उपत्यकामा चोरका आठ ग्याङ

- केपी ढुंगाना

आश्विन २३, २०७३

 

काठमाडौंमा ३ सय व्यवसायिक चोर

उपत्यकाका ६० स्थान जोखिममा

 जग्गु कि रेलमा कि जेलमा

 चोर्न पेरुबाट नेपाल

जब चाडबाड आउँछ महानगरीय प्रहरी अपराध महाशाखाको चोरी हेर्ने पिल्लर–२ का प्रहरीको व्यस्तता ह्वात्तै बढ्छ । जेलमा रहेकाहरूसँग सम्पर्क, टोलका सुराकीहरूसँग निकटता तथा कहलिएका समूहको निगरानी एवं पक्राउ नगर्ने हो भने धेरै उपत्यकावासीको चाड बिग्रन्छ ।

आइतबार, मध्यान्ह टेकुस्थित महाशाखाको पिल्लर २ मा पुग्दा प्रहरी अधिकारीहरू चोरको सूची पल्टाउन व्यस्त भेटिए । कोही जेलमा रहेकाहरूको सूची बनाइरहेका थिए, कोही जेलबाहिर रहेकाहरूको त कोही खोजीको सूचीमा रहेका कहलिएका चोरको अवस्थासम्बन्धी जानकारी लिइरहेका थिए ।

बडो ब्यस्त हुनुहुन्छ हैन ?

‘अहिले व्यस्त भइएन भने त धेरैको दसैं चिल्लीबिल्ली भैहाल्छ नि,×’ पिल्लर–२ का प्रमुख डिएसपी प्रेम बस्नेतले भने– ‘अरूको दसैं सुखद बनाउन चोरको खोजीमा छौं ।’

महाशाखाको सूचीअनुसार उपत्यकाका व्यवसायिक चोरकै संख्या ३ सयको हाराहारीमा छ । यो सूचीमा जे भेटिन्छ टिपेर हिँडिहाल्ने टापटिपे चोरहरूलाई समेटिएको छैन । प्रहरी अधिकारीहरूका अनुसार उपत्यकामा संगठित भन्दा टापटिपे चोरको संख्या बढी छ । उनीहरूलाई समेत जोड्ने हो भने व्यवसायिक चोरहरूको संख्याले हजारको आँकडा पार गर्छ ।

‘प्राय: दुव्र्यसनमा फसेकाहरू टापटिपे चोर हुन्छन् । उनीहरू त्यति संगठित हुँदैनन्,’ डिएसपी बस्नेतले भने– ‘अवस्था अनुसार उनीहरूले पनि कहिलेकाहीं ठूलै घटना घटाउँछन् ।’ 

महाशाखाका अनुसार उपत्यकामा चोरीमा सक्रियहरूमध्ये अधिकांश सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, मकवानपुर, सिन्धुली जिल्लाबाट आएकाहरू छन् । सर्लाही र भारतको बिहारका समूहसमेत काठमाडौंमा घट्ने संगठित चोरीमा संलग्न छन् । 

प्रहरीलाई हैरान खेलाउने टापटिपेहरूभन्दा संगठित रूपमा चोरी–डकैतीलाई पेसा बनाउनेहरू नै हुन् । महाशाखाको सूचीअनुसार काठमाडौं, लतिलपुर तथा भक्तपुरमा यस्तो संगठित समूहको संख्या ८ छ । अधिकांश समूहमा स्वदेशी चोर नै छन् । २ वटा समूह भारतीय नागरिकको हो । 

२० वर्षदेखि उपत्यकाको चोरीसम्बन्धी अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक भरत थापा मगरका अनुसार उपत्यकाको क्षेत्रका आधारमा त्यस्ता समूह सक्रिय छन् । अधिकांशले आफ्नै क्षेत्रमा चोरी गर्छन् । केही समूह भने जहाँ पाइन्छ त्यही चोरी गर्ने प्रवृत्तिका छन् ।

 

थापाले उपत्यकाका सक्रिय चोरीका संगठित समूहहरूका बारेमा बताए :

कर्ण समूह : सिन्धुपाल्चोकका कर्णबहादुर लामा यो समूहका प्रमुख हुन् । उनीहरू दिउँसोको चोरीका लागि कहलिएका छन् । प्राय: मध्य कार्यालय समय (११ बजेदेखि ३ बजे) पारेर उनीहरू मोटरसाइकल चढी टार्गेट एरियामा पुग्छन् र कसैको घर साफ पारेर मोटरसाइकलमै हुइँकिन्छन् । 

 

उनीहरू प्राय: थोरै परिमाणको बहुमूल्य सामग्री चोर्न रुचाउँछन् । गहना उनीहरूको मुख्य टार्गेट हो । महाशाखाको विवरणअनुसार यो समूहमा १२ जनासम्म सदस्य छन् । काठमाडौं, ललितपुर तथा भक्तपुर तीनवटै जिल्लामा यिनीहरूको कहर चल्छ ।

