बिरालो, दसैँ र छोरो

  • (कथा)

- निष्प्रभ सजी

आश्विन २३, २०७३- 

अभी र म दुवै ट्रयाक्टर चढ्न मन पराउँथ्यो । ट्रयाक्टर चढ्न भनेपछि हामी हुरुक्कै हुन्थ्यौँ । अभी आफ्नो घरमा कुरा मिलाएर हाम्रो घरमा दौडेर आउँथ्यो । घरमा दुइवटा सिमेन्टको ब्लक ओसार्ने साना ट्रली ट्रयाक्टर थिए । कान बटारे पुग्थ्यो, धूवाँको मुस्लो फाल्दै कुद्थे । देशबाहिर दसैँ आउँदा दसैँ नै त आउँछ–आउँदैन तर दसैँसँगै मलाई दिदी र मेरो बिरालोको सम्झना आउँछ । आफ्नै फ्याक्ट्रीमा बनेका ब्लकले घेरेको, टिनले छाएको एक पाखे घर भए पनि दिदीलाई दसैँ आउन लाग्यो कि रंग पोत्नुपथ्र्याे । सिमेन्टका गमलामा लगाउने चुन दिदीले घरको गारो पोत्न पनि प्रयोग गर्थी ।

 

हाम्रो घर ब्लकको मात्र होइन बिरालाको पनि फ्याक्ट्रीझैँ लाग्थ्यो । तर पनि अरुलाई बाँड्दा बाँड्दै घरमा माउ बिरालो मात्र बाँकी थियो । हाम्रा बिरालाहरू कास्कीकोटदेखि ल्वाङ घलेलसम्म फैलिएका थिए । बिरालो कहिले खाटका तन्नामाथि कहिलो सिरक माथि पेट हल्का गर्थे । अति भएपछि त्यसपालिको दसैँमा दिदीलाई बिरालाबाट मुक्ति चाहियो । मलाई ट्रयाक्टर चढ्न अनुमति थिएन । दिदीले अभी र मलाई बोलाएर तिब्बतीयन क्याम्पको ठाडो ओरालोमा लगेर बिरालो छोडेर आइज भनेर आग्रह गरी । तिब्बतीयन क्याम्म हाम्रो घरबाट तीन किलोमिटर तल थियो । दिदीले साइकल चलाउन पनि दिन्छु भनी । ओरोलामा साइकल चलाउन पर्दैनथ्यो । 

जसरी ओरालो ओर्लेको पानीलाई बग् भन्नु पर्दैन, साइकलका पाङ्ग्रा पनि आफैं बग्न थाल्थे । दिदीका लागि मेरो ट्रयाक्टर चढ्ने र साइकल चलाउन मन पराउने रहर हुकुमको एक्का भयो । हामी बिरालो बोकेर तल झर्यौं । बिरालोलाई घरबाट मात्र दुई किलोमिटर तलको सापकोटाको ओरोलामा छोडेर हामी फर्कियौँ । बिरालो फर्की–फर्की आयो तर ट्रेक्टरको गति बढेपछि बिरालो बाटोमै छुट्यो । हामी घर फर्किएको २० मिनेट भित्रै बिरालो आँगनमा आएर पल्टियो ।

 

मायालाग्दो देखियो बिरालो । दिदीले आँखा तरेर हेरी । योजना बदलियो । यसपालि बिरालोलाई जुटको बोरामा हालेर करिब पाँच किलोमिटर तल पर्ने याउँदी खोलाको छेउमा छोडेर आउने कुरो भयो । त्यसपछि पक्का फर्किन सक्ने छैन बिरालो । बाटो पनि देख्ने छैन । मनै अमिलो भयो । ६ कक्षामा पढ्थेँ । कलिलो बुद्धीले पनि यो राम्रो काम होइन भनिरहेको थियो तर अभी उचालियो । 

‘हुन्छ दिदी ! बोरा म समाउँछु ।’

हामीले योजना अनुरूप बिरालोलाई छाडेर आयौँ । नवमीको साँझ दिदीलाई हामीले बिरालोबाट मुक्ति गराएर खुसी बनायौँ तर मलाई खाना रुचेन । मैले मध्यरातसम्म सोचिरहेँ । हामीले त बोराको माथि बाँधेको डोरी खोल्न पनि पनि बिर्सिएछौँ । 

सेन्ट्रल स्टेसनबाट एयरपोर्टसम्म आइपुग्दा मैले अभीलाई ब्युँझाइन । काममा निकै पेलिएको थियो ऊ आज । दसैँका पूर्वाद्धमा बिरालोको याद आयो र दिदीको । अभीलाई लात्ताले धकेलेँ ।

‘के भयो ?’ अभीले सोध्यो ।

‘बिरालो फालेको याद आयो यार !’ 

