त्यो रात

  • कथा

- रमेश दियाली

आश्विन २०, २०७३- 

अफिसको काम सकेर सिधै कोठमा आईपुगें । आङ तनक्क तन्काएँ । लामो सास फेर्दै सोफामा थचक्क बसें । पुरै थाकेछु । स्याउको जुस पिएँ । शितल महसूस भयो । लामो सास फेरें । सिगरेट सल्काएँ । धुवा उडाउँदै गर्दा जुत्ताको लेस खोले । चिसो पानीमा नुहाउँन मन लाग्यो । कपडा खोलें । नुहाउँन पसें । सोचें, केही खानु पर्‍यो । अहँ, केहि खान मन भएन । सम्झें, सुत्नु पर्‍यो । बेडमा पल्टें । निन्द्रा पटक्कै लाग्या हैन । यसो घडी हेरें । ९ बजिसकेछ । एकछिन पारिजातको ‘शिरिसको फूल’ किताब पढ्न थालें । एक पाना पढेपछि खासै मन लागेन । हवात्त किताब टेबलमा फ्याँकी दिएँ ।

 

बिचरा पारिजात । सोचें, फेसबुकमा बस्नुपर्‍यो । धेरै भएको थियो, फेसबुक नखोलेको । नेपालदेखि हिंडेपछि कति साथीहरूसंग कुरा गर्न नै पा छैन । कोही अनलाईन भए आज खुब कुरा गर्नुपर्‍यो । ल्याप्टप खोले । फेसबुकमा युजर नेम र पासवार्ड लगाउँदै गर्दा फेरी अर्को सिगरेट सल्काएँ । साथी भने पनि आफन्त भने पनि साला यहि सिगरेट त छ नि । सिगरेटलाई हेर्दै धुँवा झ्यालबाट बाहिर उडाई दिए । 

 

जुनेली रातको प्रकाशमा धुँवा त्यो माथि बादललाई भेट्न आतुर थियो । निधारको भाग अलिकति खुम्चियो । ऊभो हेरें । कस्तो पासवार्ड त ईन्करेक्ट भन्छ त ? किईबोटमा औंला हल्लाउँदै गर्दा याद भयो । सेट पासवार्ड त यो पो त  “नेपाल २००८ । फेरी लग ईन गरें । फेसबुक ओपन हुना साथ, ह्वाट्स ईन् हिवर माईन्ड भन्छ ? । बेस्सरी रिस उठ्यो ।

 

सिगरेटको टुक्रा एसट्रेमा रगेट्दै, गर्दा मैले पनि भनि दिएँ । तेरो चै माईन्ड मा के छ नि ? नोटिफिकेसन र मेसेजमा रातो देखी हालें । १४ वटा मेसेज रहेछ । र, २० नोटिफिकेसन । हैन, यो गेम रिक्वेस्ेट कति पठाएको हँ ? सिधै ईन बक्स मेसेजमा क्लिक गरें । हाई...लेखेको रहेछ । सन्दीप क्षेत्रीले । सम्झने कोसिस गरे । को रहेछ यो सन्दीप ? अहँ, मेरो कोही सन्दीप नाम गरेको साथी छैनन् ।  

हेलो, अनुको अर्को मेसेज रहेछ । 

अनु ...? फेरी दिमागमा झड्का लाग्यो । 

आ ....जो सुकै होस् । यसलाई चै रिप्लाई गर्नुपर्‍यो । रिप्लाई गरी हालें । 

हेलो, अरू मेसेजहरू पनि हेर्दै जान थालें । प्रज्ववलध्वज राणाले पनि सम्झिन भ्याएछ । टाउको हल्लाउँदै मनमनै यसो भनें, सम्झिन्छ केटाले । फोन नम्बर  मागेको रहेछ । नम्बर छोडि दिएँ । अनुको म्यासेजको पर्खाईमा बसें ।

 

पटक्कै रिप्लाई गर्‍या हैन । घडी हेरें । १ घण्टा भईसक्यो । अत्तोपत्तो छैन । अब सुत्नुपर्‍यो भन्दै गर्दा प्रोफाईल चेक गर्न मन लाग्यो । कभर फोटो त बच्चाको पो छ । सोचें बिबाहित होला । मुख लोपारें । बुढो चै बिदेशमा होला । हामी जस्तो कन्या केटाहरूलाई लाईन मार्छे । कति न भर्जिन भए झैं । अझ जान्न मन लाग्यो । एबाउटमा किलिक गरें । डिसेम्बर८, १९८८ बोन डेट रहेछ । केटी त कलिलै छें । 

 

करेन्ट सिटी काठमाण्डु उल्लेख गरेकी थिई । प्रोफेसनल स्किल त खासै केहि थिएन । स्टास पनि सिंगल छ । फेरी यो बच्चा ?? फोटो हेर्नुपर्‍यो भन्दै गर्दा टिङटिङ आवाज आयो । उसैको मेसेज रहेछ । हल्का हाँसे । साईड बाट । सिगरेट सल्काएँ । नमस्ते लेखें । उताबाट नमस्कारको ईमो पठाईन । तिम्रो म्यूजिक भिडियो हेरेको थिए । राम्रो लाग्यो । त्यसैले फेसबुकमा सर्च गरेर एड गरेको । नाम ? 

