हैट, यस्तो प्रश्न पनि सोध्ने हो ?

- अश्विनी कोइराला

कार्तिक १०, २०७३

 

बुद्धि तामाङ, कलाकार

नेपाली दर्शकको आकर्षण पनि गज्जब छ । कुनै बेला राजेश हमालको ‘हे’ डाइलग नेपाली चलचित्र बजारमा सबैभन्दा बढी बिक्री हुने शब्द थियो । राजेश हमालको एक्सनसहितको उक्त थेगोकै कारण चलचित्र चल्थ्यो । केही समय हास्यव्यङ्ग्य कलाकारका थेगोले नेपाली टेलिभिजनका हास्य टेलिश्रृंखलाको बाढी मात्र आएन, त्यसका कलाकारहरू चर्चित सेलिब्रेटी बने । अहिले नेपाली चलचित्रमा यस्तै नयाँ शैली भित्रिएको छ । 

साधारण पात्र, साधारण थेगो अनि अनौठो चरित्र भएका चलचित्रले करोडौंको व्यापार गरेका छन् भने चलिचित्रलाई निर्णायक मोड दिने यस्ता कलाकारहरूको मूल्यसमेत अकासिएको छ । पाँच वर्षअघिसम्म नाटकमा सामान्य कलाकार र पर्दापछाडिको प्राविधिक काममा खटिने बुद्धि तामाङ यस्तै कलाकार हुन्, जसको कद नेपाली चलचित्रमा ह्वात्तै बढेको छ । 

कबड्डी र यसको सिक्वेलका रूपमा तयार भएको चलचित्र कबड्डी—कबड्डीमा काम गरेर राम्रो छाप छाडेका बुद्धि तामाङ्ले छक्का–पञ्जामा आएर दर्शकलाई मोहनी लगाए । मेरी बास्सैको हैट क्यारेक्टरबाट दर्शकहरूबीच राम्रोसँग चिनिएका बुद्धिले यसअघि मलामी तथा डिग्री माइलाबाट कलाकारितामा आफ्नो खुबी देखाइसकेका थिए । आजभोलि उनी नेपाली चलचित्रका अति व्यस्त कलाकारमा दरिएका छन् ।

 

तपाईं ह्यान्डसम भएर चर्चित हुनुभएको हो कि दर्शकको रुचि परिवर्तन भएको हो ?

ल तपाईं आफैं हेर्नुस् त, म हेन्डसम छैन त ? (हाँसो) त्योचाहिँ अरूलाई भन्ने कुरा हो । खुसुक्क तपाईंलाई मात्र भन्ने कुराचाहिँ के हो भने म हेन्डसम पनि होइन, एक्टिङ पनि जान्दिनँ । खै निर्देशकहरूले के देख्नुभो कुन्नि, जुन फिल्म खेल्यो फ्याट्ट हिट भैदिन्छ । दर्शकले पनि त्यही कुरा मन पराइदिनुहुन्छ ।

 

आफूलाई कम मूल्यांकन गर्नुभएको हो कि ?

हजुर, म गाउँको सामान्य मान्छे, एसएलसीभन्दा बढी पढ्न नसकेको केटो, न त एक्टिङ जानिएको थियो, न त काठमाडौंमा एक्टिङ गर्ने कोही आफन्त वा साथीभाइ थिए । काभ्रेको सामान्य गाउँ सरङथलीबाट पैसा कमाउन काठमाडौं छिरेको केटो पेटसमेत पाल्न नसके पनि यतातिर छिरेको हुँ । मैले आफूलाई भयंकर हुँ भन्न मिल्छ ?

 

गाउँमा तपाईंको अवस्था कस्तो थियो ?

