मुस्ताङ खाली बसेर समय गुजार्दैन

- किशोर नेपाल

कार्तिक १३, २०७३

 

हिमालपारिको जिल्ला । मुस्ताङ । तिब्बतसँग जोडिएको यो जिल्ला भौगोलिक हिसाबले पठार होइन भने पनि यसको चरित्र पठारकै जस्तो छ । जलवायुका हिसाबले यतिबेला चिसो बढ्दैछ जोमसोममा । बिहान कठ्याङ्ग्रिने जाडो, दिउँसो नरम हुँदै गएको घाम र राति निकै चिसो ।

अहिले मुस्ताङमा नेपाली पर्यटक ओइरिएका छन् । यति धेरै मानिस कहिल्यै आएका थिएनन् यहाँ । दर्शनार्थीहरूमा धेरै टिनएजर छन् । उनीहरू बाइकमा आ–आफ्ना पार्टनर लिएर आएका छन् । एउटा त धर्मकै कुरा भयो, अर्को एड्भेन्चर पनि भयो । जोमसोमका होटल तथा लज खचाखच छन् । खानाको बिक्री उच्चतम बिन्दुमा पुगेको छ । होटलवालाहरूलाई भ्याइनभ्याइ छ । मानिसको आवागमन कम भएको छैन । सिजन सकिन अझै एक महिनाबाँकी छ । नोभेम्बरको अन्त्यतिर मुस्ताङ्गीहरू तल झरिसकेका हुन्छन् । जोमसोम खाली हुन्छ मार्चसम्म । अहिले सामान्य समयमा पनि जोमसोम खाली नै छ । यहाँका स्थानीय बासिन्दाहरू होटल सञ्चालक नै छन् । अरू सबै यहाँबाट हिँडिसके । यसपछि यहाँको अर्को जनसंख्या भनेको सरकारी कर्मचारीको हो । उनीहरूले जोमसोमलाई आवाद गरेका छन् । 

कागवेनी र मुक्तिनाथजस्ता तीर्थस्थलले मुस्ताङको आकर्षण बढाएको छ । दुनियाँभरका हिन्दू एकपटक कागवेनीमा आफ्ना अग्रजहरूको सम्झना गर्दै मुक्तिनाथको दर्शन गर्न चाहन्छन् । बाबा मुक्तिनाथको पूजाका लागि अहिले तमिलनाडुका भारतीयहरू पनि ओइरिएका छन् । उनीहरूका मुख्यमन्त्री जयललिताको स्वास्थ्यलाभको कामना गर्दै बाबा मुक्तिनाथको पूजा अर्चनाका लागि आइपुगेका छन् । 

 

नेपालमा पर्यटन व्यवसायिक रूपमा अघि बढ्नुभन्दा पहिले नै मुस्ताङ पर्यटकहरूकाबीच लोकप्रिय भ्रमण बिन्दु बनिसकेको थियो । यहाँका थकालीहरूले पश्चिमी पर्यटकको सेवा र सत्कार गरेबापत् राम्रै आयआर्जन गरेका छन् । कहींनेर पनि पर्यटनबाट ठगिएको आभास पाइँदैन । मुस्ताङले जे प्राप्त गरेको छ त्यो यसको आफ्नै सुन्दर स्वरूपले पाएको हो । 

 

जोमसोम र वरपरका कोवाङ, मार्फा, घाँसा, लेतेजस्ता गाउँले सदरमुकाम जोमसोमलाई थप आकर्षक बनाएका छन् । यी नजिकका गाउँहरू जोमसोमको विस्तार होइनन् । यी सेवाका अतिरिक्त केन्द्र हुन् । कोवाङदेखि मार्फासम्म पर्यटकका लागि सेवा र सत्कारका थुप्रै बिन्दु छन् । घासाबाट ओरालो लागिसकेपछि जोमसोमको पर्यटकीय प्रभाव तल बेनीसम्मै फैलिएको छ । मुस्ताङको बाटो आफंैमा एक प्रकारको पर्यटन हो । कहिलेकाहीं यो बाटो यस्तै रूपमा रहँदा जोमसोमका लागि राम्रो हुने हो कि भन्ने विचार मनमा आइहाल्छ । बाटो राम्रो छैन, गुनासो छ । त्यसलाई राम्रो बनाउने हुटहुटी पनि छैन । अहिलेसम्म चलेकै छ, अब बन्ला नि बिस्तारै । सामान्य जनताको प्रतिक्रिया यस्तै आउँछ । 

 