 

उसले लेखिन । मैले पनि लेखिदिए, समीर । 

अनि फेसबुकमा त अर्कै छ त ? फेरी सोधिन । 

साथीहरूले जिस्काउने नाम हो , “झापाली केटो“ 

अनि तिम्रो ? मैले सोधें । 

अनु...

अनु के नि ? लाष्ट नेम  छैन ? 

अहिलेको जमानामा पनि जात सोध्ने ? 

तिमी त पुरै रेसिस्ट  रहेछौ । सोचे जति स्मार्ट रहेनछौ । रिप्लाई गरिन । सरी लेख्दै डिलिट गरें । के लेखौ ? के लेखौ भो ? सोधेको मात्र । नरिसाउन यार । जवाफ फर्काएँ । ईट्स ओ के । रिप्लाई गरिन । “प्रेम नबुझिदिनेहरू लाई प्रेम गरेर समय बर्वाद नगरेकै राम्रो , प्रेम उसैलाई गर जसले तिम्रो प्रेमलाई कम्तीमा पनि बुझिदियोस्’ 

 

रातो गुलाबको फोटो सहित फेसबुकको वालमा स्टाटस लेख्न भ्याई सकिछ । क्रेडिट साया उपन्यासलाई दिएकी थिन । मैले पढें । खुब पढें । लाईक पनि गरें । घर कहाँ नि ? मैले सोधें । सुकेधारा काठमाण्डु । तर अहिले चै त्यहाँ बस्दिन । पोखरामा बस्छु । रिप्लाई गरिनँ । अनि तिम्रो ? वासिङटन सियाटल भनिदिएँ । 

 

उसले थम्स अपको ईमो सेन्ट गरिन् । सोध्न मन लागेको थियो, 

तिमी बिबाहित हौ ? अहँ, सोधिनँ । अनि त्यो बच्चाको फोटो चैं ? त्यो पनि सोधिन । “हाम्रो शरिरको सब भन्दा सुन्दर वस्तु नै मन हो । मनमा माया भए पछि प्रेम आफै हुन्छ । उनको स्टाटसमा कमेन्ट पनि लेखें । मेरो कमेन्टमा लाईक गरि । फेरी मेसेज गरि, के गर्छौ युएसमा ? 

ग्राफिक डिजाईनको स्टुडेन्ट हो । उत्तर दिएँ 

तिमी चैं के गर्छौ ? मैले सोधें । 

जवाफ फर्काई, आकाशमा उड्छु । 

छक्क परें, निधारको भाग अलिकति खुम्चियो । सिगरेट फ्यात्त भूईमा झर्‍यो । 

के भनेको ? फेरी सोधें ।  

बुद्ध एयरलाइन्समा एयर होस्टेज गर्छु । सिधा उत्तर दिई । सिरियस्ली ? मैले लेखें । एयर होस्टजको ड्ेरससंगै क्याप्टेनसंगको सेल्फि फोटो सेन्ट गरि । वाओ नाईस् ...लेखें । 

 

रमाईलो हुन्छ होला है ? आकाशमा उड्दा ? जिज्ञासु सहित प्रश्न गरें । सधैँ आमाले भन्नु हुन्थ्यो, “छोरी पढी लेखी ठूलो मान्छे बन्नुपर्छ । ठूलो मान्छे कस्तो हुन्छ मलाई थाहा थिएन । बाबाको स्वर्गवासपछि आमाले नै दु:ख गरेर आज म यो ठाउमा छु । बैशाख १२ गतेको भूकम्पले दाईको सानो छोरीलाई पुयो । त्यो तोते बोली अझै पनि मेरो कानमा गुन्जिरहन्छ । मेरो फेसबुकको कभर फोटोमा राखेको छु । हेर न । मैले हेरी सकेको थिए तर मैले भनिनँ । मेरो सानैदेखीको सपना  खुल्ला आकाशमा पन्छी झैँ उड्ने । आज सानोमा देखेको सपना पुरा गर्दैछु । 

 

