अस्ट्रियाका नेपालीहरू

- नरेन्द्र रौले

मंसिर १४, २०७३

 

उत्तरमा जर्मनी, पूर्वमा स्लोभाकिया र हंगेरी, दक्षिणमा स्लोभेनिया र इटाली तथा पश्चिममा स्विट्जरल्यान्डसँग सिमाना जोडिएको अस्ट्रिया अत्यन्त सुन्दर र विकसित भूपरिवेष्टित देश हो, जसको राजधानी भियना हो । युरोपियन युनियनको सदस्य अस्ट्रिया मध्ययुरोपको धुरी मानिन्छ । संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न निकायको प्रधान कार्यालय भियनामै छन् । अत्यन्त समृद्ध इतिहास भएको अस्ट्रियाको जीवनस्तर लोभलाग्दो मानिन्छ । यहाँका मानिसले प्राप्त गर्ने शिक्षा, स्वास्थ्य सुविधा, सुरक्षा संसारमै अब्बल छ । 

 

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले हरेक वर्ष जारी गर्ने मानव विकास सूचकांकमा अस्ट्रियाको स्थान जहिले पनि पहिलो २० मै अटाएको हुन्छ । यहाँको प्रतिव्यक्ति आय ४ लाख ३० हजार ८ सय रुपैयाँभन्दा बढी छ । अस्ट्रियाले दूधजन्य पदार्थ, मासु, मेसिनरी, मोटर–कार, त्यसका पार्टपुर्जा, कागज, धातुजन्य पदार्थ, रसायन, प्रशोधित फलाम तथा स्टिल निर्यात गर्छ भने तेल, प्लास्टिक, औषधी, खाद्यान्न तथा तयारी खाद्य पदार्थ आदि आयात गर्छ ।

विदेशको जीवन फेसबुकमा राम्रा–राम्रा तस्बिरहरू पोस्ट गरिएजस्तो छैन । विदेशको पीडा कतिपय सन्दर्भमा भनिनसक्नु छ । नेपालबाट हेर्दा जति आकर्षक र सुन्दर लागे पनि त्यहाँको पीडा बेग्लै हुन्छ । विद्यावारिधि गर्नेहरूले पनि भनेजस्तो काम नपाइरहेको अवस्था छ । युरोपका २८ वटा देशले अंग्रेजी भाषालाई मान्यता दिएका छैनन् । तीमध्ये अस्ट्रिया पनि एक हो । यहाँ काम पाउन स्थानीय भाषा जानेकै हुनुपर्छ । घरखेत बन्धकी राखेर युरोप छिर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुसरह मान्छन्, रविचन्द्र भट्टराई । सन् २००९ मा उनी दलाललाई १२ लाख रुपैयाँ बुझाएर युरोप छिरेका हुन् । 

युरोप छिर्नु निकै चुनौतीपूर्ण हुन्छ र सास्ती पनि उत्तिकै भोग्नुपर्छ । भट्टराई युरोप छिर्दा १२ जनाको समूहमा थिए । दलालले सुरुमा टर्की हँुदै ग्रिस पुर्‍यायो । सबैले भिन्दाभिन्दै दलालमार्फत गराएकाले उनीहरू एक–अर्कासँग अपरिचित थिए । भट्टराईले त्यो पल सम्भिँmदै भने, ‘ग्रिसबाट म्यासेडोनिया र सर्विया हुँदै हंगेरी छिर्न तीन महिना लाग्यो ।’

 

युरोप पुगेपछिको रामकहानी अझ चर्काे छ । ‘यहाँ वैधानिक भैसकेकाले त काम पाउन छाडिसके, दलालको भरमा आउने भनेको त रिफ्यूजी हुनु हो ।’ रविचन्द्र भन्छन्, ‘अब युरोपमा शरणार्थीहरूले पनि काम पाउन छाडे ।’ युरोप यस्तो ठाउँ हो जहाँ पीआर नभएको मान्छेले भुइँ सफा गर्ने काम पनि पाउँदैन । कसैले अवैधानिक रूपमा काम गरेको थाहा पाए प्रहरीले पक्राउ गर्छ । 

वैधानिक रूपमा पीआर पाउने बाटोबाहेक ‘शरणार्थी भिसा’ मा बसेर एउटा कार्ड पाउन १० वर्ष बिताउनु भनेको जीवन खेर फाल्नुजस्तै हो । त्यतिबेलासम्म सबै थोक लुटिइसकेको हुन्छ । त्यसपछि पाएको कार्डले यता न उताको बनाइदिन्छ । १२ वर्षसम्म अस्ट्रिया बस्दा पनि कार्ड नपाउनेहरू प्रशस्तै छन् । यसरी कार्ड नपाउनेहरूको पीडा निकै दर्दनाक छ । 

