खसीको कुन भाग आफूमात्रै खाऊँ जस्तो लाग्छ ?

- सुव्रत

कार्तिक १, २०७३

 

म खसीको मासु नै खान्न त्यसैले यो प्रश्न मेरा लागि उपयुक्त भएन । 

रामभक्त जोजिजु, गायक

दसैंमा खसीको कान आफूले मात्र खान पाए हुन्थ्यो जस्तो लाग्छ । सानो छँदा कान पोलेर खाएको सम्झना  ताजै छ । 

सन्तोष सेन, निर्माता

म खसी खासै मन राउउँदिन, तर सेकुवा चाहिँ मनपर्छ । 

प्रनव जोशी, निर्देशक

कलेजो, पाए पूरै कलेजो भुटेर एक्लै खान्छु ।

विशारद बस्नेत, रंगकर्मी

मलाई चाहिँ करंगको हड्डी भएको मासु खान मनलाग्छ । कबाबमा ह्याकुला पनि मनपर्छ । 

सविना कार्की, गायिका

पोलेको कलेजो र फल मासु । 

आशान्त शर्मा, रंगकर्मी

मलाई खसीको ह्याकुलो मनपर्छ र त्यही खान पाए खुसी हुन्छु । 

दीपक घिमिरे, मोडल/कोरियोग्राफर 

मलाई खसीको मासु नै मन पर्दैन, त्यसैले जुनसुकै भाग फ्रिमा दिए पनि खान्न । कुखराको भनुँ ?

अनिता आचार्य, नायिका

आफू त भेज, खसी हैन फर्सी खाइन्छ ।

दिनेश राउत, निर्देशक

खसीको ह्याकुलो, तर सबै आफै खाउँ भन्ने भन्दा पनि २–४ पिस आफ्नो भागमा परे राम्रो । 

बसन्त तिवारी, मोडल/भिडियो निर्देशक

म त शाकाहारी परेँ ।

ताराप्रकाश लिम्बू, संगीतकार

म शाकाहारी हुँ । विचरा उनीहरू पनि त प्राणी नै हुन् । उनीहरूलाई पनि बाँच्ने अधिकार छ । अरूको बाँच्ने अधिकार हनन गर्नुभन्दा साग र आलु खानु वेश हुन्छ ।

अर्जु खरेल, मोडल

 

पोलेको कान, बुवाले जहिले कान चाहिँ मिलनलाई है, कसैले खाने होइन भन्नुहुन्थ्यो । त्यसैले लाग्छ त्यसमा मेरो बाहेक अरू कसैको अधिकार छैन । 

मिलन श्रेष्ठ, चलचित्र सम्पादक

पक्कैपनि ह्याकुला, वास्तवमा ह्याकुलो जत्तिको मिठो अरू केही हुँदैन खसीको मासुमा । 

गोरख विष्ट, वृतचित्र निर्देशक

ह्याकुला पोलेको ।

बसन्त निरौला, निर्देशक

खसीको खुट्टाको सुप । खुट्टा र मुंगको दालको सुप मिठोसँगै तागतिलो पनि हुन्छ । 

अमिर बज्राचार्य, कलाकार

खसीको फल मासु नै मिठो लाग्छ । म विशेषगरी फिलाको मासु मनपराउँछु । 

इतु जोजिजु, गायिका

 

स्वास्थ्यका कारणले म रातो मासु खान्न ।

किशोर घिमिरे, गीतकार

 

ह्याकुला ।

गजित विष्ट, नायक

शुद्ध शाकाहारीलाई यस्तो प्रश्न सोधिदिने ?

शान बस्नेत, चलचित्र लेखक

छाला र बोसोबाहेक सबै मनपर्छ । विशेषगरी घरमा बनाइने पक्कु मिठो लाग्छ । 

स्मृति दाहाल, मोडल

गर्वले भन्छु म शाकाहारी हुँ ।

उपेन्द्र सुब्बा, कवि/लेखक

केही समय भयो म शाकाहारी भएकी छु । 

सुस्मिता केसी, नायिका/निर्मात्री

छक्का–पञ्जामा माग्नेबुढाले खसीको कान खाएदेखि मलाई पनि यसपटक चाहिँ खसीको कान खान मन लागेको छ । 

दीपक शर्मा, संगीतकार

खसी घरमै काटिएको हो कि बजारबाट किनेर ल्याइएको हो ? त्यसमा भरपर्छ । 

कुबेर डंगोल, सञ्चारकर्मी

आन्द्राभुँडी तारेको किनभने अरू बेला त्यति खाइँदैन, तर एकदमै टेस्टी हुन्छ । यसको स्वाद मासुभन्दा फरक लाग्छ । 

वर्षा शिवाकोटी, नायिका

मलाई युरिक एसिडको समस्या भएकाले मासु २–३ पिस खाएपनि मृगौंला चाहिँ निकै मनपर्छ ।

योगेन्द्रमणी दाहाल, गीतकार

 

कहाँ खसी खानु ? बोका पो खाने हो यार । बोकाको सबैभन्दा स्वादिलो अंग भन्नुहुन्न, सुटुक्क खानुपर्छ चट्ट नुन खुर्सानी मोलेर । 

वीरेन्द्र हमाल, रंगकर्मी

म जन्मजात शाकाहारी हँु । त्यसैले सबैलाई शाकाहारी भएकै राम्रो भन्छु । 

रोशन प्रसाइँ, विज्ञापन व्यवसायी

मासु खान्छु, तर त्यस्तो कुनै भाग छैन जुन मलाई मात्र खान मन लागोस् । कसैलाई कुनै भाग खान मन छ भने कृपया मेरो घरमा आउनु होला । म व्यवस्था मिलाउँछु । 

अर्जुन पोखरेल, संगीतकार

 

सानोमा एउटा खसीको दुईवटा कान, अनि हामी केटाकेटी ४/५ जना हुन्थ्यौं । कहिल्यै सिंगै कान खान पाइएन । यसपाला चाहिँ सानैदेखिको रहर पूरा गर्न मार हान्नासाथ दुईवटा कान टिपेर टाप कसौंकि जस्तो लाग्दैछ । कान पोलेर धित मर्नेगरी कुरुम–कुरुम पारेर चपाउने रहर पूरा हुन बाँकी नै छ । 

अविरल थापा, लेखक

फिला र ह्याकुला आफैले मात्र खान पाए पनि हुन्थ्यो जस्तो लाग्छ । 

श्रुतिसिंह, गायिका

ह्याकुला त निकै मनपर्छ, तर राजखानी पनि खानै पर्ला यसपटक । 

ऋषि लामिछाने, निर्देशक

मेरो घरतिरका खसी बाहिरिया प्रभावबाट मुक्त ‘लोकल ब्युटी’ हुन्छन्, त्यसैले एउटै अंग छाडदिनँ । 

कुमार भट्टराई, निर्देशक

 

प्रकाशित :कार्तिक १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्