हामी हिंड्नुपर्ने बाटो

- रुबिना उप्रेती

मंसिर २२, २०७३- 

पख्नुस् है,  हामी आफ्नो अधिकारको लागि लड्न त लडौं, आवाज उठाउनुपर्ने बिषयमा आवाज त उठाऔं । तर, त्योभन्दा पहिला केहि सुधार्नुपर्ने पक्ष हामीमा पनि छन् है । हामीले बोल्ने बोलिमा, हामीले हिंड्ने हिंडाइमा, हामीले हाम्रो देशको पहिचान र बुवाआमाबाट सिकेको संस्कार झल्काइरहेका हुन्छौं । हामीले गर्ने व्यबहारबाट हाम्रा भावी पुस्ताले पहिल्याउने बानी ब्योहोरा स्थापना गरिरहेका हुन्छौं । हो, हामी एउटा गणतान्त्रिक देशका नागरिक हौं । कुनैपनि बिषयमा स्वतन्त्र धारणा राख्न पाउनु हाम्रो संबैधानिक अधिकार हो । देशमा परिवर्तन ल्याउनको लागि जनताले बोल्नुपर्छ । सरकारले जनताको भावनालाई शिरोपर गर्दै अगाडि बढ्नुपर्छ । अहिले त झन् सामाजिक सन्जालको प्रभाबले गर्दा आफ्नो धारणा सबैसामु राख्न झनै सजिलो भएको छ । मन लागेको भन्न पाइएको छ । र, साथसाथै एक अर्कालाई सचेत पार्न पाइएको छ । तर, केहि समयदेखी मैले सामाजिक सन्जालमा एउटा डरलाग्दो  जमात देखेकि छु । जसले यसै अधिकारको नराम्रो दुरुपयोग गरिरहेको छ । म आज यो लेख लेख्न कुनै एउटा घटनाबाट प्रेरित भएकी हैन । लामो समयदेखी देख्दैछु, हामी मध्येका केहि युवाले यो अधिकारको हदबन्दी धेरै माथि पुगेर दुरुपयोग गरेको । मनमा खल्लो लाग्थ्यो । त्यो जमातले मेरो पनि त प्रतिनिधित्व गर्छ । म पनि नेपाली युवा, त्यो जमातका ति अनुहार पनि नेपाली ।

लामो समयदेखी सोच, बिचार गरेर एउटा निस्कर्षमा पुगेकि छु । यो सबै रोक्न मैले केहि त गर्नुपर्छ । र, यसको एउटा मात्रै समाधान छ । त्यो हो, सचेतना । त्यसैले आज कामबाट आएर यो लेख लेख्न बसेकी छु । हाल सालै सरकारसँग काँग्रेस नेत्री तथा पुर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले स्तन क्यान्सरको उपचारका लागि एक करोड रुपैंयाँ माग गरेपछि फेसबुक, ट्विटर, युट्युब लगायतका सामाजिक सन्जालमा त्यस्को घोर बिरोध भयो । अझ सरकारले उनलाई ५० लाख रुपैंयाँ  दिने निर्णय भएपछि त झन् त्यसको घोर भत्सर्ना भयो । म आफैले पनि उहाँलाई खुला पत्र लेखें ।

 

हो, चित्त नबुझेको ठाउँमा हामीले आवाज उठाउनुपर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ । तर, समस्या कहाँनेर आयो भने, हामी मध्येबाट केहि युवाका शब्द चयनमा । सुजाता कोइरालाको त्यो कदमको बिरोध गर्ने क्रममा स्त्री अंगको अपमान गरियो । उनको नितान्त ब्यक्तिगत पक्षबारे टिप्पणी गरियो । मनपरी शब्दहरु प्रयोग गरी गालीगलौज गरियो । यसलाई हामीले हाम्रो बोल्न पाउने अधिकारको दुरुपयोग नभनेर के भन्ने ? बौद्धिक तर्क तब मात्र बन्छ जब हामी जुन बिषयमा चित्त नबुझेको कुरा हो, त्यही बिषयको घेराभित्र रहेर बहस र टिप्पणी गर्छौं । राजनीतिक पाटोप्रति असन्तुष्टि छ भने राजनीतिक घेराभित्र सिमित रहेर टिका टिप्पणी गर्नुपर्छ, ब्यक्तिगत जीवनमाथी औंला उठाउनु, टिप्पणी गर्नु एउटा निच कार्यको प्रदर्शन हो ।

 

