बरु अस्पताल जान्छु तर पैसाका लागि अभिनय गर्दिनँ

- अश्विनी कोइराला

मंसिर २३, २०७३

विपिन कार्की, नायक

नायक विपीन कार्की कुनै बेला धनकुटामा अहेब पढ्थे । छात्रवृत्तिमा अहेब उत्तीर्ण गरेका विपिन अस्पतालमा रोगीको सेवा गर्न छाडेर काठमाडौं हान्निए । साहित्यको विद्यार्थीका रूपमा रत्नराज्य क्याम्पसमा भर्ना भएका विपिन फुर्सदमा नाटक हेर्न गुरुकुल नाट्यघर पुग्थे । टिकट काटेर नाटक हेर्न पैसा नहुने भएकाले उनले बिस्तारै त्यहाँका कलाकारको संगत गर्न थाले । फलस्वरूप एउटै नाटक पटक–पटक हेर्न पाए । नाटक हेर्दाहेर्दै कुन बेला आफूमा अभिनयको भोक प्रवेश भयो, उनलाई थाहा भएन ।

आज अवस्था कस्तो छ भने विपिन नेपाली कलाक्षेत्रमा अभिनयका मानक बनेका छन् । दर्जनौं नाटकमा अब्बल अभिनय गरिसकेका विपिनको प्रतिभाले ‘छड्के’, ‘पशुपतिप्रसाद’ हुँदै ‘जात्रा’ सम्म आइपुग्दा राम्रै  उचाइ लिएको छ । पातलो ज्यान र सामान्य नेपाली हाइट भएका विपिनलाई नेपाली दर्शकले किन रुचाए त ? यसपटक साप्ताहिकले यही प्रश्नको सेरोफेरोमा रहेर कार्कीसँग लामो समय बिताएको थियो ।

तपाईं त हिट हुनुभयो, कस्तो लागि’रा छ ?

हो र, खै मलाई त उति थाहा भएन । सबैले राम्रो भन्छन् । राम्रो भएरै राम्रो भनेका त होलान् नि, होइन र ?

चलचित्र ‘जात्रा’ र तपाईंको चरित्र यति हिट होला भन्ने लागेको थियो ?

के भने नि, यो चलचित्रको स्क्रिप्ट तयार पार्दादेखि नै म यसमा सम्लग्न थिएँ । जात्रा नामको अर्को चलचित्र पनि बन्दै थियो । त्यसमा मेरो भूमिका भएकाले म त्यसकै तयारीमा थिएँ, तर जात्रा टिमले अरूको सल्लाह लिने क्रममा त्यो क्रिप्ट चर्चित निर्देशक मनोज पण्डितलाई दियो । उहाँले त्यो स्क्रप्ट रिजेक्ट गरिदिनुभयो । हाम्रा निर्देशक प्रदीप भट्टराईले चलचित्र बनाउने घोषणा गरिसक्नुभएको थियो । स्क्रिप्ट रिजेक्ट भएपछि उहाँलाई अप्ठ्यारो पर्‍यो । उहाँसँग यो कथा रहेछ । त्यसमा काम गर्दा मैले सहयोग गर्ने अवसर पाएँ । मैले उक्त स्क्रिप्टका क्यारेक्टर खोज्न र माझ्न मेहनत गर्न थालेँ । यसरी मेहनतपूर्वक जन्मिएको हो, त्यो क्यारेक्टर ।

तपाईंले निर्वाह गर्ने क्यारेक्टर विशेष खालको हुन्छ । फडिन्द्र तिम्सिना अर्थात फडुको क्यारेक्टर कतै देख्नुभएको थियो ?

मैले हाम्रा निर्देशक प्रदीप भट्टराईको क्यारेक्टर नै कपि गरेको हुँ । खासमा उहाँले पटक–पटक फडुको क्यारेक्टर मसँग मिल्छ भनिरहनुहुन्थ्यो । त्यसैले पनि म निर्देशकको बोलीचाली एवं उठबसको शैली कपी गरिरहन्थें ।

 

चलचित्र‘जात्रा’ मा पहिलोपल्ट नायिकासँग अभिनय गर्नुभयो, कस्तो लाग्यो ?

खासमा नायिकाको अपोजिट भएर अभिनय गर्दा अप्ठ्यारो होला भन्ने लागेको थियो तर वर्षाले मलाई राम्रो सहयोग गरिन् । वर्कसप हुँदादेखि नै हामी साह्रै नजिक भयौं, यसले मलाई धेरै सजिलो बनायो । कतिसम्म भने हाम्रो छोरा भएर अभिनय गर्ने अरविन खड्का हाम्रै छोरा हुन् भन्ने लाग्थ्यो । वर्कसप र सुटिङभरि मात्र होइन, आजभोलि पनि उनी हामीलाई ममी–बाबा नै भनेर बोलाउँछन् । कहिलेकाहीँ त हामी हाम्रो विवाह मात्र होइन, सन्तान नै भैसके भनेर झुक्किन्थ्यौं ।

 

यसअघि तपाईं पशुपतिप्रसादमा ‘भस्मे’ डनका रूपमा प्रस्तुत हुनुभएको थियो । उक्त क्यारेक्टर पनि फडुजस्तै निखारिएर आएको थियो । त्यसको कारण के होला ?

