दीपको दसैं

- किशोर नेपाल

आश्विन २१, २०७३-  

पक्का गायक भएपछि दीप श्रेष्ठको खातामा दसैंको रमाइलो जम्मा भएको छैन । दीपका लागि नरमाइलो त हुँदै होइन दसैं । यत्ति हो कि अचेल उनलाई ‘डल’ लाग्छ । बस्यो, मासु खायो । अरू सामाजिक तथा सांस्कृतिक गतिविधि खासै हुँदैन । त्यसैले उनी दसैंमा रमाउन चाहेर पनि रमाउन सक्दैनन् ।

 

दसैंमा रमाउन नसक्नुका केही व्यक्तिगत कारण पनि छन् । बाल्यकालमा बुवाको निधन भएयता, ‘जान्ने–बुझ्ने’ भएपछि उनले घरमा काटमार गरेका छैनन् । मासु खाने, जाँड खाने, हो–हल्ला गर्ने काटमारकै कुरा गर्ने, उनलाई त्यति रमाइलो लाग्दैन । त्यसमाथि, परिवारका सदस्यहरू पनि सबै एकै ठाउँमा हुँदैनन् । यसले पनि, दसैंलाई अलिकति बेग्लै बनाएको छ दीपका लागि । 

 

दसैंमा उनी घरमा एक्लै हुन्छन् । केटाकेटीहरू मामाघर लाग्छन् । पत्नी माइती तिर । जान त दीप पनि चाहन्छन् ससुराली । त्यहाँ पक्कै रमाइलो हुन्थ्यो । त्यसमा त शंकै छैन तर, घर छोडेर परिवारका सदस्य सबै एकैसाथ हिँडनु पनि भएन । धोबी खोलाको किनारमा छ घर । घरमा तीन पटक खोलो पसिसक्यो । उनका गीतका सयौं एल्बम डुबानमा परेर सखाप भए । यो पटकको दसैंमा पनि मौसमको कुनै भर छैन । आफू बाहिर गएको बेला घरमा खोलो पस्यो भने ? ‘यो पटक पनि घरभित्र खोला पस्यो भने त सबै डुबानमा पर्ला !’ दीप ठट्टा गर्छन् ।


तिहार हो दीप रमाउने चाड । श्रेष्ठ भन्छन्, ‘परिवारका सबैजनासँगै हुन्छौं । वातावरण पनि सांगीतिक र सांस्कृतिक हुन्छ । तिहारको रमाइलो नै बेग्लै ।’
दसैं र तिहारबाहेक दीप रमाउने खास अवसरहरू छन् । उनलाई कन्सर्टमा रमाइलो लाग्छ । आफ्नै शो गर्दा उनी आनन्दित हुन्छन् । गाउनु उनका लागि एउटा गम्भीर कर्म हो । उनी जब कम्पोज गरिरहेका हुन्छन् त्यतिबेला आनन्दित हुन्छन् । कम्पोज गरेपछि परिवारलाई वरपर राखेर उनी आफ्नो सिर्जना सुनाउँछन् । बडो आनन्द लाग्छ उनलाई जतिबेला परिवारभित्र उनको संगीतको चर्चा हुन्छ ।

 

दीप भन्छन्– ‘मेरो परिवारले जसरी संगीत बुझेको छ, त्यसरी नै स्रोताले मेरो संगीत बुझ्छ । मेरो संगीतको पहिलो महा–विद्यालय घर नै हो । मेरा परिवार र मेरा स्रोतामा कुनै विशेष अन्तर छैन । मेरा स्रोता मेरा विशाल परिवार हुन् ।’
दीप श्रेष्ठ बेला–बेलामा समाजबाटै गीतको बीउ टिप्छन् । आफ्नो मनलाई छोएका ती दृश्य उनी गीतकार रमन घिमिरे र विप्लव प्रतीकलाई सुनाउँछन् । त्यही दृश्यका आधारमा गीत तयार हुन्छ । दीप त्यसको कम्पोजिसनको परिकल्पना गर्न थाल्छन् । 

