वाइड एंगलमा ट्रिपल

- किशोर नेपाल

मंसिर ६, २०७३

 

उनी साधारण मानिस होइनन् । असाधारण क्षमता छ उनमा । तैपनि, कहिल्यै आफूलाई असाधारण सावित गर्ने रहर उब्जिएन उनमा । पेसाले उनी पाइलट हुन् । अहिले पर्यटन व्यवसायी । शिक्षाले बिजनेसका विद्यार्थी । उनलाई वाइड एंगलमा हेर्नुपर्छ । मानिस जति साधारण देखिन्छन्, त्यति नै असाधारण छ उनको नाम । ट्रिपल पी गुरुङ । साथीभाई ट्रिपल मात्र भन्छन्, त्यतिबेला पी हराउँछ ।

 

यो नाम उनका दाजुले राखिदिएका हुन । दुर्गम हिमाली जिल्ला मनाङमा जन्मिएका हुन् ट्रिपल । उनको प्रारम्भिक शिक्षा भएको थियो— त्रिभुवन आदर्श विद्यालय, फर्पिङमा । त्यहाँ भर्ना हुँदा उनको नाम थियो— कान्छा । घरको बोलाउने नाम पनि कान्छा । कान्छा, उनको यही नाम प्रचलित हुन्थ्यो होला, तर स्कुलमा अरू विद्यार्थीको नाम पनि कान्छा थियो । त्यसले भ्रम उत्पन्न नहोस् भनेर उनका दाजुले बुबाको नामको पहिलो अक्षर पी र आफ्नो नामको पहिलो अक्षर पी थपेर ट्रिपल पी गुरुङ बनाइदिए । ट्रिपलले यही नाम चल्न दिए । नाममा आखिर राखेको नै के हुन्छ र ?

फर्पिङमा प्रारम्भिक शिक्षा, त्यसपछि शंकरदेव क्याम्पसमा बिजनेसको पढाइ, उच्च शिक्षाका लागि अस्ट्रेलिया र त्यसपछि बिजनेस र हस्पिटालिटी पढ््न स्विट्जरल्यान्ड जान बुबासँग अनुमति माग्दा उनले जवाफ दिए, ‘होइन छोरा, तिमी पढेर पाइलट हुने ।’ ट्रिपलका बुबाले सपना देखेका थिए, ‘मुस्ताङका थकाली केटाहरूले पाइलट पढेर आए, जोमसोममा प्लेन चलाए । अब ट्रिपलले पनि पाइलट पढेर आएपछि मनाङमा प्लेन ल्याउँछ । 

 

त्यसपछि यहाँका मानिसको दु:ख आधाभन्दा बढी कम हुन्छ ।’ 

ट्रिपलले उनको बुबाको सपना पूरा गरे । उनी पाइलट विज्ञान पढ्न अस्ट्ेरलिया नै पुगे । सिड्नीबाट पाइलटको कोर्स पूरा गरेर उनी नेपाल फर्किए । त्यही सेरोफेरोमा मनाङमा हवाई उडान पनि सुरु भयो । 

पढेर आउनेबित्तिकै यति एयरलाइन्समा काम सुरु गरेका ट्रिपलले १२ वर्ष त्यही कम्पनीमा बिताए । त्यसपछि दुई वर्ष उनले भारतको किङ फिसर एयरलाइन्समा काम गरे । भारतका मदिरा व्यवसायी विजय माल्याको उक्त एयरलाइन्स असफल भयो । ट्रिपलले त्यहाँ काम गर्दा नै त्यसको असफलता सुरु भैसकेको थियो । पाइलट कोर्स गर्नुपरेकोमा ट्रिपललाई कुनै पश्चात्ताप छैन । यसबाट उनलाई मानसिक एवं भौतिक रूपमा फाइदा नै भएको छ । ‘मैले फ्लाइङ नगरेको भए देशलाई चिन्ने मौका नै पाउँदिनथें ।

 

अहिले कम्तीमा पनि म देशका दुर्गम र सुगम बस्तीहरूसँग, यसको भूगोलसँग परिचित छु । हामी गरिबीबाट कसरी मुक्त हुन सक्छौं भन्ने कुरा सोच्न मात्र होइन, आफ्नो क्षमताले भ्याएसम्म काम गर्न प्रेरित भएको छु । मैले पाइलटको कोर्स पूरा नगरेको भए यो सबै कुरा सम्भव थिएन । यो पाइलट हुनुको फाइदा हो ।