पशुपतिप्रसादको स्क्रिप्ट मेरो हातमा पर्दा भस्मेको क्यारेक्टर केही छोटो थियो । त्यति गहिरो पनि भएको थिएन ।मैले खगेन्द्र लामिछानेलाई यो क्यारेक्टरमा यत्तिकै काम गर्दिनँ भनेर जवाफ दिएको थिएँ । खगेन्द्रले यो पहिलो ड्राफ्ट हो, यसलाई बनाउन बाँकी छ भनेर सम्झाउनुभयो । त्यसपछि मैले यो क्यारेक्टरलाई कसरी न्याय दिन सकिन्छ भनेर निकै मेहनत गरे । स्वर भासिएको बनाउनु, अन्तिममा भस्मे रुनु त्यसकै उपज हो ।

 

पशुपतिप्रसादमा भस्मे डनको जुन भासिएको स्वर छ, त्यो कसरी जन्मियो ?

म अभिनय गर्ने मान्छे भएकाले म सधैं नयाँ–नयाँ क्यारेक्टरको खोजीमा रहन्छु । मैले भस्मेको क्यारेक्टर यसैगरी भेटेको हुँ । बन्दीपुरमा एउटा चलचित्रको काममा जाँदा कुक टेक्निसियन हरि थापाको कुरा गर्ने शैलीले मलाई निकै प्रभावित तुल्याएको थियो । मैले उहाँलाई फलो गरेँ । भस्मे डनलाई अरूभन्दा फरक बनाउन मैले निर्देशकलाई पनि ढाँटेर चिसोले स्वर बिग्रिएको अभिनय गरेँ । स्वर बिग्रिएकै अवस्थामा अभिनय गरेको बताउँदा पशुपतिप्रसादको पूरै टिम चिन्तित भएको थियो । मैले स्वर बनाएको भनेर कसैले थाहा समेत पाएनन् । दुई महिना यो स्वरमा बोल्दा कहिलेकाहीँ मेरो पुरानो स्वर फर्कंदैन कि भनेर चिन्तित हुन्थे ।

 

यस्ता क्यारेक्टर कुन बेला खोज्नुहुन्छ ?

कलाकारहरू आफ्ना हरेक चलचित्रमा केही नयाँ कुरा दिन चाहन्छन् । उनीहरू अभिनय गर्ने भएपछि मात्र त्यस्ता क्यारेक्टरको खोजी गर्छन् । यसमा म केही फरक छु । म एक्लै हुँदा, ट्याम्पु चढ्दा, चलचित्र हेर्दा पनि क्यारेक्टरको खोजी गरिरहेको हुन्छु । बस चढेका बेला कुन यात्रु कसरी च्यापु हल्लाइरहेको छ, कोसँग कसको कस्तो गफ चलिरहेको छ, लगाउने तथा बोल्ने शैली कस्तो छ, ख्याल गरिरहेको हुन्छु । राम्रो लाग्यो भने त्यसको कपि गरेर आफ्नो रिजर्भ ट्याङ्कमा राखिहाल्छु ।

कहाँ छ त्यो रिजर्भ ट्याङ्क ?

मेरो मनमा ।अहिले पनि मसँग१०–१२ वटा क्यारेक्टर छन् । कसैले कुनै अभिनयको अफर गरे भने ती क्यारेक्टर कहाँ फिट हुन्छन् भनेर सोचिहाल्छु । कुनै–कुनै सामान्य मानिससँग पनि अनौठो कला हुन्छ । ती कला टिप्ने प्रयत्न सधैं गरिरहन्छु ।

 

तपाईं अभिनयमा आएको १० वर्ष भैसकेको छ, तर चलचित्र निकै थोरै छन्, किन ?