 

चार सयभन्दा बढी गीत गाइसकेका छन् उनले । एक प्रबुद्ध संगीतकार तथा गायकका रूपमा उनको पहिचान बनिसकेको छ । तै पनि, गुणी मानिसहरू सोच्छन, दीप श्रेष्ठले गाएका कालजयी गीतहरूलाई जति मान्यता दिइनुपर्ने हो त्यो दिइएको छैन । यसको कारण पनि स्पष्ट छ । दीपको कमीजमा राजनीतिको कुनै रंग पोतिएको छैन । त्यो नपोतिएसम्म एउटा कलाकारले विशिष्टता पाउनै नसक्ने संस्कार बसालिएको छ देशमा ।

 

राजनीतिसँग सम्बन्ध छैन भने मानिस जतिसुकै प्रतिभाशाली होस्, त्यसले खासै अर्थ राख्दैन । स्वाभाविक छ दीप श्रेष्ठ राजनीतिको होइन, जीवनको गीत गाउँछन । मानिसको जीवन जो सर्वाधिक महत्वपूर्ण हुन्छ । मानिसको कोमल मनमा जव संगीतले कुतकुती लगाउन थाल्छ त्यसपछि नै त मानिस आनन्द विभोर हुन्छ । 

 

दीप जतिबेला संगीततर्फ आकर्षित भएका थिए त्यतिबेला उनी नारी स्वरमा गाउँथे । झण्डै १५ वर्षको उमेर पार नगर्दासम्म उनी त्यही अवस्थामा रहे । त्यसपछि मात्र उनको वास्तविक स्वर खुल्यो । समयको त्यो विन्दुदेखि नै उनले निरन्तर गाउँदै आएका छन, ‘म पत्थरको देवता होइन...’ उनको पहिलो गीत नै सदावहार छ । त्यसपछि उनले लगातार गाएका छन् । उनका पपुलर नम्बरहरू कुन–कुन हुन् ? यसको हिसाब–किताब नराखेकै वेश हुन्छ तर कसले बिर्सन सक्छ उनका यी कालजयी गीतहरू ? कि, 
    बितेका कुराले केही चोट लाग्छ,

    गुराँसको फूल सिउरी 
    साईंलीवरी चियाबारीमा,

    भन्थिन मेरी उनी 
    मेरो पाइला नटेकी दिनु भनेर, 

    झीरमा उनिनु एउटा कुरा, 
    पीरमा उनिनु त्यो अर्को कुरा, 

    हर रात सपनीमा ऐंठन हुन्छ 
    गाउँमा शायद पहिरो गयो कि ? 
यी गीत त्यत्तिकै अनमोल भएका होइनन् ।


नेपालमा संगीतका विभिन्न धारहरूले प्रवेश गरी सकेका छन् । ओपेरा आएको छैन । हाम्रो संगीत अन्तर्राष्ट्रिय स्तरको छ, तर विदेशमा नेपाली संगीतको वाणी खुली सकेको छैन । दीप श्रेष्ठले विप्लव प्रतीकको एउटा गीति कवितालाई लयबद्ध गाएका छन । शब्द र संगीतको तन्मय मिलन छ यसमा – प्रतीक्षाको लामो सुरुङबाट, म आएको छु तिमी कहाँ, भनन्–भनन्, तिमी कसको प्रतीक्षामा ? यो गीत सार्वजनिक भएको छैन तर, नेपाली स्रोताले यसलाई सहज र सरल ढंगले हृदयसात गर्नेमा अविश्वास गर्नुपर्ने कारण छैन । 


