हरेक समस्या अवसर बोकेर आउँछ

- अश्विनी कोइराला

मंसिर १३, २०७३

 

प्रबलजङ्ग पाण्डे, युवा उद्योगपति 

देशमा पञ्चायती व्यवस्था हुँदा उनका बुबा प्रदीपजंग पाण्डे सरकारी कर्मचारी थिए । हजुरबुबा भने नेपाली कांग्रेसका नेता गणेशमान सिंहका बालसखा । त्यसैले पनि उनीहरूको परिवार नेपाली कांग्रेस निकट मानियो । पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस निकट तर सरकारी जागिरे हुनु उनका बुबाका लागि महँगो सावित भयो । 

 

प्रदीप सरकारी कोपभाजनमा परे, भएको जागिर खोसियो । गोरखापत्रमा तस्बिरसहित समाचार आउँदा स्कुल पढिरहेका तीन जना छोराप्रति समाजको मात्र होइन, सँगै पढिरहेका साथीहरूको दृष्टिकोणमा पनि परिवर्तन आयो । राजनीतिको दाउपेज नबुझेका यी तीन जनै बालकले ठूलो मानसिक समस्या भोग्नुपर्‍यो । तिनै अपदस्थ सरकारी कर्मचारीका जेठा छोरा हुन्— प्रबलजंग पाण्डे । नेपाल एकीकरणका महानायकमध्येका एक कालु पाण्डेका वंशज प्रबलजंग पाण्डे काठमाडौं क्षेत्रपाटीका स्थायी बासिन्दा हुन् । 

तपाईंका पुर्खा सबै सेनामा, बुबा सरकारी जागिरे । तपाईंचाहिँ किन उद्योगतिर ?

मेरो बुबालाई पञ्चायती सरकारले राजनैतिक कारणले जागिरबाट अपदस्थ गर्‍यो । नेपाली कांग्रेसका नेता गणेशमान सिंहसँग निकटतम सम्बन्धका कारणले उहाँविरुद्ध झूटा मुद्दा लगाइयो, तर बुबा चुप लागेर बस्ने खालको हुनुहुन्नथ्यो । उहाँले घाटामा चलिरहेको लोमस फर्मास्युटिक्युल्स औषधि उद्योग खरिद गरेर चलाउन थाल्नुभयो ।

 

त्यतिबेला उक्त उद्योगले जम्मा १५–२० थरीका औषधि उत्पादन गथ्र्याे । पाँच वर्षभित्र यो उद्योग नाफामा गयो । अहिले लोमसमा ४ सय थरीका औषधि उत्पादन हुन्छन् । सातवटा देशमा हाम्रो औषधि निर्यात हुन्छ । वार्षिक झन्डै एक अर्ब रुपैयाँ बराबरको कारोबार हुन थालेको छ । रोजगारीको ठूलो अवसर सिर्जना भएको छ । हामीमध्ये धेरैले समस्याले अवसर लिएर आउँछ भन्ने सुनेका छौं, यो घटनापछि हाम्रो जीवनमा आएको परिवर्तन मैले चाहिँ प्रत्यक्ष अनुभव गरिरहेको छु । 

हाम्रो परिवारमा सरकारी जागिर खानुपर्छ भन्ने मान्यता स्थापित छ । बुबाले लोमस औषधि उद्योग राम्रोसँग चलाए पनि मैले बैंगलोरबाट इन्जिनियरिङ गरेँ । त्यसपछि नेपाल टेलिकममा इन्जिनियरका रूपमा काम गर्न थाले । म देशका कुना–कुनामा अप्टिकल फाइबर बिच्छ्याउन सक्रिय भएँ । त्यस क्रममा जब म जिल्ला–जिल्ला पुगेँ, गाउँ–गाउँ पुगेँ, मैले जिल्ला र गाउँ पूरै खाली देखेँ । गाउँका सबैजसो युवा कमाउन या त ठूला सहर पसेका छन् या त खाडी मुलुक पुगेका छन् ।

 

