अर्थपूर्ण बनाऔं दसैंलाई

- मनोज गजुरेल

आश्विन २१, २०७३- 

दसैं आउँदैछ । हैसियतअनुसार सबैले मनाउँछौं पनि । राम्रो लगाउने, मीठो खाने, रमाइलो गर्ने थुप्रै उपाय छन् दसैं मनाउने । के यति मात्र हो त दसैं भनेको ? गजुरियल विश्लेषण भन्छ, दसैंलाई विगतदेखि चल्दै आएको परम्परा मात्र होइन, भविष्यमा पनि चलिरहने चाड बनाउनुपर्छ । यसका लागि दसैंका नाममा हुने अर्थहीन गतिविधिहरू हटाएर अर्थपूर्ण विषयहरू थप्नुपर्छ । काटमार गर्नैपर्ने कुरा ‘नवदुर्गाको मागपत्र’मा कतै छैन । जुवातास खेल्नैपर्ने विषयमा ‘दसैंसंहिता’मा उल्लेख छैन । जुवातास वा फजुल खर्च गर्नुपर्छ भन्ने हाम्रो भ्रम हो, दसैंको आवश्यकता होइन । यस्तो कार्यले दसैंले दिशा दिँदैन, दशाको रूप मात्र लिन्छ भन्ने गजुरियल ठम्याइ छ ।

 

‘यो पनि नगर भन्ने, त्यो पनि नगर भन्ने, केचाहिँ गर्ने त ?’ यस्तो प्रश्नले तपाईंको पारो तात्न सक्छ । गाह्रो नमान्नुहोला, चाडबाडलाई हामीले उपयोग मात्र गर्ने गर्‍यौं, प्रयोग गर्न सकेनौं । तीजमा खाने, दसैंमा लाउने, तिहारमा पिउने, ल्होसारमा नाच्ने, छठमा गाउने कुरामा मात्र हामी सीमित रहेको गजुरीयल ठम्याइ छ । 

हाम्रा चाडबाडहरूका सांस्कृतिक पक्षहरूको संरक्षण गर्दै, परम्पराको मर्म बुझ्दै समयअनुसार परिवर्तित हुनु आवश्यक छ । परम्परा र संस्कृतिको पाटो बिर्संदै जाने, खानपान र राम–रमाइलोलाई मात्र अवलम्बन गर्दै जाने हो भने संस्कृतिमा विकृति पैदा हुन्छ । परम्पराहरूमा खिया लाग्छ । त्यसैले चाडबाडको प्रयोग र उपयोग संयक् ढंगले गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ । 

हामी अहिले दसैंको पूर्वसन्ध्यामा छौं । त्यसैले यसपटक यही विषयमा 

केन्द्रित हौं । 

‘के छ त दसैंको योजना ?’ अहिलेको सर्वाधिक चर्चित प्रश्न हो यो । टीका लगाउने, खानपिन गर्ने, जुवातास खेल्ने आदि त सामान्य कुरा भए तर, दसैंतिहारको लामो छुट्टीलाई लाभदायक हिसाबले पनि मनाउन सकिन्छ । आउनुहोस्, छुट्टीको फरक उपयोगको गजुरियल विश्लेषण गरौं । 

जन्मस्थल भ्रमण

टीका थाप्ने र आशीर्वाद लिने कामपछि दसैं मनाउने सबैभन्दा सुन्दर उपाय आन्तरिक पर्यटन हो । त्यसमा पनि आफ्नो जन्मथलोको यात्रा सबैभन्दा अविस्मरणीय हुन्छ । तपाईं–हामीमध्ये धेरै जना जागिरका क्रममा, बसाइँसराइका क्रममा जन्मघरबाट धेरै टाढा छौं । सकेसम्म सुबिधा सम्पन्न ठाउँमा बस्ने गरेका छौं । कम्तीमा दसैंको यो छुट्टीलाई ‘जन्मस्थल यात्रा’मा बदल्ने हो भने दसैंको संस्कृति समयसापेक्ष र समाज उपयोगी हुन्थ्यो भन्ने गजुरीयल ठम्याइ छ ।

सिर्जनाको समय

चाडबाडको मौसम त्यसै पनि रमाइलो हुन्छ । प्रकृतिबाट अपार ऊर्जा बर्सिने समय पनि यही नै हो । त्यो ऊर्जालाई साहित्य, कला र संगीत सिर्जनामा लगाउने हो भने तीनवटा फाइदा हुन्छन् । पहिलो, नेपाली समाजले प्रभावकारी संगीत–साहित्य पाउँछ, दोस्रो, फजुल खर्च र अनावश्यक गतिविधिमाथि नियन्त्रण गर्न सकिन्छ अनि तेस्रो, दसैंको परम्पराले दीर्घ जीवन पाउँछ । 

योग ध्यान

प्रश्न उठ्न सक्छ, भोज खाएर मोज गर्ने मौसममा केको योग गर्ने ? टन्न पिएर ज्यान बनाउने बेलामा कस्तो ध्यान गर्ने ? उत्तर पनि सरल छ । भोज खाएर प्राप्त हुने क्षणिक मोजभन्दा योगबाट मिल्ने दीर्घकालीन स्वास्थ्य राम्रो हुन्छ । खानपानबाट बन्ने ज्यानभन्दा ध्यानबाट मिल्ने ब्रह्मज्ञान दीर्घजीवी हुन्छ । जुवातासमा बिताउने समय छ भन्ने योगध्यानको प्रयास गर्नुहोस्, तपाईंको अन्तरमनमा आनन्दको पासा पल्टिन सक्छ ।

पारिवारिक मन्थन

जागिर र व्यवसायका कारणले धेरैको परिवार छिन्न–भिन्न छ । परिवारका सदस्यहरू एक जना विदेशमा, अर्को स्वदेशमा, आधा सहरमा, आधा गाउँमा छन् । बल्ल–बल्ल दसैंको मौकामा भेट्ने अवसर जुट्छ । त्यसलाई पनि खानपिन र जुवातासमै खर्चिने परम्पराको बिकास गर्ने हो भने चाडबाडप्रति विस्तारै वितृष्णा पैदा हुन थाल्छ । पारिवारिक संवाद, छलफल, अनुभव साटासाट गरे फाटेको पारिवारिक मन जोड्न सकिन्छ भने शंका–उपशंकाका पर्खालहरूसमेत तोड्न सकिन्छ ।

प्रकाशित :आश्विन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्