दसैंको खसी

- साप्ताहिक संवाददाता

आश्विन १६, २०७३

 

हरि हुमागाईं, कलाकार, छायाँकार

दसैं र खसीको सम्बन्ध बडो गजबको छ । बजारमा किनेको खसीको मासुले मात्र हाम्रो दसैं टर्दैन । हामी मासुका पारखीलाई दसैंमा बजारमा किनिएको मासु होइन, घरमै काटिएको खसीको मासु चाहिन्छ । दसैंको महाअष्टमीको दिन घरमा खसी मार हानिएन भने दसैं आएजस्तै लाग्दैन । 

मेरो पुख्र्यौली घर काभ्रे हो । काभ्रेमा छँदा प्राय: हरेक दसैंमा घरमै पालिएको खसी काटिन्थ्यो । विगत केही वर्षदेखि हामी ललितपुरको टीकाथलीमा स्थायी बसोबास थालेका छौं । त्यसैले अहिले हामी टीकाथलीकै घरमा खसी मार हान्छौं । अचम्म लाग्न सक्छ, म २१ जनाको संयुक्त परिवारको एक सदस्य हुँ । हाम्रो घरमा म, मेरी श्रीमती, भर्खरै जन्मिएकी छोरीसहित बुवा–आमा, दाजु–भाउजू, भाइ–बुहारी, बहिनी तथा भतिजा–भतिजी छौं । यति ठूलो परिवार भएपछि दसैंमा एउटा सिंगै खसी आवश्यक हुन्छ । घरमा प्राय: बुवाले नै खसीको बन्दोवस्त गर्नुहुन्छ । यसपटकको दसैंका लागि काकाको घरमा पालिएको खसी काट्ने योजना बनिसकेको छ । 

 

केही वर्षअघिसम्म बुवाले नै खसी काट्नुहुन्थ्यो । अहिले उहाँको साटो काका अथवा दाजुले खसी काट्नुहुन्छ । म भने खसी काटेको बेला घर भित्र ढोका लगाएर बस्छु । मलाई त्यो क्षण अति नै डरलाग्दो लाग्छ । खसी काटेर सबै काम सकिएपछि मात्र म कोठाबाट बाहिर निस्कन्छु । बाल्यकालमा खसी काट्दा कान कसले खाने भन्ने कुराको ठूलै प्रतिस्पर्धा हुन्थ्यो । बुवाले हामी सबै दाजुभाइलाई मिलाएर पोलेको कान बाँड्नुहुन्थ्यो । अहिले भतिजा–भतिजीहरू कान खान प्रतिस्पर्धा गर्छन् । 

दसैंमा घरमा काटिएको खसीको मासु केही दिनभित्र खपत भैसक्छ । मलाई प्राय: खसीको फिला र करङको हड्डी मन पर्छ । दसैंमा धेरै चिल्लो तथा मरमसलासहितको मासु कमै खान्छु । मलाई प्रेसर कुकुरमा अलि बढी नै सिट्ठी लगाएर पकाइएको खसीको मासुको झोल र भात विशेष मन पर्छ । फ्राई गरिएका मासुका परिकार त्यति मन पर्दैन । खसी काट्नेबित्तिकै आमाले रक्ती तथा चिउरा ख्वाउनुहुन्छ । सबै जना बसेर त्यसरी खाजा खाँदा वास्तवमै दसैं आएको अनुभव हुन्छ । आन्द्रा–भुँडीको परिकारको पालो त्यसपछि आउँछ । यी दुई परिकार खाएपछि मात्र मासुका अन्य परिकार बन्न थाल्छन् ।

 

विगत केही वर्षयता मैले खसीको मासु खाने क्रम घटाएको छु । दसैंबाहेक अन्य अवसरमा म खसीको मासु छुँदै छुन्न । खसीको मासुको अत्यधिक प्रयोगले स्वास्थ्यलाई समेत राम्रो नगर्ने भएकाले म अहिले दसैंबाहेक अन्य समयमा खसीको मासु खाँदै खान्नभन्दा पनि हुन्छ । दसैंमा चाहिँ खसी नै काटिने भएकाले दुई–चार दिन घरमा अरू परिकार पाक्दैन भन्दा पनि हुन्छ । 

प्रकाशित :आश्विन १६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्