टोल–टोलमा पानीपुरी क्रेज

- शिरिस कार्की

आश्विन १४, २०७३- 

भारतको मगध क्षेत्रमा जन्मिएको र दक्षिण भारतमा फोलकी नामले प्रख्यात पानीपुरीलाई गोलगप्पा पनि भनिन्छ । सानो आकारको पुरीमा साँधिएको आलु हाली अमिलो, पिरो र मसलासहितको पानीमा चोपी खाइने पानीपुरी कलकत्तामा अत्यन्तै प्रचलित छ । नेपाल र भारतका कतिपय संस्कार, रीतिरिवाज र खानपिन मिल्दाजुल्दा देखिन्छन् ।

 

त्यसो त भारत भौगोलिक हिसाबले नेपालको अत्यन्तै नजिकको देश हो । अझ दुई देशको मुख्य धर्म पनि एउटै भएकाले ठूलो क्षेत्रफलको भारतका धेरैजसो कुराबाट नेपाल प्रभावित हुनुलाई सामान्य नै मान्नुपर्छ । यसै क्रममा भारतबाट आएको पानीपुरी यस्तो खानेकुरा बनेको छ जुन नेपालका प्रत्येक ठाउँका मानिसहरू बीच अत्यन्तै लोकप्रिय छ । 

 

५० को दशकसम्म असन–इन्द्रचोकका केही ठाउँमा नगन्य मात्रा भेटिने पानीपुरीका ठेला आज जल्दोबल्दो व्यवसाय बनेको छ । अहिले काठमाडौंका प्रत्येक गल्ली, दोबाटो, बसपार्क, पसल तथा ठूला मलमा समेत पानीपुरीका पसल भेटिन्छन् । पहिले–पहिले पानीपुरी राजधानीका मिठाई पसल र केही इन्डियन रेस्टुराँहरूमा मात्र पाइन्थ्यो र खाने मान्छे पनि कमै हुन्थे । सामान्यत: तराई क्षेत्रभन्दा बाहिरका नेपालीहरूले पानीपुरी त्यति रुचाउँदैनथे ।

 

यद्यपि बिस्तारै यसको प्रभुत्व फैलिँदै गयो । सुरुका दिनमा भारतीय व्यवसायीहरूको हालीमुहाली भएको यो व्यवसायमा आज आएर अन्य व्यक्तिहरूको समेत संलग्नता पाइन्छ । राम्रो आम्दानी हुने भएकाले पनि यसलाई व्यवसायिक रूप दिनेहरूको संख्या बढ्दै गएको हो । केटाकेटीदेखि उमेर पुगेका महिलाहरूले विशेष रुचाउने यो परिकारको विशेषता नै अमिलो–पिरो मिश्रित विशिष्ट स्वाद हो । 

अहिले काठमाडौंका प्रत्येक चोक–बजार छेउछाउ, खुला स्थान र ठूला मल–पसल अगाडि राखेर बेचिने पानीपुरी त्यति स्वस्थकर भने हुँदैन । खाँदा स्वादलाई प्राथमिकता दिने बानीका कारण स्वास्थ्यमा कति असर पार्छ भन्ने कुरा कमै सोच्छन् । जथाभावी खुला ठाउँमा बेच्न राखिएका यस्ता खानेकुरा फोहोर तथा कीटाणुयुक्त हुन्छन् जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । बढी फाइदाका लागि कतिपय व्यापारीले कम गुणस्तरका सामान प्रयोग गर्दा पनि विभिन्न प्रकारका शारीरिक समस्या निम्तिन्छन् । 

मसलेदार, अमिलो, पिरो खानेकुरा आमनेपालीको प्रिय रहँदै आएको छ, तर यी सबै गुणयुक्त पानीपुरी यस्तो खानेकुरा हो जसलाई असन्तुलित तरिकाले खाँदा पाचन प्रणाली, मृगौला, आन्द्रालगायत अन्य अङ्गको समस्या निम्तिन सक्छ । सफा–सुग्घर तथा अखाद्य वस्तु प्रयोग नगरी अनि सफा पानी प्रयोग गरी तयार पारिएको पानीपुरीले भने त्यति बेफाइदा गर्दैन । गर्मी मौसममा धूलो, धूवाँ र फोहोर पानीले यसै पनि समस्या सिर्जना गरिरहेको हुन्छ ।

 

त्यसमाथि जथाभावी बेचिने पानीपुरीजस्ता खानेकुराले स्वास्थ्य समस्या सिर्जना गर्ने चिकित्सकहरूको भनाइ छ । अहिले अस्पताल आउने धेरैजसो मानिस अशुद्घ पानी र खानेकुराको लापरवाहीले गर्नेहरू हुने चिकित्सकहरू बताउँछन् । अझ भेनिगर, अजिनोमोटो, सोडाजस्ता पदार्थ प्रयोग भएको पानीपुरी खाने युवायुवतीको घाँटी, पेटलगायत पाचन प्रणालीमा समेत नकारात्मक असर गर्छ । 

 

केबाट बन्छ पानीपुरी ? 

