आहा ! अमेरिका, आत्था ! अमेरिका

- अविरल थापा

मंसिर ९, २०७३

 

मेरिल्यान्डबाट भर्जिनियातर्फ जाने क्रममा मैले साथीलाई भनें, ‘नेपालको बाटोमा बाइक भएजस्तै यता त सबैको कार नै कार है ?’ उनले हत्त न पत्त जवाफ फर्काइन्, ‘के तिमीले यसलाई कार भन्ठानेको ? यो त नाम्लो हो नाम्लो ? यो नभै यहाँ जिन्दगीको भारी बोक्नै सकिँदैन । काम पाउन र काम भ्याउन कार नभै धरै छैन । तिम्रा लागि यो कार होला, हाम्रा लागि त नाम्लो हो, बुझ्यौ ?’  उनको कुरा सुनेर म अक्क न बक्क भएँ । अमेरिकाले गर्न खोज्ने सबैलाई काम दिएको छ, सुविधा दिएको छ र मज्जाले कुदाएको छ ।

 

जो समयसँगै कुद्यो अघि बढ्यो, जो कुद्न सकेन लत्रिरह्यो । यहाँ कुद्दा–कुद्दै धेरैले उमेर खिइएको पत्तै पाउँदैनन् । कुद्यो, सुत्यो, उठ्यो फेरि कुद्यो । यसरी कुद्दा–कुद्दै र घर जाउँला भन्दाभन्दै वर्षौं बित्छ । कत्तिको गएपछि आउने कागजात हुँदैन । कत्तिको ग्रिनकार्ड नबनाई के जानु भन्ने हुँदो रै’छ । कत्तिको केही लाख नबोकी के फर्कनु भन्ने हुने रै’छ । समय कुर्दाकुर्दै अबेर भएको पत्तै नहुने रै’छ ।

हालैको दुई महिने अमेरिका बसाइका क्रममा मैले दुई दशकदेखि नभेटेका सहपाठीहरूदेखि लिएर नेपाली चलचित्रका नायक एवं मित्र राजवल्लभ कोइरालालगायत १४ वर्षपछि नेपाल फर्कन लागेका काठमाडौंका फोटोग्राफर महेश्वर श्रेष्ठसँगै बस्ने–खाने मौका पाएँ । सामान्य काम गरिरहेकादेखि सिलिकन भ्यालीमा र राष्ट्रसंघको उच्च ओहदादेखि लिएर अमेरिकी संस्थाहरूको उच्च पदमा पुगेका नेपालीहरूसम्मसँग भलाकुसारी गर्न तथा नेपालीहरूको जीवनलाई नजिकबाट अवलोकन गर्न पाएँ ।

 

१५ राज्यको भ्रमण, कम्तीमा २५ देशका मिडियासम्बद्ध विभिन्न तहका प्राध्यापकहरूदेखि लिएर ह्वाइट हाउस अगाडिपट्टिको पार्कमा ओबामाकी छोरीलाई भेट्न आएको भन्ने पागल प्रेमीलगायत कैयन् अरू मानिससँग अन्तक्र्रिया गर्ने एवं सानिध्यमा पुग्ने अवसर पाएँ । एक दिन म नेपालीहरूको वनभोज कार्यक्रममा पनि सरिक भएँ । त्यहाँ चिनेका र धेरै अपरिचित नेपाली युवाहरूसँग रमाइलो भेट भयो, तर अन्तरंग कुराकानीमा सबैको कथा उही हुन्थ्यो— आएको यति भयो, नेपाल गएको छैन ।

 

खासै केही गर्न सकिएको छैन । अमेरिकामा टन्न सुत्न पाउने र कुर्सीमा बसेर काम गर्न पाउने नेपाली जो छन् ती भाग्यमानी हुन् । एक जना साथीसँग सोधें— कति काम गर्छौ, सुत्नु पर्दैन ? उसले रमाइलो जवाफ फर्कायो— जति सुत्नु नेपालमै सुतियो । हेर, यहाँ सुतेर के गर्ने हो ? घर आए पनि एक्लै बस्ने हो, निद्रा लागिहाल्ने होइन । काममै लागिरहे पैसा आउँछ, त्यसको साटो मस्त थाकेर कोठामा गयो, खायो, भुसुक्क निदायो । टन्टै साफ ।

 