ट्रिपलको रुचि थियो हस्पिटालिटी बिजनेसमा । उनले मनाङमा होटल खोले । राजनैतिक गतिविधिमा लागेपछि उनले विचार गरे, जुन जिल्लाबाट राजनीति गर्ने हो, त्यो आफ्नो जिल्लामा व्यापार गर्नु हुँदैन । त्यहाँ व्यापार गर्‍यो भने राजनीतिक प्रतिद्वन्द्वीहरूले त्यसैलाई इस्यु बनाउँछन् । बेकारमा बदनामी मात्र हुन्छ ।

व्यापारका लागि उनले मुस्ताङमा लगानी गरेका छन् । जोमसोम बजारमा उनको होटल ‘ओम्स होम’ निकै स्तरीय मानिन्छ । अरू होटलको तुलनामा अलिकति महँगो पनि छ, तर त्यो दुर्गम क्षेत्रमा पनि होटलले पर्यटकका लागि जसरी आवश्यक सुविधाहरू जुटाएको छ त्यसलाई हेर्ने हो भने मूल्यको औचित्य सावित हुन्छ । ट्रिपल अहिले कागबेनीमा उच्चस्तरको ‘हेरिटेज’ होटलको निर्माणमा व्यस्त छन् । यो होटलको निर्माणपछि मुस्ताङ र यस क्षेत्रको सांस्कृतिक महत्वका विषयहरू फोकसमा आउनेछन् । गुरुङ भन्छन्, ‘यो होटल मात्र नभएर संस्कृति र सूचनाको केन्द्र पनि हुनेछ ।

ट्रिपल गुरुङ सामान्यत: राजनैतिक प्राणी होइनन्, तर उनी व्यवसायीहरूले पनि राजनीतिमा रुची राख्नुपर्छ, त्यसबाट भाग्नु हुँदैन भन्ने मान्यता राख्छन् । उनका बुवा पेमा छिरिङ गुरुङ मनाङका विशिष्ट व्यक्तित्व भएकाले पनि राजनीतिमा उनको चाख बढेको हो भन्दा अनुचित हुनेछैन । उनी अघिल्लो चुनावमा राप्रपासँग आबद्ध थिए । अहिले एमालेसँग जोडिएका छन् । ट्रिपल आफैं पनि अहिलेको राजनीतिक प्रवृत्तिबाट सन्तुष्ट छैनन । उनी भन्छन्, ‘देश अनेकौं समस्याले ग्रस्त छ ।

 

जनता सधंै सिकायत मात्र गर्छन् । यस्तो अवस्थामा नयाँ विचारका लागि नयाँ–नयाँ मानिस राजनीतिमा सहभागी हुनुपर्छ । हरेक मानिसमा म केही गर्छु भन्ने इच्छा हुन्छ, तर केही गर्नका लागि इच्छा मात्र पर्याप्त हुँदैन । गर्न सक्ने ठाउँमा पुग्नु पनि पर्छ । आफूले चाहेको गर्न सकिने ठाउँमा पुगिने बाटो राजनीति नै हो । यसमा सफल हुन सकियो भने पक्कै पनि आफूले सोचेजस्तो केही गर्न सकिन्छ ।’

ट्रिपलको मनमा आफ्नो जन्म भएको र आफूले कर्मभूमिका रूपमा स्वीकारेको मनाङ जिल्लाका प्रति कृतज्ञताको भाव छ । मनाङका लागि केही गर्नुपर्छ भन्ने दृढता छ उनमा । गुरुङ भन्छन्, ‘देशको विकासका लागि सरकारले पूर्वाधारहरू तयार पारिदियो भने अरू काम त जनताले नै गर्नेछन् । मनाङ पर्यटकीय गन्तव्य हो । पर्यटनबाहेक यहाँ जलविद्युत् विकासको सम्भावना छ । अहिले त पर्यटनले मात्र धानेको छ । ‘गर्न सक्ने’ अधिकांश मनाङवासी यहाँ बस्दैनन । यो हिमाली जिल्लामा लाहुरे संस्कारले काम गर्न थालेको छ । मेरो विचारमा यो पनि एउटा प्रमुख समस्या हो ।’

ट्रिपल लागेका छन् आफ्नो कर्मभूमिमा । बिजनेश स्टडीदेखि पाइलटसम्म, पाइलटदेखि पर्यटन व्यवसायसम्म उनको क्षितिज फराकिलो छ । उनी वाइड एंगलमा खुल्छन् । उनको नामजस्तै, उनी व्यक्ति पनि असाधारण छन् ।

प्रकाशित :मंसिर ६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्