संगीतमा दुनियाँले परिवर्तन खोजेको छ । नयाँपन खोजेको छ । जीवनको गति र लय खोजेको छ । त्यसैले प्रयोगहरूलाई रुचाउने मानसिकता बनेको छ नेपाली समाजको । 
जतिबेला दीप श्रेष्ठमा संगीतको कुनै ज्ञान थिएन त्यतिबेला पनि स्रोताहरूले उनका गीत मन पराएका थिए । धरानमा उनले वंगो बजाएर सिकेका हुन गीत गाउन । ‘वंगोले मलाई सुरमा त साथ दिएन, तालमा भने निकै साथ दियो’ उनी सम्झिन्छन् । तिनताका उनले निकै गाए निराशाका गीतहरू । उनको जीवनको जटिल समय थियो त्यो । बुवाको निधनपछि मन दु:खी रहन थाल्यो । उनले पढ्न सकेनन् । एकदिन बाटोमा हिँड्ने क्रममा उनले च्यातिएको कापीको पाना फेला पारे । 


त्यो पाना पट्याइएको थियो र त्यसमा एउटा गीत लेखिएको थियो, ‘दुखेको दिल, टुटेको मन, दुखेर चूरचूर भयो,’ गीतकार थिए मविवि शाह । त्यतिवेला दीप भर्खरै हार्मोनियम बजाउन सिक्दै थिए । २०२३ सालमा एसएलसी परीक्षा दिएर काठमाडौं झरेपछि उनले संगीत महा–विद्यालयमा पढे र संगीत स्नातक भए । स्नातक भएपछि उनलाई थाहा भयो, संगीत यस्तो विधा रहेछ जसलाई बुझेर पनि बुझ्न सकिँदैन । गल्ती भै सकेपछि सच्याएर सच्याउन पनि सकिँदैन । दीप भन्छन्, प्रारम्भिक दिनमा मैले विजय श्रेष्ठ, वसन्त थापा तथा शिव शंकर थापाका गीतबाट आफ्नो यात्रा सुरु गरें । अहिले पनि म गीतकारलाई उत्तिकै सम्मान गर्छु । राजेन्द्र थापा र विप्लव अहिले मलाई मन पर्ने गीतकार हुन् । 

 

वर्तमान समयमा नेपाली सांगीतिक क्षेत्रले सामना गर्नु परेको जटिलतालाई दीपले राम्रैसँग बुझेका छन् । उनको विचारमा, ‘संगीतमा चाहना र आकांक्षाको लर्को लागेको छ । त्यसअनुरूप साधना र संगतको अभाव छ । समयको मांग बढ्दो छ । गीतमा नयाँपन वा फरकपनको खोजी भैरहेको छ । दुर्भाग्य यति हो, आधुनिक उपकरणहरूले संगीतलाई आधुनिक बनाउन खोज्यो । संगीत भनेको त विचार, स्मृति, अभिव्यक्ति एवं दर्शन हो जसलाई उपकरणले उत्खनन गर्न सक्दैन । आधुनिक गीत गाउन चाहनेले सबैभन्दा पहिले आफ्नो चेतनालाई आधुनिक बनाउनु पर्‍यो । गीतलाई आधुनिक उपकरणले घन्काएर मात्र कोही आधुनिक हुन सक्दैन । संगीतले गीतको अपमान गरेको अनुभूति हुनु संगीतको हकमा हुँदैन ।’

 

दीप आफूलाई बुढेसकालले छुन लागेको कुरासँग सहमत छैनन्, ‘ऐना हेर्दा जब घाँटीको चाउरी देखिन्छ, त्यतिबेला लाग्छ उमेर बढेछ । उमेर बढ्दैमा कोही बुढो हुँदैन ।’ जवानीका दिनमा उनी विशेष गरी युवतीहरूका बीच सारै ‘पप’ थिए । तै पनि, उनले कसैको कुनै प्रस्ताव मानेनन् । आफैंले एउटी गुरुङसेनी युवती सोफियासमक्ष प्रेम प्रस्ताव राखे, बिहे गरे र अहिले सुखद जीवन भोगिरहेका छन् । 


उनी जहिले पनि बिहान ऐना हेर्छन् र साँझ संगीत सिर्जना गर्छन् । सायंकाल उनका लागि सिर्जनाको सर्वोत्तम समय हो । यो समयमा दीप श्रेष्ठले गाएको गीत झूर हुनै सक्दैन । 

प्रकाशित :आश्विन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्