वेन ड्रेनको समस्या सबैभन्दा जटिल छ

- अश्विनी कोइराला / जनक तिमिल्सिना

मंसिर ७, २०७३

 

सलुजा आचार्य, ब्यबसायी

सन् १९७६ मा काठमाडौंको सामान्य परिवारमा जन्मिएकी हुन्— सलुजा आचार्य । काठमाडौंबाट प्लस टु सकेपछि उनी उच्च शिक्षाका लागि सन् १९९५ मा अमेरिका हान्निइन् । सलुजाले सन् १९९९ मा सेन्ट क्लाउडबाट बिजनेस कम्प्युटर सिस्टममा ग्य्राजुएट सकिन् । 

त्यसपछि अमेरिकाको मिनीसोटास्थित प्रतिष्ठित इन्स्युरेन्स कम्पनी ब्लुक्रस ब्लुशिल्डमा जागिर सुरु गरिन् । त्यहाँ लामो समय काम गरेपछि उनको पोस्ट बढ्दै गयो । उनी अफिसर लेभलमा पुगिन् । सन् २०१३ को अक्टोबरमा २० वर्ष लामो अमेरिका बसाइ टुग्याउँदै नेपाल फर्कने क्रममा आचार्यले अमेरिकी जीवनशैली तथा वार्षिक १ लाख अमेरिकी डलरभन्दा बढीको जागिर त्याग गरिन् । 

 

नेपाल फर्किएलगत्तै आफ्ना श्रीमान्ले साथीसँग मिलेर सन् २००७ देखि सञ्चालन गरिरहेको आउट सोर्सिङ सफ्टवेयर कम्पनी एभिओन्तेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिन् । त्यसयता झन्डै तीन वर्ष उनले कार्यकारी प्रमुखका रूपमा त्यो कम्पनीमा बिताइसकेकी छिन् । 

अमेरिकाको लामो बसाइ छाडेर नेपाल फर्किएकी सलुजाको मातहतमा अहिले झन्डै ७० जना इन्जिनियर काम गर्छन् । अमेरिकाको सुविधासम्पन्न जागिर र जीवनशैली छाडेर नेपाल फर्कनुको कारण, नेपालको आईटी क्षेत्रका सम्भावना आदि विविध विषयमा साप्ताहिकले आचार्यसँग गरेको कुराकानी :

अमेरिकाबाट फर्कने निर्णय किन गर्नुभयो ? 

सन् २००२ तिरै हामीले अब नेपाल फर्कने कि भनेर तयारी गरेका थियौं । देशको अवस्थादेखि परिवारको अवस्थासम्मको समीक्षा गरेका थियौं । त्यतिबेला संकटकाल यथावत् थियो । त्यसैले मेरा ससुराले फर्कन अलि उपयुक्त समय होइन कि भन्ने सुझाव दिनुभयो । तीन वर्षअघि अब पनि नेपाल गइएन भने ढिला हुन्छ भन्ने लाग्यो । उमेर पनि ढल्कँदै थियो । ३० देखि ४० वर्षको उमेर च्यालेन्ज लिन सक्ने राइट एज हो । यो उमेर पार भए फर्कन गाह्रो हुन्छ भन्ने लाग्यो । यो नेपाल फर्कने निर्णय गर्नुको पहिलो कारण थियो । 

 

दोस्रो जेठो छोराको उमेर ६ वर्ष पुगेको थियो, उसको सोसल सर्कल निर्माणका लागि नेपाल फर्कनुपर्ने जरुरी थियो । उसले उतै सोसल सर्कल बनाउन थाल्यो भने त फर्कन मान्दैन । त्यसैले पनि नेपाल फर्कने निर्णय लियौं । 

कतिपय सन्तान जन्माउन भनेरै अमेरिका पुग्छन् । तपाईंहरूले त फरक निर्णय गर्नुभए छ । केले प्रेरित गर्‍यो ? 

आ–आफ्नो सोचाइ हो । हामी नेपालमै जन्मे–हुर्केर पनि अमेरिकामा सफल हुन सक्छौं । अमेरिकामा जन्मदा जान आउन सहज होला । त्यो ब्रिज हामीले निर्माण गरिदिन सक्छौं, तर त्यही जन्मदा सबै कुरा राम्रो हुन्छ भन्ने ग्यारेन्टी छैन । 

एउटा प्रतिष्ठित कम्पनीको जागिर, लोभलाग्दो सुविधा र जीवनशैली चटक्क छाडेर आउन गाह्रो भएन ? 

