मदमस्त दसैं

  • पिउने–पिलाउनेका कुरा

- विदुर खतिवडा

आश्विन २३, २०७३

 

दसैं आयो खाउँला–पिउँला

कहाँ पाउँला ? चोरी ल्याउँला.....

महान् पर्व दसैं नजिकिँदै जाँदा बाल्यकाललाई स्मरण गराउने यी शब्दहरू धेरैले स्मरण गर्छन् । दसैं आएपछि खानपिनको कुरा हुनु स्वभाविक हो, तर चोरेर ल्याएर खानेचाहिँ होइन । सांस्कृतिक रूपमै दसैंमा मीठो–मसिनो खाने परम्परागत मान्यता नै छ । अहिले बाह्रैमास मीठो–मसिने खाने–पिउनेहरू निकै छन्, यद्यपि दसैंको खानपानको अवसर छोप्न नेपालीहरू सधैं लालायित रहन्छन् । 

अहिले धेरैका दाँत तिखारिएका छन् । खसी, च्याङ्ग्रा तथा राँगाको चाम्रो मासु, बंगुरको बोसे मासु चपाउने कल्पनामा धेरै युवायुवती रमाइरहेका छन् । घटस्थापनालगत्तै दसैंको वातावरण तात्तिइसकेको छ । त्यसैले जमघटका अवसरहरू पनि सिर्जना भैरहेका छन् । जमघट भन्नेबित्तिकै त्यहाँ मादक पदार्थ सेवनको कुरा आइहाल्छ । अहिले पिउने संस्कृति पनि राम्रैसँग स्थापित भैसकेको छ । मासुको सितनमा रक्सीको सेवनले बेग्लै किसिमको आनन्द दिने भएर होला, यसका पारखीहरू भेट्ने र जम्ने कुरामा बढी विश्वास गर्छन् । 

मुलुकभर जहाँ पुगे पनि रक्सी पाइने भएकाले होस् वा सगुनका रूपमा सांस्कृतिक रूपमै रक्सी सेवन गर्ने परम्परागत मान्यताका कारण होस्, रक्सी पिउनेहरूको संख्या घटेको छैन । पियक्कडहरू भिन्न–भिन्न बहानामा पिउँछन्, दसैं ठूलो चाड भएकाले यो चाड पिउने अझ राम्रो बहाना हुन सक्छ । अब मासु खाने र रक्सी पिउने भन्ने कुरा कुनै जातविशेषको मात्र नरहनुले पनि यसका पारखीहरूलाई सजिलो बनाएको छ । यही क्रममा हामीले मासु–रक्सीको सेवनमा इन्जोय गर्ने केही प्रतिनिधि पात्रलाई समेटेका छौं— ह्याप्पी दसैं †

भिजे सुशील नेपाललाई पार्टी चरा भन्दा फरक पर्दैन । विगत दुई दशकदेखि काठमाडौंको नाइट लाइफमा रमिरहेका सुशील इभेन्टमा सरिक भएर आफ्नो उपस्थिति सार्थक तुल्याउन कुनै कसर बाँकी राख्दैनन् । कुन साँझ कहाँ रमाइलो हुनेछ भन्ने कुरा सम्भवत: सुशीललाई भन्दा बढी अरूलाई थाहा हुँदैन । विकेन्ड पार्टीहरूमा सुशील नहुँदा उनलाई रुचाउनेहरू खल्लो महसुस गर्छन् । सुशील खुलेरै आफू पियक्कड भएको बताउँछन् । 

 

तीन महिनायता युरिक एसिड बढेपछि उनले आफ्ना प्रिय परिकार एवं पेयपदार्थबाट केही समयका निम्ति बञ्चित हुनुपरेको छ । चिकित्सकले उनको प्रिय बियर, वाइन तथा रेड मिट अहिले उनले खान नहुने भनेका छन् । यद्यपि खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै उनी ह्विस्की र ह्वाइट मिट धीत मर्ने गरी खान्छन् । नेवारी परिकारका यी फ्यान युरिक एसिडको समस्या चाँडै समाधान गरेर आफ्ना ती प्रिय परिकारमा पुन: रम्न चाहन्छन् । नेपाल भन्छन्– ‘अहिले चिकेन, फिस र ह्विस्की (ज्याक डेनियल्स जेडी) खाँदैछु ।’ 