देशमा औद्योगिक वातावरण नहुँदा यस्तो अवस्था आएको बुझ्न मलाई गाह्रो भएन । अर्को कुरा, देशलाई कस्तो खालको उद्योगको आवश्यकता छ भन्ने कुरा पनि मैले उक्त दौडाहाका क्रममा थाहा पाएँ । त्यसपछि सोचें, केका लागि जागिर खाने ? त्यसैले नौ वर्ष जागिर खाएपछि नेपालको उद्योग–व्यवसायलाई योगदान दिन सक्छु भनेर राजीनामा दिएँ । 

कति रोजगारी बढाउनुभयो त ?

प्रत्येक वर्ष एउटा उद्योग खोल्छु र ८–१० जनालाई भए पनि थप रोजगारी दिन्छु भन्ने लक्ष्य लिएको छु । यही लक्ष्यका कारण आफ्नो उद्योग विस्तार गर्ने र नयाँ उद्योग खोल्ने काम एकसाथ गरिरहेको छु । अहिले मेरा दुई भाइ पनि उद्योगमा आएका छन् । म आफैं लोमस फर्मास्युटिकलको म्यानेजमेन्ट हेर्छु । यसमा हर्बल विभाग पनि थपेको छु ।

 

नेपालमा औषधिका बट्टाको उत्पादन नहुने भएकाले सिसीलगायत त्यस्ता बट्टाको उत्पादन पनि आफैं गर्दैछौं । जनकपुर र विराटनगरमा कसमस सिमेन्ट उत्पादन भैरहेको छ । अर्को वर्षदेखि आफ्नै खानीबाट त्यसको कच्चापदार्थ क्लिङ्कर पनि उत्पादन गर्ने लक्ष्य छ । उद्योगबाहेक हामीले बैंकिङ क्षेत्रमा पनि हात हालेका छौं । हाम्रो लगानीमा दुईवटा ‘क’ वर्गका बैंक तथा एउटा इन्स्युरेन्स कम्पनी सञ्चालनमा छन् । 

नेपालमा लगानी गर्ने वातावरण छैन भनेर सबै गुनासो गरिरहेका छन्, तपाईं भने धमाधम उद्योग खोलिरहनुभएको छ, कारण के होला ?

तपाईंले समस्यातिर आँखा लगाउनुभयो भने समस्या मात्र देख्नुहुन्छ । समाधानतर्फ आँखा लगाउनुभयो भने राम्रो मात्र देख्नुुहुन्छ । म नेपालमा अवसर मात्र देखिरहेको छु । विदेशमा आर्टिफिसियल कुरा बनाएर भए पनि पर्यटकलाई आकर्षित गरिरहेका छन्, हामीकहाँ प्रकृतिले सबै कुरा तयारी अवस्थामा दिएको छ ।

 

केवल पूर्वाधारको विकास गर्न मात्र बाँकी छ । नेपालमा पर्यटन, सिमेन्ट, जलविद्युत् तथा कृषिसँग सम्बन्धित उद्योग व्यवसायमा पर्याप्त नाफा छ । हामी चिया, कफी, जडीबुटी, अग्र्यानिक खाद्यान्न प्रशस्त मात्रामा निर्यात गर्न सक्छौं । त्यसैले पनि म वर्षको एउटा उद्योग खोल्नुपर्छ भनेर लागेको हुँ । 

आमजनताबीच व्यवसायलाई हेर्ने दृष्टिकोण उति राम्रो छैन । तपाईंहरूले टलक्क टल्किएको गाडी चढ्दा आमजनताले मुख खुम्च्याउँछन् भन्ने थाहा पाउनुभएको छ ?

