महाकाली सीमाका बजार र बस्तीहरू

- किशोर नेपाल

मंसिर २०, २०७३

 

‘के वर्षको ८ क्विन्टल यार्सागुम्बा उत्पादनगरेर सरकारलाई प्रतिकिलो २५ हजार रुपैयाँ कर बुझाउने जिल्ला गरिब हुन सक्छ ? तर दार्चुला जिल्लाको अवस्था यस्तै छ । हामी बाटो बनेर पनि दुर्गम छौं । बाटो नबन्दा पनि दुर्गम थियौं,’ यो अभिव्यक्ति हो अपि नगरपालिका, दार्चुलाका सञ्चारकर्मी कमल जोशीको । उनको यो भनाइसँग दार्चुलावासीको खासै असहमति नहोला । छिमेकीको विकास देखेर हीनताबोध हुनु स्वाभाविक हो । धेरै तन्नेरी हीनताबोधको सिकार भएका छन् ।

 

महाकाली नदीको वारि र पारि, दुवैतिर विशाल पहाड उभिएका छन् । नेपालबाट हेर्दा भारतीय पहाडमा बिहानको सूर्य पहिले उदाउँछ । भारततिरबाट हेर्दा नेपाली पहाडमा सूर्यको पहिलो किरण परेको देखिन्छ । ढिलैसम्म दुवै पहाडको फेदीमा छ्याङ्ग उज्यालो हुँदैन । पहाड ठूलो र अग्लो भएपछि त्यसले उज्यालोलाई पनि छेक्ने तागत राख्छ ।

पहाडको त्यही फेदीमा एकातिर दार्चुलाको खलङ्गा बजार छ, अर्कातिर भारतीय राज्य उत्तराखण्डको धार्चुला बजार । यी दुवै बजार महाकाली नदीमाथिको एउटा निकै पुरानो, धरापजस्तो, झोलुंगे पुलले जोडिएका छन् । यो पुल नेपाल–भारतको सिमाना पनि हो र सुरक्षा पनि । पुलको दुवैतर्फ जस्ताका ढोका बनाइएका छन् जुन बिहान खुल्छन् र साँझ बन्द हुन्छन् । भारतीय सुरक्षाकर्मीले पुलको तस्बिर खिच्न दिंदैनन्, नेपाली सुरक्षाकर्मी भने तस्बिर खिचे–नखिचेको त्यति वास्ता गर्दैनन् । सीमाका दुवैतिर बस्ने जनताको सुरक्षित आवागमनका लागि नजिकै अर्को कुनै पुल छैन । 

सरकारले नगरपालिका घोषित गरेपछि दार्चुला जिल्लाको सदरमुकामका रूपमा रहेको खलंगा बजारको नाम परिवर्तित भयो, अपि नगरपालिका । अपि हिमाल दार्चुला जिल्लामै पर्छ, तर दुर्भाग्य के भयो भने अपिको फेदीमा बस्नेहरूले खलंगाले अपि नाम राखेकोमा आपत्ति जनाए । खलंगाको नाम एकपटक फेरि परिवर्तित हुने भयो । नयाँ प्रस्ताव गरिएको नाम हो— महाकाली नगरपालिका । 

दार्चुलाका अधिकांश मानिसको आकांक्षा छ, सरकारले महाकाली करिडोरमा नयाँ सडक बनाएर खलंगा बजारलाई भीमदत्त नगरपालिका महेन्द्रनगरसँग जोडोस् । यसो भयो भने झोलुंगे पुलको निरन्तरको यात्राको पनि टुंगो लाग्नेछ । भारत सरकारले महाकालीको यो भेगमा नेपाल जोड्ने पक्की पुलको व्यवस्था गर्नेमा चासो दिएको छैन । यो उसको आवश्यकता पनि होइन । यो स्थितिमा नेपालले महाकाली करिडोरमा महेन्द्रनगरसँग दार्चुलाको खलङ्गा बजार जोड्ने योजना बनाउने हो भने यस भेगका लागि त्यो सर्वाधिक लोकप्रिय काम हुनेछ । 