तिमीसंग कुरा गरेर खुसी लाग्यो । भोली बिहानै जोमसुमको फ्लाईट छ । नमरी बाँचे फेरी कुरा गरौंला । उनको अन्तिम मेसेज पढ्दै गर्दा मन भारी भएर आयो । शुभ यात्राको मेसेज सेन्ड गर्दैगर्दा अफलाईन भई । रात निक्कै छिप्पीसकेको थियो । म पनि फेसबुक साईन आउट् गर्दै चुरोट सल्काएँ । दुई सर्को ताने र फ्याँकी दिए । अब सुत्नुपर्‍यो । टाउको दुख्ला दुख्ला झैँ भयो । आँखा बन्द गरि सुत्ने प्रयास गर्दा गर्दै निदाएछु ।

 

मलाई अलार्मले घरिघरि हिर्काउन थाल्यो । बिहानको १० बजिसकेछ । जुरूक्क उठ्दै गर्दा फोनको रिँ बज्यो । उहि प्रज्वलध्वज राणा रहेछ । न्युयोर्कमा होटेल ब्यबसायी गर्छ । हामी ११ र १२ संगै पढेको । एक हिसाबले मेरो मिल्ले साथी पनि हो । फोन उठाएँ । नेपालमा बुद्ध एयरलाइन्स दुर्घटना भयो रे ? ओ सेट ‘हो र ? मेरो बहिनी पनि थिई, भन्दै  गर्दा फोन काटे र हतार हतार अनलाईन समाचार हेरें । 

 

ब्रेकिङ न्यूज “बुद्ध एयरलाइन्स दुर्घटना ग्रस्त । इकान्तिपुरमा समाचार आएको थियो । “पोखराबाट जोमसोमको लागि उडेको ढब्(ब्व्इ भएको बुद्ध जहाज आज ८ बजेर १५ बजे दुर्घटनाग्रस्त अवस्थमा फेला परेको छ । जहाजमा सवार २० यात्रु , ३ चालक र एयर होस्टेज अनुको मृत्यु भएको छ ।

 

 ओ, माई गड्

ओ माई गड् । मेरो बोली नै बन्द भए झै भयो । आँखा पोल्न थाल्यो । पानी घट्घट् पिएँ । सिगरेट सल्काएँ । धुवाँभित्र लिदै बाहिर फयाँके । लामो स्वास लिदै फेसबुक खोलें । सिधै उनको फेसबुक वालमा गएँ । हरियो एयर होस्टेजको ड्रेसमा मुसुस्क हाँसेर नमस्कार गरेको तस्वीर सहित स्टाट्स लेखेको थिई । “आज जोमसोमको हावामा खुब रमाउन मन छ । ३ क्याप्टेन सहित २० यात्रु र म उड्दै छु । फोटो हेरें । हातको औला थररर काँप्यो । शरिर लल्याकलुलुक भयो । मुख सुकेछ । दाहिने हातको औंला आँखामा अघि पुगेछ । आँसु थामिएन । रोएछु । घुटुक्क थुक निलें । 

 

उनको फोटोमा श्रद्धा सुमन दिदै थिएँ । रिप अनु । यु आर ईन् आवर हार्ट । कसैले दुखद घटना भन्दै थिए । कसैले राष्ट्र र क्याप्टेनलाई दोष दिदै थिए । म अन्योलमा परें । म कसलाई दोष दिउँ ? यो संसारमा जे सोच्यो त्यो हुन्न रहेछ । जे हुन्छ त्यो एउटा घटना बनेर अनन्त सम्म पिरोलीरहने रहेछ । हामीले कुनै कल्पनै गरेका हुन्नौं ।

 

हो, त्यही कल्पना नगरै कै कुरा वास्तबिक र यथार्थ हुँदो रहेछ । यो माया भन्नै शब्द नै कस्तो नमिलेको जस्तो लाग्छ । बर्षौसम्म देखादेख भएर पनि माया बस्दैन तर कहिल्यै नदेखेको मान्छेको यति धेरै माया लाग्छ । कहिलेकाहि उकालो हिंड्दै गर्दा थकित भएर लठ्ठीको सहारा लिन्छौं । जब उकालो सकियो, लठ्टी फँयाक्न माया लाग्छ । साँच्चै माया भन्नै चिज नै यस्तै, अजीब । जीवन यात्रामा थुप्रै सम्बन्धहरू जोडिन्छन् । र टुट्छन समयसंगै । 

 

तर, केहि यस्ता सम्बन्धहरू छन् जुन चाहेर पनि मेटिदैन । बाँचिरहन्छन् जीन्दगीभरि, अनन्त सम्म । एउटा अमर छाप बनेर । ढुंगामा खोपिएको अक्षर झैं । सम्बन्ध त हाम्रो बिचार, भावनाले पो बनाउँदो रहेछ । ‘अल बिदा अनु ।’ ‘आत्माले शान्ती पाओस् ।’ सिगरेट सल्काउँदै गर्दा फेसबुक साईन आउट् गरें । 

प्रकाशित :आश्विन २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्