‘यो समूह रिङरोड बाहिरको क्षेत्रमा बढी सक्रिय छ,’ प्रहरी निरीक्षक थापाले भने, ‘भर्खर विस्तार हुँदै गएका नयाँ बस्ती तथा गहनाका सौखिनहरू बस्ने क्षेत्रमा यिनीहरूले बढी चोरी गर्ने गरेका छन् ।’ 

जिमी समूह : सिन्धुपाल्चोककै जिमी लामा यो समूहका नाइके हुन् । यीनको समूहमा ६ जना सदस्य छन् । उनीहरू काठमाडौंको बौद्ध, आरुबारी, नयाँबस्ती तथा भक्तपुरको सूर्यविनायक क्षेत्रमा बढी सक्रिय छन् । यो समूह पनि दिउँसोको चोरीमा सक्रिय समूह हो । 

बासु समूह : दिउँसोको चोरीमा कहलिएको यो समूहका नाइके काभ्रेका बासु प्रधान हुन् । यो समूहमा चार जना छन् र ती सबै लागूऔषधका दुव्र्यसनी रहेको महाशाखाका डिएसपी बस्नेतले जानकारी गराए । यो समूहको निश्चित क्षेत्र छैन । 

रामेछापे समूह : प्रहरी तथ्यांकमा यो समूहको नाम ‘रामेछापको मगर टोली’ का रूपमा उल्लेख छ । वसन्तपुर, बाङेमुडा, प्युखा तथा ज्याठा क्षेत्रका घर एवं पसलमा चोरी गरेर आतंक मच्चाउने यो समूहका अधिकांश सदस्य रामेछापका छन् । पाँच जना सदस्य रहेको यो समूहका प्रमुख होमे थापा मगर हुन् ।

दोलखाली समूह : यो समूहका नाइके सुवास नेपाली हुन् । १० जना सदस्य रहेको यो समूह सक्रिय क्षेत्र बानेश्वर हो । नेपाली एक वर्षअघि ४ लाख नगद तथा विभिन्न इलेक्ट्रोनिक सामानसहित पक्राउ परेका थिए । ‘यसका सबै सदस्य पटके हुन्’ प्रहरी निरीक्षक थापाले भने ।

विष्णु समूह : सिन्धुपाल्चोकका विष्णु श्रेष्ठको समूह उपत्यकामा दिउँसोको समयमा हुने चोरीमा सक्रिय समूह हो । यो समूह बालाजु, बोहाराटार, ललितपुर तथा भैंसेपाटी क्षेत्रमा बढी सक्रिय रहेको प्रहरी विवरणमा उल्लेख छ । सो समूहमा ५ जना सदस्य छन् ।

भारतीय समूह : महाशाखाका अधिकारीहरूका अनुसार कलंकी र तिलगंगा क्षेत्रमा भारत विहारका समूहका सदस्य सक्रिय छन् जो चोरीमा माहिर छन् । यी दुवै भिन्न–भिन्न समूह हुन् । कलंकी क्षेत्रमा सक्रिय समूह घर फोडेर चोरी गर्न सक्रिय छ । ‘उनीहरू ट्रक नै लिएर चोरी गर्न हिँड्छन् र सामान लिएर सीधै भारत समेत पुग्छन्,’ प्रहरी निरीक्षक थापाले भने । यो समूह कलंकीसंगै भोटेबहाल, सातदोबाटो तथा इमाडोल क्षेत्रसम्म पुग्ने गरेको छ ।

तिलगंगा क्षेत्रमा रहेका भारतीय समूहमा १२ जनासम्म सदस्य छन् । उनीहरू कोठा लिएर बस्छन् । यो समूहले प्राय: दिउँसोको समयमा हात हेर्ने, जोगीको भेषमा भिक्षा माग्दै चोरी गर्न सकिने क्षेत्र रेकी गर्ने अनि बेलुका सहज देखिएको घरमा गएर चोरी गर्ने काम गर्दै आएको छ । यो समूहका किशोर उमेरका सदस्यहरू दिउँसोको चोरीमा सक्रिय छन् । 

 

३ सय चोर छन् काठमाडौंमा

महाशाखाका अधिकारीहरूका अनुसार उपत्यकामा सक्रिय व्यवसायिक चोरको संख्या ३ सय छ । त्यसमध्ये अहिले १ सय ६० जना जेल वा प्रहरी हिरासतमा छन् । अन्य भने चोरीमै सक्रिय छन् । 

महाशाखाका डिएसपी बस्नेतका अनुसार पछिल्लो समय दिउँसै चोरीका घटना हुन थालेका छन् । नयाँ बस्ती बढेका क्षेत्र तथा कामकाजी व्यक्तिहरू बढी बस्ने क्षेत्रमा चोरीका घटना बढी हुन्छन् । महिनाको २० वटासम्म चोरीका घटना हुने गरेको जानकारी दिंदै उनले पछिल्लो समय थोरै परिमाण तर बढी मूल्य आउने गहना तथा इलेक्ट्रोनिक सामान चोरी हुने गरेको जानकारी दिए ।

