छैनन् । विगतमा केही सफल चलचित्र दिइसकेका अभिनेता उप्रेती केही वर्षको मुम्बई बसाईपछि पुन: नेपाली चलचित्रमा सक्रिय भएका छन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र ‘भैरव’ मार्फत निर्माता तथा निर्देशकको समेत पहिचान बनाएका निखिलको सेकेन्ड इनिङ फलदायी सावित भैरहेको छ । भैरवपछि चलचित्र लुटेराबाट समेत सफलताको स्वाद चाखेका निखिल पछिल्लो समय अन्य निर्माता–निर्देशकको नजरमा समेत परेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘निर्भय’ मा समेत प्रभावशाली भूमिकामा प्रस्तुत भएका निखिल यतिबेला चलचित्र ‘रुद्र’ को छायांकनमा सक्रिय छन्, जसमा उनी पहिलो पटक नकारात्मक चरित्रमा प्रस्तुत हुँदैछन् । वर्षमा दुईवटा चलचित्र निर्माण गर्ने योजनाका साथ अघि बढेका निखिलले साप्ताहिकमार्फत आफ्ना सेक्रेट कुरा यसरी सार्वजनिक गरेका छन् :

गायक

मैले आफैंले अभिनय गरेका केही चलचित्रका लागि पाश्र्व गायनसमेत गरेको छु । चलचित्र ‘निखिल दाइ’ को एउटा गीत त कर्णप्रिय नै बनेको थियो तर पछि कथासँग मेल नखाएकाले उक्त गीत चलचित्रमा समावेश गरिएन । चलचित्र ‘हामी तीन भाइ’ को एउटा गीत स्रोताहरूले समेत मन पराउनुभएको थियो । म गीत त गाउँछु, तर गायनमा आफू बेसुरा छु भन्ने कुरा पनि ढाँट्दिन । 

संगीतकार 

संगीतप्रतिको लगावकै कारण भरखरै आफैंले एउटा गीत संगीतबद्ध गरेको छु । चलचित्र ‘रुद्र’ को ‘दिएन आप्पा र आमाले...’ शीर्षकको तामाङ सेलो मैले नै संगीतबद्ध गरेको हुँ । चलचित्र प्रदर्शन भएपछि दर्शकले यो गीतबाट इन्जोग गर्नु हुनेछ भन्ने कुरामा म ढुक्क छु । 

गिटार र ड्रम

म लामो समयदेखि गिटार तथा ड्रम बजाइरहेको छु । पछिल्लो एक वर्षदेखि म गिटारवादनको औपचारिक प्रशिक्षण नै लिइरहेको छु । ड्रम बजाउन थालेको पनि धेरै भयो ।  

फाइन आर्ट 

म राम्रो चित्रकारसमेत हुँ । चित्रकारिता मेरो जन्मजात कला होभन्दा फरक पर्दैन । चित्रकारितालाई मैले चलचित्रमा समेत प्रयोग गरेको छु । प्राय: चलचित्रको छायांकनका क्रममा ‘स्टोरी बोर्ड’ का लागि म स्केचहरू तयार पार्छु । कुनै कलाकारलाई कुनै विशेष दृश्यका बारेमा बुझाउनु पर्‍यो भने पनि म स्टोरीबोर्डमा स्केच बनाएर उनीहरूलाई सम्झाउँछु । 

स्काइ ड्राइभर र प्याराग्लाइडिङ

म व्यवसायिक स्काइ डाइभर हुँ । थाइल्यान्डमा प्रशिक्षण गरेर मैले स्काइ ड्राइभरको लाइसेन्स पनि लिएको छु । स्काइ डाइभमा जति पटक जम्प गर्‍यो, त्यति नै ग्रेड बढ्छ । मैले हालसम्म ६० पटक जम्प गरिसकेको छु । नेपालमा भने यसको अभ्यास गर्न पाएको छैन । नेपालमा मैले पाराग्लाइडिङ पाइलटको लाइसेन्स लिएको छु । 

निर्देशनको अध्ययन

चलचित्र ‘पिँजडा’ मा सात तल्लाबाट फाल हानेपछि मात्र म अभिनेताका रूपमा चिनिएको हुँ,त्यसअघि मैले मुम्बईमा निर्देशनको औपचारिक कोर्ष गरेको थिएँ । मैले यसअघि पनि भनिसकेको कुरा हो, बलिउडका निर्देशक रोहित सेट्टी तथा अभिनेत्री रानी मुखर्जी मेरा क्लासमेट हुन् । अभिनयमा सक्रिय रहेकै बेला मैले नेपालमा केही चाउचाउका टिभिसी निर्देशन गरिसकेको थिएँ । चलचित्र ‘भैरव’ मैले त्यतिकै निर्देशन गरेको होइन ।

अध्ययन 

म व्यवस्थापन संकायको विद्यार्थी हुँ तर फिलोसोफी मैले आजसम्म पनि पढिरहेको विषय हो । मैले हालसम्म फिलोसोफीका सात–आठ सय पुस्तक अध्ययन गरिसकेको छु । नेपाल बाहिरका लेखकहरूले लेखेका फिलोसोफीका पुस्तक मसँग छन् । मलाई सबैभन्दा मनपर्ने पुस्तक ‘गीता’ हो, जसलाई मैले आठ पटक पढिसकेको छु । आज पनि मेरो गाडीमा करिब एक दर्जन पुस्तक हुन्छन् । 

भेजिटेरियन 

विगत ८ वर्षयता म विशुद्ध शाकाहारी भएको छु । जन्मदेखि ९ वर्षसम्म पनि म शाकाहारी नै थिएँ । मांसाहार स्वास्थका लागि ठीक छैन भन्ने कुरा बुझेपछि माछा–मासु चटक्कै छाडिदिएँ । 

गफाडी 

साथीभाइ तथा सहकर्मीहरूले मलाई गफाडी भन्छन् तर म त्यस्तो छैन । कोही गफ गर्न आउँछ भने उसँग घन्टौं गफिन सक्छु । मेरो गफ साथीभाइलाई मन परेरै होला, म एक कप चियाको भरमा उनीहरूसँग घन्टौं गफ गर्न सक्छु । 

 

प्रकाशित :मंसिर २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्