के अमेरिका सोचे जस्तै छ ?

- नरेन्द्र रौले

मंसिर २४, २०७३

 

धेरैका लागि अमेरिका सपनाको देश हो । एकपटक अमेरिका पुग्ने रहर धेरैमा हुन्छ । पढ्न होस् वा कमाउन, अधिकांशको पहिलो रोजाइ अमेरिका नै हुन्छ । अमेरिका पुगिसकेका नेपालीहरूको भोगाइ कस्तो छ ? के अमेरिकाको जीवन साँच्चिकै सुखमय छ ? अमेरिकामै रहेका केही प्रतिनिधि पात्रसँगको कुराकानी :

 

म नेपाल फर्कन चाहन्छु

११ वर्षअघि म अमेरिका जान लाग्दा मेरा आमा–बुबा रुनुभयो । यतिबेला समय फेरिएको छ । छोराछोरी अमेरिका गइदिएनन् भने आमा–बुबा रुन्छन् । अमेरिका नेपालमा बसेर सोचेजस्तो छैन । जीविकोपार्जन त हुन्छ तर सोचेजस्तो छैन । यहाँ वार्षिक ३० हजारको हत्या हुन्छ । मानिसहरू भौतिक सुखका लागी अमेरिका रोज्छन् । पीआरका साथ घर–गाडीको सपना पालेर अमेरिका आउनेहरूको ओइरो छ । आठ घण्टा काम गरेर जहाँ पनि खान सकिन्छ तर कमाएको पैसा बचाउन जहाँकहीँ गार्‍हो हुन्छ । नेपालमा जत्तिको रमाइलो जीवन दुनियाँमा कतै छैन । यहाँ बस्न, काम गर्न अनि कमाउन सजिलो छ । अमेरिकामा नेपालमा बोलिने अंग्रेजी धेरै कम मान्छेले बुझ्छन । गाडी कसरी किन्ने, कानुनी प्रक्रिया कसरी पूरा गर्ने, अपार्टमेन्ट कसरी खोज्ने रु यी सबै काम आफन्त वा साथीभाइबिना गार्‍हो छ ।

 

 म ११ वर्ष अमेरिका बसें । अब अमेरिकालाई नमस्कार गरेर नेपाल फर्कन चाहन्छु । म ग्रिनकार्ड त्यागेर फर्कने सोचमा छु । नेपालमा पाँच जनालाई रोजगारी दियो भने २० जना पालिन्छन्, अमेरिकामा एक जनाको कामले एउटै ज्यान मात्र पालिन्छ । हाम्रो पालामा अमेरिका जान गार्‍हो थियो । अमेरिका आएर मैले नगरेको काम केही छैन । दिनमा १९ घण्टासम्म काम गरेको छु । कहिलेकाहीं त दिनमा तीन सिफ्टमा काम गरियो ।                                                                                    

यति गर्दा पनि २–३ लाख रुपैयाँ पनि जोगाउन सकिएन । खुब मेहनत गरियो । परिवार संगै भएपनि भनेजस्तो भएन । यो अवधभरि मैले अमेरिकाका ३० वटा राज्य घुमें । अमेरिकाबाहेक २२ वटा अरू देश घुमें । कम्तीमा एक हप्ता सबै देशमा बसेको छु । तीमध्ये सबैभन्दा सुन्दर र बस्नलायक देश नेपाल नै लाग्यो । नेपालमा निकै अबसर छ । अमेरिका मा भौतिक सुख छ नेपालमा जीवन छ ।

राज हुमागार्इं

 

अमेरिकामा सुख छ                                                                                                                    अमेरिका विश्वका मानिसहरूका लागि सपनाको संसार हो । प्राय सबै देशका मानिस अमेरिकालाई कर्मभूमि, अवसरभुमि बनाउने सपना देख्दै विभिन्न मध्यमबाट यहाँ आउँछन् । यस्तै नेपालीहरू पनि ठूला–ठूला सपना बुनेर कोही उच्च शिक्षाका लागि, कोही स्थायीरअस्थायी बसोबासका लागि अमेरिका आएका छन् । हामी यहाँ आउँदा एक किसिमको कल्पना गर्दै, सपना देख्दै आएका हुन्छौं । कतिको कल्पना, सपना अमेरिकाको यथार्थसँग मेल पनि खाला । कतिका लागि सोचेजस्तो नहुन पनि सक्छ । परिश्रम गर्न सक्ने जो–कोहीलाई जहाँ गए पनि त्यति फरकचाहिँ पर्दैन । म पनि विगत केही वर्षदेखि परिवारसहित अमेरिकाको न्युयोर्कमा बस्दै आएको छु । यहाँ मैले सानोतिनो व्यापार–व्यवसाय पनि गर्दै आएको छु । यस कारण यहाँ बसोबास गर्ने धेरै नेपालीलाई नजिकबाट बुझ्ने मौका पनि जुरेको छ । मेरो जानकारीमा आएसम्म अमेरिका प्राय सबैको स्थिति राम्रै छ । प्रायस्जसोले बस्ने घर, महँगो गाडी जोडेकै देखेको छु, जुन नेपालमा धेरैको किल्पना भन्दा बाहिरको कुरा हो ।