यो त एउटा उदाहरण मात्रै हो, यस्ता कैयौ उदाहरणहरु छन् जहाँ राजनीतिक ब्यक्तित्वहरुको मात्रै हैन कलाकारहरुको पनि चरित्र हत्या गर्ने कार्य भएको छ । आफ्नै देशमा फर्किएर केहि गर्छु भनेर नेपाल फर्किएकी नायिका प्रियंका कार्की त कैयौं पटक त्यो जमातको सिकार बनिन् । त्यसैगरी नेपालको पर्यटनलाई बिश्वसामु चिनाउन लागि परेकी समृद्धि राईमाथि त्यस्तै व्यबहार भयो । युट्युबमार्फत निकै चर्चा कमाएका र आफ्नो कमाइमा थपथाप गरी हेल्प नेपाल मार्फत नेपाललाई सहयोग गरेका आयुश रिमालमाथि त्यस्तै खालको आक्रमण भयो । यस्ता अरु कैयौं उदाहरणहरु छन् जुन मैले यहाँ भनिराख्नु पर्दैन ।

हो, उनिहरुले गरेका केहि कुरा हामीलाई मन नपर्न सक्छ । उनीहरुका केहि व्यबहारले चित्त पनि दुख्न सक्छ । ए, त्यस्तो भन्न  हुँदैन थियो, यो गलत भयो, यसो गर्न हुँदैन थियो, यो भनाइले मेरो चित्त दुख्यो, यो यो करणले दुख्यो भन्न एकदमै जायज छ । गल्ती सबैबाट हुन्छ, हामी दिनमा कतिवटा गल्ती गर्छौं ? उनीहरु भगवान पनि त होइनन् । केहीले जानीजानी गल्ती गर्छन्, केहीले नजानेर । उनीहरुले केहि गलत बोलेमा र गरेमा  उनिहरु प्रती असन्तुष्टि पोख्न पाईन्छ, सुझाब दिन पाईन्छ । उनीहरुले गरेका सबै कार्य मन पराउनैपर्छ भन्ने पनि छैन । तर, उनीहरुलाई अश्ल्लि शब्दहरु प्रयोग गरेर सम्बोधन गर्न, उनीहरुको ब्यक्तिगत जीवनमाथि आक्रमण गर्न हामी कसैलाई अधिकार छैन ।

 

त्यो अनैतिक कार्य हो । र, कानुनी दृिष्टकोणबाट दण्डनिय पनि । ब्यक्तिगत जीवनबारे टिप्पणी गर्नु कतिको बौद्धिक स्तरको व्यबहार हो ? मेरो भनाइको तात्पर्य के हो भने, हामीले बिरोध जनाउन पाउँछौ, तर त्यसको पराकाष्ठा नाघ्नु बिक्रिती हो । स्वस्थ बिरोध गर्न पाउनु हाम्रो अधिकार हो भने अश्लिल, निच र तुच्छ शब्दहरु प्रयोग गरी अस्वस्थ बिरोध गर्नु त्यही अधिकारको दुरुपयोग । म एकजना अन्तर्राष्ट्रिय कानुनकी विद्यार्थीको हैसियतले भन्दैछु, कसैको नितान्त ब्यक्तिगत पक्षको बारेमा टिप्पणी गर्नु, कसैको चरित्रको बारेमा निच कुराहरु बोल्नु चरित्रहत्या र मानहानीका उदाहरण हुन् ।

 

हामी सबैमा आफ्ना अधिकार के–के हुन् र तिनलाई कति हदसम्म प्रयोग गर्न पाईन्छ, हामीले बोलिले देश र आफुले प्रतिनिधित्व गर्ने नेपाली युवाको छबिमा कत्तिको असर पार्छ भन्ने चेतना मात्रै हुनसक्यो भने यस्ता समस्याहरु आफै निर्मुल हुँदै जानेछन् । हामीले यस्ता कार्यलाई निरन्तरता दियौं भने हामीलाई बुवाआमाले राम्रो बोल्न, अरुको सम्मान गर्न दिएको अर्तीको अपमान हुनेछ, हामीलाई उहाँहरुले त्यत्रो दु:ख गरेर स्कुल पठाएको ब्यर्थै हुनेछ ।

कसैलाई बिपत्ति पर्दा ज्यान दिएर सहयोग गर्ने हामी नेपाली युवा, एकअर्काको सम्मान गर्ने नेपाली युवा, माता पितालाई भगवान मान्ने हामी नेपाली युवा, बृद्ध, महिला, असक्त देखे सहयोग गर्ने, आफ्नो सिटमा बस्न दिने हामी नेपाली युवा, आउनु हामी सबै मिली आज छातीमा हात राखेर भनौं, हामी नेपाली युवा शुसिल, सहयोगी, बहादुर, अनुशासित र सभ्य युवाका रुपमा चिनिन्छौं ।

 

र, मलाई यसरी नै चिनिराख्नु छ । राम्रा कामहरु गरेर मलाई भावी पुस्ताको लागि एउटा प्रेरणादायी उदाहरण बन्नु छ, उनिहरुका लागि सम्मान र सद्भावले भरिपूर्ण संस्कार स्थापना गर्नु छ । हामीले  गर्ने हरेक ब्यक्तिगत ब्यबहारले हाम्रा देशका युवाको चरित्र झल्किन्छ । मलाई हामी सबैको उच्च छबि कायम गर्नुमा गर्ब लाग्छ ।

 

प्रकाशित :मंसिर २२, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्