म किसानको छोरा हुँ । दुई दिदीपछि म जन्मिएँ । त्यसपछि लगातार दुई बहिनी जन्मिए । आमा असाध्यै रोगी हुनुहुन्थ्यो । एक्लो छोरो, दिदी–बहिनीको विवाह हुँदै गएपछि खेती र घरको जिम्मेवारी सबै मेरो काँधमा आइलाग्यो । अब सहर बस्ने बानी लागेपछि गाउँ जान पनि मन लाग्दो रहेनछ । हामी जस्ता मानिसले हात–गोडा बजार्दा पनि भनेजस्तो पैसा कमाउन नसकिने रहेछ । अब के गर्ने ? भन्दा–भन्दै कता कताबाट यतातिर छिरियो ।

 

कसले छिरायो ?

हाम्रो गाउँमा ठिटाठिटीहरू दसैं–तिहारमा यसो नाटक खेलिटोपल्थ्यौं । चाडबाड लागेपछि गाउँमा काठमाडौंबाट गएका, विदेशबाट फर्किएकाहरूको ठूलो जमघट हुन्थ्यो । त्यही जमघटमा रमाइलो गर्न नाटक प्रदर्शन गरिन्थ्यो । नाटक के भन्नु, फिलिमको प्रभाव थियो त्यो ।

 

काठमाडौंमा हन्डर ठक्कर खाएर दु:ख पाइरहेका बेला ०६२/६३ को आन्दोलन भएको थियो । त्यसपछि संविधानसभाका लागि खै कताबाट हो राम्रै पैसा आएछ, नाटक गरेर संविधानसभाको पक्षमा जनतालाई जागृत गर्न भनेर । गाउँले प्रभात लामा नाटकका केही मानिसलाई चिन्थे, उनले फ्याट्ट यो कुरा भने । लौ न त ट्राइ मार्दा के हुन्छ भनेर सुरु गरेको १० वर्ष 

पो बितेछ । 

 

तैपनि भर्खरै हिट हुन थाल्नुभएको छ ?

सुरुमा त सडक नाटक नै खेलियो । चलचित्रमा सानोतिनो भूमिका पनि गरियो, तर कस्ले चिन्ने ? मण्डला थिएटरसँग जोडिएपछि राजन खतिवडा र दयाहाङ राईले हौसला दिएपछि अलिकति काम सुरु गरियो तर म पर्दापछाडिका लागि उपयुक्त छु भन्ने लाग्यो ।

 

जब राम गुरुङले मलाई चलचित्र कबड्डीमा अलिकति ठाउँ दिनुभयो, त्यसपछि बल्ल म दर्शकहरूको आँखामा परेँ । मेरो बोली उति प्रस्ट छैन । त्यो मेरो सबैभन्दा ठूलो कमजोरी थियो । दयाहाङले यही कमजोरी नै तिम्रो प्लस प्वाइन्ट हो, एक्टिङ नेचुरल्ली नै राम्रो हुन्छ भनेर हौसला दिनुभयो । मैले यसैलाई गुरुमन्त्र मानेँ । नभन्दै हो रहेछ । 

 

हैट थेगो चाहिँ कसरी सुरु भयो ?

मण्डला थिएटरमा काम गर्ने क्रममा म बेला बेलामा हैट शब्द प्रयोग गर्दो रहेछु । यो कुरा रामबाबु र दयाहाङ दाइहरूले याद गर्नुभएको रहेछ । उहाँहरूले यही शब्दलाई प्रयोग गर्न हौसला दिनुभयो । नाटकहरूमा यो शब्द थोरै प्रयोग हुन्थ्यो, त्यो नेचुरल थियो । टेलिभिजनमा जब सीताराम कट्टेलले यसलाई मेरी बास्सैमा लाउड्ली प्रयोग गर्न जोड दिनुभयो, एकाएक हिट भयो । त्यसपछि त दर्शकले मलाई बुद्धि भन्दा पनि हैट भनेरै चिन्न थाल्नुभयो । 

 

अब अभिनय छाड्नुपर्‍यो भने के गर्नुहुन्छ ?