औसतमा हरेक दिन ८ देखि १० वटासम्म चिसो बियर पिउने सुशील एकपछि अर्को बारमा पुगेर ड्रिंक्सको स्वाद लिने गरेको बताउँछन् । १० दिनमा ९ दिन बियर पिउने सुशीलको भनाइ छ । चिल्ड बियरको स्वाद नै गजबको हुने सुशीलको तर्क छ । पिउने मामिलामा उनी वास्तवमै उदार छन् । बियर पिएर अन्त कतै पुग्दा ह्विस्की मात्र उपलब्ध भएको अवस्थामा सुशील बियरकै डिमान्डमा अडिँदैनन् । नशालु पेय पदार्थमा बियर पहिलो रोजाइ भए पनि ककटेल ड्रिंक्स देखि भोड्का, रम, जिनसम्मको स्वाद लिन उनी पछि पर्दैनन् । रक्सीमा ह्विस्की, ब्रान्डी, रम, भोड्का सबैको ट्रिप फरक–फरक हुने सुशील बताउँछन् । अझ टुरमा रहँदा सुशील कन्टिन्यु नशामा मदमस्त रहन्छन् । 

‘टुरको फाइदा भनेकै जतिबेलै झुम्म भए पनि हुनु हो,’ सुशील भन्छन्– ‘टुरमा निस्कने बित्तिकैदेखि त्यहाँबाट नफर्केसम्म हल्का ट्रिपमा हिँडेका घटना धेरै छन् । बिहान उठेदेखि नै मस्त भैहाल्ने ।’ सूर्य अस्त नेपाल मस्त भन्ने थेगो सम्भँmदै सुशील पछिल्ला दिनमा भने दारुको साथ खोज्न साँझ नै कुर्न थालेका छन् ।  

दसैं नजिकिँदै जाँदा ब्लकबस्टर हिट चलचित्र छक्का–पन्जाकी निर्देशक दीपाश्री निरौला विराटनगरस्थित घरमा मदिरासहितको दसैंको कल्पनामा मस्त छिन् । एकातर्फ पिताजी हातमा चिया बोकेर बस्ने अनि अर्कातर्फ दीपाश्रीसहितका मदिरा प्रेमीहरूको टिम चिल्ड बियर बोकेर बस्ने अनि पिताजीको चियासँग चिल्ड बियरको ग्लास ठोक्काएर चियर्स गर्ने । ‘हामी नेपालीको संस्कृति हो नि रक्सी त, ४ जात ३६ वर्ण नेपाली मिलेर बस्न सक्छौं भने राष्ट्रिय संस्कृति बनेको रक्सी सेवन गर्न जातपातको कुरै आउँदैन नि,’ दीपाश्रीका अनुसार निरौलाले जन्माए पनि थापा मगर परिवारमा हुर्किएकाले उनले सानैमा रक्सीको स्वाद चाखिसकेकी थिइन् । 

 

‘म त अमृत सम्झिएर पिउँछु नि त, त्यसैले रक्सीले मलाई बिगारेको छैन,’ दीपाश्रीको कथन छ– ‘त्यही कुरा धेरै खायो भनेचाहिँ विष हुने हो ।’ गर्मीमा उनलाई चिसो बियर र ह्वाइट वाइनको टेस्ट गजब लाग्छ । त्यसमाथि गर्मी चड्किएका बेला विराटनगरमा दसैं मनाउनुपर्ने भएकाले चिसो बियर नै उनको प्राथमिकतामा पर्छ । दीपाश्री ह्विस्की खासै नखाने बताउँछिन् । ‘रक्सी खाने मुड भएका बेला बियर उपलब्ध भएन भने ह्विस्की नै पनि बजाइन्छ,’ हसिलो अनुहारकी दीपाले थपिन्– ‘कम्तीमा एक दिन ग्याप राखेर पिउँदा गजब मजा हुन्छ ।’ रक्सी पिउने कुरा भन्न नलजाउने दीपा कहिलेकाहीं महिना दिनसम्म रक्सी छुन्नन्, तर खाँदा रमाइलो गर्दै जमेर पिउन मन लाग्छ । 

 