नेपालमा बसेर अमेरिकाका सम्बन्धमा देखिएका सपना र अमेरिका पुगेपछि भोग्नुपर्ने बिपनामा धेरै अन्तर छ । नेपालमा सपना देख्दादेख्दै अमेरिका पुग्ने जो–कोही त्यहाँ पुगेपछि झल्याँस्स ब्युँझिन्छ । लाखौं खर्च गरेर दलालमार्फत अमेरिका पुग्ने सपना देख्दै हिँडेका नेपालीहरू बाटोमा अलपत्र परेको समाचार पढ्नुपर्दा धेरै त भ्रम नै बोकेर हिँडेका होलान् जस्तो लाग्छ । त्यहाँ पुगि नै हालेछन् भने पनि बाँकीको यात्रा पनि सहज छैन । नेपालबाट जो–कोही जाओस्, यदि कुनै पनि क्षेत्रमा व्यवसायिक सीप र दक्षता छैन भने नेपालमा पढेको प्रमाणपत्रको भरमा गतिलो काम पाउन खप्परमै लेखेर ल्याएको हुनुपर्छ ।

 

म थाल्नुको विकल्प हुँदैन । अमेरिकामा बसेपछि त्यहाँको नियम–कानुन र व्यवस्थाभित्र नबसी कसैले धरै पाउँदैन ।  म पढ्न गएको ओहायो विश्वविद्यालयका डा. युसुफ सात वर्षमै पूर्ण प्राध्यापक भएछन् यसपालादेखि, तर उनले जागिर खाने बेलामा अन्तर्वाता लिएकी चाहिं अझै सह–प्राध्यापक नै रै’छिन् । त्यहाँ कसले पहिले जागिर खायो वा को उमेरमा वरिष्ठ हो भनेर हेरिँदैन ।

हामीले धेरै शास्त्रीय मान्यताहरू भत्काउन सकेका छैनौं । अहंको यति अग्लो पर्खाल लगाएका छौं कि कुन दिन आफैंलाई किचेर मार्छ । 

अमेरिकाका सबैजसो राज्यमा धेरथोर नेपाली पुगेका छन् । जहाँ–जहाँ म पुगें, नेपालीहरू संगठित त भएका तर विभिन्न जात, धर्म, समुदाय, पार्टी, जिल्ला, पेसा वा यस्तै–यस्तै आधारमा मात्र । न्युयोर्कमा त नेपालीका ५० भन्दा बढी संघसंस्था रै’छन् । जहाँ गए पनि राजनीति गनुपर्ने, संस्थाको अध्यक्ष हुनुपर्ने रोगले त्यहाँका नेपालीहरू पनि ग्रस्त छन् ।

 

एक मात्र नेपाली संगठन भएर देशको प्रतिनिधित्व गर्दा जुन इज्जत र कुनै माग राख्दा पैरवी गर्न सजिलो नै पथ्र्याे होला । एकले अर्काको कुरा काट्ने र खुट्टा तान्ने प्रवृत्ति जता गए पनि उस्तै रहेछ । एनआरएनमा सबै धनीहरूमात्र छैनन् तर यो कालान्तरमा कतै धनीहरूको वाइन क्लबमा सीमित हुने त होइन भन्ने खतरा पनि देखियो ।

एक दिन ज्याक्सन हाइटमा म नेपालीकै अफिसमा थिएँ । त्यहाँ काम लिएर आएका एक नेपाली बाबु थिए र साथमा उनको छोरो जो त्यस्तै ६ वर्षजतिको हुँदो हो अलि बढी चकचक गर्दै थियो । उसको बाबु बेलाबेलामा एकछिन् नचली बस त भन्दै थियो । छोरो जति भने पनि चल्न छाडेन । अति भएपछि बाबुले हकार्‍यो— तँलाई नचली बस् भनेको सुनिनस् । बाबुको कुरा सुनेपछि छोराले अंग्रेजीमा डायलग हान्यो, ‘ड्याड, यू आर नट माइ बोस ।’ छोराको कुरा सुनेर बाबु कालोनीलो भयो र अकमकाउँदै भन्यो, ‘तँलाई मोरा ! यस्तो भन्ने भइस् ।’

 

यो अमेरिकी शिक्षाको ठाडो असर हो । बुझ्नेलाई इसारा काफी छ । यो कुरा बेलुका अर्को साथीलाई सुनाउँदा उसले देखेको अर्को घटना पनि सुनायो । कुरा के रै’छ भने अमेरिकाको एउटा स्कुलमा नेपाली बच्चो पढ्दो रै’छ । त्यही स्कुलमा नेपाली सेविका पनि काम गर्दी रै’छिन् । नेपाली बालक भन्ने थाहा पाएर केही कुरा नेपालीमै गरिछन् ।

 

उसले सायद खुसी भएर घरमा आमालाई भनेछ, तर भोलिपल्ट आमाले के गरिछन्, थाहा छ ? उनले स्कुलको प्रशासनमा गएर आइन्दा आफ्नो छोरासँग नेपालीमा कुरा गर्न नभन्नु भनेर गुनासो दर्ता गराएर आइछन् । धन्न उनको जागिर गएनछ ! हामी प्रवासमा कुन मानसिकता लिएर बाँचिरहेका छौं भन्ने कुराको यो ज्वलन्त उदाहरण हो ।

