अपराधमा नेपाली महिला

- जनक तिमिल्सिना

मंसिर २७, २०७३

 

१५ वर्षदेखि प्रहरीसँग लुकामारी गरिरहेकी अन्तर्राष्ट्रिय लागूऔषध गिरोहकी नाइके काइँली तामाङलाई पक्राउ गर्न गत असारमा प्रहरीले ‘अप्रेसन आइस’ नामको अनुसन्धान टोली नै बनायो । धादिङ घर भएकी काइँली पत्याउनै नसकिने गरी अफगानिस्तान, भियतनाम, नेपाल, थाइल्यान्ड, लाओस, पाकिस्तानजस्ता देशमा लागूऔषध कारोबार गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय अपराधीका रूपमा ‘मोस्ट वान्टेड’को सूचीमा रहेकी काइँलीलाई नेपाल प्रहरीले मात्र होइन, थाइल्यान्ड प्रहरीले समेत खोजिरहेको छ । 

२० माघ २०७२ मा संगीता पाण्डेले भाडाका अपराधी लगाएर ४३ वर्षीया पिता माइला महर्जनको हत्या गरिन् । टोखा, धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले बुवाको हत्या मात्र गरिनन्, दाजु र आमाको समेत हत्या गर्ने योजना बनाएकी थिइन् ।

 

१९ पुस २०७२ मा कहिले डाक्टर त कहिले प्रेमिका बनेर सुहाना र अदितीका नाममा ठगी गर्ने गुल्मी हुरलीचौरकी २३ वर्षीया भगवती केसी एयरपोर्ट गेटबाट प्रहरी फन्दामा परिन् । डिआइजी सनत केसीकी छोरी सुहाना भनेर समेत ठग्ने गरेक

 

माथि उल्लेखित घटना महिलाहरू कोमल, भावुक र इमान्दार हुन्छन् भन्ने मान्यतालाई नै झट्का दिने खालका छन् । बदलिँदो आर्थिक दायरा, खुलापन, अवैधानिक सम्बन्ध, दुव्र्यसन, बढ्दो महत्त्वाकांक्षा, धोका र संगतका कारण महिलाहरू अपराधको दुनियाँमा पुग्न थालेका छन् । 

केही महिला बाध्यताले, केही महत्त्वाकांक्षाले त केही संगतका कारण अपराधकर्ममा फसेका घटनाक्रमहरूले देखाउँछन् । खासगरी हत्या, अपहरणजस्ता ठूला अपराधमा महिलाहरूको संलग्नता कम देखिए पनि चोरी, ठगी, लागूपदार्थको ओसार–पसार, मानव बेचबिखन तथा दुव्र्यसनमा महिलाहरूको उपस्थिति बाक्लिँदै गएको पाइन्छ । पछिल्लो समयमा त महिलाहरू ग्याङ नै बनाएर लुटपाटमा समेत संलग्न हुन थालेको घटनाको सुइको प्रहरीसम्म पुगेको छ । 

संगीता पाण्डे, अपराध : हत्या र युरिका ढकाल, अपराध: ठगी

अपराधमा महिलाहरूको संलग्नता बढ्नुका पछाडि बढ्दो सहरीकरण, देखासिकी, महत्त्वाकांक्षा तथा बेरोजगारीलाई कारक मान्छन्, काठमाडौं प्रहरी परिसरमा एसपी प्रद्युम्न कार्की । ‘पहिले अपराधमा पुरुषहरूमात्र सक्रिय थिए,’ कार्की भन्छन्, ‘सहरीकरण, बसाइँसराइ, बेरोजगारी, उच्च महत्त्वाकांक्षा, सामाजिक सञ्जालजस्ता कारणले महिलाहरूको सक्रियता पनि बढिरहेको देखिन्छ ।’ उनका अनुसार लुटपाट, चोरी, ठगी, लागूऔषध कारोबारदेखि ज्यान मुद्दासम्मका अपराधमा पनि महिलाहरूको संलग्नता पाइन थालेको छ ।

