दसैं आयो, खाउँला–पिउँला

- अविरल थापा

आश्विन २१, २०७३

 

दसैं आउन लागिसक्यो, अझै केही गर्न भ्याएको छैन । दसैंमा त यस्तो किन्दिनु है । ओहो ! कति चाँडो आएको होला यो दसैं पनि । कहिले आउलाजस्तो भैसक्यो मलाई त दसैं पनि । यसपालाको दसैंमा त जसरी पनि घर जानुपर्छ । यसपालाको दसैंमा मस्त रमाइलो गर्नुपर्छ । कहिले आएर जालाजस्तो भैसक्यो यो दसैं पनि । दसैंमा त आउने होला नि रु दसैंमा पनि लाउन–खान नपाए के–को दसैं ? कहिले दसैं आउला र घुम्न जान पाइएला । दसैंमा यसो गरौंला, दसैंमा उसो गरौला । यस्तो किनौंला, उस्तो किनौंला । अनेक रहर, चाहना, इच्छाहरूको साझा भाका हो दसैं । 

यसरी विविध चासो र सन्दर्भ जोडिएको छ दसैंसँग । केटाकेटीका आफ्नै रहर र आकांक्षा जोडिएका छन्, परदेसिएकाहरूको घर पुग्ने अभिप्सा, गरिबको गर्जो टार्ने चुनौती, के गरिब के धनी सबैको रमाइलो गर्ने अभिलाषा हुन्छ । कामकाजीको फुर्सदमा मन बहलाउने कामना । के हिन्दू के अरू, दसैं सबैका लागि वहार बोकेर आउँछ । यस्तो लाग्छ, दसैंकै लागि भनेर वर्षैभरि सबैले दुस्ख गर्छन् । जसरी हुन्छ राम्रो लगाउँm, मीठो खाउँm भन्ने भावना सबैमा हुन्छ । 

झट्ट हेर्दा दसैं हिन्दूहरूको मात्र चाड हो जस्तो लागे पनि यसले असर नपारेको कुनै धर्म र सम्प्रदाय फेला पार्न मुस्किल छ । कर्मकाण्डीय हिसाबले हिन्दूहरूले धार्मिक रीतिरिवाजपूर्वक यसलाई मनाए पनि अन्य तरिकाले दसैंको मज्जा सबैले लिन्छन् । लामो समय हुने छुट्टीको सदुपयोग गर्दै आन्तरिक एवं बाह्य पर्यटनमा निस्कने चलन क्रमशस् बढ्दै गएको छ, जसले आर्थिक चलखेल त गराउँछ नै, साथसाथै परिवार एवं साथीभाइबीच हार्दिकता पनि बढाउँछ । 

वर्षदिनभरिको कामको बोझबाट मुक्त हुँदै घरपरिवारसँग भेटघाट एवं साथीभाइ–इष्टमित्र, गाउँसमाजसँग हुने भेटघाट एवं अन्तक्र्रियाले ल्याउने सद्भाव र मिलनको खुसी त छँदैछ । नयाँ लत्ता–कपडा, सरसामानको किनमेल, मासु एवं मदिराको उपभोगले बजारको अर्थतन्त्रमा यसले ल्याउने तरंगको असर पनि उत्तिकै महत्वपूर्ण छ । कोही निस्फिक्री हिँडेको देख्नासाथ भनिन्छ, हेर त हेर, यसलाई कस्तो दसंै आ’को ? दसैं मनोवैज्ञानिक रूपमा पनि अनेक कामको बोझबाट मुक्त भै हाइसन्चोसँग केही समय स्वतन्त्र भएर बिताउने समयको प्रतीक पनि हो । यो एउटा धर्म समुदायको मात्र चाड नभै बहुआयामिक र सबैको सामूहिक पर्व हो । 

 

उमेरसँगै दसैंले ल्याउने खुसी र तरंग बेग्लाबेग्लै हुन सक्छ । दसैंले सामाजिकीकरणमा ठूलो भूमिका खेल्छ । आफ्नो गाउँठाउँमा जमघट बढ्छ । लामो समयदेखि कामकाजले टाढिएका साथीभाइ, परिवार तथा समाजका सदस्यहरूको भेला हुन्छ । यसले आपसमा अन्तक्र्रिया बढाई सम्बन्धलाई ताजा गराउँछ । दसैंले मतभेद र मनभेदहरूलाई मेट्न र सबैलाई भेट्ने अवसर सबैलाई जुटाइदिन्छ, जसको ठूलो सामाजिक महत्त्व छ । 

 