राजनीतिक फाइदा लिएर, घर–जग्गा प्लटिङ गरेर चाँडै पैसा कमाएको देख्दा, भ्रष्टाचार गरेर वा उनीहरूलाई सहयोग गरेर सम्पत्ति कमाएको थाहा पाउँदा आममानिसले मन नपराउनु स्वभाविक हो, तर उद्योग खोलेर, मानिसलाई रोजगारी दिएर, नेपाली सामग्री विदेश निर्यात गरेर पैसा कमाउनेहरूप्रति नेपाली जनता खुसी छन् ।

 

पैसा कमाउने सबै मानिस खराब हुन्छन्, उनीहरूले गलत कर्म गरेरै पैसा कमाएका हुन् भन्ने सोच भएका मानिस नभएका होइनन् । नकारात्मक सोच हाम्रो समस्याको जड हो । एक थरी मानिस जसरी पनि चाँडै पैसा कमाउन चाहन्छन् । उनीहरू गलत हुन् । अर्को थरी कसैले पैसा कमाउनेबित्तिकै त्याउे मान्छे गलत हो भन्ने सोच्छन् । यी दुवै थरी मानिसको सोच गलत छ । 

 

उद्योग–व्यवसाय गर्नेलाई राजनीतिकर्मी वा तिनका भ्रातृ संगठनहरूले दु:ख दिन्छन्, अवरोध खडा गर्छन् भन्ने गुनासो आइरहन्छ, यसमा तपाईंको अनुभव के छ ?

मेरो विचारमा धेरैजसो राजनीतिकर्मी आफ्ना व्यक्तिगत इच्छा–आकांक्षा त्यागेर देश बनाउन लागिपरेका छन् । केही व्यक्ति गलत नभएका होइनन् तर धेरैजसो छोटो समय सत्तामा बस्ने भएका कारण समस्याको जड कहाँ छ भन्ने थाहै नपाई बिदा हुन्छन् । अस्थिर राजनीतिका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । मेरो विचारमा उद्योगी–व्यवसायीहरू राजनैतिक क्षेत्रबाट भन्दा मुलुकको कर्मचारीतन्त्रबाट बढी पीडित छन् । 

कसरी ?

मैले जति पनि उद्योगी–व्यवसायीका अनुभव सुनेको छु र आफैंले भोगेको छु, ती सबै कुराको अनुभवबाट के भन्न सक्छु भने कर्मचारीहरूमा उद्योगी–व्यवसायी भनेका ठग हुन्, उनीहरू जसरी पनि पैसा कमाउन चाहन्छन्, पैसाबाहेक यिनीहरूको कुनै इमान–जमान छैन भन्ने सोच गहिरो गरी बसेको छ । यिनीहरूले देश बनाइरहेका छन्, रोजगारी सिर्जना गरिरहेका छन्, कर तिरिरहेका छन् ।

 

उनीहरूको पनि आफ्नो मूल्य–मान्यता र मानवीयता छ भन्ने कुरालाई हाम्रो कर्मचारीतन्त्रले बेवास्ता गरेको छ । मेरो विचारमा उद्योगी–व्यवसायीहरूले संसार देखेका छन्, बुझेका छन् । आफूसँग भएको सीप र पुँजी प्रयोग गरी देश विकासमा सहयोग गरिरहेका छन् । उनीहरूलाई पैसा होइन, आत्मसम्मान चाहिएको छ भन्ने कुरा बुझ्न नसक्नु हाम्रो कर्मचारीतन्त्रको कमजोरी हो । 

उद्योगी–व्यवसायीहरूले अवसरको सदुपयोग मात्र गरेको देखिन्छ, एक अर्थमा त्यो पनि सत्य होइन र ?

व्यापारमा नाफा जोडिएर आउने हुनाले झट्ट हेर्दा त्यस्तो देखिन सक्छ तर आज उद्योगीहरूकै कारण नेपाल सिमेन्टमा आत्मनिर्भर भएको छ । दर्जनौं पाँचतारे होटल खुल्दैछन् । जलविद्युत् कम्पनीमा उद्योगीहरूले लगानी गरेकै कारण आज देश लोडसेडिङबाट मुक्त हुने अवस्था सिर्जना हुँदैछ । ५० देखि १ सय जना उद्योगी–व्यवसायीलाई पन्साइदिनुहोस्, त्यसपछि थाहा हुन्छ, उनीहरूले देशको विकासका लागि काम गरेका छन् कि नाफा मात्र कमाइरहेका छन् ? तिनै व्यवसायीलाई आममानिसले गलत देख्नु नै हाम्रो दुर्भाग्य हो । 

उनीहरू गाली खाएर पनि, आँखी भएर पनि किन काम गरिरहेका छन् ?

