आमाको मुख हेर्ने दिन

- नारायण तिवारी

कार्तिक १६, २०७३

 

आखिर मेरी श्रीमती र म दुवै ‘मातातीर्थ औंसी’ मनाउन अर्थात् आमाको मुख हेर्ने दिन सुसम्पन्न गर्न सकिनसकी खरिदारी गर्न जाने भयौं । कार्यालयले पनि कुरा बुझेर हो कि के हो, मातातीर्थ औंसीको अघिल्लो दिन नै तलब बैंक खातामा जम्मा गरिदिइसकेको थियो ।

 

पहिले आमाको मुख हेर्ने काम त सम्पन्न गरौँ, त्यसपछि महिनाभरिको खर्च कसरी पुर्‍याउने हो, अघिल्लो महिनाको रिन कसरी तिर्ने हो– सोच्दै गरौंला भन्ने सोच्दै दुवै दम्पती लाग्यौँ बजार । श्रीमतीले भनिन्– ‘म आमाका लागि साडी किन्छु ।’ 

मैले भनेँ– ‘‘हुन्छ, किन ।’

फेरि भनिन्– ‘मिठाई पनि किन्छु ।’

मैले भनेँ– ‘हुन्छ, किन ।’

उनले फेरि भनिन्– ‘मैले लगाएको चप्पलको आमालाई खुबै रहर थियो, त्यस्तै एकजोर चप्पल पनि आमालाई ।’

 

उनले वाक्य पूरा नगर्दै मैले भनेँ– ‘हुन्छ, किन ।’

त्यसपछि हामी खुरुखुरु किनमेलमा जुट्यौँ ।

उनले आफ्नी आमाका लागि सारी किनिरहँदा, महँगो, राम्रो साडी छानिरहँदा मैले कनेर भनेँ– ‘एउटा सुतीको साडी मेरी आमालाई पनि...।’

उनले आँखा तर्दै भनिन्– ‘पोहोर छोरीहरूले ल्याइदिएको साडी अझै उस्तै छन्, लगाउनुभएको छैन– पर्दैन ।’

उनले आफ्नी आमाका लागि दामी, आफूले लगाएजस्तै एकजोर चप्पल किनिदिँदा मैले डराई–डराई अक्मकिएर, भकभकिएर भनेँ– ‘एक जोर साधारण हवाई चप्पल मेरी आमालाई पनि...।’

उनले बीचमै रोकिन्, ‘मेरा चप्पलहरू त्यत्रा फालाफाल छन्, लाइराख्नुभएकै छ, किन अरू चाहियो ?’

अन्त्यमा उनी एउटा मिष्ठान्न भण्डारमा पसिन् । थरिथरिका मिठाई छान्दै एक किलो मिठाई आफ्नी आमाका लागि प्याक गर्न लगाइन् ।

यतिबेला, मैले फेरि उनको आँखामा हेरेँ । मानौं आँखैबाट याचना गरेँ– ‘मेरी आमाका लागि पनि मिठाई...?’

उनले मेरो आँखाको भाव पढिन्, पढिनन् ? तर, एक पाउ पेडा प्याक गर्न लगाएर मेरो हातमा हालिदिँदै भनिन्– ‘आमा पेडा मन पराउनुहुन्छ, अर्थोक केही खाने होइन । के गर्नु धेरै मिठाई लगेर, सबै बाँड्ने त हो ।’

उनी मलाई ‘बाई’ भन्दै गह्रुंगो झोला झुन्ड्याउँदै ‘माइत’ हिँडिन् । म पनि एक पाउ पेडा भएको पाकेट पोलिथिन झोलामा झुन्ड्याउँदै आफ्नी आमाको मुख हेर्न घरतर्फ फिर्ती सवारी चलाउँदो भएँ । 

प्रकाशित :कार्तिक १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्