दीपाश्रीका अनुसार पछिल्ला वर्षहरूमा जमघटको गरिमा र शोभा बढाउन पनि रक्सी सेवन गर्ने ट्ेरन्ड छ । दीपाश्री निश्चित मात्रामा मदिरा पिए पनि कहिलेकाहीं थोरै खाँदा पनि झ्याप भएको घटना सम्झन्छिन् । कहिले–कहिले त मलाई १ बोतल वियरले नै फिलिली बनाइदिन्छ, खाली पेट भएर होला, दीपाश्री भन्छिन्– ‘बियर पिएर झ्याप हुँदा जीउ नै अटसमटस हुन्छ, थाहै नपाई धेरै खाइएका घटना पनि छन्, ।’ मापसे गरेपछि छेउछाउमा बस्नेले उनको लेक्चर राम्रैसँग श्रवण गर्नुपर्ने हुन्छ । दीपा भन्छिन्, ‘यसै त गफाडी छु, हँसाउँछु, खाएपछि त झन् कुरै नगरुम् ।  

लोकदोहोरी गीत–संगीतको क्षेत्रका राजेश हमाल मानिने निर्देशक मोडल शंकर बिसी पियक्कड समाजका अर्का शीर्ष व्यक्ति हुन् । उनी ह्विस्की त्यसमा पनि ब्ल्याक लेभलका राम्रै पारखी हुन् । त्यति मात्र होइन, शंकर मासु नभै खानै नबस्ने सेलिब्रेटी पनि हुन् ।  बियरलाई उनले कहिल्यै प्राथमिकतामा राखेनन् । त्यसको एउटै कारण हो– मोटाउने डर । साथीभाइसँगको ग्यादरिङमा उनी जमेर पिउँछन् । उनको रक्सी सेवनको यात्रा भने २०५६–५७ सालतिर सुरु भएको हो । काठमाडौं आउँदासम्म उनको जिब्रोले रक्सीको स्वाद पाएको थिएन । काठमाडौंका जँड्याहा साथीहरूले रक्सी खान उक्साए, शंकर भन्छन्– त्यसयता भने पिउने क्रम नियमित नै छ । 

‘कहिले प्रोड्युसरको निम्तो मान्न त कहिले साथीभाइको करकाप टार्न नसक्दा, अनि कहिले आफ्नै टिमसँग रमाइलो गर्न पनि पिइन्छ ।’ चाडपर्वको समय तथा विदेश जाँदा उनी मस्त मौलाना बनेर कन्टिन्यु पिइदिन्छन् । जापान जाँदाको एउटा घटना उनको स्मरणमा ताजै छ, अघिल्लो दिन बेलुकादेखि भोलिपल्ट बिहान १० बजेसम्म उनले निरन्तर पिएका थिए । त्यसबीच शंकरले नाइट क्लब, डिस्को तथा होटलसम्म पुगेर पिए । यस्तै अर्को एउटा घटना अझ गजबको छ, ८–१० जना साथीभाइ मिलेर मस्त हुन उनी नगरकोट पुगेका थिए । त्यही क्रममा एउटा साथीले उनलाई चित्त दुख्ने गरी वचन लगाएछन् । त्यो वचन झेल्न नसक्दा उनी भक्कानिएर रोएछन् । 

 

त्यही क्रममा संगीतकार विनोद बाजुराली एउटा रूखनजिक पुगेर त्यसलाई हेर्दै रुँदै रहेछन् । अर्का गायक रमेशराज भट्टराईले छक्क पर्दै विनोदसँग सोधेछन्, तिमीचाहिँ किन रोएको नि ? त्यतिबेला विनोदले भनेछन्– शंकर बिसी रुनुको विषयवस्तु नै मिलेको छैन, तर म रुनुको विषयवस्तु छ, मेरो घर अगाडि यस्तै रूख छ, मैले घर सम्झिएँ, आमा सम्झिएँ ।’ रक्सी पिएको त्यो बेला शंकरले थाहा पाए, रुनलाई पनि बलियो विषयवस्तु चाहिने रहेछ । शंकरका अनुसार अक्सर उनी महेन्द्र गौतम, विनोद बाजुराली तथा राजु ढकालसँगको टिममा बसेर पिउँछन् । शंकर ह्विस्की महात्मे बताउन पनि पछि पर्दैनन् । जाडोमा तातो पानी हाल्दा होस् वा गर्मीमा आइस हाल्दा होस् ह्विस्की जेमा पनि फिट हुन्छ । एकताका उनी भोड्का धेरै पिउँथे तर साइड इफेक्ट धेरै देखियो । जाडोमा खुकुरी रम पिए पनि त्यसको टेस्ट उति मन नपर्ने उनी बताउँछन् । शंकर पिउनकै निम्ति समय कुर्दैनन् तर हरेक साँझ पिउने वातावरण अटोमेटिक बन्छ । 

ड्रिं.