महत्त्वाकांक्षा पूरा गर्न बुवाकै हत्या गर्ने संगीता, अवैध सम्बन्ध ढाकछोप गर्न खानामा विष मिसाएर सेक्स पार्टनरको हत्या गर्ने रीतादेवी पाण्डे तथा लागूऔषध नदिएको झोकमा आफ्नै साथीको घाँटी रेट्ने फूलकुमारी उरावका फरक–फरक प्रकृतिका अपराधकर्मले पनि यही देखाउँछ । 

अपराधको ट्रेन्डलाई नजिकबाट विश्लेषण गरिरहेका महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल इन्गेजमेन्ट बढेपछि महिलाको अपराधमा संलग्नता देखिन थालेको बताउँछन् । ‘महिलाहरूको इन्गेजमेन्ट बढेपछि उनीहरूको उपस्थिति अपराधिक दुनियाँमा पनि देखिन थालेको हो,’ खनाल भन्छन्, ‘उनीहरूको संलग्नता ठूलो अपराधभन्दा ठगी, चोरी तथा मानव बेचबिखनमा बढी देखिन्छ।’ 

लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारमा संलग्न रहेर डनकै शैलीमा आपराधिक संसारमा सक्रिय काइँली तामाङ हुन् वा प्रेमको नाटक गरेर ठगी गर्ने भगवती केसी वा हत्याजस्तो जघन्य अपराधकर्ममा संलग्न संगीता, रीतादेवी र फूलकुमारी नै किन नहुन् यी सबै घटनाक्रमले अपराधमा महिलाहरूको डरलाग्दो रूप देखाउँछ । भरियाका रूपमा लागूऔषध कारोबारमा प्रवेश गरेकी काइँली संगतकै कारण पछि आफैं उक्त गिरोहको डन बनेर कारोबार सञ्चालन गर्न थालिन् ।

भगवती केसी, अपराध: ठगी र फुलकुमारी उराव, अपराध हत्या 

पछिल्लो समयमा प्रहरीले उनी अफगानिस्तानको सीमा क्षेत्रमा बसेर लागूऔषध कारोबारको सञ्जाल चलाइरहेको आशंका गरेको छ । कतिपय युवती व्यक्तिगत स्वतन्त्रता, रवाफपूर्ण जीवनको लालसा, दुव्र्यसनजस्ता कारणले पनि अपराधको संसारमा आइपुग्ने गरेका छन् । ‘पुरुषको तुलनामा महिलाहरू कम रिसाहा, सहन सक्ने क्षमता बढी भएका तथा कम हिंस्रक देखिन्छन्,’ एसएसपी खनाल भन्छन्, ‘तर उनीहरू सामाजिक एवं आर्थिक अपराधमा जोडिएका र ठूला अपराधीबाट टुल्सका रूपमा प्रयोग हुने गरेको देखिन्छ ।’

कतिपय युवतीहरू देखासिकी र आर्थिक आवश्यकता पूर्तिका लागि पनि अपराधमा संलग्न हुने गरेका छन् । महानगरीय अपराध महाशाखामा दर्ता भएका घटनामा पनि अधिकांश महिलाहरू चोरी, ठगी र मानव बेचबिखनमा संलग्न भएको देखिन्छ । ‘आईफोन पनि बोक्नुपर्ने, स्कुटर पनि चढ्नुपर्ने, मोजमस्ती पनि गर्नुपर्ने, पैसा आउने ठाउँ केही नभएपछि अपराधकर्म रोजेको देखिन्छ,’ एसपी कार्की भन्छन्, ‘ओभर एम्बिसन र देखासिकी पनि महिला अपराधको प्रमुख कारणका रूपमा देखिन थालेको छ ।’ 

समाजशास्त्री मृगेन्द्रबहादुर कार्की उपभोक्तावादी संस्कृति र सहरीकरणका कारण महिलाहरू अपराधमा तानिने गरेको बताउँछन् । ‘पाप पूण्य भन्ने परम्परागत धारणा नै रहेन । नयाँ मूल्य–मान्यता नबन्दै परम्परागत मूल्य र मान्यता कमजोर भए,’ उनले भने, ‘बजारले आवश्यकता बढायो तर पूर्तिका स्रोतहरू कम भए । त्यही पूरा गर्न अपराध गर्नुपर्ने अवस्था सिर्जना भयो ।’

