पशु किन पुज्ने ? केही गजुरियल कारण

- मनोज गजुरेल

मंसिर २, २०७३

 

तिहार गए पनि त्यसको ह्याङओभर अझै गएको छैन । टीकासहितका गाईका तस्बिर इन्टाग्राममा आइरहेकै छन् । माला लगाएका गोरुहरू फेसबुकमा चिहाइरहेका छन् । पुजा गरिएका काग र कुकुरहरू पनि सामाजिक सञ्जालमा घटेका छैनन् । त्यसैले आजको विश्लेषण तिहारकै सेरोफेरोमा केन्द्रित हुनेछ । भैंसी र राँगो पनि त हाम्रो जीवनका अभिन्न अंग हुन्, तिहारमा गाई र गोरु मात्र किन पुजिएको होला ? कोइली र बिरालोको पनि त महत्वपूर्ण स्थान छ, कुकुर र कागलाई मात्र किन सम्मान गरिएको होला ? भाइटीका भनेर दाजुलाई किन छायाँमा पारिएका होला ? भाउजू टीका वा भाइबुहारी टीका किन नभनिएको होला ? तिहारसम्बन्धी यस्ता गजुरियल प्रश्न धेरै गर्न सकिन्छ ।

जे होस्, वर्षैभरि छि:छि: र दुर–दुर गरिए पनि एक दिन गाई, गोरु, काग, कुकुरलाई सम्मान गरिनु सुन्दर कुरा हो । आशा गरौं, कालक्रममा मानिसको जीवन र जगत्सँग जोडिएका अन्य जनवार एवं पन्छीको पनि पूजा गरिनेछ । यदि हामीले चार थान प्राणीको मात्र सम्मान गरिरह्यौं भने अन्य प्राणीको चित्तले हामीलाई सरापिरहनेछ ।

गजुरियल विश्लेषक कल्पना गर्छ, आफ्नै साथी गाइ फूलमालामा गजक्क सजिएको देख्दा सँगै बाँधिएको भैंसीले के भन्ला ? ‘स्साला, दूध खाने मेरो, मासु घिच्ने मेरो अनि पुजाचाहिं गाईको मात्र ?’ भन्दै कति रिसाउँदो हो भैंसी ? गोरु पुजिएको देख्दा राँगो रिसाउँदो हो । ‘म पनि त जोतिन्छु, तर किन भेदभाव ?’ सुँगा, भँगेरा, ढुकुर, परेवा, लोकल, ब्रोइलर आदिका पनि आ–आफ्ना चित्तदु:खाइ हुन सक्छन् । त्यतातिर पनि गम्भीर हुन जरुरी छ ।

अहिलेलाई पुजिएकाहरू किन पुजिन्छन्, त्यतातिर जाऔं । धार्मिक एवं सांस्कृतिक कारण त धेरैलाई थाहा छ । आजको हाईटेक युगमा त्यतिले मात्र फेसबुक पुस्ता कन्भिन्स हुँदैन । उसलाई आजकै कारण चाहिन्छ । 

गजुरियल विश्लेषण भन्छ, काग पुजिनुको मुख्य कारण उसले अर्काको नाम काड्दैन । आफ्नो परिचय आफैं दिन्छ, अरूले सोधिरहनु पर्दैन । कागभन्दा रिसाउँदैन । भाग् भन्दा भागिहाल्छ । ऊ मानिसजस्तो मीठो–मसिनो मात्र खोज्दैन, हाम्रो खेतबारी बिगार्ने खस्रो र खराब कीरा–फट्यांग्रा पनि खान्छ । यसले दाजुभाइसँग अंशमुद्दा हाल्दैन । डिभोर्स गर्दैन । सम्पत्तिका लागि कुनै तनाव लिंदैन, दिंदैन । यसै कारणले काग पुजनीय छ भन्ने गजुरियल ठम्याइ छ ।

गोरुले तलब कम भयो भन्दैन । आन्दोलन, हड्ताल र हलोजाम गर्दैन । गोरुले युनियन बनाउँदैन । भत्ता र कमिसन खोज्दैन । कामलाई सानो–ठूलो मान्दैन । जे–जे काम हो, खुरुखुरु गरिरहन्छ । बठ्याइँमा मान्छे माथि होला तर इमान्दारिताका कुरामा गोरुलाई कसैले जित्न सक्दैन । गोरु श्रमजीवीको पनि गुरु हो । कसैका लागि गोरु अन्न फलाउने ढुकुटी हो, कसैका लागि सेकुवा र सुकुटी हो । जे भए पनि गोरुले हामीबाट केही माग्दैन, केवल दिने हो । त्यसैले गोरु पुजनीय छ भन्ने गजुरियल ठम्याइ छ ।

अब कुकुरको कुरा गरौं ।

छोरा–छोरी इन्टरनेटमा अल्झिएका बेला कुकुर मानिसको नजिक आएर बस्छ । श्रीमती सिरियलमा रमाइरहेका बेला कुकुरले श्रीमान्को साथ दिन्छ । श्रीमान् कम्प्युटरमा झुन्डिएका बेला कुकुर किचनमा आएर श्रीमतीको साथी बन्छ ।  कुकुरले फेक आईडी बनाउँदैन, लाइक र डिस्लाइकको मतलब गर्दैन । 

कुकुरलाई निश्चित समयमा दिसा आउने बेलामा कराउने भएकाले मानिसका लागि अलार्मको आवश्यकता पर्दैन । कुकुरले वाइफाइको पासवर्ड ह्याक्दैन र बार्‍ह घण्टा फेसबुकमा झुन्डिँदैन । कुकुरले वेबसाइटको दुरुपयोग गर्दैन । साइबर बुलिङमा संलग्न हुँदैन । उसका लागि सिसी क्यामेराको अवाश्यकता पर्दैन ।

 

कुकुरलाई सिरियल हेरिरहनु पर्दैन । कुकुर च्याटिङमा अल्झिँदैन । कुकुरलाई लोडसेडिङले असर गर्दैन । कुकुरलाई पकेट खर्च दिइरहनु पर्दैन । कुकुरले पोर्न फिल्म हेर्दैन । कुकुर इयरफोन टाँसेर निदाउँदैन । कुकुरले जुवातास खेल्दैन । सिनेमा हेर्दैन, बरु उल्टै देखाउने भएकाले कुकुर पुजनीय भएको गजुरियल ठम्याइ छ

प्रकाशित :मंसिर २, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्