परम्परागत देउसी लोप हुने स्थितिमा

- साप्ताहिक संवाददाता

कार्तिक १५, २०७३

 

पछिल्लो समय नेपालका कतिपय संस्कृति बिस्तारै हराउन थालेका छन् । यसको मुख्य कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानु एवं परम्परागत संस्कृति संरक्षणमा हामी नेपालीले ध्यान नदिनु नै हो । यसको उदाहरणका रुपमा तिहारमा खेलिने देउसी–भैलोलाई लिन सकिन्छ ।

तिहारलाई नेपाली मौलिक संस्कृति झल्काउने पर्व मानिन्छ । झिलिमिली पर्वका रूपमा परिचित तिहारको रमाइलो पक्ष देउसी र भैलो पनि हो तर अहिले आएर देउसी र भैलोमा विकृति देखिन थालेको छ । 

 

समूहमा मिलेर गाइने गीत हो— देउसी र भैलो । यसमा एक जना भट्याउने हुन्छ भने समूहका अन्य साथीहरूले देउसी अथवा भैलो भनेर भट्याउनेलाई साथ दिन्छन् । खासगरी देउसी–भैलोमार्फत देउसी खेल्न गएको घरमा उक्त घरको वर्णन गर्दै आउनुको कारण खुलाएर आशिष दिने चलन छ । घरधनीले पनि त्यस्ता समूहलाई आफ्नो गच्छेअनुसार फलफूल, रोटी, दक्षिणा आदि दिन्छन्, तर हिजोआज देउसी–भैलोको नाममा विकृति–विसंगति ह्वात्तै बढेको छ । आफूले भने जति पैसा नदिए झगडा तथा तोडफोड समेत हुन थालेको छ । जसले धेरै पैसा दिन सक्छ, उसको घरमा मात्र जाने चलन पनि बढ्दो छ । कति त देउसी–भैलोको नाउँमा घरै बसीबसी पैसा उठाउनसमेत पछि पर्दैनन् । 

मदिरा सेवन गरी देउसी भैलो खेल्ने तथा समूह–समूहबीच हुने झगडामा समेत वृद्धि हुन थालेको छ । पहिले–पहिले यमपञ्चकको पाँच दिनमध्ये पछिल्ला ३ दिन देउसी भैलो खेलिन्थ्यो तर हिजोआज तिहार सुरु हुनु अगावैदेखि पछिसम्म पनि देउसी भैलो खेल्न थालिएको छ, त्यो पनि संस्कृति संरक्षणको नाउँमा पैसा कुम्ल्याउन । कतिपय संघ–संस्था एवं समूहले त पार्टी प्यालेसमा देउसी भैलोको आयोजना गरेर तिहारको परम्परामाथि चोट पुर्‍याउनेसम्मको गतिविधिसमेत गर्ने गरेका छन् । 

 

तिहारका अवसरमा खेलिने देउसी–भैलोले नेपाली संस्कृतिमा विशेष महत्व राख्छ । पहिले–पहिले देउसी खेल्दा परम्परागत वेशभूषा दौरा–सुरुवाल, गुन्यू–चोली लगाइन्थ्यो तर हिजोआजको देउसी भैलोमा यस्ता पहिरन देखिंदैनन् । दाजुभाइ र दिदी–बहिनीबीचको मिलनको पर्व रूपमा लिइने यो पर्वमा मादल खैजडी मुजुरा आदि परम्परागत बाजा बजाई देउसी भैलो खेल्ने परम्परा रहेकोमा आजभोलि हिन्दी तथा अंग्रेजी गीतको बाहुल्यता देखिन थालेको छ ।

 

संस्कृति संरक्षणको नाममा देउसी–भैलो खेल्ने बताउनेहरूले समेत परम्परागत शैलीलाई अपनाउन सकेका छैन्न् । त्यसो त देउसी भैलोमार्फत परम्परागत संस्कृति जोगाउन केही समूह लाग्दै नलागेका भने होइनन् । यस्ता कतिपय समूहले स्वदेशमा मात्र नभै विदेशमा रहेका नेपालीहरूमाझ समेत देउसी भैलोको संरक्षणका लागि पहल गरिरहेका छन् ।

 

देउसी खेल्ने परम्परा 

देउसी खेल्ने परम्पराको सुरुवात कसरी भयो भन्ने सम्बन्धमा पुराणमा एउटा कथा उल्लेख छ । कथाअनुसार दैत्यराज बलि सत्यवादी र दानी दुवै थिए । आफ्नो दानशीलतामा घमन्ड गर्ने बलिको घमन्ड हटाउन भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजालाई जे मागे पनि दिने वाचा गर्न बाध्य पार्छन् । वाचाअनुसार भगवान् विष्णुले मागेको तीन पाइला जमिनमध्ये दुई पाइलामै सम्पूर्ण भू–भाग ढाकिएकाले तेस्रो पाइलामा राजा बलीले आफ्नो शिर दिएका थिए ।

 त्यतिबेला विष्णुले देऊ शिर भनि मागेकाले अप्रभंश भै देउसी रे को चलन चलेको मानिन्छ । आफ्नो सर्वस्व विष्णुले हरण गरेपछि पाताल पुगेका राजा बलिलाई विष्णुले वर्षमा तीन दिन पृथ्वीमा तेरो आधिपत्य रहनेछ भन्ने वरदान दिएकाले देउसी खेल्ने चलन सुरु भएको हो भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यसैले देउसी–भैलो भट्याउने क्रममा बलि राजाले पठाएको प्रसङ्ग जोड्दै उनको वर्णन गरिन्छ ।

राजाराम पौडेल

प्रकाशित :कार्तिक १५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्