 क्सको मामिलामा चर्चित सञ्चारकर्मी प्रभात रिमालको आफ्नै दर्शन छ । हरेक साता शुक्रबार उनी ह्याप्पी शुक्रबार चियर्स भन्दै फेसबुक स्टाटस पोस्ट गर्छन् । त्यसलाई सरसर्ती हेर्दा रक्सी खान उत्प्रेरित गरेजस्तो लागे पनि त्यसरी स्टाटस राख्नुको अर्थ अर्कै भएको उनले बताए । प्रभात भन्छन्– ‘व्यस्त समाजका निम्ति विकेन्ड भनेकै मनोरञ्जन गर्न उपलब्ध समय हो । यो फ्रेस हुन चलाइएको राम्रो चलन हो । जिन्दगीको सुखद पक्षलाई उजागर गर्न छुट्टीको यो समयमा इन्जोय गर्ने हो, त्यहाँ जिन्दगी छ, त्यसमा रमाउन वा त्यसलाई ग्रहण गर्न सिक्नुस् भन्न खोजेको मात्र हो ।’ उनले लेख्ने शुक्रबारे स्टाटसमा हास्यरस र व्यंग्यमिश्रित रमाइलो पक्ष पनि छ । नेपाली समाज अनावश्यक सिरियस छ तथा मनोरन्जन पाप हो भन्ने मान्छ, प्रभात थप्छन्, त्यस्तो भ्रम चिर्न र जिन्दगीमा मनोरन्जन एकदमै आवश्यक छ भन्ने कुरा बुझाउन पनि मैलै नियमित चियर्स गुड फ्राइडे भन्ने स्टाटस राखेको हुँ । अहिलेको सहरिया जीवन नीरस भएकाले मानिसले विकेन्डमा रमाइलो गर्नैपर्छ, प्रभातको तर्क छ । 

 

प्रभात चिल्ड बियरका फ्यान हुन् । एक त बियरमा अल्कोहलको मात्रा कम हुन्छ, अर्कातर्फ चिसो बियर पिउन कुनै समय कुर्नुपर्दैन । ‘कहिलेकाहीं त ब्रेकफास्टमै बियर पिइन्छ,’ प्रभातका अनुसार ब्रेकफास्टसँग बियरको कम्बिनेसन गजबको हुन्छ, तर मात्रा मिलाएर खान जान्नुपर्छ । १८–२० को अल्लारे उमेरमा प्रभातले निरन्तर बियर सेवन गरेको कुरा पनि सुनाए । उमेरसँगै जिम्मेवारी बढ्दै गएकाले अहिले चाहेर पनि त्यो उमेरको मज्जा लिन सकिँदैन । प्रभात भन्छन्– ‘शरीर र स्वास्थ्यको ख्याल पनि उत्तिकै गर्नुपर्छ ।’ एकपटक साथीको बिहेमा उनले यसरी पिए कि रात सकिएर उज्यालो भैसकेको थियो, अनि उनी बिछ्यौनामा पल्टिए, उठ्ने बेलामा घाम अस्ताउन लागेको रहेछ, प्रभातलाई लागेछ, बिहान भएछ, अनि उनी सडकतर्फ निस्किए, सडकमा सवारीको जाम देखेर उनले साथीलाई भनेछन्, हेर्न आज त बिहानै कस्तो ट्राफिक जाम भएको ? साथीले हाँस्दै यो बिहान होइन, बेलुका हो भनेपछि उनको दिमाग नै चकरायो । 

 

प्रभातसँग पिउन रमाउने साथीहरूको आफ्नै विशेष ग्रुप छ । ग्यादरिङमा रमाउँदा उनीहरू म्युजिकल ज्यामअप पनि उत्तिकै गर्छन् । मिडियाकर्मी भएकाले उनी आफ्ना कोर साथीहरूबाहेक अरूसँग पनि निकै रमाउँछन् । बियरपछि उनको रोजाइमा पर्छ, सिंगल मल्ट ह्विस्की । सिंगल मल्ट अन द रक्स उनलाई मन पर्ने पेय हो । उनी कहिलेकाहीं घरमै वाइन पार्टी आयोजित गर्छन् । प्रभात भन्छन्– ‘पिउने मामिलामा जति नै उदार भए पनि मलाई एक्लै बसेर पिउन भने कहिल्यै मन लागेन् ।’

खा. 

