सल्लीपिर लेख्न २८ महिना लाग्यो

- नरेन्द्र रौले

कार्तिक १९, २०७३

 

नयनराज पाण्डे उपन्यासकार 

नयनराज पाण्डे उपन्यासकार तथा चलचित्रका पटकथा लेखक र कथाकार पनि हुन् । सल्लीपिर उनको पछिल्लो कृति हो । यसअघि उनले लेखेका लू, घामकिरी, उलार जस्ता उपन्यास चर्चामा थिए । पाण्डेका निदाएँ जगदम्बा,  खोरभित्रको जोकर  तथा चकलेट जस्ता कथासंग्रह पनि चर्चित छन् । उनले टेलिभिजनका लागी टेलिसिरियलको लेखन एवं डकुमेन्ट्री निर्माण तथा निर्देशनको समेत अनुभव बटुलेका छन् । पाण्डेसँगको कुराकानी : 

 

पछिल्लो समय तपाईंले पढेको पुस्तक ?

सल्लीपीर  पछि बंगाली लेखक ताराशंकर बन्दोपाध्यायको उपन्यास गणदेउता  पढें । बंगालको एउटा अनिकालको कथा समेटिएको यो उपन्यास उत्कृष्ट मानिन्छ । यसमा बंगालको जनजीवन, समस्या, अनिकालमा नागरिकहरूले भागेको पीडा आदि समावेश छ । बंगाली भाषाबाट हिन्दीमा अनुवाद गरिएको यो उपन्यास विश्वकै उत्कृष्ट साहित्यमध्ये एक हो ।

 

यात्रामा निस्कँदा पुस्तक बोकेर जानुहुन्छ ?

जान्छु । तर यात्रामा धेरै पढ्न सक्दिनँ । छोटो पुस्तक पढ्न सकिन्छ, मोटो पुस्तक पढ्न सकिँदैनँ । बरु घुम्न जाँदा मानिसहरूसँग भिज्न, परिवेश बुझ्न रुचाउँछु । 

 

केका लागि पढ्नुहुन्छ ?

ज्ञानका लागि । अरूका कुरा धेरै पढें भने मात्र म राम्रो लेख्न सक्छु । ज्ञानसँगै कहिलेकाही आफ्नो रुचिका विषय पनि छनौट गर्छु । 

 

तपाईंका प्रिय लेखक ?

भारतीय लेखिका महाश्वेतादेवी । उनले आदिवासी जनजीवन, तिनका समस्या, उत्पीडन एवं भेदभावका कुराहरू लेख्छिन् । उनका पुस्तक बंगालीबाट हिन्दी एवं अंग्रेजीमा अनुवाद छन् । त्यस्तै चेखबका कथा पनि मन पर्छन् । हेमिंग्वे, धच गोतामे, लैनसिंह वाङ्देल, ध्रुबचन्द्र गौतम, लु सुन आदि पनि उत्कृष्ट छन् ।

 

मन परेका पुस्तक ?

लियो टल्सटोयको वार एन्ड पिस  तथा म्याक्सिम गोर्कीको आमा  । यी दुई उपन्यासले आख्यानलाई कसरी बुन्ने त्यो कला सिकायो । अल्बर्ट कामुको द प्लेग,  डोमिनिक ल्यापिरीको द सिटी अफ ज्वय  मेरा प्रिय पुस्तक हुन् । द सिटी अफ ज्वय  कोलकाताका श्रमिकहरूमा केन्द्रित छ । हेमिंग्वेको द ओल्ड म्यान एन्ड सी  सानो भए पनि मन हुने खालको छ । लु सुनका कविता तथा आख्यान सुन्दर र गहन लाग्छन् ।

पुस्तक कसरी छनौट गर्नुहुन्छ ?

२५ प्रतिशत समीक्षा अनि बाँकी साथीभाइको सिफारिसमा छान्छु । नेपाली साहित्यमा चर्चामा आएका सबैजसो पुस्तक किन्छु । 

कुन समयमा लेख्न रुचाउनुहुन्छ ?

पढ्ने–लेख्ने बानी फरक–फरक छ । पढ्न शान्त वातावरण चाहिन्छ, तर लेख्नचाहिँ हल्लामा पनि सकिन्छ । म धेरैजसो दिउँसो लेख्छु । 

 

कस्तो पुस्तक पढ्न मन लाग्छ ?

यथार्थवादी उपन्यास, जसबाट समाजलाई बुझ्न सकियोस् ।  कविता मेरो प्रिय विधा हो, तर कविता पढ्ने धैर्य मसँग छैन । 

दोहोर्‍याएर पढेको पुस्तक ?

शिरीषको फूल  ।  पाँचचोटि पढें । देवकोटाको मुनामदन,  जर्ज अर्बेलको एनिमल  फार्म  पनि दोहोर्‍याएर पढें । नारायण ढकालको उपन्यास पीत संवाद  पनि दोहोर्‍याउँदैछु ।

अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

नेपालीमा अलिखित, घामका पाइलाहरू, शिरीषको फूल, सोताला  तथा खैरेनीघाट  । विदेशीमा द ओल्ड म्यान एन्ड सी, आमा   एन्टोन चेखबका कथाहरू

लेखक बन्न चाहनेहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

अरूले लेखेका कुरा अध्ययन गर्नुपर्छ । आफ्नो समाजलाई पढ्नुपर्छ । घुम्न जाँदा त्यहाँका समस्या, भाषा एवं संस्कृति बुझ्नुपर्छ । नियमित लेख्ने अभ्यास गर्नुपर्छ । जति धेरै लेखिन्छ, सिर्जना त्यति राम्रो हुँदै जान्छ ।

 

सल्लीपिरको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?

निकै राम्रो । अब छिट्टै यसको दोस्रो संस्करण आउँदैछ । कुनै पनि पुस्तक बिक्री हुनु मात्र ठूलो कुरा होइन । लेखकले भन्न खोजेको कुरा पाठकले बुझे कि बुझेनन् त्यो ठूलो कुरा हो । मैले कतिपय नकारात्मक प्रतिक्रियालाई पनि सकारात्मक रूपमा लिएको छु । म तराईको विषयमा लेखिरहेको मानिस, सल्लीपिरमा हिमाली जनजीवनका बारेमा लेखें । 

 

सल्लीपिर  लेख्न कति समय लाग्यो ?

छापिने अवधिसम्म पुग्दा २८ महिना लाग्यो । सुरुको ६ महिना सरसर्ती लेखेर सकें । त्यसपछि २१ महिना पुनर्लेखन गरें । 

नेपालमा पूर्णकालीन लेखक भएर जीवन जिउन सकिन्छ ?

अध्ययन संस्कृतिको विकास हुँदैछ । पुस्तक बिक्दैमा जीवनका सारा आवश्यकता पूरा हुँदैनन् । कसरी बाँच्ने त्यो आफ्नो जीवनशैलीमा पनि भर पर्छ, तर लेखनले केही आवश्यकता भने पूरा हुन्छ । पुस्तक बिक्री भयो भने त्यसले जीवनलाई केही सहज बनाउँछ ।  

प्रकाशित :कार्तिक १९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्