 

बुवादेखि साथीसम्मको हत्या 

२० माघ २०७२ मा संगीता पाण्डेले भाडाका अपराधी लगाएर आफ्नै ४३ वर्षीया बुवा माइला महर्जनको हत्या गरिन् । टोखा, धमलटारस्थित माइतीको चार आना जग्गा र घर हात पार्न उनले मोटो रकम सुपारी दिएर भाडाका हत्यारामार्फत आमा, दाजु र बुवा तिनै जनाको हत्याको योजना बनाएकी थिइन्, तर माइलाको हत्या गर्नेबित्तिकै भाडाका अपराधी फरार भएपछि दाजु र आमालाई समेत मार्ने उनको योजना असफल भयो । 

परिवारको अनुमतिबेगर भागेर प्रेमविवाह गरेकी संगीताले माइतीसँग ब्युटिपार्लर सञ्चालनका लागि पैसा मागेकी थिइन्, तर आफूखुसी विवाह गरेका कारण परिवारले उनलाई सहायता दिन इन्कार गरेपछि पति सन्तोष पाण्डेसँग मिलेर उनले माइतीको सामूहिक हत्या गरी घरजग्गा हडप्ने योजना बनाइन्, जसमा उनी सफल हुन सकिनन् । अहिले संगीता तथा उनका पति सन्तोष जेलमा छन् । 

३ फागुन २०६९ मा ललितपुरको इमाडोलमा प्रकाश श्रेष्ठको हत्या भयो । उक्त हत्याकाण्डकी मुख्य पात्र थिइन्— प्रकाशकै पत्नी अस्मिता लामा श्रेष्ठ । प्रहरीकाअनुसार प्रकाशले रक्सी खाएर परपुरुषसँग लागेको भन्दै दिनहुँजसो अस्मितालाई कुटपिट गर्न थालेपछि उनले आफ्नै पतिको हत्याको बाटो समातिन् । अस्मिताले सुतिरहेको अवस्थामा प्रकाशको घाँटी सलले बेरेर थिची हत्या गरेकी थिइन् । बयानका क्रममा पनि अस्मिताले आफूलाई पति मारेको कुनै ‘पश्चाताप र आत्मग्लानि’ नभएको बताएकी थिइन । 

३२ साउन २०७० मा ग्वार्कोस्थित प्रेमलाल महर्जनको घरमा एउटा त्यस्तै अर्को हत्याकाण्ड भयो । उक्त हत्याकाण्डका नाइके पनि महिला नै थिइन् । ३५ वर्षीया रीतादेवी पाण्डेको ४८ वर्षीय रुद्रदेव तिवारीसँगको अवैध शारीरिक सम्बन्धले निम्त्याएको क्रूर हत्याकाण्ड थियो त्यो । रीतादेवी र रुद्रदेवबीच शारीरिक सम्बन्ध स्थापित भयो । पछि रुद्रदेवले विवाहिता रीतादेवीसँगको यौनसम्बन्धमा नियमितता खोजे तर, रीतादेवीका पतिसँगै भएपछि उनलाई रुद्रदेवसँगको सम्बन्ध अघि बढाउन गाह्रो पर्‍यो । रुद्रदेवले रीतादेवीले शारीरिक सम्बन्धका लागि इन्कार गर्न थालेपछि ‘ब्ल्याकमेलिङ’ को बाटो रोजे । त्यही ब्ल्याकमेलिङका कारण रीतादेवीले रुद्रदेवको हत्या गरिन् । प्रहरीका अनुसार रीतादेवीले रुद्रदेवको खानामा विष मिसाएर बेहोस बनाएपछि घाँटी थिची उनको हत्या गरेकी थिइन् ।