म जुन परिवारमा जन्मिएँ र विवाहपछि म जुन परिवारमा बसिरहेको छु त्यहाँ आर्थिक रूपमा धेरै संघर्ष गर्नुपर्ने अवस्था छैन् । सन् २००६ देखि हामीले आउट सोर्सिङको बिजनेस सुरु गरेका थियौं । त्यसले परिपक्वता पनि पायो । अमेरिकाबाट फर्किएपछि त्यो बिजनेस आफैंले ह्यान्डल गर्न पनि सहज भयो ।

 

मानिसहरू बिजुली, धूवाँ, धूलो, पानीको जुन समस्या देखाउँछन् त्यसलाई मैले आफ्नो लिस्टबाट हटाइदिए । त्यसबाहेक अरू कुरालाई पनि कुनलाई कसरी ह्यान्डल गर्ने स्टेप चाल्दै गए । साँच्चैभन्दा म यी सबै समस्यासँग जुध्नका लागि नेपाल फर्कनुपूर्व नै तयार थिए । 

इन्स्युरेन्स कम्पनीको जागिरेबाट पूरै कम्पनी कार्यकारी प्रमुख हुँदा अप्ठ्यारो भएन ? 

इम्पोइजहरूको संख्याका हिसाबले मैले जागिर गर्ने कम्पनीमा प्रत्यक्ष रिपोर्ट लिनुपर्ने १० जना थियो, तर उनीहरूको मातहतमा पनि भारतमा हरेक १ जनाले करिब–करिब १० जनालाई हेरिरहेका थिए । त्यसले पदीय झन्झट पनि प्रशस्तै थिए । के–के समस्या भए, के–के सुधार गर्नुपर्छ भन्नेजस्ता कुरा हेर्नुपर्ने भएकाले अप्रत्यक्ष रूपमा झन्डै २ सय जनालाई लिड गर्नुपर्ने अवस्था थियो । 

 

यहाँ त त्योभन्दा अझ कम स्टाफ छन् । यहाँ आउँदा फरक लागेको र एडजस्ट हुन समय लागेको कुरा भनेको इम्पोइजलाई स्पेस दिने कुरामा हो । अमेरिकामा जस्तो इम्पोइजलाई नेपालमा स्पेस दिने कुरा फरक रहेछ । उता इम्पोइजको व्यक्तिगत लाइफमा इन्टरफेयर गर्ने चलन छैन । यहाँ इम्पोइजको खबर के छ ? उनीहरूको अभिभावक, पारिवारिक अवस्था के छ बुझ्नुपर्ने रहेछ । स्पेस दिने र दूरी निर्माण गर्ने कुरा यहाँ सांस्कृतिक बनावटका हिसाबले पनि होला, सम्भव रहेनछ । कर्मचारीसँग दूरी राख्न नसकिने रहेछ । 

महिलाहरूले काम गर्न सक्दैनन् भन्ने केही मानिसको सोच अझै विद्यमान छ नि होइन ? 

तथ्यांकगत हिसाबले त भन्न सक्दिनँ । यसमा काठमाडौंलाई मात्र हेरेर पनि पुग्दैन तर, पछिल्लो समयमा यसमा पर्याप्त सुधार आएको छ । साक्षरता दरमा आएको वृद्धिले पनि महिलालाई अहिले सशक्त एवं आत्मनिर्भर बनाउँदै लगेको छ । अझ धेरै सुधारको खाँचो देखिन्छ । छोरीलाई कक्षा १२ सम्म अनिवार्य पढाइको व्यवस्था मिलाइदिनुपर्छ । त्यसपछि अभिभावकले उसलाई आत्मनिर्भर बन्नेतर्फ उत्प्रेरित गर्नुपर्छ । पढाइ र बालविवाहमा फोकस गर्न सकियो भने महिलाको अवस्थामा अझ सुधार आउने देखिन्छ । 

 

महिलालाई आरक्षण दिने कुराको साटो शिक्षा र विवाहजस्ता कुरामा ध्यान दिदा राम्रो होला जस्तो लाग्दैन ? 