 

कुनै सुविधाको कमि देख्दिनँ । एक दिन मजदुरी गरेर कमाएको ज्यालाले हप्ता दिनको ग्रोस्रोरी ९खानाको किनमेल० पुग्छ भने दुई दिनको आम्दानीले एकसरो लुगा फेर्न सकिन्छ । हामीले मनले आँट्ने हो भने घर, गाडी जोर्न अथवा कुनै व्यापार गर्न भाग्यले साथ दिनैपर्छ भन्ने छैन, मात्र आफूसँग आँट हुनुपर्‍यो, मेहनत गर्नुपर्‍यो । यी सब गर्न असम्भवप्रायस् छैन ।

 

त्यस्तै विद्यार्थी भिसामा आएकाहरूले सुरुको केही समय अलि बढी संघर्ष गर्नुपरे पनि अध्ययनलाई निरन्तरता दिई डिग्री हात पर्न सकेको अवस्थामा सबैले काम पाइरहेकै छन् । इमान्दारिता एवं मेहनती र सरल स्वभावले गर्दा विभिन्न स्तरका डाक्टर, इन्जिनियरका साथै अन्य राम्रा राम्रा जागिर खाने ठाउँसम्ममा पनि प्रशस्तै नेपाली भेटिन्छन् । त्यस्तै व्यापार–व्यवसाय गरेर राम्रो आय आर्जन गर्नुका साथै कैयौंलाई रोजगारीसमेत दिइरहेका नेपालीहरू पनि उत्तिकै फेला पर्छन् ।

 

यी भए अमेरिकाका राम्रा पक्ष । धेरै राम्रा पक्ष हँुदाहुँदै पनि केही नराम्रा अनुभव पनि छन् । सर्वप्रथम परिवारबाट टाढा बस्नुपर्दा भौतिक सुविधाले जतिसुकै सम्पन्नता भए पनि मन खुसी हुन सक्दैन । परिवारसँगै भएकाहरूको पनि कामको व्यस्तताले मुस्किलले दिनमा एक छाकसँगै खान समय जुराउन मुस्किल हुन्छ । कामको व्यस्तताले गर्दा परिवारमा समय दिन नसक्दा, परिवारमा असमझदारी बढ्दै जाँदा परिवार नै छुट्नेसम्मका घटना पनि यदाकदा देख्न सकिन्छ ।

बालबच्चालाई समय दिन नसक्दा कुलतमा फसेकाहरू पनि छन् । त्यस्तै अहिले नेपालीहरूबाटै सञ्चालित केही जुवातास खेलाउने अखडा पनि छन्, जुन काम यहाँको कानुनसम्मत पनि छैन । त्यस्ता ठाउँमा समय खर्च गरेर पैसा र परिवार दुवै गुमाएकाहरू पनि औलांमा गन्न नसकिने संख्यामा छन् । बिशेष गरि नेपालीहरुको बाक्लो बस्ती भएको शहरहरुमा यहाँ विदेशमा बसेर नेपालको राजनीति गर्ने र यहाँ पनि जातीय, क्षेत्रीय, दलीय रूपमा विभाजन गर्ने कामहरू भएको छ । जातीय, क्षेत्रीय तथा दलीय नाराहरूलाई स्थापित गर्दै जादा कता–कता हामी नेपाली हौ भन्ने परिचय नै गुमाइरहेका त छैनौं भन्ने शंका उत्पन्न हुन्छ ।

 

नेपालको तुलनामा अमेरिकाको जीवन सुखी छ । मेहनत गर्नेहरूका लागि यो सुन्दर ठाउँ हो । पढ्नेले पनि राम्रो पढेपछि काम नपाउने चिन्ता छैन । नेपालमा जस्तो पढेर पनि काम पाउन चाकरी गर्नु पर्दैन । बिरामी भैहाले पनि उपचार पाइँदैन कि भनेर चिन्ता लिनु पर्दैन । बालबच्चाको पढाइमा पनि राम्रो सुविधा पाइन्छ ।

पासाङ शेर्पा, न्युयोर्क

 