किनभने म टाउको देखाउन मात्र काम गर्दिनँ । मेरा दाइ अर्जुन कार्की नेपाली चलचित्रमा नायक हुनुहुन्थ्यो । उहाँ र उहाँको पुस्ताको अभिनयले मलाई कहिल्यै प्रभाव पारेन । सम्भवत: त्यसैले मलाई काठमाडौं आउनुभन्दा धनकुटा बसेर अभिनय गर्नु उपयुक्त लाग्यो । गुरुकुलको विद्यार्थी नभएको भए म कहिल्यै अभिनयमा आउने थिइनँ । गुरुकुलले मलाई अभिनय के हो, त्यो सिकायो । बरु एक–दुई दृश्यमा देखिन्छु तर दर्शकहरूमा गतिलै छाप छाड्छु भन्ने कुरामा सदैव सचेत रहेँ । आज पनि दर्शकहरू चलचित्र लुटका दुईवटा दृश्यमा देखिएको गुण्डाको बडीगार्डलाई सम्झन्छन् । त्यही दुई दृश्यमा देखिन पनि मैले बडीगार्डका विषयमा लामो अध्ययन गरेको थिएँ । म अभिनयमा बाँच्न चाहन्छु । दर्शकमा एउटा छाप परोस् भन्ने चाहन्छु ।

 

यसो गर्दा बाक्लै चलचित्र नपाइन सक्छ । आफूले खोजेजस्तो काम पाइएन भने के गर्नुहुन्छ ?

त्यत्तिकै बस्छु । नाटक बनाउँछु । टाउको देखाउनमात्र अभिनय गर्नु पाप नै हो । म यसतर्फ सधैं सचेत छु । मलाई पशुपतिप्रसादपछि भस्मेजस्तै क्यारेक्टर गर्न धेरै अनुरोध आए, जसलाई मैले अस्वीकार गरेँ । म चलचित्रका क्यारेक्टर त के कुरा, नाटकका क्यारेक्टर पनि दोहोर्‍याउन चाहन्नँ । त्यो त जीवन धान्न गर्नुपर्ने काम मात्र भयो जबकि कलाकारको काम त्यो होइन ।

 

कलाकारको काम नै अभिनय गर्ने हो । सधैं नयाँ क्यारेक्टर कसरी पाइन्छ, अहिलेको समयमा कसरी जीवन धान्ने ?

म अहेब पनि हुँ । काम पाइन भने बरु अहेबका रूपमा काम गर्न अस्पताल जाऔंला तर चलचत्रिप्रति मेरो धारणा स्पष्ट छ । मलाई अभिनय दोहार्‍याउन मन लाग्दैन । यसलाई यसैगरी अघि बढाउनुपर्छ भन्ने लाग्छ ।

 

अब त विवाह पनि गर्नुभयो, जीवन धान्न पनि धेरैभन्दा धेरै चलचित्रमा अभिनय गर्नुपर्‍यो नि, होइन ?

म त्यो बाध्यतामा छैन । विवाहअघि नै मैले आफ्नो कुरा श्रीमतीसँग राखेको थिएँ । मेरो कुरा मेरी श्रीमतीले बुझ्छिन् ।पहिले उनी जागिर खान्थिन् । मेरो अभिनयलाई सजिलो होस् भनेर उनले व्यवसाय सुरु गरेकी छिन् । मैले उनलाई बरु तिम्रो काममा सघाउँछु, सामान्य जीवन व्यतित गर्छु तर आफूले चाहेकाराम्रा चलचित्रमा मात्र काम गर्छु भनेर कन्भिन्स गरेको छु । मेरो कुरालेउनी साह्रै खुसी छिन् ।

 

त्यसका लागि त तपाईंको कुरा बुझ्ने निर्देशक चाहियो, त्यस्ता निर्देशक फेला पार्नुभएको छ ?

नाटकको कुरा गर्नु हुन्छ भने सुनिल पोखरेल सर मात्र यस्तो व्यक्ति हो, जसले विपीन तिमीले अभिनय गरेर खादैनौ भनेर गाली गर्नुहुन्थ्यो । नाटकमा उहाँले पटक–पटक मैले यो खोजेको होइन भनेर थर्काउनु हुन्थ्यो । त्यसयता मैले जति पनि निर्देशक भेटेँ, मैले गरेको अभिनयलाई नै सदर गर्नुहुन्छ । यो पञ्च बढी भयो, यो कम भयो, यहाँ रोक भनेर सम्झाएको मैले पाएकी छैन । मैले जस्तो गरेँ, वाह कति राम्रो भन्नेहरू हुनुहुन्छ । म आफूलाई गाली गर्न सक्ने, मेरो कुरामा कमेन्ट गर्न सक्ने निर्देशकको खोजीमा छु ।

 

तपाईंको प्रतिभा निर्देशनतिर पनि देखिन्छ, निर्देशनमा किन आउनुहुन्न?

अहिले त अभिनय गरेरै अघाएको छैन । यस अर्थमा म अहिले निर्देशनमा जान तयार छैन । पहिले अघाउन्जेल अभिनय गरौं, त्यसपछि निर्देशनका कुरा सौचौंला ।

 

 

प्रकाशित :मंसिर २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्