आरक्षण नदिई पढाउने कुरा मात्र त सम्भव नहोला । अहिलेको अवस्थामा प्रायोरिटी सिटहरूमा सरकारीदेखि विभिन्न ठाउँमा आवश्यकता छ जस्तो लाग्छ । म त्यसलाई समान अवसरका रूपमा लिन्छु । अमेरिकाको जस्तो समान अवसरसम्बन्धी कानुनी व्यवस्था निर्माण गर्दा आरक्षण आवश्यक हुन्छ जस्तो लाग्दैन ।

 

तल्लो तहमा आधार नबनाई माथि प्रायोरिटी सिटहरू मात्र उपलब्ध गराएर महिलाको अवस्थामा परिवर्तन ल्याउन सकिँदैन । कक्षा १२ सम्मको शिक्षा फ्री गर्ने, शुल्कहरू सरकारले उपलब्ध गराइदिने जस्ता काम गर्नु एकदमै जरुरी देखिन्छ । 

नेपालमा महिलाका समस्या के–के छन् जस्तो लाग्छ ? 

परिवारमा छोरी जेठी भए भाइबहिनी हेर्नुपर्नेदेखि छोराछोरीबीच खानपानमा सम्म विभेद देखिन्छ । रजस्वला हुँदा पानी नभएर किशोरीहरू स्कुल जान पाउँदैनन् । हामीले शान्ति एजुकेसन तथा हेटौंडाको एडुभिजनमार्फत पढाइमा केही सहायता गरिरहेका छौं ।

 

उनीहरूमध्ये धेरै जनामा स्यानिटेसनको समस्या छ, स्कुल नजाने कारण यही देखाउँछन् । त्यसबाहेक छोरीलाई भारका रूपमा लिएर चाँडो विवाह गरिदिने चलनले पनि समस्या सिर्जना गरिरहेको छ । हामी काठमाडौंमा बसेर पाइन्ट, टिसर्ट लगाएर हिँड्न पाइरहेका छौं, त्यो अवस्था सबै ठाउँमा छैन । 

महिला कम्पनी प्रमुख भएर काम गर्दा कस्ता समस्या फेस गर्नुपर्दो रहेछ ? 

हामीले नेपाली कम्पनीसँग धेरै काम गरेका छैनौं । अहिलेसम्म एभिओन्तेले अमेरिकी कम्पनीसँग मात्र काम गरिरहेको छ । एक्सुलुटसमा काम गर्दा यहाँको सरकारी निकायसँग काम गर्नुपरेको थियो । मैले यहाँ केही समस्या देखेकी छु । महिला भनेपछि हात मिलाउन अप्ठ्यारो मान्ने, नमस्तेमै चल्नुपर्ने, केटाहरू अलि अग्र लेभलमा भएजस्तो देखिन्छ । 

आन्तरिक अफिस र कर्मचारी व्यवस्थापनको अनुभव कस्तो रह्यो ? 

अफिसभित्र मैले कुनै पनि फरक अनुभूति गरिनँ । म महिला स्टाफ र पुरुष स्टाफ सबैप्रति समान व्यवहार गर्छु । सबै ब्याचलर र मास्टर्स इन्जिनियर हुन् । उनीहरूको सोच्ने लेभल पनि राम्रो भएर होला, केही समस्या आएन । 

अमेरिकाबाट फर्किएको झन्डै तीन वर्ष भैसकेको छ । नेपालमा कस्ता सम्भावना देख्नुभएको छ ? 

