लागूऔषधले लट्ठिएर आफ्नै साथीबाट हत्या

- अनिल श्रेष्ठ

कार्तिक ३०, २०७३

 

लागूऔषधको नशामा लट्ठिएका पाँच युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै साथीको हत्या गरेको खुलासा भएको छ । असोज २८ देखि बेपत्ता भएका जामुनगाछी, विराटनगरका १९ वर्षीय अंकित दाहालको शव कात्तिक १ गते धानबारीमा डोरीले बाँधेर फालेको अवस्थामा मोरङ प्रहरीले फेला पारेको छ । पेटमा छुरा प्रहार गरिएका उनको शव कुहिन लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । 

 

प्रहरीले अंकितको हत्यामा संलग्न उनका साथीहरू विराटनगरकी टाइली भनिने फूलकुमारी उराव, २० वर्षीय डाइलर भनिने युवराज परियार, टिम्मा भनिने १७ वर्षीय सुकदेव यादव, २२ वर्षीय सुरज यादव तथा हन्टर भनिने १७ वर्षीय सार्जन खरेललाई विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकी फूलकुमारी लागूऔषध र चोरीको आरोपमा यसअघि पनि पक्राउ परिसकेको प्रहरी रेकर्ड छ । प्रहरीले पक्राउ परेका सबै विरुद्ध मोरङ जिल्ला अदालतमा कर्तव्यज्यान मुद्दा दर्ता गराएको छ । घटनास्थलबाट प्रहरीले चक्कु, खुकुरी र मृतकको मोबाइलको सीम पनि टुक्रा परेको अवस्थामा फेला पारेको थियो । 

 

मोरङ प्रहरीका प्रमुख एसपी सन्दीपराज भण्डारीका अनुसार पक्राउ परेका सबैजना लागूऔषध प्रयोगकर्ता हुन् । शव परीक्षणका क्रममा हत्या भएको यकिन भएपछि एसपी भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीका साथै क्षेत्रीय प्रहरी विराटनगरको विशेष अनुसन्धान टोली अनुसन्धानमा खटिएको थियो । एसपी भण्डारीका अनुसार अभियुक्तहरूले लामो समयदेखि समूहमा मिलेर आपसमा लागूऔषध खरिद–बिक्री तथा सेवन गर्ने गरेका थिए ।

कसरी घट्यो घटना 

असोज २८ गते शुक्रबार अंकित जोगबनी गएका थिए । नशालु पदार्थ सेवन गरेर आएका अंकितसँग पाँचै जनाको भेट विराटनगरस्थित डिपिएस स्कुलदेखि पश्चिमतर्फ रहेको धानखेतमा भयो । उनीहरूको गाँजा तान्ने अखडा त्यही धानखेत भएकाले उनीहरू गफ गरेर बसिरहेका थिए । 

प्रहरीका अनुसार मृतक अंकितले लागूऔषधका लागि पैसा दिएको तर फूलकुमारीले लागूऔषध उपलब्ध गराउन नसकेपछि उनीहरूबीच विवाद बढेको थियो । विवाद बढेपछि लागूऔषध गिरोहको पोल खुल्ने डरले गाँजा सेवन गर्न खेतमा बोलाएर उनीहरूले अंकितले लगाएको हाफपेन्टको तुनाले हातखुट्टा बाँधेर धारिलो खुकुरी र छुराप्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकी फूलकुमारीले पहिलो पटक अंकितलाई आफूले घाँटी रेटेको अनि रगत बग्न थालेपछि अन्य साथीलाई बोलाएको तथा साथीहरूले अंकितलाई खुकुरी हानेको बयान दिएकी छिन् । सुरुमा फूलकुमारीले अंकितको घाँटी रेटेपछि अंकितको पेटमा सार्जन र युवराजले खुकुरीले हानेर हत्या गरेको स्वीकार गरेका छन् ।

..

को हुन् अंकित दाहाल ?

राजकुमार र दीपा दाहालका एक मात्र छोरा हुन्— अंकित । अंकितको जन्म २०५५ साल चैत १५ गते जामुनगाछी विराटनगरमा भएको हो । मदरल्यान्ड एकेडेमीबाट एसएलसी उत्तीर्ण गरेका अंकित उच्च शिक्षा अध्ययन गर्न मोडर्न कलेजमा भर्ना भएका थिए । अंकितले ११ कक्षा उत्तीर्ण गरेपछि १२ कक्षामा अध्ययन गर्दागर्दै पढाइ छोडेका थिए । 

प्रकाशित :कार्तिक ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्