नपानको मामिलामा अर्की सौखिन हुन्— सम्झना बुढाथोकी । यो नाम सुन्नेबित्तिकै चर्चित गीतका भिडियोहरूमा कुशल नृत्य प्रस्तुत गर्ने तीनै सम्झनालाई धेरै दर्शकले सम्झन्छन् । नृत्यांगना–मोडल हुँदा स्लिम फिगर कि सम्झना अहिले मोटाएर झन्डै चिन्न नै गाह्रो पर्ने अवस्थामा छिन् । ‘मासु धेरै खाएर नै होला, मेरो ज्यान यसरी मोटाएको,’ कुराकानी सुरु गर्दै सम्झनाले भनिन्– ‘म त चिकेन भनेपछि मरिहत्ते गर्छु ।’ हुन त उनी खसीको मासु पनि राम्रै खान्थिन् तर सानो उमेरमै वंशाणुगत युरिक एसिडले हानेपछि रेडमिटलाई करिब–करिब बाई–बाई नै गर्नुपर्‍यो । एकपटक खुट्टाको लिगामेन्ट च्यातिएर लामो समय रेस्ट गर्नुपरेपछि उनको ज्यान नघट्ने गरी मोटायो । स्वास्थ्य जे–जस्तो भए पनि दसैंको समयमा घरमा खसी काटिने भएकाले ज्यान छोडेर मासु खाने सम्झनाले बताइन् । 

सबै किसिमका रक्सीको स्वाद लिइसकेकी सम्झना युरिक एसिडकै कारण ह्वाइट वाइन सेवन गर्छिन् । ‘अब त स्वास्थ्यकै कारण रेड ड्रिंक्स पच्न छोडेको छ’ उनले थपिन्– कहिलेकाही खाइन्छ तर त्यसले नकारात्मक असर गरिहाल्छ । बियर त झन् खानै हुँदैन ।’ बेलाबखत साथीभाइसँगको जमघटमा अनियन्त्रित हुने गरी पिएका घटना उनको स्मरणमा छन् । दुई वर्षअघि तीजौ बेला उनी नकआउट भएकी थिइन् । साथीहरूले घर पुर्‍याइदिएछन् तर बिहान उठेपछि उनले आफू कति बेला घर पुगिन् भन्ने हेक्कै पाइनन् । सम्झना रमाइलोका लागि ड्रिंक्सको सहारा लिने गरेको बताउँछिन् । भन्छिन्– तर मात्ने गरी पिउनुको मज्जाचाहिँ बेग्लै हुन्छ ।’ केही समयअघि ज्योति मगर र उनी एक कार्यक्रमका निम्ति कोरिया पुगेका थिए । 

 

दुई दिदी–बहिनीले त्यो बेला पनि धीत मर्ने गरी पिएका थिए । सम्झनाका अनुसार एक्लै बस्दाचाहिँ उनलाई खासै पिउने मुड आउँदैन । पिउने मुड बन्यो अनि वातावरण पनि त्यस्तै भयो भने उनी दिउँसै मापसे गर्छिन् । सम्झनाका अनुसार विदेशबाट कुनै साथी आउँदा वा कुनै फंक्सन हुँदा त्यसरी दिउँसै पिइन्छ । पछिल्ला वर्षमा व्यवसायमा अग्रसर भएकाले दिउँसो पिउने स्थिति हुँदैन । रक्सी पिउने मामिलामा उनी जति उदार छिन्, त्यसलाई नियन्त्रणमा राख्न पनि उनी उत्तिकै सफल छिन् । सम्झना निकटका साथीहरूसँग मात्र खुलेर पिउँछिन् । भन्छिन्– ‘रमाइलोका लागि पिउने हो, कम्फर्ट जोनमा त हुनै पर्‍यो नि, जहाँ पायो त्यहीं, जति बेला भन्यो उतिबेला पियो भने त जँड्याहा भैहालियो नि ।’

ज्यो.

