‘इम्याजिन नेपाल’ को मनाङ यात्रा

- आश गुरुङ

मंसिर १३, २०७३-  

लमजुङ–सहरी कोलाहल छोडेर राजधानीको एक प्रतिष्ठित समूह हिमालपारीको जिल्ला मनाङ पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य बोकेको उक्त समूहमा ८० जना नेपाली सहभागी थिए । स्थानीय बासिन्दाहरूका अनुसार यो नेपालीहरू मात्र समावेश भएको मनाङ आउने हालसम्मकै सबैभन्दा ठूलो पर्यटक समूह हो ।

 

उक्त समूहले माथिल्लो मनाङको मनाङ गाउँमा २ रात बिताएको थियो । माथिल्लो मनाङको मनाङ, टंकी मनाङ, खाङ्सार तथा भ्राकाका स्थानीय बासिन्दाहरूले समूहको भव्य स्वागत गरेका थिए । उक्त अवसरमा उनीहरूले आफ्नो साँस्कृतिक कार्यक्रममा पर्यटकहरूलाई समेत सहभागी गराएर स्वागतसम्मान गरेका थिए ।


काठमाडौंको थापाथलीस्थित एमएन्डएस इभेन्ट्सको आयोजनामा उक्त इम्याजिन नेपाल: अफरोड यात्रा तय गरिएको हो । इभेन्ट्सका सीईओ मोनाइक कार्कीले २२ वटा फोरह्वील गाडी तथा ४ वटा अफरोड मोटरसाइकलसहित टोली मनाङ पुगेको बताए । ‘यात्रा जोखिमपूर्ण थियो । हामीले साहसिक यात्रा गर्‍यौं’ उनले भने, ‘यस्तै साहसिक ठाउँको यात्रा एवं पर्यटन प्रवद्र्धनका लागि हामीले हिमालपारीको मनाङलाई रोज्यौं ।’

 

मनाङको अधिकतम प्रचार–प्रसार हुन नसकेकाले यसको प्रचार–प्रसारमा जुटेको उनको दाबी थियो । ‘मनाङवासीको स्वागतबाट हामी धेरै खुसी छौं’ मंगलबार साँझ बेंसीसहरमा भेटिएका कार्कीले भने, ‘उहाँहरूको स्वागतसम्मान हामी कहिल्लै बिर्सने छैनौं ।’ कार्कीका अनुसार उक्त साहसिक यात्राका सम्बन्धमा डकुमेन्ट्री (वृत्तचित्र) तयार पारिनेछ । ‘दुई महिनाभित्रमा हामी डकुमेन्ट्री तयार गर्छौं । यसले मनाङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्नेछ’ उनले भने ।


नेपाल पर्यटन बोर्डले घुमफिर वर्ष घोषणा गरेको समयमा तय गरिएको उक्त यात्रामा उद्योगी, व्यवसायी, चिकित्सक, मेकानिक, सेफ आदि सहभागी रहेको कार्कीले बताए । गत शुक्रबार काठमाडौंबाट प्रारम्भ भएको यो साहसिक यात्रा बेंसीसहर हुँदै मनाङ, खाङ्सार भएर पुन: बेंसीसहर फर्केर बुधबार काठमाडौं पुगेको छ । टोली ३ हजार ७ सय ४५ मिटर उचाईको खाङसार र ३ हजार ५ सय ५० मिटरको मनाङ गाउँसम्म पुगेको थियो । ‘त्यति हाइटमा पुग्दा पनि हामीलाई केही समस्या भएन । सबै सकुशल फर्कियौं’ कार्कीले भने । टोलीले मनाङको प्रसिद्ध गंगापूर्ण ताल पनि अवलोकन गरेको थियो ।


इभेस्ट्सका सुमित श्रेष्ठका अनुसार स्थानीय आमा समूह, युवा समूह तथा पर्यटन समूहले नेपाली पर्यटकहरूको भव्य स्वागत गरेको थियो । टोलीले आर्चरी (तीर हान्ने खेल) पनि अवलोकन गर्‍यो । आर्चरी प्रतियोगिता विजेताले दि काठमाडौं पोष्टका तर्फबाट माउन्टेन फ्लाइटको टिकट पाएको श्रेष्ठले जानकारी दिएका छन् । भ्रमणका क्रममा भ्राकामा आयोजित घोडा दौड प्रतियोगितामा टोलीका सदस्यहरू निकै रमाएका थिए ।

 

‘कसैले घोडा दौडाए, कसैले घोडा चढेर सेल्फी खिचे’ श्रेष्ठले भने, ‘मनाङको साँझ अद्भुत थियो । हामी मनाङीहरूसँगै रमायौं, मनाङीहरू पनि हामीसँगै रमाए ।’ श्रेष्ठले लेखेका छन्– ‘हाम्रा लागि यो ठूलो अवसर सावित भयो । स्थानीय बासिन्दाहरूका लागि पनि यति ठूलो समूहलाई आफ्नो सँस्कृति देखाउन पाउनु अवसर नै हो । यस प्रकारका क्रियाकलापले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछ ।’


कार्कीका अनुसार यो यात्रा एमएन्डएस इभेन्टसले सञ्चालन गर्न थालेको साहसिक कार्यको पहिलो कडी हो । यसअघि होलीका अवसरमा राजधानीमा कलर रिपब्लिक कार्यक्रम (कन्सर्ट) आयोजित गरिएको थियो । ‘हामीले वर्षमा २ पटक यस्ता कार्यक्रम आयोजित गर्दै आएका छौं । आगामी वर्ष पनि हाम्रो यस्तै साहसिक कार्य सञ्चालन हुनेछ ।’

प्रकाशित :मंसिर १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्