कञ्चन–मोहन होइन, दुई छोराका पक्षमा

- मनोज गजुरेल

मंसिर १०, २०७३

 

‘कञ्चन–मोहन काण्ड’ अब व्यक्तिगत रहेन । पारिवारिक विखण्डनको डरलाग्दो रोगको प्रतिनिधि घटना हो यो । नजाने यस्ता कति सम्बन्धहरू भित्रभित्रै बिग्रिरहेका होलान् । तिनका छोराहरूजस्तै कति किशोरहरूको भविष्य अन्धकार हुँदै होला । लोग्ने–स्वास्नीको झगडामा अकारण पिसिएका ती दुई किशोरहरूमाथि आजको विश्लेषण केन्द्रित हुनेछ ।आज देश दुई भागमा विभक्त भएको छ, मोहन रेग्मी भर्सेज कञ्चन रेग्मी । ‘सुमनसँग’ हेरेपछि धेरै मानिस कञ्चनको पक्षमा लागे । ‘मोहनसँग’ पढेपछि फेरि तिनिहरू मोहनतर्फ मोडिए । केही मानिस दुई छोराविरुद्ध खनिए । भोलि छोराहरूको पक्षमा बोल्ने पनि त्यही भीड हो, तर त्यतिबेला ढिला भैसकेको हुनेछ । त्यसैले आजै यसको फैसला हुनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

पारिवारिक कुरा सामाजिक बनेर आइसक्यो । सामाजिक कुरामा छलफल गर्न सबै स्वतन्त्र छन्, तर स्वतन्त्रताको अर्थ अराजकता होइन । कञ्चन गलत हुन् कि मोहन गलत हुन् भनेर विश्लेषण गर्ने क्रममा उनीहरूका छोरालाई बलिको बोको बनाउनु गलत हो भन्ने गजुरियल ठम्याइ हो । धान पिस्दा घुन पिसिएजसरी ती किशोरहरू पिसिनु अन्याय मात्र होइन, अपराध पनि हो । 

आजको गजुरियल कञ्चन, मोहनमध्ये को सही वा को गलत भन्ने कुरामा केन्द्रित हुनेछैन । यो लेखको उद्देश्य न त उनीहरूको विगत कोट्याउने हो, न त भविष्यको लेखाजोखा गर्ने नै हो । गजुरियल विश्लेषण मोहन र कञ्चनका दुई छोरामा केन्द्रित हुनेछ । सामाजिक सञ्जालहरूमा उनीहरूप्रति गरिएको हिंसाको लेखाजोखा गरिनेछ ।

मान्छे दुई कारणले सप्रन्छ वा बिग्रन्छ । एउटा अरूका कारणले, अर्को आफ्नै कारणले । आफ्नै कारणले बिग्रने भनेको बुझ्ने भएपछि हो । अरूका कारणले बिग्रने भनेको बुझ्ने अवस्था नहुँदै हो । श्रीमतीले दु:ख पाए श्रीमान्लाई आरोप लगाउन सकिन्छ । श्रीमान् बिग्रिए श्रीमतीको हात हुन सक्छ, तर सन्तान बिग्रिए भने श्रीमान्–श्रीमती दुवैको हात हुन्छ ।

मोहन–कञ्चनका छोराहरूले आमालाई हेरे वा हेरेनन्, त्यसको कारकतत्त्व ती छोराहरू कदापि होइनन् । शिशु गर्भमा हुँदा बाबु–आमाबीच जस्तो सम्बन्ध हुन्छ, सन्तानको मनोदशा पनि त्यस्तै हुन्छ । जन्मिएपछि बाबु–आमाले कस्तो व्यवहार गरे, बालबालिकाको हुर्काइ–बढाइ पनि त्यस्तै हुन्छ । मोहन–कञ्चनको केसमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ । छोराहरू जे जस्ता बने त्यसमा शतप्रतिशत बाबु–आमाको हात छ भन्ने गजुरियल ठम्याइ छ ।

आमा–बाबुको झगडाले ती दुई बालकको मस्तिष्कमा घृणाको बीउ रोपेको हुन सक्छ । रातदिनको अन्योल र असुरक्षाका कारण उनीहरूमा त्रास र द्वेषको विकास हुन पुग्छ । कालान्तरमा उनीहरू रिसाहा, झगडालु, शंकालु, दुव्र्यसनी हुँदै डिप्रेसनको सिकार बन्न पुग्छन् । आमालाई हेरेनन्, यसका कारण ती दुई छोरा होइनन्, आमा–बाबु नै त्यसका कारक तत्त्व हुन् । सामाजिक सञ्जालमा ती किशोरहरूप्रति ओइरिएका बिभत्स गालीका शब्दहरू गलत छन् । म उनीहरूसँग त्यसका लागि क्षमा माग्न चाहन्छु ।

आज उनीहरू बाबुको पक्षमा छन् र सधैं रहन्छन् भन्ने छैन । तिनको अन्तरमनको गहिराइमा, कहीं न कहीं बाबु–आमाप्रति घृणाको झिल्को बलिरहेको छ । अहिले आमा पनि नभएको बेला अन्य विकल्प नभएकाले उनीहरू चुपचाप बाबुसँग बस्नुलाई बाबुको पक्षमा लागेको मान्नु हुँदैन । कुनै दिन बाबु–आमाबीच डिभोर्स हुनुको दमित पीडा विस्फोट भएर दुवै अभिभावकप्रति नै घृणा उत्पन्न हुने खतरा त्यत्तिकै छ । त्यसमा छोराहरू होइन, बाबु–आमा स्वयं दोषी हुनेछन् ।

गजुरियल विश्लेषक भन्छ, ती दुई किशोर आमाप्रति नकारात्मक हुनुमा उनीहरूको दोष छैन । दोष छ त आमाको छ । दोष छ त बाबुको छ । दोष छ त समाजको छ । छरपस्ट पारिवारिक अवस्थाले विक्षिप्त बनेका ती किशोरलाई सामाजिक सञ्जालमा दोषी र अपराधीका रूपमा चित्रित गर्नु अराजकता, अज्ञानता एवं अन्याय हो भन्ने गजुरियल ठम्याइ छ । आमा–बाबुको आन्तरिक द्वन्द्वका कारण विक्षिप्त र अन्योलग्रस्त थुप्रै किशोर–किशोरीहरूप्रति गहिरो सहानुभूतिसहित पुन: होस र हौसला नगुमाउन नानी–बाबुहरूप्रति हार्दिक अनुरोध छ । 

प्रकाशित :मंसिर १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्