मुस्ताङ आवरणमा कतैबाट पनि पुरानो देखिँदैन तर यसको आचरणचाहिँ निकै अनौठो छ । एक हिसाबले यसलाई देशभित्रको परदेशभन्दा पनि फरक पर्दैन । किनभने यहाँ राज्यका नियमहरू ‘फलो’ गरिँदैन । दोस्रो जनआन्दोलनपछि नेपाल सरकारले आफ्नो नियम–कानुन लागू गराउन केही पहल गरेको छ । मुस्ताङमा ‘मुखिया’को राज्य चलिरहेको छ । 

गाउँका सीधासादा जनता तिनै मुखियाको ‘सनक’मा पर्छन् । मुखियाहरूको छनौट समाजका सामाजिक र किसानका आवश्यकता हेर्नका लागि गरिएको थियो । यद्यपि मुखिया प्रथा आफैं राजनैतिक व्यवसायको अंग बनिसकेको छ । उनीहरू जनताको काममा आफैं त्यति हस्तक्षेप गर्दैनन् । जनता नै उनीहरूबाट हस्तक्षेपको अपेक्षा गर्छन् । अड्डा–अदालतको झ्याउलो पन्छाउन मुखियाको सहयोग खोज्छन्, तर मुखियाले त्यसैलाई आफ्नो अधिकारका रूपमा प्रयोग गर्छन् । 

मुस्ताङमा राजा थिए । राज्य र रजौटा उन्मूलन भए पनि राजा त आखिर राजा नै हो । मुस्ताङी राजाहरू केही वर्षअघिसम्म पनि अधिकार प्रयोग गर्थे । पछिल्ला मुस्ताङ्गी राजा जिग्मे परवल विष्ट अहिले उमेरका कारण अशक्त हुनुहुन्छ र काठमाडौंमा बस्नुहुन्छ । मुस्ताङ्गीहरूले आफ्ना राजालाई बिर्सिएका छैनन् । राजाको अभावमा नेपाल सरकारको शासन अहिले क्रमबद्ध हुन लागेको छ ।

 

अब छिट्टै मुस्ताङले दोहोरो राज्यप्रणालीबाट छुट्कारा पाउने आशा गर्न सकिन्छ । मुस्ताङ व्यवहारिक रूपमा राज्यसँग जोडिएको छैन । हिमालपारिको जिल्ला हिमालपारि नै छ । यहाँका मानिसहरूमा विशुद्ध व्यवसायिकता छ । पैसाको महत्त्व बुझेका छन् मुस्ताङ्गीले । त्यसैले हो, पैसा कमाउने अवसर टपक्क टिपिहाल्छन् । 

स्याउका लागि त मुस्ताङ प्रसिद्ध छ नै, काठमाडौंको तुलनामा स्याउको मूल्य निकै सस्तो छ, सय रुपैयाँ किलो । दुई दिन घुम्न आउने पर्यटकले पाँच किलो स्याउको पोको झुन्ड्याएर हिँडेको हेर्नु रमाइलै हुन्छ । अविकासका हिसाबले पनि यो जिल्ला प्रसिद्ध छ ।

बेनीदेखि जोमसोमसम्मको मोटरबाटोको स्तरोन्नति गर्न सकेको छैन सरकारले । यो बाटो सुगम र सहज भैदिए जोमसोम पूरै जवान हुन्थ्यो । आन्तरिक पर्यटकको अझै लाम लाग्थ्यो । यो एउटा बाटो किन स्तरोन्नति भएन ? किन पर्यटनका हिसाबले यति महत्त्वपूर्ण सडकको स्तरोन्नतिमा सरकारले ध्यान दिएन ? यो साँच्चै महत्त्वपूर्ण प्रश्न हो ।

मातृ सत्तात्मक संरचना भएको थकाली परिवार उदार छ र मुक्त छ । यो जाति स्वनिर्भरतामा विश्वास गर्छ । थकाली परिवार खाली बसेर समय गुजार्दैन । केही न केही काममा लागि नै रहेको हुन्छ । 

मुस्ताङमा राजनीतिक स्थिरिता छ– जुन सरकार आओस्–जाओस्, यहाँका जनतालाई कुनै चासो छैन । राजनीतिमा फैलिएको संक्रामक रोगका खबरहरू घासाबाट मास्तिर उक्लिँदैनन् । मुस्ताङमा प्रत्येक पाँच वर्षमा एक दिन राजनीति गर्छन् जनताले भोट हालेर । भोट जित्नेहरू काठमाडौं पुगेर स्वार्थको राजनीति गर्छन् । यहाँको जे–जति राजनीति छ त्यो काठमाडौंमै छ 

प्रकाशित :कार्तिक १३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्