धार्मिक रूपले हेर्दा दसैं दानवीय शक्तिमाथि दैवी शक्तिको विजय भएको तथा नारी शक्तिको उपासना र पूजा गरिने चाड पनि हो । दसैंमा दुर्गा भवानीका अनेक स्वरूपको पूजा गरिन्छ, जसले नारी सशक्तीकरणलाई चित्रण गर्छ । मन्दिरहरूमा लाग्ने भीड तथा मानिसहरूको आस्थाले परम्परागत धर्मकर्मको जगेर्ना पनि गर्छ । गाउँघरमा रातो माटो र कमेरोले घर पोत्ने चलन अद्यापि छ भने सहरमा घरको सरसफाइ र रंगरोगनले सारा समुदायकै स्वरूपमा नवीकरण भएको अनुभूति हुन्छ ।

 

वर्षको एकफेर भुइँ छोड्नपर्छ भनेर गाउँघरमा पहिलेदेखि नै र आजकाल सहरमा समेत खुला ठाउँमा लिंगे पिङ र रोटे पिङ हाल्ने चलन बढेको छ, जसको आफ्नै सांस्कृतिक महत्व छ । यस्ता मौलिक चालचलनले हाम्रा विशेषताको संरक्षण गर्छ भने पर्यटनमा सहयोग पुर्‍याउँछ । दसैंको बेला वातावरण पनि मनमोहक हुन्छ न गर्मी न जाडो । आफन्त एवं इष्टमित्रकहाँ टीका लगाउन जाने चलनले पारिवारिक एकता एवं हार्दिकता बढाउँछ । पुराना रिसराग र मतभेद हटाएर सम्बन्धलाई नयाँ शिराबाट सुरु गर्न पनि दसैंले महत्त्वपूर्ण भूमिका खेल्छ ।

 

राजनीतिक पार्टीहरूले दसैंको बेला आयोजना गर्ने चियापान समारोहले नेताहरूबीच रहने संवादहीनताको अन्त्य गरेको पनि बेलाबखत देखिएकै हो । नेपाल राष्ट्र बैंकले समेत यो समयमा नयाँ नोट बजारमा वितरण गर्छ, जसले बेग्लै रौनक ल्याउँछ । 

 

यद्यपि दसैं भन्नासाथ अत्यधिक मदिरा र मासुको सेवन गर्ने बानीले स्वास्थ्यमा नकारात्मक असर पनि गर्छ । पशु अधिकारवादीहरूले दसैंको नाममा दिइने वृहद् बलिको विरोध पनि गर्ने गरेका छन्, जसले समाजमा नयाँ बहसको थालनी गरेका छन् । अत्यधिक मदिरा सेवन गरी जथाभावी सवारी हाँक्ने कारणले गम्भीर दुर्घटना पनि हुने गरेका छन् जसमा आत्मनियन्त्रण जरुरी छ । रमाइलोका लागि सामान्य रूपमा चाडवाडमा जुवातास खेल्नु त आफनो ठाउँमा छ तर व्यवसायिक तवरले नै हुने खेलवाडले सामाजिक एवं पारिवारिक कलह पनि बढाउँछ जसले दसैंलाई नरमाइलो बनाउन सक्छ ।

 

चोरी–चकारी बढ्न नदिन सबै चनाखो हुनु जरुरी छ । कालोबजारी बढ्न नदिन सबै उपभोक्ता जागरूक हुनुका साथै राज्यको  नियमन जरुरी हुन्छ । हिजोआज कतिपय ठाउँमा सारा गाउँ नै एक ठाउँमा भेला भै भोज गर्ने र टीका लगाउने चलन पनि सुरु भएको छ जसले समतामूलक समाजको निर्माण टेवा पुर्‍याउँछ । जातभात एवं वर्गीय विभेद हटाउन यस्ता प्रयासहरूको सामाजिक मूल्य हुन्छ । 

 

 यसरी समग्रमा हेर्दा दसैं बहुआयामिक चाड हो । सबैले आफ्नो गच्छेअनुसार एक–आपसमा खुसी र सद्भाव राखी यो चाड मनाउने चेष्टा गरौं । रिसरागको अन्त्य गरी सबैखाले सम्बन्धहरूलाई कसिलो बनाउँm । दसैं कसैका लागि दशा नबनोस् । दसैंको मौलिकता र पहिचानको जगेर्ना गरौं । सबैलाई दसैंको शुभकामना । भावी सन्ततिलाई दसैंको यो गीत यसरी परिमार्जित गरि सुनाउन र सिकाउन सकियोस् । 

दसैं आयो 

खाउँला–पिउँला

कहाँ पाउँला रु

कमाई ल्याउँला

स्याबास !

 

 

प्रकाशित :आश्विन २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्