तलेजु मन्दिरमा २१ वर्ष

- नरेन्द्र रौले

आश्विन २३, २०७३-  

जब दसैं नजिकिँदै जान्छ, तलेजु भवानी मन्दिरका पुजारी उद्धव कर्माचार्यको व्यस्तता पनि उति नै बढ्दै जान्छ । नबढोस् पनि किन ? अरू बेला सर्वसाधारणका लागि सधैं ढोका बन्द हुने हनुमानढोकास्थित तलेजु मन्दिर दसैंताका मात्र खुल्छ ।

 

२१ वर्षदेखि पुजारीको भूमिका निर्वाह गर्दै आएका कर्माचार्य दसैंमा अहोरात्र पूजापाठमा खटिन्छन् । ‘सप्तमीदेखि दशमीसम्म त एकछिन् फुर्सद मिल्दैन ।’ हालैको एक बिहान मन्दिर परिसरमा गफिँदै कर्माचार्यले सुनाए, ‘त्यसपछि मात्र हलुका हुन्छ ।’ 


सर्वसाधारणका लागि दसैंको महानवमीका दिन मात्र खुल्ने तलेजु भवानी मन्दिरको इतिहास पनि रोचक छ । कोतपर्वपछि तलेजु मन्दिरमा ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिने चलन चलाइयो । पाप मोचनका लागि बलि दिने राणाकालीन त्यो परम्परा अझै पनि कायमै छ । हरेक वर्षको दसैंमा नेपाल सरकारले ५४ वटा राँगा तथा ५४ वटा बोका बलि चढाउँछ । नेपाल आर्मीको हेडक्वार्टरबाट मार हान्न केही सैनिक खटाइन्छन् । पहिले तलेजु मन्दिर प्रवेश गर्ने चारवटा गेट थिए ।

 

ती चारै दिशाबाट ओहदाअनुसारका व्यक्तिले प्रवेश पाउने व्यवस्था थियो, जसअनुसार दक्षिणतिरको ढोकाबाट राजा उत्तरतिरबाट भारदार, पूर्वतिरबाट भक्तपुर, ललितपुर तथा कीर्तिपुरका राजा अनि पश्चिमतिरबाट सर्वसाधारणले प्रवेश पाउँथे । देवी, देउता तथा कुमारीलाई पनि पश्चिमकै गेटबाट प्रवेश गराइन्थ्यो । सन् १९९० को भुइँचालोपछि भने अरू सबै गेट बन्द गरेर एउटै मात्र गेट खुलाइयो । 

 

तुलजा भवानीलाई नेवार समुदायमा इष्टदेवीका रूपमा पुज्ने गरिएको छ । तुलजा भवानीलाई तुलजा, तलेजु, तुर्जा, तलेजी आदि नामले पूजा–अर्चना गरिन्छ । तुलजा भवानीलाई दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिन्छ । तुलजा भवानीको पूजा–अर्चना नेपाल, भारतलगायत तिब्बतमा पनि गरिन्छ । नेपालमा तुलजा भवानीलाई प्रवेश गराउने व्यक्ति कर्नाटवंशी राजा हरिहरसिंह देव हुन् । 


उनी सिम्रौनगढका राजा थिए । मल्ल राजाहरूले यो मन्दिरलाई निजी प्रार्थना स्थलका रूपमा विकास गरेका थिए । तीनतलाको हनुमानढोकास्थित तलेजु मन्दिर १ सय २ फिट अग्लो छ । सप्तमीका दिन मन्दिरबाट भवानीलाई हनुमानढोका दरबारको मूलचोकमा ल्याएर राखिन्छ । नवमीका दिन मूलचोकबाट भवानीलाई फेरि मन्दिरमा फिर्ता लगिन्छ र दिनभर पूजा–अर्चना गरी सर्वसाधारणका लागि खुला गरिन्छ ।

 

सर्वसाधारणका लागि तलेजु मन्दिर वर्षमा एकपटक खुला गरिए पनि यहाँ दिनहुँ पूजाआजा भने भैरहेको हुन्छ । बिहान साढे ८ बजेतिर मन्दिर छिर्ने पुजारी उद्धव साढे १० बजेसम्म पूजाआजामै व्यस्त हुन्छन् । कर्माचार्यका अनुसार एउटा पूजा गर्न कम्तीमा ८ जना मानिस संलग्न हुन्छन् । त्यहाँ हरेक बेलुका आरती हुन्छ । मुख्य मन्दिर (देवीको मूर्ति राखिएको ठाउँ) मा तीनवटा थर भएका व्यक्तिले मात्र प्रवेश गर्न पाउँछन्, कर्माचार्य, जोशी र राजवंशी । 