अस्मिता र रीतादेवीको हत्यालाई नजिकबाट नियालेकी ललितपुर प्रहरीकी प्रहरी सहायक निरिक्षक रमा थापा अस्मिताजस्ती क्रूर र निर्मम युवती अहिलेसम्म आफूले नभेट्टाएको बताउँछिन् । ‘पतिकै हत्या गर्दा पनि कुनै पश्चाताप नभएकी त्यस्ती क्रूर र निर्मम युवती मैले अहिलेसम्म देखेकी छैन्,’ उनले साप्ताहिकसँग भनिन्, ‘प्रकाशको हत्यापछि पनि उनलाई कुनै रिग्रेट थिएन, बरु आफ्नो घर भएको भए टुक्रा–टुक्रा पारेर घरभित्रकै जमिनमा पुरिदिन्थे भनेर निर्धक्क भन्थिन् । यी दुवै घटना महिलाले गरेका हुन् भनेर पत्याउनै गाह्रो पर्ने खालका थिए ।’ 

२८ असोज २०७३ मा अर्को एउटा निर्मम हत्याकाण्डको नाइके बनिन्, मोरङकी एउटी किशोरी । लागूपदार्थकी एडिक्ट ‘टाइली’ भनिने फूलकुमारी उरावले आफूले बोकेको चुप्पीले साथी अंकित दाहालको घाँटी रेटिन् । लागूपदार्थका विषयमा झगडा परेपछि फूलकुमारीले आफ्ना चार जना साथीसँग मिलेर आफ्नै मिल्ने साथी अंकितको हत्या गरेकी थिइन् । बयानका क्रममा उनले अंकितलाई आफूले लागूपदार्थका लागि पैसा दिएको तर उसले लागूपदार्थ उपलब्ध गराउन नसक्दा हत्या गरेको बताएकी छिन् । 

२०७० जेठ ७ गते भएको विघटित संविधानसभाका सदस्य सरुदल मियाँको हत्याकाण्डमा उनकै पत्नी नुरुजहाँ खातुन तथा माइली छोरी १९ वर्षीया रुवेदा खातुनको संलग्नता पुष्टि भएको थियो भने आफ्नै पत्नीको हत्या गरेर जेल जीवन बिताइरहेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाकी गर्लफ्रेन्ड ४२ वर्षीय तारा रेग्मीलाई उक्त हत्याको मतियार बनेको अभियोगमा २०७१ साल वैशाखमा काठमाडौं जिल्ला अदालतले एक वर्ष जेल सजाय तोकेको थियो । कतै अवैध सम्बन्ध लुकाउन त कतै रिसको झोकमा श्रीमान्को हत्या गरिएका घटना मुलुकमा विभिन्न स्थानमा बेला–बेलामा घट्ने गरेका छन् । 

 

उपभोक्तावाद र सहरीकरणको परिणाम हो 

मृगेन्द्र बहादुर कार्की, समाजशास्त्री 

उपभोक्तावाद र सहरीकरणका कारण आवश्यकताहरू बढेका छन् । ती आवश्यकतालाई वैधानिक बाटोबाट पूरा गर्ने आधार कम छन् । बेरोजगारी, अवसरको अभाव, न्यून कमाइजस्ता कारण उपभोगवाद र सहरीकरणले बढाइदिएको महत्वकांक्षा पूर्ति गर्न गाह्रो छ ।

आज समाज बढी भौतिकवादी भयो, जसका कारण परम्परागत मान्यताहरू कमजोर भए । उपभोगवादी हुँदा अर्का खालका मूल्य, मान्यता र संरचना निर्माण हुनुपर्ने हो । त्यो भैसकेको अवस्था छैन । ठूलो घर बनायो, राम्रो लुगा लगायो र महँगो गाडी चढ्यो भने समाजले कुन स्रोतबाट ती सम्पत्ति जोड्यो भन्नेतिर हेर्दैन बरु उसलाई पराक्रमी देख्छ ।

बजारले धेरै कुरा दियो । खर्च गर्ने ठाउँ धेरै भए तर आम्दानीका स्रोतहरू एकदमै लिमिटेड । जस्तो हजारौंको जिन्स पाइन्ट किन्न सकिन्छ, लाखौं–करोडौंका गाडी सहरमा उपलब्ध छन् । सहरमा के मात्र छैन ? आयस्रोत कम हुँदै गयो खर्च गर्ने ठाउँ बढ्दै गए ।