अहिले विभिन्न व्यवसायिक समूहहरू निर्माण भैरहेका छन् । फेसबुकले एकदमै धेरै एक्स्पोजर दिइरहेको छ । विज्ञहरूले आइडियाहरूलाई प्रोभोकेट गर्ने विषयमा अलि आवश्यकता खड्किएको देखिन्छ । बाहिरबाट फर्केर आउन खोज्ने र आउनेहरूका लागि पनि थुप्रै सम्भावना छन् । त्यहाँ बसेको मान्छेले केही न केही काम गरिरहेकै हुन्छ । नेपाल फर्कंदा यहाँको कामलाई त्यहाँ कनेक्ट गर्न सकिन्छ । 

आईटीको कुरा गर्ने हो भने भारतले अमेरिकाको बजारमा ठूलो स्थान बनाएको छ । नेपालले पनि आउट सोर्सिङबाट ठूलो आम्दानी गर्न सक्छ, तर अहिले हाम्रो बजार सानो छ । नेपालमा जुन रेटलाई हामीले एकदमै राम्रो भन्छौं अमेरिकामा त्यो एकदमै नोमिनल प्राइस हो । त्यसकारण हामीले बढी अवसर हात पार्न सक्छौं । अरू धेरै कुरामा पनि यस्तो सम्भावना छ । 

आईटीमा कति सम्भावना देख्नुहुन्छ ? 

आईटीमा अहिले यहींबाट धेरै कम्पनीले काम गरिरहेका छन् । यसमा डियरवाक, भेरिक्स, लिपफ्रगजस्ता पायोनियर कम्पनीहरूले काम गरिरहेका छन् । यो क्रम बढिरहेको छ । यी कम्पनीहरू बाहिरबाट फर्किएका नेपालीहरूले नै चलाएका हुन् । उहाँहरूले बाहिरका पार्टनरहरूसँग मिलेर ती कम्पनी चलाइरहनुभएको छ । आईटीमा धेरै अवसर छन् । 

आईटीको क्षेत्रमा कस्ता–कस्ता समस्या छन् ? 

यो क्षेत्रमा मुख्य समस्याका रूपमा नयाँ इम्पोइजहरूको समस्या छ । मानिसहरू इन्टर्न लेभलमा छिर्न चाहन्छन्, जाँचमा पास हुन्छन्, पर्फेक्स स्कोर आउँछ, इन्टरभ्युमा पनि पास हुन्छन् । त्यो सबै गरेर २५ जनाको लटमा हामीले हाम्रो कम्पनीमा २/३ जना लान्छौं । हामीले दुई वर्ष बस्नुपर्छ भनेका हुन्छौं, उनीहरूले कमिटमेन्ट पनि दिएका हुन्छन्, तर हायर गरेका धेरै स्टाफ अन्तै जान चाहन्छन् ।

 

दुई वर्ष काम गरिसकेपछि झन्डै ९५ प्रतिशत विदेशमा जाने र अन्य ५ प्रतिशत काम सिकिसकेपछि अन्तै जागिर खान जान्छन् । कम्पनीमा दुई वर्षभन्दा बढी कोही पनि बस्दैन । राम्रो तलबका लागि अर्को कम्पनीमा जाने ५ प्रतिशत मात्र हो तर ९५ प्रतिशतले त मेरा लागि विदेशै जानु ठीक छ भन्ने धारणा बनाएको पाइन्छ । मेरो देशमा के फ्युचर छ भन्ने कुरा त्यो जमातले सोचेकै हुँदैन । ब्रेन डेनको समस्या सबैभन्दा जटिल समस्याका रूपमा देखिन्छ । 

इन्टरनल्ली नै ५० प्रतिशत मानिस अर्को कम्पनीमा गए भने मेरो के समस्या छ हेर्नुपर्छ । हाम्रो वातावरण, टिम इन्गेजमेन्ट, रिक्गनेसन, रिवार्ड त्यतातिर सोचिन्थ्यो होला तर, त्यसलाई इम्पिलिमेन्ट गर्ने अवसर नै छैन । आन्तरिक रूपमा गर्न सकिनेलाई गरिरहेका छौं, जाने भनेर डिसिजन गरिसकेका मान्छेलाई रोक्न सकिने अवस्था छैन् । आधारभूत रूपमा नै केही समस्या छ । 

अब कस्ता नयाँ योजना बनाउँदै हुनुहुन्छ ? 