‘साला, तेरो दिमाग पनि कति 

घुम्छ हो ?’

अभीले सहजै यस्तो प्रतिक्रिया दिए पनि उसलाई पनि एउटा धक्का लागेको थियो । किनभने बिरालोको कथा यही’ सकिँदैन । 

दसैँको बिहान १० बजेको टिका लाउने साइत छ भनेर मैले शालिग्राम हजुरबासँग सोधेर आएँ । शालीग्राम हजुरबालाई बाले सबै कुरा सोध्न पठाउनुहुन्थ्यो । आमालाई पनि बिरालोले खुब सताएको हुनाले केही भन्नुभएन, तर मलाई फकाउन, तँलाई एउटा कुकुर ल्याइदिन्छु भन्नुभयो । मलाई कुकुर पनि मन पथ्र्याे ।

 

मैले कुकुर ल्याउने सर्तमा टीका थापेँ । टीका थाप्नेबित्तिकै खान खानका लागि आगनमा हात धुन गएँ । फर्कंदा खुट्टामा केही लुट्पुटिएझैँ लाग्यो । मेरै बिरालो खुट्टामा टासिँदै मलाई घुर्की लगाउँदै थियो । म खुसीले चिच्याएँ । म खुशीँ हुँदै डाको छोडेर रोएँ । मेरा लागि त्यो एउटा नवीन अनुभूति थियो । आमाले मेरो मनोविज्ञान बुझ्नुभयो । दसैँको दिन टुप्लुक्क हाम्रो घरको एउटा छुटेको सदस्य आइपुग्यो ।

 

मेरो दसैँ पूर्ण भयो । मर्न त बिरालो त्यसको दुई वर्षपछि मर्‍यो । हामीले बारीको कुनामा गाड्यौँ । बिरामी भएर मरेका कारणले मलाई चित्त बुझाउन सजिलो भयो । अहिले सिड्नीमा सुदूर जीवनको कल्पनामै पनि मेरो बाल्यकालको त्यो अभिन्न पात्र बुढी बिरालोले मन कुँडाइरहेको छ । मौनता तोड्न खोज्दै थिएँ, प्लेटफार्म आइपुगेछ । अभीले इशारा गरेपछि थाहा भयो । 

ट्रेनबाट झर्दा झर्दै अभीसँग सोधेँ । ‘अर्को दसैँमा त जान्छस् होला नि घर ?’ 

‘जान्न यार, पोहोर जाँदा १० हजार डलरले पुगेन, पैसै छैन ।’

मन मनै लाग्यो, हुन पनि हो ! घरमा जिन्सको प्यान्ट, टिसर्ट र घडीे भए मात्र पुग्ने भाइबहिनी भैदिए, आइप्याड र आइफोन माग्ने दिदी नभैदिए, अभी दसैँमा घर जाने कुरा गर्दैमा यसरी बिच्किदैनथ्यो । अभी अगाडि–अगाडि फोनमा कुरा गर्दै हिँड्न थाल्यो । मलाई आमासँग बोल्न मन लाग्यो । घरमा फोन घण्टी जाने बित्तिकै उठ्यो । 

‘ममी ।’ म आमालाई यही भनेर बोलाउँछु ।

‘भन न बाबु !’

‘ममी, आज बूढी बिरालोको याद आयो, मन कस्तो–कस्तो भयो, अनि यत्तिकै फोन गरेँ, के गर्दै हुनुन्छ त ?’ मैले सोझै कुरा निकाले । ममी मौन हुनुभयो । मैले बारम्बार हेलो भनेपछि बल्ल बोल्नुभयो ।

‘हो त † कमसेकम बिरालो त घर फर्कन्थ्यो ?’

प्रकाशित :आश्विन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्