हाम्रो समाजमा महिलाहरूलाई पुरुषको तुलनामा बढी विश्वास गरिन्छ । अर्कातर्फ दया, माया एवं करुणाका प्रतिमूर्ति महिलाहरूले अनैतिक काम गर्दैनन् भन्ने मान्यता छ । हिजो त्यही विश्वासलाई राजनीतिक दलहरूले आफ्नो क्रान्तिमा समेत प्रयोग गरेको पाइन्छ । अहिले त्यही विश्वासलाई अपराधकर्ममा आउने ‘टुल्स’का रुपमा पनि प्रयोग गरिएको देखिन्छ । 

अवैधानिक शारीरिक सम्बन्धले पनि महिलालाई हत्याजस्तो अपराधमा पुर्‍याएको पाइन्छ । हिजो यौनलाई पुजनीय र सेक्रेट रूपमा राखिन्थ्यो । त्यतिबेला एक जना महिलाले एक जना पुरुषसँग मात्र शारीरिक सम्बन्ध राखेर जीवन बिताउनुपर्ने अवस्था थियो । आधुनिकता र महिला सशक्तीकरणका आन्दोलनहरूले महिला र पुरुषहरू बराबर हुन भन्ने मान्यता स्थापित गरिदियो । त्यतिबेला विवाहलाई सामाजिक सुरक्षासँग जोडिन्थ्यो, त्यही आधारमा महिलाहरूले एउटै पुरुषसँग शारीरिक सम्बन्ध निर्माण गर्नुपथ्र्यो । अहिले यी सबै मान्यतामा ‘प्याराडाइम सिफ्ट’ भएको छ । 

अर्कातर्फ नयाँ मूल्य–मान्यताहरू निर्माण भैसकेका छैनन्, जसका कारण समाजले अहिले पनि अवैध सम्बन्ध, एक्स्ट्रा म्यारिटल अफेयर्स, विवाहपूर्वको शारीरिक सम्बन्ध आदिलाई स्वीकार गर्दैन । नैतिक रूपमा समाजमा आफ्नो स्थान कायम राख्न अवैध सम्बन्ध, विवाहपूर्वको सम्बन्ध तथा एक्स्ट्रा मेरिटल अफेयर्समा रहेका महिलाहरूले त्यसलाई लुकाउन अपराधको बाटो समात्ने गरेको देखिन्छ ।

 

पैसा कमाउने अपराधमा महिला बढी छन्

हेमन्त मल्ल ठकुरी, प्रवक्ता, नेपाल प्रहरी 

लागूपदार्थको ओसारपसारमा महिलाको सहभागिता कस्तो छ ? 

लागूपदार्थको ओसार–पसारमा संलग्न देखिने धेरैजसो महिला पैसाका लागि काम गर्छन् । अर्को कुरा, कतिपय महिला नजानिँदो गरी पैसाका कारण प्रयोग भैरहेका छन् । उनीहरूलाई आफूले के बोकेको छु भन्ने पनि थाहा हुँदैन, तर पैसाकै लोभमा उनीहरू यसमा सहभागी हुन्छन् । क्रस बोर्डरमा एडिक्टहरू पनि संलग्न देखिन्छन् । उनीहरूसँग पैसा हुँदैन, लागूपदार्थ खान चाहिरहेको हुन्छ । आफूले पनि खान पाइने लोभमा उनीहरू यसमा संलग्न भएका देखिन्छन् । 

यसमा महिला शरीर पनि उपयोग गरिएको देखिन्छ हैन ? 

हो, हामीले योनिमा लागूऔषध लुकाएर ल्याउन लागेका महिलाहरू पनि पक्राउ गरेका छौं । प्रहरीले कन्डममा प्याक गरेर गुप्ताङ्गमा लागूऔषध लुकाएकी विदेशी महिलालाई समेत गिरफ्तार गरेको छ । 

कारण पैसा मात्र हो त ? 

हो, घरपरिवार चलाउन, केटाकेटी पढाउन यो काम रोजिएको देखिन्छ । लागूऔषध कारोबारमा कमजोर आर्थिक अवस्था भएका महिला, दुव्र्यसनी महिला एवं नजानिँदो गरी सीधासाधा महिलाहरूसमेत प्रयोग भएका पाइन्छन् । 

हत्याजस्तो जघन्य अपराधमा के कारणले महिलाहरू संलग्न भैरहेका हुन् ? 