अवैधानिक रूपमा आउनेहरूलाई गार्‍हो छ

डिभी पर्दा म खुसीले गद्गद थिएँ । खुसी नहोस् पनि किन, सपनाको देश जान पाउने अवसर जो मिलेको थियो । त्यसपछि त दिन गन्न सुरु गर्न थालें । मनमनै कल्पना बुन्न थालें, अमेरिका यस्तो होला, त्यस्तो होला । मनभरि अनेकन् सपना बुन्न थालें । काठमाडौंबाट ओमान, जर्मनी हुँदै अमेरिकाको जर्जिया पुगें । मानिसहरूको चहलपहल काठमाडौमा जस्तै होला भन्ने सोचेको थिएँ । मानिसको सट्टा यहाँ गाडी बढी देखें । धेरैले सोच्छन्, अमेरिकामा स्वतन्त्रता छ, जे गर्न पनि छुट छ, तर यहाँ नियम–कानुनले सबैलाई बाँधेको छ । यति धेरै सडक, गाडीहरू छन्, तर ट्राफिक प्रहरी कतै देखिँदैनन् । गाडीबिनाको मानिस यहाँ अशक्तजस्तै हँुदो रहेछ । ड्राइभिङमा अलिकति गल्ती गर्‍यो भने पुलिसको टिकट भोलिपल्ट घरमै आइपुग्छ । यहाँ गाडीजत्तिकै भाषा पनि महत्त्वपूर्ण छ । अंग्रेजी बोल्न र बुझ्न नसक्ने मानिस लाटोजस्तै हुन्छ । अवैधानिक रूपमा आउनेहरू र डिभी परेर आउनेहरूलाई यसको बढी समस्या छ ।

 

दुवै थरीले काम नगरी परिवार पाल्न गार्‍हो छ । दिन रात काम गर्दा २ हजार, २२ सय डलरसम्म कमाइ हुन्छ । घरभाडा, गाडी र हेल्थ इन्स्युरेन्स, इन्टरनेट, ग्याँस, ग्रोसरी सबै खर्च कटाएर पैसा जोगाउन भने गार्‍है छ । अझ बिरामी भइयो भने त भुसुक्कै खर्च हुन्छ । घण्टा हानेर कमाउनेको त कति वर्षको कमाइ जान्छ । छात्रवृत्तिमा आएका विद्यार्थीहरूलाई काम खोज्ने झन्झट हुँदैन । अरूले भने कमाउदै पढ्न निकै दु:ख गर्नुपर्छ । अवैधानिक रूपमा आउनेहरूले काम पाउन मुस्किल छ । कसैसँग प्रेम गाँसिनु, छुट्नु, विवाह हुनु, डिभोर्स हुनु यहाँ सामान्य नै हुन्छ ।

सिर्जना कोइराला

 

सुनेको र भोगेको अमेरिकामा ठूलो फरक छ

बुझाइ आ–आफ्नै हुन्छन् । मैले अमेरिकालाई ‘बनारसी लड्डु’ भन्ने गरेको छु । खाए पनि पछुताउने, नखाए पनि पछुताउने । अहिले समय फरक भयो । डिजिलट र इलेक्ट्रोनिक जमाना आयो । अमेरिकाको धेरै जानकारी नेट एवं साथीभाइहरूबाट पाउन सकिन्छ । १६ वर्षअघि म यहाँ आउँदा स्थिति फरक थियो । म सुनेको अमेरिका आएको थिए । साथीभाइ पनि थिएनन् । सुनेको र भोगेको अमेरिकामा मैले ठूलो फरक पाएँ । यद्यपि म यसलाई नराम्रो भन्दिनँ । यहाँ प्रशस्त अवसर छ । अवसरका लागि परिश्रम र मेहनत पनि त्यतिकै चाहिन्छ । काम गर्न दु:ख मान्नेहरूका लागि अमेरिका सोचेजस्तो नहोला तर नराम्रो छैन । यहाँ परिश्रमबिना कहीं केही पाइँदैन । अमेरिकामा चाकरी र दादागिरी चल्दैन । एक्लो हट्टाकट्टा जवानका लागि सबैभन्दा राम्रो । महिनाको हजार डलर जोगाए पनि नेपालीमा लाख हुन्छ । त्यसपछि बालबच्चा नभएका जोडीका लागि अझ राम्रो । कमाउन चाहे दुवैले सक्छन् । एकले कमाएर अर्काले पढ्दा पनि हुन्छ ।