किनभने जीवनको समय फिक्स हुन्छ । व्यवसायीहरूले समयको महत्व बुझेका छन्, आफ्नो जीवनको सुन्दरतम समय र सुन्दरतम पुँजी लगाएर केही गर्छु, निष्क्रिय बस्दिनँ भनेर लागेका छन् । यस्ता व्यक्तिहरूलाई कसले के भन्छ भनेर सुन्ने फुर्सद हुँदैन, न त कसैले अवरोध गर्न खोज्दा त्यसलाई रोक्ने प्रयास नै गर्छन् । उनीहरू कसैको कुरा नसुनी एकोहोरो रूपमा लागिरहन्छन् ।

 

उनीहरू समय–समयमा अनेक क्षेत्रबाट पीडित हुन बाध्य पनि हुन्छन् । आममानिसबाट पनि घृणा पाउँछन् । मिडियाले पनि उनीहरूकै खेदो खन्छ । उनीहरूले नै चन्दा आतंक, सरकारी झन्झट एवं परिवारलाई समय दिन नसकेको गुनासो सुन्नुपर्छ । यी सबका बाबजुद पनि उनीहरू लगातार आफ्नो काममा जुटिरहन्छन् । 

देशमा पटक–पटक राजनीतिक परिवर्तन भए । यसले उद्योग–व्यवसायमा के फरक पारेको छ ?

२०४६ सालअघि उद्योग–व्यवसाय गर्ने वातावरण थिएन । लाइसेन्स राज थियो । राजपरिवारलाई रिझाउन नसक्नेले उद्योग चलाउनै सक्दैनथे । प्रजातन्त्रपछि उद्योग–व्यवसाय मौलायो, तर बीचमा माओवादी द्वन्द्वले हामीलाई धेरै पछाडि धकेल्यो । अहिले संघीय अवधारणामा गएपछि केन्द्र र राज्यबीच अधिकार क्षेत्रका बारेमा मतभेद सिर्जना भए, त्यसबाट उद्योगी–व्यवसायी नै पीडित हुने सम्भावना देखिएको छ । उद्योग–व्यवसायका लागि प्रजातान्त्रिक प्रणाली आवश्यक छ तर संघीयताले केही अप्ठ्यारो पार्ला कि भनेर उनीहरू डराइरहेका छन् । राजनैतिक क्षेत्रले यस्ता सम्भावित समस्यालाई समयमै सम्बोधन गर्नुपर्छ । 

युवा व्यवसायी भएका नाताले अन्य युवालाई उद्योग गर्न के सल्लाह दिनुहुन्छ ?

जागिर खानुभन्दा कुनै उद्योग व्यवसाय सुरु गर्नुहोस् । युवाहरूको सहकारी बनाउनुहोस् । पहाडमा प्रशस्त उर्वर भूमि छ । त्यहाँ अहिलेसम्म कुनै विषादी प्रयोग नभएकाले अग्र्यानिक फलफूल लगाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिन्छ । अहिले विदेशबाट फर्किएका सयौं युवाले यसैगरी काम गर्न थालेको मैले देखेको छु ।

 

तराईमा ठूला–ठूला कृषि फार्महरू खुल्न थालेका छन् । युवाहरूमा परिवर्तन आउन थालेको छ । अहिले उद्योगमा प्रविधिका विषयमा जानकार मानिस फेला पार्न गाह्रो छ । जागिर खाने भए प्राविधिक काम सिक्नुहोस् । यसले सीप र क्षमता दुवै बढाउँछ । जीवन आफ्नो हो । त्यसलाई कसरी प्रस्तुत गर्ने, त्यो आफ्नै हातमा छ । 

 

प्रकाशित :मंसिर १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्