हराउँदै काठैकाठको चर्खे पिङ

- माधव अर्याल

आश्विन २३, २०७३

 

दसैंका बेला काठैकाठले बनाइएको चर्खे पिङ देख्न पाइन छाडेको छ । धेरैले सानो छँदा काठको चर्खे पिङ खेल्न हिँडेको सम्झना मात्र गर्छन् । यही पिङ खेल्न ठाउँठाउँमा पुगेको अनुभव धेरै बूढापाका एवं अधबैंसेहरूलाई छ । उनीहरू साथीभाइसँगै चर्खे पिङ लाइन लागेर खेल्थे । पछिल्ला २० वर्षयता भने त्यस्तो पिङ खेल्न त परको कुरा, धेरैले देख्नसमेत पाएका छैनन् । ‘१५–२० वर्षअघि सम्म छ्यापछ्याप्ती खेल्न पाइन्थ्यो, ’ रामपुर–१२ का उमा अर्यालले भने, ‘अहिले त पिङ राख्न छाडेका छन् ।’ 

 

पछिल्लो १०/१२ वर्षयता धेरैले देख्नसमेत नपाएको उनले बताए । पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा आदिमा यस्ता पिङ धेरै देखिन्थे । अहिले भने सबैको एउटै कुरा सुन्न पाइन्छ, ‘दसैंमा चर्खे पिङ खेल्न पाइन छाड्यो ।’ काठैकाठले बनेको चर्खे पिङ पहिले–पहिले निकै लोकप्रिय खेल मानिन्थ्यो । दसैंका बेला गाउँका युवायुवती मिलेर त्यस्तो पिङ बनाउँथे, तर पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा बिर्संदै गएपछि अहिले यस्तो पिङ देख्नसमेत मुस्किल भएको सिलुवाका भोगबहादुर थापा बताउँछन् । ताईमा पहाडबाट झरेका पिछडिएको बस्ती र पहाडमा दुर्गम गाउँमा कतैकतै भने यस्तो पिङ देख्न पाईन्छ । 

खालीवन, सिलुवा, अर्चले, ज्यामिरे, बहादुरपुर, मित्याल आदि केही गाविसमा अहिले कहिकतै मात्र युवाहरूले चर्खे पिङ बनाउँछन् । केही वर्षपछि यहाँका गाउँमा पनि देखिन मुस्किल पर्ने पक्का भएको भोगबहादुरले बताए । परम्परालाई भुल्ने काम सबैबाट हुँदैछ । पछिल्लो समयमा लिङ्गे पिङसमेत देखिन छाडेको छ । युवापुस्ता बाहिर हिँडेपछि कसले पिङ बनाउने भन्ने अवस्था छ । बजारमा खेल्न पाइने ठूला–ठूला चर्खे पिङको सानो र परम्परागत रूप नै गाउँघरमा बनाइने पिङ हुन् । त्यस्ता पिङको आफ्नै महत्व छ । युवायुवतीहरू दसैंतिहार आउन थालेपछि पिङ बनाउन जुट्थे । 

पछिल्लो पुस्ताका युवा अत्यधिक विदेश मोहमा छन् । पुरानो पुस्ता पनि बसाइँसराइँ गरेर हिँडेका छन् । चाडपर्वमा मात्र गाउँघरमा जुट्ने उनीहरूलाई चर्खे पिङ बनाउने फुर्सद पनि छैन । चर्खे पिङ बनाउन समय लाग्छ । काठैकाठको हुने भएकाले सामुदायिक वनहरूले पनि सजिलै काठ दिँदैनन् । गाउँका युवायुवतीको भेट हुने थलो पिङ नै हुन्थ्यो । दसंैमा एक दिन जमिन छाड्नुपर्छ भन्दै रोटे अर्थात् चर्खे पिङ खेल्नेहरू प्रशस्तै हुन्थे । गाउँघरमा बनाइने चर्खेसँगै झाँते पिङ पनि देखिन छाडेका छन् ।

प्रकाशित :आश्विन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्