साना बालबच्चा भएकाहरूलाई भने त्यती सजिलो छैन । एक जनाको कमाइले धान्न गाह्रो हुन्छ । दुवैले काम गर्न मिल्दैन । बच्चा राख्ने ठाउँ पाइन्छ तर त्यो हामी साधारण नेपालीको कमाइभन्दा तीन गुना महँगो हुन्छ । समग्रमा भन्नुपर्दा यहाँ कि त ‘हाईली क्वालिफाई’का लागि प्रशस्त अवसर छ, कि त जुनसुकै काम गर्न सक्छु भनेर १२–१५ घण्टा खट्न सक्ने जवान हुनुपर्छ । अमेरिका अध्ययन र काम दुवैका लागि राम्रो छ तर नेपालमै केही गर्न सकिने अवस्था छ भने अमेरिका हामफाल्नु बेकार मात्र होइन, ‘धिक्कार’ पनि हुन सक्छ । उच्च शिक्षा लिने हो र साधनस्रोत जुटाउन सकिन्छ भने भोलि राम्रो उपलब्धि पनि हासिल गर्न नसकिने होइन । होइन भने राम्रोसँग सोचेर मात्र निर्णय लिँदा बेस ।

प्लस टु गरेर आउने विद्यार्थीहरूका लागि सजिलो छैन— अमेरिका । ‘अन्डर द टेबल’ काम गरेर पुर्‍याउन निकै गाह्रो छ । आफन्त वा नातेदारबाट ‘सपोर्ट’ भयो भने तनाव रहित भएर अध्ययन पूरा गर्न सकिन्छ, नभए पढ्न नसक्दा धेरै विद्यार्थी डिप्रेसनको सिकार पनि भएका छन् । मुख्य ख्याल गर्नु पर्ने कुरा यही हो । प्लस टु गरेर आएको छ भने ‘मेरो छोरो त अमेरिकामा छ’ भनेर अभिभावकले सामाजिक धाक नलगाएकै राम्रो ।

पढेर फर्कन सके त कति हो कति हुन्थ्यो । देशलाई अहिले त्यही चाहिएको छ, तर हत्तपत्त कोही पनि फर्कन मान्दैन । यहाँको सुविधामा जेलिएपछि मान्छे उम्किन गाह्रो छ । दु:खसुख चलुन्जेल बरु चलाउँछु पनि भन्छ । नेपालको राजनीतिक अस्थिरता, अशान्ति, दण्डहीनता र अन्धकारसँग पनि धेरै डराएका छन् । देशमा भोलि सुधारको अवस्था आयो भने धेरै नेपाली फर्कन चाहन्छन् । मलाई व्यक्तिगत रूपमा यहाँको ‘रिटायर्ड लाइफ’ मन परेको छैन— एक्लो र नीरस छ ।

अमेरिकाको भुगोल, मौसम र समयको भिन्नता जस्तै छ हाम्रो बुझाई पनि । मलाई लाग्छ, धेरै नेपाली खुसी नै छन् । केहीमा भने पछुतो पनि देखिन्छ, तैपनि अमेरिका त्याग्न सक्दैनन् । अमेरिकाले थोरै थोरैमा सबैथोक दिएका छ र आफूसँग जति हुन्छ त्यो सबै लिएको पनि छ । म विदेश बस्ने सबैलाई भन्छु– सकेको गरौं । देशले कहिल्यै माग्दैन, जानेर दिनुपर्छ ।

शिव प्रकाश, बोस्टन

 

मेरा लागि अमेरिका नेपालमा बसेर कल्पना गरेजस्तै छ । अमेरिका आइसकेपछि मैले परिवारसहित सुरक्षित महसुस गरेको छु । यहाँ अथाह स्वतन्त्रता छ । भौतिक सुविधाको त कुरै छोडौं, मैले सपनामा पनि नदेखेको साधनस्रोत उपयोग गर्न पाएको छु । अमेरिकामा बसेर यहिको जीवनशैली बिताउँदा मात्र फरक अनुभव पाइँदो रहेछ । अमेरिकामा नागरिकका लागि अथाह अवसर छन् । त्यहाँसम्म हाम्रो पहुँच पुगिसकेको छैन । अमेरिका बस्न चाहनेहरूले प्राविधिक वा यहीको शिक्षा हासिल गर्दा बढी सहज हुन्छ । म केही वर्षयता विश्वका धनी वारेन बफेटको कम्पनीमा काम गर्दैछु र यहाँको बसाइप्रति पूर्ण सन्तुष्ट छु ।

अर्जुन मैनाली

 

 

नौ वर्षको अमेरिका बसाइमा म सन्तुष्ट छु । मेरो सबै परिवार यतै छ । घुम्नकै लागि भए पनि मिल्यो भने सबैले एकपटक अमेरिका आउँदा राम्रो । यहाँ कमाइ राम्रै हुन्छ, तर खर्च हुने ठाउँ पनि उस्तै छ । नेपालमा बसेर सोचेजस्तो चाहिँ छैन ।

सम्झना क्षेत्री

 

प्रकाशित :मंसिर २४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्