विवाह गर्ने पछुताउने र नगर्ने चुकचुकाउने किन ?

- सुव्रत

मंसिर २३, २०७३

 

विवाहपूर्व एक्लो जीवन र स्वतन्त्रताको मज्जा लुट्न पाइने र विवाहपछि घर, समाज अनि जीवनसाथीको डर हुने भएकाले हो कि ?

सुनिल कटुवाल, कलाकार

 

मानिस असन्तुष्ट प्राणी हो, जे छैन त्यो चाहिन्छ र पाएपछि त्यसको अवमूल्यन गर्छ ।

असिम शाह, निर्माता

 

फरक–फरक युवतीसँग मस्ती गर्न नपाएर होला ।

शिव परियार, गायक

 

मानिस असन्तोषी हुन्छ । विवाह गरेपछि स्वर्ग नै पुगिन्छ भनेर विवाह गर्छ अनि पछुताउँछ । विवाह नगर्नेहरूचाहिँ विवाहपछि श्रीमान्ले नयाँ–नयाँ ठाउँ घुमाउला, राम्रा र महँगा सारी ल्याइदेला भन्ने अपेक्षाका कारण चुकचुकाउने होला ।

प्राश्ना पाण्डे, गायिका

 

आत्मबलको कमी ।

अनुराग कुँवर, कलाकार

 

यो विवाह भन्ने कुरै यस्तै हो, ‘शादीका लड्डु, जो खाए पछताए, जो नखाए ओ भी पछताए’ भने जस्तै ।

देवकुमार श्रेष्ठ, निर्देशक

 

म त पछुताएको छैन, तर विवाह नगर्नेहरू चुकचुकाउने कारणचाहिँ विवाह गरेको भए धुर्मुस–सुन्तलीको जस्तो जोडी हुन्थ्यो कि भनेर होला ।

कुञ्जना घिमिरे ‘सुन्तली’

 

विवाह गर्ने सबै पछुताउँछन् भन्ने होइन, तर कोही–कोहीचाहिँ पछुताउँछन्, किनभने उनीहरूले आवश्यकताभन्दा बढी महत्वाकांक्षा बोकेका हुन्छन्, जसको परिपूर्ति नभएको खण्डमा पछुतो मान्छन् । अविवाहितहरूचाहिँ शारीरिक तथा मानसिक सन्तुष्टिजस्ता वैवाहिक सुख नपाएकाले चुकचुकाइरहेका हुन्छन् ।

ओम प्रतीक, लेखक  रनिर्देशक

 

खै, थाहा भएन । बरु मचाहिँ अहिलेसम्म चुकचुकाइरहेको छु ।

शिशिर राणा, कलाकाररनिर्देशक

 

विवाहअघि छिन–छिनमै प्यार र विवाहपछि दिन–दिनै वार हुने भएकाले ।

प्रभात लामा, आरजेरभिजे

 

यो एउटा यस्तो संविधान हो, जुन संविधानभित्र रहेर जिउने हो भने पछुताउनु पर्दैन । मचाहिँ अविवाहित भएर पनि चुकचुकाइरहेको छैन । अब पछुताउने कुराको चाहिँ अनुभव भएपछि भनुँला ।

मदन गोपाल, गायक

 

खै, आफूलाई पछुताउने अवसर पाउँछु कि पाउँदिनँ भन्ने चिन्ताले सताइरहेको छ । चुकचुकाएको भने छैन, तर पछुताउने बाटोचाहिँ छिट्टै रोज्दैछु ।

जान्वी बोहोरा, नायिका

 

विवाह गरेकाहरूले तीता–मीठा अनुभव सँगाल्छन्, तर तीतो अनुभव हावी हुँदा पछुताउँछन् । अविवाहितहरूचाहिँ अर्काको जोडी देख्छन् र मुख मिठ्याउँदै चुकचुकाउँछन् ।

रेश्मा सुनुवार, गायिका

 

जीवनको वास्तविकता नबुझ्नेहरू पछुताउँछन्, समयमै विवाह नगर्नेहरू चुकचुकाउँछन् ।

कृष्णदेव रूपाखेती, म्युजिक भिडियो निर्देशक

 

अचेलचाहिँ सामाजिक सञ्जालले गर्दा पनि होला । विवाह हुनेहरूको लाइफस्टाइल देखेर विवाह नहुनेहरू चुकचुकाउँछन् । विवाह हुनेहरूचाहिँ विवाह नहुनेहरूको स्वतन्त्रता

देखेर पछुताउँछन् ।

मरिष्का पोखरेल, नायिका

 

मैले विवाह गरिसकेँ, तर पछुताएकी छैन । विवाह नगर्नेहरूचाहिँ वैवाहिक सुखभोगको आशमा चुकचुकाउँछन् होला ।

भूमि रिमाल, ब्युटिसियन

 

अविवाहित मानिस विवाहपछि कसैको काँधमा शिर राखेर आफ्ना राम्रा–नराम्रा अनुभव सेयर गर्ने चाहना राख्छन्, त्यसैले चुकचुकाउँछन् । केही विवाहितहरू भने विवाहपछि झेल्नुपर्ने अवास्तविक घटनाहरूका कारण पछुताउँछन् ।

अर्जु खरेल, मोडल

 

 

आफू त अविवाहित छु, तर चुकचुकाएको छैन भने पछुताउने कार्य गर्न पनि भ्याएको छैन ।

विनोद न्यौपाने, मोडल

 

न म विवाहित परेँ, न त विवाह गर्न नपाएकोमा चुकचुकाएको छु । त्यसैले मसँग यो प्रश्नको जवाफ छैन ।

विष्णु सुवेदी, टेलिभिजनकर्मी

 

विवाह आइफोनजस्तो भएकाले होला । नयाँ भर्सन बजारमा आएपछि पुरानो फोन हुनेहरू पछुताएझैं हो यो कुरा । लिँदै नलिएकाहरू पनि लिन पाए हुन्थ्यो भनेर चुकचुकाउँछन् ।

प्रकाश पौडेल, गायक

 

पाउनेलाई सस्तो, नपाउनेलाई कस्तो–कस्तो भएकाले ।

गोपाल ढकाल, छन्दे

 

 

प्रकाशित :मंसिर २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्