महाकाली नदीको किनारामा रहेको बजारले विकासको विस्तार लिँदै रहेको अवस्थामा, तीन वर्षअघि यसको विध्वंस भयो । २०७० सालको असारको दोस्रो र तेस्रो दिन महाकाली नदीमा आएको बाढीले बजारका महत्त्वपूर्ण भागलाई बगायो । सयौं मानिस विस्थापित भए । कतिपय घर बाढीमा परे । ११ वटा त सरकारी भवन नै ध्वस्त भए । त्यो बेलादेखि अहिलेसम्म राजनैतिक नेतृत्वको उदासीनता र निरपेक्षताका बीचमा झुलिरहेको छ खलङ्गा बजार । पुनर्निर्माणको गति अत्यन्त सुस्त छ । केन्द्रबाट बजेट निकासा नभएसम्म आयोजना एक्लैले काम गर्न सक्दैन । काम गर्न त केन्द्र र आयोजनाका बीच समन्वय चाहिन्छ । पुनर्निर्माणमा मात्र होइन, राहत वितरणमा पनि ढिलासुस्ती भएको छ । उता, भारततिरका बाढीपीडितलाई त्यहाँको सरकारले किच्छामा पुन:स्थापित गरिसक्यो । बाढीपीडितलाई सुरुमै ३ लाख रुपैयाँ प्रतिपरिवारका दरले राहत वितरण गर्‍यो ।

 नेपालतिरका बाढीपीडितको पुन:स्थापनाको अत्तोपत्तो छैन । जनताले रोइकराइ गरेर बल्लतल्ल ३५ हजार रुपैयाँको राहत पाए । ‘सँगैको धार्चुला हेर्नोस् । कतै तुलना गर्न सकिन्छ र ? उतापट्टि त्यत्रो विकास भैसक्दा पनि हाम्रोतिर बजारमा चहल–पहल शून्यजस्तै छ,’ जोशी बताउँछन् । यसलाई अस्वाभाविक भन्न मिल्दैन । धार्चुला बजार भारतको विशाल अर्थतन्त्रको हिस्सा हो । सिमानाको बजार भएकाले सुविधा र सुरक्षा दुवै हिसाबले त्यसमा भारत सरकारको दृष्टि पुगेको छ । नेपाली दार्चुला बजार र भारतीय धार्चुला बजारका बीच तुलना गर्नु जायज होइन । दार्चुलाको सदरमुकाम खलंगा पक्की सडकसँग जोडिएको पाँच वर्ष भएको छैन । 

बल्ल नेपालीले अब भारतको घुमाउरो बाटो भएर दार्चुला भित्रिन नपर्ने भएको छ । दार्चुलाका लागि यो ठूलो परिवर्तन हो । जनता चाहन्छ, अब नेपाललाई चीनसँग जोड्ने १ सय ३० किलोमिटर लामो टिंकर सडक बनाउने कामलाई सरकारले तीव्रता दिनुपर्छ । यो राजमार्गको अहिलेसम्म ३० किलोमिटर जति मात्र ट्रयाक खुलेको छ । स्रोत भएरमात्र विकास हुँदैन । स्थानीय बासिन्दाहरू भन्छन्, महाकालीको तटबन्धनका लागि सरकारले ३ अर्ब ५ करोड रुपैयाँ छुट्याएको छ । कामको गति भने सुस्त छ । यसको दोष कसैलाई दिन सकिँदैन । ‘हामीकहाँ काम गर्ने संस्कृतिको विकास नै भएको छैन । हामी पछि पर्नुको कारण त्यति मात्र हो,’ भन्छन् स्थानीय आलोक ठगुन्ना ।

 

दार्चुलाको यो भेगदेखि धेरै पर, ब्रह्मदेव मण्डीसम्म, पूरै समाज नदी किनाराको बस्तीमा बस्छ । महाकालीको दुवैपट्टि किनारामा मानिसहरूको ठूलो बस्ती छ । दुवैपट्टिका बासिन्दाका बीचमा राम्रो सम्बन्ध छ । बिहेवारीको पनि, बजारको पनि, दु:खसुखको पनि । नेपालको मधेस–तराइ र यहाँको समस्या फरक छ । यहाँका बासिन्दा मधेसी पनि होइनन् र पहाडी पनि होइनन् । अन्यत्र रहेका सीमावर्ती सहर, बजार र बस्तीहरूको समस्या अलग हुन्छ । नदी किनारामा बस्नेको अलग । महाकालीका दुवैतिरका मानिसको सर्वाधिक आवागमन हुने मुख्य घाटहरूमा थप झोलुंगे पुल हाल्नका लागि नेपाली प्रशासनले भारतीय प्रशासनसँग वार्ता गर्नुपर्ने हो । त्यस्तो प्रयत्न भएको छैन । त्यही दु:खको कुरा हो । दार्चुला भारत र चीन दुवै छिमेकीसँग जोडिएको जिल्ला हो । मानसरोवरको बाटो पनि हो । लिपुलेक पनि हो । कालापानी पनि हो ।

प्रकाशित :मंसिर २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्