करिब सात वर्षको इजरायल बसाइपश्चात् काठमाडौंकी सुभद्रा भण्डारी (थापा) अहिले अस्ट्रियामा छिन् । आठ महिनाको अनुभवमा उनलाई अस्ट्रिया निकै सुन्दर लाग्यो । त्यहाँ बस्न जर्मन भाषाको ज्ञान अनिवार्य छ । युरोपको पीआरकै लोभमा वर्षौं बिताउने सोच उनमा छैन । लाखौं ऋण लिएर वा घरखेत बन्धक राखेर दलालको लहैलहैमा युरोप पुग्नु नै राम्रो होइन, सुभद्रा भन्छिन्— युरोपको पीआर लिन त्यति सहज नभएकाले वर्षौंसम्म परिवारबाट अलग्गिएर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर पीआरको आशामा युरोपमै जुनी काट्नेहरू पनि प्रशस्तै छन् ।

अस्ट्रियामा पीआर कुरेर बसेकाहरू मन लागेको समयमा नेपाल फर्कनसमेत पाउँदैनन् । वर्क परमिटमा आउने नेपालीहरू नभएका कारण अवैधानिक रूपमा बसोबास गरिरहेका नेपालीहरूका लागि कहिलेकाहीं बेरोजगार हुनुपर्ने समस्या आइलाग्न सक्छ । त्यसो त अस्ट्रियाको राजधानी भियनामा नेपाली सिकाउने भाषाकक्षा समेत संचालनमा छ । यहाँ विभिन्न संघ–संस्थाहरूको आयोजनामा विभिन्न कार्यक्रम पनि सम्पन्न भैरहेका हुन्छन् ।

अस्ट्रियाको राजधानी भियनाभन्दा केही बाहिर बस्ने भए पनि मैले काम गर्न भियना नै पुग्नुपर्छ । यहाँको रेल जेटले ६० किलोमिटरको त्यो यात्रा २२ मिनेटमै टुंग्याइदिन्छ । यो युरोपकै अति विश्वासिलो रेल सेवा हो । यहाँका स्थानीय बासिन्दा सहरभन्दा गाउँमा बस्न रूचाउँछन् । नेपाल र अस्ट्रियाबीच धेरै कुरामा समानता पाइन्छ । अस्ट्रियाका धेरैजसो नागरिकलाई नेपालका बारेमा राम्रो ज्ञान छ । हामी नेपालीलाई त अमेरिकाका बारेमा जान्ने धेरै उत्सुकता हुन्छ, तर नजिकै रहेको मेक्सिकोको मतलबै हुँदैन । अस्ट्रियनलगायत पश्चिमाहरूलाई अमेरिकाभन्दा नेपाल, भारत वा अरू कुनै एसियाली मुलुकका बारेमा राम्रो ज्ञान छ । 

रविचन्द्र भट्टराई

 

वैधानिक रूपमा आउनुहोस्, भाषा सिकेर आउनुहोस्, आफूमा भएको सीप निखारेर मात्र आउनुहोस् ।

प्रभु श्रेष्ठ, अस्ट्रिया

 

युरोप आउनुअघि कुन भिसामा आउने हो, घुम्न, काम गर्न वा अध्ययन गर्न स्पष्ट भै उक्त विषयमा ज्ञान हासिल गरेर मात्र आउनुहोला । पढ्न आउने हो भने कुन विषय अध्ययन गर्ने, विषय, युनिभर्सिटी, बस्ने–खाने व्यवस्थाजस्ता विविध कुरा बुझेर मात्र आउनुहोला । 

सुभद्रा भण्डारी (थापा)

 

अस्ट्रियामा नेपाली दूतावास नभएकाले सानो काम गर्नुपर्दा पनि जर्मनीको बर्लिनस्थित नेपाली दूतावास पुग्नुपर्छ । त्यसैले पनि अस्ट्रियाका नेपालीहरूले भनेजस्तो सहयोग पाउन सकेका छैनन् । 

धुर्ब पौडेल

बस्नका लागि अस्ट्रिया राम्रो छ । यहाँका मानिसहरू शिक्षित र आत्मीय छन् । यहाँ आउन अंग्रेजी जानेर मात्र हुँदैन, जर्मन भाषा पनि सिक्नुपर्छ ।

बाबुराम बिमली

 

संसारको सबैभन्दा पुरानो राष्ट्रिय झन्डामध्ये अस्ट्रियाको राष्ट्रिय झन्डा पनि एक हो । यो झन्डा सन् ११३१ देखि अस्तित्वमा छ ।

अस्ट्रियामा ३ हजार मिटरभन्दा अग्ला १३ वटा शिखर छन्, २ हजार मिटर अग्ला ४३ वटा शिखर छन् ।

अस्ट्रियामा ८८ प्रतिशतले जर्मन भाषा बोल्छन् । त्यसबाहेक यहाँ हंगेरियन, क्रोसियन, सर्बियन, बोस्नियन, टर्किस तथा पोलिस भाषा बोलिन्छ ।

अस्ट्रियालाई आठवटा देशले घेरेका छन् ।

अस्ट्रियाका २० जना नागरिकले नोबल पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रकाशित :मंसिर १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्