हैट, त्यसो नभन्नुस् न । एसएलसी पास गरेर काठमाडौं आउँदा मैले अरू काम नपाएर इँटा–भट्टामा समेत काम गरेको छु, होटलको भाँडा मोलेको छु । बाटोमा खोर्सानी र बरफ बेचेको छु । ट्रेकिङमा जाँदा अर्काको भारी बोकेको छु । ती सबै काम गर्दा साह्रै दु:ख भएको थियो । मैले ती काम साना हुन् भनेको होइन तर म एक्टिङ गर्दा खुसी हुने रहेछु । त्यसैले मलाई ती कुनै पनि काम गर्न मन लाग्दैनथ्यो । बल्ल–बल्ल मन खुसी हुने काम पाएको छु, दुई–चार पैसा आम्दानी हुन थालेको छ, यो काम छाड्ने कुरा नगर्नुस् न । 

 

अभिनय नै आफ्नो रुचिको काम हो भनेर कसरी थाहा पाउनुभयो, भोलि यसमा पनि अरुचि हुन सक्छ नि ?

त्यसो नहोला । किनभने म होटलमा भाँडा मोल्ने काम गर्दै सेवाक्षेत्रमा प्रवेश गरेको थिएँ । काम गर्दै जाँदा एउटा सामान्य होटलको म्यानेजरसम्म भएँ । होटलमा भाँडा मोल्ने मान्छेका लागि सबैभन्दा ठूलो पद त्यही म्यानेजर होइन ? तर म त्यहाँ खुसी हुन सकिनँ । अरू होटलमा गएर अझ धेरै पैसा लिएर आफ्नो करियर अघि बढाउन सक्थेँ तर त्यो क्षेत्र नै छाडिदिएँ । 

कलाकारितामा पर्दापछाडि काम गर्दा पनि म खुसी थिएँ, पर्दा अघि काम गर्दा पनि खुसी छु । आ–आफ्नो रुचि र लगनको क्षेत्र हुँदोरहेछ । आफ्ना बारेमा गफ गर्न न नमिल्ने हो तर म जहाँ काम गर्छु, असाध्यै मेहनत गर्छु । नाटक गर्दा हामीले ६ महिनामा ६ जिल्लाका ६० स्थानमा नाटक गरेका थियौं । त्यति बेलाको फुर्ती नै अर्को थियो तर त्योभन्दा राम्रो अरू काममा मनै नलाग्ने । पैसा भए पनि सन्तुष्टि नहुँदो रहेछ । हरेक मानिसको आ–आफ्नो रुचिको क्षेत्र हुँदो रहेछ । 

 

अहिलेसम्म विवाहचाहिँ किन नगरेको ?

समय नपाएर । काममा यति गम्भीर भएर लागियो कि विवाह गर्ने फुर्सद 

नै भएन । 

 

कस्ता–कस्ता व्यस्त मानिसले त विवाह गर्छन्, तपाईंले फुर्सद पाइनँ भनेर कसले पत्याउने ?

हैट, हो नि । कस्तो कुरा गरेछु । खासमा केटी नपाएर हो कि ?

 

प्रेम भएन, कसैलाई मन पराउनुभएन ?

कसैलाई मन पराउनु र विवाह गर्नुका बीचमा अरू धेरै लामो यात्रा गर्नुपर्ने रहेछ । मन पर्छ तर विवाह गर्नुपर्ला भनेर विचार गर्दा गर्दै हाम्रा विचार फरक हुँदै जाँदा रहेछन् । 

 

३५ वर्ष लाग्नुभयो, मानिसहरूले अर्कै कुरा सोच्लान् भन्ने लाग्दैन ? हैट, कस्तो प्रश्न सोध्नुभएको ?

फ्याट्टै यसै त भनेका छैनन् तर विवाह गर्न ढिला हुँदै जाने हो भने पक्कै सोध्लान् । साथीभाइले त के हो... भनेर जिस्क्याउन थालिसके । (लामो हाँसो)

 

विवाह नगरी जीवन चल्दैन ?

चल्न त चल्छ तर बुढेसकालमा अलि गाह्रो होला नि । आमाबुबाको म एक्लो छोरो, मैले विवाह नगरे त वंश पनि चल्दैन नि । बरु तपाईंले नै खोजिदिनुपर्‍यो, अन्तरजातीय भए पनि हुन्छ ।

 

प्रकाशित :कार्तिक १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्