पुरुषको तुलनामा महिलाहरू हत्यामा कम संलग्न देखिन्छन् । हत्याका कारणहरू धेरै देखिन्छन् । परपुरुषसँगको सम्बन्धमा श्रीमान्लाई बाटोबाट हटाउनुपर्दा, अवैध शिशु मार्ने केसमा, परिवारमा श्रीमान वा ब्वाइफ्रेन्ड अन्तै सल्किएको अवस्थामा वा एक्कासी रिसको झोकमा हत्या भएको देखिन्छ । आवेश प्रेरित, सम्पत्ति वा इज्जतसँग जोडिएका घटनामा महिलाहरू बढी परेको देखिन्छ । 

आर्थिक कारणले हत्या गरिएका केसहरू पनि देखिन्छन् ? 

देखिन्छन्, तर एकदमै कम । सुपारी लिएर हत्या गर्नेभन्दा पनि आफ्नै घरको सम्पत्तिको केसमा केही संलग्नता होला ।  

ठगी र चोरीमा पनि महिलाहरूको संलग्नता देखिन्छ ?

यो पैसा अर्न गर्ने क्राइम हो । ठगीको माध्यम फरक होला, जस्तो अनलाइन ठगी, बैंक ठगी, नक्कली सुन देखाएर ठगी वा विदेश पठाइदिन्छु भनेर गरिने ठगी, तर यसको मुख्य मोटिभ भनेको पैसा नै हो । अर्कातर्फ नेपालमा महिलाहरूमाथि शंका नगर्ने, पत्याइने भएकाले पनि उनीहरूका लागि ठगी र चोरी सहज छ । नेपाली महिलाहरू बदमास छैनन्, यिनीहरूले बदमासी गर्दैनन्, ठग्दैनन् भन्ने विश्वासका कारण पनि आपराधिक प्रवृत्तिलाई केही सहज भएको देखिन्छ । 

 

अन्तर्राष्ट्रिय गिरोहदेखि मायाजालसम्म 

अन्तर्राष्ट्रिय डनका रूपमा लागूऔषधको कारोबारमा संलग्न गोपी तामाङ (काइँली) मात्र होइन, अन्य धेरै महिला पनि ठगी, चोरी तथा लागूऔषध ओसार–पसार एवं मानव बेचबिखनमा संलग्न रहेका घटनाहरू बेला–बेला सार्वजनिक हुने गरेका छन् । लागूऔषध र ठूला अपराधमा महिलाहरूको शारीरिक अवस्थालाई पनि अपराधको अस्त्रका रूपमा प्रयोग गरिएको देखिन्छ । 

झूटो मायाजालमा पारेर आकाश सिकारियाको १ करोड ६ लाख ठगी गरेपछि पर्साकी युरिका ढकाल २०७२ सालमा जेल पुगिन् । विवाहित भए पनि युरिकाले व्यवसायी रामजी सिकारियाका छोरा आकाशसँग चार वर्ष प्रेमको नाटक गरेर मोटो रकम ठगी गरेकी थिइन । पछि आकाशले विवाहका लागि आग्रह गर्दा युरिकाले आफू विवाहित भएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि उनले प्रहरीमा उजुरी दिएका थिए । युरिका २०७३ वैशाख ९ मा नौ महिनापछि सामान्य तारेखमा रिहा भइन् । विवाहिता युरिका एक सन्तानकी आमा हुन् । 