व्यस्त नै छु । ज्वाइन्ट भेन्चरमा अन्य एक–दुईवटा काम पनि भैरहेका छन् । सिस्टर कम्पनी एक्सुलुटरमार्फत हामीले काठमाडौं नगरपालिकाको राजस्वका संकलनका लागि नौवटा सिस्टम बनाइरहेका छौं । यो काम अन्तिम अवस्थामा छ । गत वर्ष यसमा बढी व्यस्त थिए, अहिले सकिने अवस्थामा रहेकाले अलि फ्री भएकी छु । अरू एक–दुईवटा प्रोजेक्टमा पनि काम गरिरहेका छौं । 

भविष्यमा एभिओन्ते मात्र नभएर अरू सिस्टर कम्पनीहरू पनि स्थापना भैरहेका छन् अरू बिजनेसका लागि । गोलचाहिँ दुई–तीन वर्षमा स्टाफहरूको संख्या वृद्धि गर्ने, अमेरिकाबाट थप नयाँ प्रोजेक्टहरू भित्र्याउने तयारीमा छौं । त्यसका लागि च्यानलहरू खुलिसकेका छन् । 

भविष्यको सपना के छ ? 

म अहिले ४० वर्षकी भएँ । सफल र खुसी हुने सपना हो । धेरै महत्त्वाकांक्षी सपना छैन । केही थप रोजगारी सिर्जना गर्न सकियोस् भन्ने छ । 

सफलता कसरी प्राप्त गर्न सकिन्छ ? 

गर्न सक्छु भन्ने कन्फिडेन्स नै सफलताको कारण हो जस्तो लाग्छ । फेल त हुन्छ नै । म पनि बेला–बेल फेल भएर विभिन्न खुडकिला चढ्दै यहाँसम्म आइपुगेकी हुँ । प्रतिस्पर्धा धेरै छ । आफ्नो दक्षता भएको फिल्डमा कन्फिडेन्टपूर्वक लाग्यो भने सफलता प्राप्त गर्न गाह्रो हुँदैन । कन्फिडेन्ट मान्छेमा कसरी म राम्रो गर्न सक्छु भन्ने हुटहुटी सधैं हुन्छ । त्यसबाहेक मेहनत र अपडेड हुनु पनि एकदमै जरुरी छ । स्मार्ट र हार्डली काम गर्ने मानिसहरूले बढी सफलता पाउँछन् । 

यो प्रगतिमा कसलाई सम्झनुहुन्छ ? 

दुई जना मान्छेलाई सम्झन्छु, एउटा मेरो बुबा (शान्तनु भण्डारी) र अर्को श्रीमान् (सन्दीप आचार्य) । बुबालाई किन सम्झन्छु भन्दा सामान्य जीवन बिताएर मलाई पढाउनुभयो, बाहिर पठाउनुभयो । त्यो नभएको भए म यति कन्फिडेन्ट हुन्नथें । बाहिरको जुन एक्पोजर भयो, त्यसले गर्दा मैले राम्रा अवसरहरू पाएँ । यहाँ भएको भए विवाह गरेर स साना सपनाहरूमै बाँचिरहेकी हुन्थे कि ? दोस्रो मेरा श्रीमान्ले समान रूपमा मेरा प्रत्येक पाइलामा सहयोग गर्नुपर्‍यो । उहाँले सधैं मलाई राम्रो गर्न उत्प्रेरित गर्नुभयो । 

कार्यकारी प्रमुखमा हुनुपर्ने गुणहरू के–के हुन् जस्तो लाग्छ ? 

इम्पोइज नै कम्पनीको सबैभन्दा मुख्य कुरा हो । इम्पोइजसँग एउटा लेभलमा अन्तक्रिया एकदमै आवश्यक हुन्छ । म के सोच्छु भने इम्पोइजहरूसँगको अन्तक्रियामा सफल हुने लिडर बढी सफल हुन्छ । लिडरले योजना निर्माण गर्दा इम्पोइजहरूलाई पनि इन्गेज गराउनुपर्छ ।

 

अर्को, इम्पोइजहरू लामो समयसम्म काम गर्दा निराश हुँदै जान्छन्, त्यसैले उनीहरूको भविष्यका बारेमा पनि सोच्नुपर्छ । तीनवर्षे र पाँचवर्षे गोल सेट गरेर योजना बनाइरहनुपर्छ । बाहिरी अन्तक्र्रिया, मोटिभेसनजस्ता पक्षहरू पनि सफल कार्यकारी प्रमुखका लागि आवश्यक कुरा हुन् ।

प्रकाशित :मंसिर ७, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्