हामीले अत्यन्तै मन पराउने पानीपुरी तयार गर्न निम्न सामान प्रयोग गरिन्छ : सुजी, मैदा, चामलको पीठो, सोडा, जलजिरा, बिरेनुन, खुसार्नी, धनियाँ, आलु, मसला, चना, केराउ तथा कागती (भिनेगर) तथा पानी ।

 

व्यवसायीहरूको अनुभव

पानीपुरीको गोला अनि ठूलो भाँडामा इम्ली, मसला, धनियाँ, नुन आदि राखिएको पानी तथा बाटाभरि उसिनेको आलु म्यास गरी बनाइएको मसलायुक्त चटनी । भदौ महिनाको मध्याह्नको तीखो घाममा गठ्ठाघरका कृष्ण थपलियालाई पसल अगाडि पालो कुरेर बसेका ग्राहकको प्लेटमा पानीपुरी राखिदिन भ्याइनभ्याइ छ । उनकी श्रीमती सरस्वती भने गाडामा दिनभरिका लागि चाहिने सामान मिलाउँदै थिइन् । २ वर्षअघि चिनेजानेको म्यानपावरबाट साउदी अरब पुगेका कृष्णलाई तोकिएको काम र तलब नदिइएपछि एक वर्षको त्यहाँको बसाइ जेल जीवनजस्तै लाग्यो ।

 

त्यसपछि नेपाल फर्किएका थपलियामा नेपालमै बसेर केही गर्ने सोच आयो । काम गर्ने इच्छा र जाँगर भए पनि आफूसँग लगानी गर्ने पैसा थिएन । उनलाई जागिर खाएर अल्झिन मन पनि थिएन, विगत सम्झँदै थपलियाले भने त्यही भएर आफूसँग भएको अलिअलि पैसा लगानी गरेर पानीपुरीको व्यवसाय गर्ने विचार गर्‍यौं । काखे छोरासहित तीन जनाको उनको परिवार काठमाडौं पस्यो र २ हजारको सटर खोजेर गठ्ठाघरमा पानीपुरी व्यवसाय सुरु गर्‍यो ।

 

बिस्तारै व्यवसाय राम्रोसँग चल्न अनि दिनमा तीन हजारसम्मको बिक्री हुन थाल्यो । थपलिया दम्पती पसलमा पालैपालो काम गर्थे, बिस्तारै छोरा स्कुल जाने उमेरको भएपछि र सरस्वतीले पसल आफैं सम्हाल्न सक्ने भएपछि कृष्णले एउटा ठेला किनेर गठ्ठाघर चौकमा अर्को पसल राखे । आजको दिनमा कृष्णको परिवार यही व्यवसायले धानिएको छ । उनीहरूले केही बचत समेत गर्दै आएका छन् । 

 

पूर्वी चम्पारन विहारका २० वर्षीय गजेन्द्र कुमार हाल न्युरोड बस्छन् । गजेन्द्र डेढ वर्षअघिसम्म दिल्लीमा मोबाइल चार्जरको व्यवसाय गर्थे तर त्यहाँको आम्दानी आफ्ना लागि अपुग भएपछि उनी नेपाल हान्निए । गजेन्द्र यहाँ १५ वर्षदेखि काठमाडौंमा बसेर पानीपुरी बेच्दै आएका आफ्नै दाइकै बाटोमा लागे । उनले ६० हजारको गाडा किनेर भृकुटीमण्डपमा पानीपुरीको व्यवसाय सुरु गरे ।

 

उनी महिनाको तीन हजार भाडा तिरेर प्रदर्शनी मार्गको गेट नजिकै ठेला राख्छन् अनि बिहान १० बजेदेखि साँझ ७ बजेसम्म काममा व्यस्त हुन्छन् । यही कामबाट उनी दैनिक ७ सयदेखि १ हजार रुपैयाँसम्म कमाउँछन् । बजारमा पाइने पुरीको स्वाद खासै मीठो नहुने भएकाले उनी आफैं घरमा पुरी बनाउँछन् । आफूकहाँ आउने ग्राहक निश्चित भएका कारण वरिपरि लाम लगाएर राखिएको ठेलाले आफ्नो व्यापारमा खासै असर नगर्ने गजेन्द्र बताउँछन् ।

 

नायिकाहरुको पानी पुरी मोह

चलचित्र क्षेत्रमा एकै समयमा उदाएका दुई वर्षा हुन्, वर्षा राउत र वर्षा शिवाकोटी । वर्षा राउतलाई पानीपुरी खासै मन पर्दैन, तर शिवाकोटीलाई भने पानीपुरी छोड्न मन लाग्दैन । दुवै एउटा कुरामा सजक छन् कि सडकमा खुल्ला रूपमा बेच्न राखिएको पानीपुरी खाँदा स्वास्थ्यमा असर पर्छ । ‘त्यसैले हामी जथाभावी पानीपुरी खान्नौ’– उनीहरूले एकै स्वरमा भने । पानीपुरी खासै मन नपरे पनि वर्षा राउतलाई पानीपुरी देखेपछि मुखमा पानी आउँछ , तर खान मन लाग्दैन ।

 

‘साथीभाइहरू छन्, हाइजेनिक ठाउँको हो भने दुई–चारवटासम्म खान्छु, नत्र मन लाग्दैन ।’ त्यस्तै कुरा गर्छिन्– वर्षा शिवाकोटी पनि । उनी भन्छिन्– ‘सकेसम्म हाइजेनिक नै खाइन्छ, तर कहिलेकाहीँ साथीहरूका कारण फुटपाथको पनि एक–दुईवटासम्म खाने गरेकी छु । के गर्नु देखेपछि खान मन लाग्छ ।’ नायिका प्रियंका कार्कीलाई पनि क्वाप्प पानीपुरी खान मन लाग्छ । ‘पहिले त जहाँ पायो त्यहीको खान्थेँ । अहिले बाहिरको खान छाडेकी छु,’ भन्ने नायिका कार्की विशेषगरी पार्टीहरूमा राखिने पानीपुरी ६–७ वटासम्म खान्छिन् । 

प्रकाशित :आश्विन १४, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्