क्यान्सरमा राष्ट्रिय सहमति

- मनोज गजुरेल

मंसिर ३, २०७३

 

क्यान्सर सबैलाई लाग्न सक्छ तर महँगो क्यान्सर नेतालाई मात्र लाग्छ । झासेझुसे नेतालाई  होइन, पहुँचवालाई मात्र महँगो क्यान्सरले दु:ख दिन्छ । कुनै समयमा पद, प्रतिष्ठा र पावरमा बसेका नेतालाई यसले सताउनुसम्म सताउँछ । त्यति शक्तिशाली नेताहरूलाई जाबो क्यान्सर कसरी लाग्छ ? आउनुहोस्, यसको गजुरियल विश्लेषण गरौं । जतिबेला पदमा हुन्छन् त्यतिबेला उनीहरू कमिसनको ब्रेकफास्ट गर्छन् । भ्रष्टाचारको डिनर लिन्छन् । घूसको लञ्च खान्छन् । तस्करसँग आराम गर्छन् । भ्रष्टसँग रिल्याक्स गर्छन् । खाने ठेगान हुन्न, सुत्ने टुंगो हुन्न । ज्यानको ख्याल हुन्न । स्वाथ्यको ध्यान हुन्न ।

 

सिंहदरबार छिरेपछि त उग्रै बलिया देखिन्छन् । चाकडीबाजले सुरक्षा गर्छ । अवसरवादीले तेल लगाउँछ । कमिसनखोरले मालिस गर्छ । भाषणको डाइटिङ लिएको छ । आश्वासनको फलफूल खाएको छ । शरीरमा रोगको नाम हुन्न । मनमा शोकको निशान दिन पाउन्नन् ।

 

मान्छेलाई पद र पावरले टावरमा पुर्‍याउँछ । टावरबाट जता हेरे पनि स्वर्गैस्वर्ग देखिन्छ । आकाशभरि जूनैजून देखिन्छ । धर्तीभरि सुनैसुन देखिन्छ । धर्मको ध्यान हुँदैन । पापको ख्याल हुँदैन । हुने कुरा पनि गर्छ । नहुने कुरा पनि गर्छ । जब पावरबाट तल झर्छ तब भ्रमको टावर चकनाचुर हुन्छ । हनुमानहरूले साथ छोड्छन् । चाकडीबाजले टाउको मोड्छन् । आफन्तहरूले बिर्सिसकेका हुन्छन् । छेपाराहरूले रंग फेरिसकेका हुन्छन् । कार्यकर्ता नजिक हुँदैनन् । 

सहयोगीहरू छेउ पर्दैनन् । पावरमा हुँदा टावरमा चढाउनेहरू अब भर्‍याङ भत्काउन थाल्छन् । विरोधीहरू खाल्डो खन्न थाल्छन् । अब ऊ बेला शक्तिमा रहँदा गरेका भूलहरूले आफैंलाई पिर्न थाल्छन् । सुलहरूले घोच्न थाल्छन् । कुकर्मको याद आउन थाल्छ । दुष्कर्मको झझल्कोले सताउन थाल्छ । भ्रष्टाचार, अनियमितता, कमिसन, पदीय दुरुपयोगका एक–एक अकर्महरू मष्तिष्कमा खेल्न थाल्छन् । अपराधबोधले आत्मबललाई जेल्न थाल्छ ।

बिस्तारै चिन्ताको बाढी बढ्न थाल्छ । निराशाको पारो चढ्न थाल्छ । जुम्राहरूले पनि साथ छोड्छन् । झिँगाहरूले पनि हात छोड्छन् । एक्लोपनले सताउँन थाल्छ । अँधेरोले अत्याउन थाल्छ । सपनाले तर्साउन थाल्छ । बिपनाले अत्याउन थाल्छ । दिउँसो पनि डर भाग्दैन । राति पनि निद्रा लाग्दैन । 

 

अनिद्राले ग्यास्ट्रिक सुरु गर्छ । ग्यास्ट्रिकको जरो चिन्ता, चिन्ताको जरो पावरलेस हुनुको पीडा, उक्त पीडाको जरो सत्ताप्रतिको राग, त्यसको पनि जरो विपक्षीप्रतिको द्वेश हो भन्ने सत्य बुझ्न सक्दैन । राग/द्वेशका जरो काट्न छोडेर टुप्पो छाँट्न थाल्छ ।

 

बिस्तारै ग्यास्ट्रिक बिग्रिएर अल्सर हुन्छ । ग्यास्ट्रिक निको पार्न ज्योतिष हेराउँछ । अल्सर निको पार्न झाँक्री बोलाउंछ । घरमा हवन हुन्छ । वनमा यज्ञ लगाउँछ । झाँक्री र ज्योतिषीले निचोड सुनाउँछ, ‘हजुरलाई विपक्षीले भेदेको छ । तिनकै भूतले खेदेको छ ।’

 

अल्सर भगाउन छाडेर अब भूत उनीहरू भगाउन थाल्छन् । ग्यास्ट्रिक भगाउन छाडेर प्रेत जगाउन थाल्छन् । भूत र प्रेत मिलेर अब अल्सरलाई क्यान्सरमा परिणत गरिदिन्छन् । जब क्यान्सरले थलिन्छ तब त्यसको जरो त आफ्नै कर्मको शैलीमा रहेछ भन्ने  भन्ने कुरा बल्ल पाउँछ । रोगको बीउ त आफ्नै जीउ रहेछ भन्ने ब्रम्हज्ञान आउँछ ।

 

त्यसपछि आफूजस्तै नेतालाई बोलाउँछन् । यो सत्य सुनाउँछ कि आफ्नो कर्मको फल सबैले भोग्नुपर्दो रहेछ । पावरबाट पावरलेस, पावरलेसबाट चिन्ता, चिन्ताबाट अनिद्रा, अनिद्राबाट ग्यास्ट्रिक, ग्यास्ट्रिक बिग्रिएर अल्सर, अल्सर बिग्रिएर क्यान्सरसम्म हुन सक्ने सत्यबोध सबै ‘पावरफुल’ नेतालाई हुन्छ ।

 

आफू पनि जुनसुकै बेला यस्तो रोगको सिकार हुन सक्ने सत्यबोध भएपछि सबै पावरफुलहरूले आफूलाई परेका बेला राष्ट्रिय ढुकुटीमाथि नाङ्गो नाच देखाउने मौन सहमति गरेको गजुरियल ठम्याइ छ ।

प्रकाशित :मंसिर ३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्