 ठ्याक्कै युरिकाको घटनासँगै मिल्दोजुल्दो ठगीको घटनाकी नायिका बनिन्, दोलखा स्थायी घर भएर भक्तपुर मध्यपुर बस्दै आएकी २९ वर्षीय सिर्जना घिमिरे । सिर्जनाले आफू अविवाहित भएको भन्दै प्रहरी इन्स्पेक्टर लोकनाथ लामिछानेसँग विवाह गर्ने नाटक गरेर ठगिन् । सिर्जनाले लमजुङका लामिछानेसँग कहिले सुनका गरगहना बनाउन लगाएर, कहिले फर्निचर किन्न लगाएर त कहिले मोटरसाइकल किन्न लगाएर ५९ लाख ८३ हजार रुपैयाँ ठगी गरेको प्रहरीको रेकर्डमा उल्लेख छ । मोटो रकम ठगी गरेपछि सिर्जना फरार भइन् । विवाहको नाममा ठगिएपछि लामिछानेले प्रहरीमा उजुरी दिए । २०७२ फागुन १ मा प्रहरीले उनलाई सूर्यविनायक नगरपालिकाबाट पक्राउ गर्‍यो । सिर्जना पक्राउ परेपछि उनी दुई सन्तानकी आमा रहेकी र उनका श्रीमान् समेत रहेको रहस्य खुल्यो । 

गत भदौ १ गते गौशालाबाट ३९ वर्षीया कल्पना रावत ठगी प्रकरमा समातिइन । मित्रपार्कस्थित भेरी कर्णाली इन्टरनेसनलकी सञ्चालिका रहेकी रावतले ११ जनालाई विदेश पठाइदिन्छु भन्दै २१ लाखभन्दा बढी रकम ठगेकी थिइन् । मीना सुवालबाट सुनको सिक्री, मंगलसूत्र, रिङ तथा नगदसमेत लिई डेरा/कोठा सरी ठगी गरी भागेकी ३६ वर्षीया अम्बिका मगर गोकर्णेश्वरको माकलबारीबाट १९ असार २०७२ मा प्रहरीको फन्दामा परिन् । 

काठमाडौंकी रञ्जु महर्जनलाई चोरीको आरोपमा पटक—पटक प्रहरीले पक्राउ गरिसकेको छ । पछिल्लो पटक २५ भदौ २०७२ मा उनी पुरानो बसपार्कस्थित विकास न्यौपानेको इनोभेटिभ क्रिएसन सर्भिसबाट ५६ हजारभन्दा बढीको धनमाल चोरी भएको घटना पक्राउ परेकी थिइन् । २३ वर्षीया रन्जु अन्य विभिन्न चोरीका घटनामा पनि पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीहरू बताउँछन् । 

ठगी र चोरीमात्र होइन्, मानव बेचबिखनसम्बन्धी अपराधमा पनि महिलाहरू सक्रिय देखिन्छन् । १३ फागुन २०७२ मा प्रहरीले वीरेन्द्रनगर, सुर्खेत घर भै काठमाडौंमा बस्दै आएकी २८ वर्षीया दिलसरा सापकोटालाई गौशालाबाट मानव बेचबिखनको जाहेरी आधारमा पक्राउ गरेको थियो । मानव बेचबिखनमा पक्राउ पर्ने दिलसरा एक्ली होइनन्, मानव बेचबिखनमा संलग्न रहेको आरोपमा अन्य कैयौं महिला पक्राउ परिसकेका छन् । 

राजधानीका केही रेस्टुराँमा कार्यरत महिलाहरू त्यहाँ आएका ग्राहकलाई आफ्नो कोठामा लाने बहानामा ठग्ने गरेका घटनाहरूमाथि पनि काठमाडौं प्रहरीले अनुसन्धान थालिसकेको छ । ‘रेस्टुराँमा आएका ग्राहकलाई कोठामा लाने नाममा ग्याङ बनाएर ठगी गर्नेहरू पनि देखिन थालेका छन्,’ एसपी कार्की भन्छन्, ‘हामीले त्यसमाथि पनि छानबिन गरिरहेका छौं ।’

सातदोबाटोस्थित प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रामेश्वरप्रसाद यादव एउटी युवतीले आफू राणा परिवारको भएको बताउँदै रेस्टुराँ, ट्याक्सीवालाका साथै विभिन्न ठाउँमा ठगेको रिपोर्ट आफूलाई प्राप्त भएको बताए । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा दर्ता भएका घटना विवरणअनुसार महिलाहरू बढीजसो ठगी, लुटपाट, चोरी एवं मानव बेचबिखनमा संलग्न भएका देखिन्छन् ।

 

प्रकाशित :मंसिर २७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्