 

नेपालमा रहेका बाबुआमा वा आफन्त, नातागोता, साथीभाइले बुझ्नुपर्ने कुरा के हो भने अमेरिका टप–टप डलर टिप्ने ठाउँ होइन । अधिकांशले ८–१० घण्टा उभिएर खलखली पसिना बगाएपछि बल्ल केही आर्जन हुन्छ । त्यसको एकतिहाइ कर तिर्दै सकिन्छ भने एकतिहाइ घरभाडामा जान्छ । बाँकी रहेको एकतिहाइले आफ्ना अत्यावश्यक सामग्रीको जोहो गरी त्यसमा केही बच्यो भने नेपालमा पनि पठाउनुपर्छ । अझ काम गर्दै पढ्न र खर्च जुटाउन थप कठिन छ । 

 

यताबाट परिवारको दबाब, त्यहाँको कामको चाप र आर्जनले जीवनस्तर उकास्न नसकेर मानसिक चाप धान्न नसक्दा डिप्रेसनमा गएका र आत्महत्या नै गरिएका कैयन् घटना पनि छन् । बेलुका कामबाट फर्कंदा कमैको घरमा सुख–दु:ख साट्ने मानिस हुन्छन् । कतिका त जोडीको भेट पनि शुक्रबार बेलुका मात्र हुन्छ । 

हरेक प्रयोजनका लागि विद्युतीय मेसिनहरू छन् र मानिस फराकिला बाटाहरूमा हरदम तीव्र गतिमा काममा कुदेका छन् । हामीजस्तो आफ्नो देशमा रेल आउने रे भनेको सुन्दै रमाइलो मान्ने मानिसलाई न्युयोर्कको जमिनमुनि १ सय वर्षभन्दा अघि नै दुईतले रेलको सञ्जाल बनेको थियो भन्दा साँच्चै होला र ? भनेजस्तो लाग्छ ।

 

कम्तीमा काभ्रे, धादिङ र हेटौंडातर्फ रेल वा एक घण्टाभित्र राजधानी आइपुग्ने ग्यारेन्टी भएको द्रुत सार्वजनिक यातायातको विकास गर्न सके काठमाडौंमा कोही गुम्सिएर बस्दैनथ्यो होला, सहरीकरण विस्तार हुने थियो । काठमाडौंमा चार आना जग्गा किन्न कसैले जिन्दगीभरिको पसिना र तानाबाना बुन्दैनथ्यो होला । अर्बौं तलबभत्तामा सकेर यति पनि गर्ने ल्याकत वा इच्छाशक्ति नभएका नेपालका नीति–निर्माता एवं राजनीतिज्ञ भनाउँदाहरू वास्तवमै अपराधी हुन् भन्ने बोध पटक–पटक भैरहन्छ अमेरिका भ्रमणमा ।

यो देशमा टिक्न, बिक्न र उचित स्थान पाउन नसकेर जो जाँदै हुनुहुन्छ आवश्यक तयारी र सीप सिकेर जानु उचित हुन्छ । उतै पढेर अघि बढ्नेको भविष्य राम्रै छ तर यहाँ राम्रो काम छँदाछँदै भएको सम्पत्ति बेचेर जानेहरू त्यहाँ पुगी शून्य धरातलबाट काम सुरु गर्नुपर्दा खंग्रङ्ग हुन सक्छन् । दलाललाई लाखौं ख्वाएर जान खोज्नेहरू त्यो पैसाले यहीं केही गरे चाँडै मालिक बन्न सक्छन् । घुम्न जानेलाई त जे देखे पनि नयाँ र रमाइलो लाग्ने नै छ, एउटै भ्रमणमा पूर्वीय र पश्चिमा तटमा पुग्न सके फरक अनुभूति हुनेछ । फर्केर अनेक नयाँ काम गर्ने सोच आउनेछ । 

कसरी सिस्टममा देश चल्छ र जहाँ पनि डेबिट र क्रेडिट कार्ड घोटेर देश कसरी चल्छ हेर्नचाहिँ आप्रवासीहरूले भरिएको अमेरिका नमुना मुलुक नै हो । अमेरिकामा कर्म गरेर जति डलर पनि कमाउन पाइन्छ, हरेक हप्ता खुल्ने चिठ्ठा किनेर भाग्य जाँच्न पनि पाइन्छ । एउटा कुराचाहिं अमेरिका बसुन्जेल रोचक लागिरह्यो, उता भएकाहरू यहाँसम्म आएर पनि फर्कने हो र भनेर पीर गर्थे, यता भएकाहरू पनि उतै बस्ने हो र ! भनेर पीर गरिरहन्थे । 

आहा ! अमेरिका । आत्था ! अमेरिका ।

 

facebook.com/abeeralthapa

twitter@abeeralthapa

प्रकाशित :मंसिर ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्