‘प्रहरीले पत्ता लगाउने रै’छ भन्ने कुरा चाल पाएपछि अहिले नेपाली समूहले मोबाइल चोर्दैन,’ डिएसपी प्रेम बस्नेतले भने– ‘सकेसम्म सुनका गहना चोर्ने र स्वरुप बदलेर बिक्री गर्ने प्रवृत्ति बढेको छ ।’

उपत्यकाका ६० स्थान जोखिममा

महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार गत साउनदेखि यस पटकको साउनसम्म उपत्यकाका ५ सय ५० वटा चोरीका घटनासम्बन्धी उजुरी परेका छन् । प्रहरीमा आएका उजुरीको क्षेत्रगत अध्ययन गर्दा उपत्यकाका ६० स्थान चोरीका लागि बढी जोखिमपूर्ण देखिन्छन् । 

प्रहरीमा परेको उजुरी अनुसार काठमाडौंमा थापागाउँ, शान्तिनगर, मैतिदेवी, ज्ञानेश्वर, सेतोपुल, रातोपुल, बाफल, गैरीगाउँ, डल्लु, कलंकी, बल्खु, कुलेश्वर, सुनारगँउँ, बाफल, सिनामंगल, गौरीघाट, बत्तीसपुली, सिफल, माहाबौद्ध, न्युरोड, परोपकार, माछापोखरी, गुम्बा, मनमैजु, वनस्थली, धापासी, बुढानीलकण्ठ, आरुबारी, कपन र अत्तरखेल, लाजिम्पाट र ज्याठा, ठमेल ढल्कु, रानिबारी र नयाँबजार, पाँगा, नयाँबजार र नरदेवी बढी चोरी हुने क्षेत्र हुन् । 

ललितपुरको पुल्चोक, कुपन्डोल, बखुन्डोल, सानेपा, धोबीघाट, एकान्तकुना, शान्तिचोक, धापाखेल, कुसुन्ती, नखिपोट, लुभु, चापागाउँ र झम्सिखेल चोरी हुने क्षेत्रको सूचीमा छन् । भक्तपुरको च्यामासिंह, डेकोचा, नासमना, इताछे र दूधपाटी, सुन्दरबस्ती, सूर्यविनायक, सिपाडोल, नलिनचोक, लोकन्थली तथा बालकोटमा पनि बढी चोरी हुन्छ ।

 

जग्गु कि रेलमा कि जेलमा

मुलुकी ऐनको चोरीसम्बन्धी प्रावधानअनुसार चोरी भएको बिगो अपराधमा संलग्नबाट असुलउपर हुन नसके उसको जायजेथाबाट समेत असुल्ने प्रवन्ध भए पनि व्यवहारमा उक्त कानुन कार्यान्वयन हुँदैन । ५० वर्षअघि बनेको चोरीसम्बन्धी प्रावधान अझै उस्तै छ ।

अदालतले अनुसन्धानमा खुलेका चोरीका सामान तथा नगदका आधारमा नभै बरामद सामानका आधारमा बिगो कायम गर्दा चोरीमा संलग्न समूह थप प्रोत्साहित भैरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

‘चोरी गरेको सकारे पनि जबसम्म चोरिएको सामान बरामद हुँदैन तबसम्म अदालतले त्यसलाई बिगो स्वीकार गर्दैन,’ एक प्रहरी अधिकारीले भने– ‘अधिकांश प्रारम्भिक बहसमै धरौटीमा छुट्छन्, जसले गर्दा चोरी नियन्त्रण जटिल बन्दै गएको छ ।’

पुरानो मुलुकी ऐनको चोरीसम्बन्धी कानुन संशोधन हुन नसक्दा व्यवसायिक रूपमा चोरीमा संलग्नहरूको जालो भत्काउन मुस्किल परेको प्रहरी अधिकारीहरूको निष्कर्ष छ ।

‘उनीहरू जग्गु कि जेलमा कि रेलमा भन्दै हिँड्छन्,’ एक प्रहरी अधिकारीले भने– ‘चोरीको सामानसहित समातिएपछि केही समय जेलमा, छुटेपछि लुकाएको त्यही सामान बेचेर रेलमा ।’ 

 

चोर्न पेरुबाट नेपाल

नेपालमा भारतीयबाहेक अन्य विदेशी नागरिक चोरीमा संलग्न देखिँदैनन्, तर पछिल्लो पटक चोर्नकै लागि पेरुदेखि काठमाडौं आएको समूह नै फेला पर्‍यो । प्राय: विमानस्थलमा चोरी गर्न सक्रिय यस्तै एक समूह त्रिभुवन विमानस्थलमा पक्राउ परेको थियो । भारतीय नागरिक सुनन्दा अंकिताको झोलाबाट २ लाख भारु चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको समूह चोरीकै लागि पेरुबाट ब्राजिल, तान्जेनिया हुँदै नेपाल आएको खुलेको थियो । नेपालबाट इन्डोनेसियाको जकार्ता जाने तयारीमा रहेका तीन जना विमास्थलमा भारतीय नागरिकको पैसा चोरीको केसमा पक्राउ परेका थिए ।

प्रकाशित :आश्विन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्