त्यसबाहेक राजभण्डारी, प्रधान, सुवाल, सिं, बज्राचार्य, राजोपाध्याय, खड्गी, महर्जन तथा परियारले मन्दिर परिसरमा प्रवेश गर्न पाउँछन् । थरअनुसार नै उनीहरूको कामको प्रकृति तोकिएको हुन्छ जस्तो नगरा बजाउने, घण्टा बजाउने, भुजा पकाउने, लिपपोत गर्ने, पानी ल्याउने, कुमारीलाई भोग चढाउने आदि । यो मन्दिरमा मल्ल तथा शाह राजाहरूले विभिन्न पर्वको परम्परा बसाएका थिए । 


यो तलेजु मन्दिरमा प्रत्येक वर्ष ७५ वटा ठूला तथा २४ वटा साना पर्व मनाउने गरिएको छ । रोचक त के भने एउटा पर्वमा ४२ जना मानिस, त्यसमा पनि १६ जातका मानिस अनिवार्य चाहिन्छ । 


तलेजु मन्दिरमा सबैले पूजा गर्न पाउँदैनन् । राणाकाल र त्यसअघि राजपरिवारका सदस्यहरूले मात्र पूजा गर्ने अवसर पाए । त्यहाँ पूजा गर्न विधि–विधान पुर्‍याउनुपर्छ । त्यसका लागि ज्योतिष कहाँ गएर तिथिमिति हेराएर, शुभ साइत र शुभ मिति जुराउनुपर्छ । त्यसपछि पुजारीले मन्त्र दान गर्छन् अनि मात्र पूजा गर्न पाइन्छ । 

 

राणाकालमा जंगबहादुर राणाबाहेक अरू कसैले यो मन्दिरमा पूजा गर्ने आँट गरेनन् । ‘किन सर्वसाधारणका लागि यो मन्दिर सधैं खुला हुँदैन ?’ ‘छोपेको चिजलाई छोप्नैपर्छ ।’ पुजारी उद्धवले अथ्र्याए, ‘सधैंभरि देख्न पाए त्यसको महत्त्व हुँदैन । भगवान् पनि अदृश्य नै राम्रा ।’ हनुमानढोका क्षेत्रमा तलेजु मदिर सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको अग्लो मन्दिर हो ।

 

तलेजुको प्रतीक मानिने जीवित देवी कुमारीको यो तलेजु मन्दिरमा तान्त्रिक विधिपूर्वक गरिन्छ । प्रत्येक वर्ष विजयादशमीको पहिलो दिन घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म जीवितदेवीका रूपमा कुमारीको पूजा गर्ने प्रचलन छ ।

 

नेपाली सेनाले चौबीसै घण्टा पहरा दिइरहेको तलेजु मन्दिरको अहिलेको स्वरूप राजा महिन्द्र मल्लले बनाउन लगाएका हुन् । मल्लकालीन यो प्रसिद्ध मन्दिर बनाउन ४० वर्ष लागेको इतिहास छ । यो मन्दिरको निर्माण नेपाल संवत् ६ सय ४३ मा जग हालेर सुरु गरिए पनि नेपाल संवत् ६८६ मा पूर्ण रूपमा तयार भएको थियो । यो मन्दिर त्यो बेलाका कालिगढहरूले बिनापारिश्रमिक बनाएका थिए । 


त्यतिबेला यो मन्दिर वरिपरि खेतका फाँटहरू थिए । इन्द्रचोकको कान्तेश्वर महादेवको मन्दिरनजिक नदीको मुहान थियो । राजाहरू पूजा गर्न उक्त नदी पार गरेर पशुपतिनाथ मन्दिर पुग्थे । तलेजु मन्दिरको आसपासमा जगन्नाथ मन्दिर, शिव–पार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप आदि छन् ।

 

उद्धव सातौं पुस्ता हुन्, जसले विगत २१ वर्षयता तलेजु मन्दिरको पुजारीको जिम्मेवारी सम्हालिरहेका छन् । त्यसअघि उनका बुबा केशवमानले वि.सं. २०११ सालदेखि २०५२ सालसम्म तथा त्यसअघि २०१० सम्म उनकै हजुरबुबा देवमानले उक्त जिम्मेवारी बहन गरेका थिए । 


यो परम्परा एउटै वंशबाट धानिएको छ । कानुन मन्त्रालयमा कुनै बेला खरदारको जागिर खाएका उद्धवमा स्केच बनाउने कला पनि छ । सरकारी जागिर छाडेर उनी आफ्नै कर्ममा रमाए । ‘हरेक मानिसका साथमा भगवान् हुन्छन् । जसले अहं त्याग्छ उसले सिद्धि प्राप्त गर्छ ।’ कर्माचार्य भन्छन्, ‘अहिले चुचुरोमा पुगेको मानिसलाई पनि फेदमा पुर्‍याउँछ ।’

प्रकाशित :आश्विन २३, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्