तिलाई मासु नभई खाना खान मन लाग्दैन, त्यही भएर मासुको जोहो गर्न उनी सधैं सचेत रहन्छिन् । पछिल्ला वर्षहरूमा ग्लामरस सिंगरको उपमा पाएकी ज्योति मगर खुलेरै भन्छिन्– ‘आफैंले पकाउन भ्याउँदा ‘पोर्क’ र ‘बफ’ को मासु अझ स्वादिष्ट लाग्छ ।’ रोल्पाली ज्योति व्यस्तताका कारण आफैं पकाउन भ्याउँदिनन्, यद्यपि मासुका परिकार हरेक छाक भैदिए हुन्थ्यो भन्ने चाहना उनमा सधैं रहन्छ । जताततै उपलब्ध हुने भएकाले ‘चिकेन’ उनलाई त्यति मन पर्दैन । त्यसको स्वाद पनि खासै मीठो नहुने उनको तर्क छ । यस्तै खसीमा पनि उनको त्यति रुचि छैन । भोजभतेर तथा ग्यादरिङमा सरिक हुँदा अक्सर चिकेन–मटन उपलब्ध हुने भएकाले यी दुईका परिकार घरमा बनाउन जाँगर चल्दैन । फुर्सद छ भने उनी बंगुर र राँगाको मासुका विविध परिकार बनाउन अग्रसर भैहाल्छिन् । नेवारी परिकार उनलाई मन पर्नुको कारण राँगाका विभिन्न परिकार बन्नु पनि हो । चड्किलो स्वादको मासु र त्यसको ग्रेभी भनेपछि ज्योति हुरुक्कै हुन्छिन् । ‘मगर संस्कृतिमा हुर्किएकाले हुन सक्छ, बंगुरको स्वाद जिब्रोमा गडेको छ,’ ज्योतिले भनिन्– ‘बंगुरको मासुका साथ भात खानुको मज्जै बेग्लै छ । 

 

ड्रिंक्सकी सौखिन ज्योति मुड चलेको अवस्थामा बिहानै रक्सीको चुस्की लिन पछि पर्दिनन् । रक्सीको लत नभए पनि रक्सीको मादकतामा रमाउँदा अर्कै किसिमको रमाइलो हुने बताउँछिन् उनी । नशाले एक किसिमको आनन्द प्रदान गर्छ । यसो भन्दैमा काम गर्ने समयमा रक्सी खाएर नबस्ने उनी बताउँछिन् । ‘साथीभाइसँग बसेर पिउने भएकाले सामूहिक निर्णय जे हुन्छ, त्यही नै पिइन्छ,’ ज्योति भन्छिन्– ‘गर्मीमा प्राय: चिल्ड बियर र जाडो मौसममा ह्विस्की प्राथमिकतामा पर्छन् ।’ हल्का चिसो लागेको बहानामा रम र भोड्का सुक्र्याउनुको मज्जा छुट्टै हुने उनको 

तर्क छ । 

 

राति अबेरसम्म जागा रहने र बिहान अबेरसम्म सुत्ने ज्योति भन्छिन्– ‘बिहान उठेपछि रक्सी खाउँm–खाउँm लागेको अवस्थामा कुनै साइत पर्खिन्न, मेरो चिया खाने ह्याबिट छैन, डाइरेक्ट सिया नै हानिन्छ ।’ आफूलाई रक्सीकी पारखी मान्न तयार हुने ज्योति कतिपय अवस्थामा भने ड्रिंक्सलाई अभोइड गर्छिन् । ज्योति भन्छिन्– ‘मुड नभएको अवस्थामा भव्य ककटेल पार्टीमा भए पनि खाइन्न, मुड नहुँदा साथीभाइको ग्यादरिङमा सफ्ट ड्रिंक्स पिएर बस्छु ।’ एकपटक लगातार चार दिनसम्म दारुको नसामा रमाएको पुरानो प्रसंग पनि उनले सम्झिइन् । साँझ साथीभाइ बसेर पियौं, भोलिपल्ट बिहानसम्म सुत्यौं, उठेर फेरि पियौं, जतिबेला जाग्यो पियो अनि सुत्यो, ज्योतिले सम्झिइन्– ‘साँझको समयमा बाहिर ह्याङआउट गर्न निस्कन्थ्यौं, तर त्यहाँ पनि थप्थ्यौं, यही क्रम चार दिनसम्म चलिरह्यो ।’ 

ज्योतिका अनुसार रक्सी पिउनु राम्रो नभए पनि उनको जीवनमा भने यो कुराले त्यति धेरै नराम्रो घटना घटाएको छैन । यति पिए शरीरले धान्न सक्छ भन्ने ज्ञान भएकाले रक्सीसेवनलाई नियन्त्रण राख्न आफू सफल रहेको उनको तर्क थियो । ज्योति भन्छिन्– ‘म रमाइलोका लागि ड्रिंक्स गर्नुपर्छ भन्ने मान्यता राख्छु, अरूलाई डिस्टर्ब हुने गरी पिउनुचाहिँ नराम्रो हो, त्यसमा सधैं सचेत छु ।’

प्रकाशित :आश्विन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्