आफ्नै पिसाबबाट शुद्ध तुुल्याएको पानी पिउँदैछु

- अश्विनी कोइराला

आश्विन १०, २०७३

 

काठमाडौं मरुटोलमा जन्मिएका डा. रोशन श्रेष्ठले आफ्नो प्रारम्भिक शिक्षा शान्ति निकुञ्ज विद्यालयबाट पूरा गरेका थिए । उनले एमएस्सी गर्दागर्दै इटलीको डिस्वी इन्टरनेसनलले सुरु गरेको बाग्मती नदीमा बग्ने पानीको बृहत् अनुसन्धानमा सहयोगी भएर काम गर्ने मौका पाए । त्यति बेला उनको टिमले बाग्मतीबाहेक काठमाडौंका धारा, पोखरी एवं खानेपानी संस्थानको पानी मात्र नभै तराईका ट्युवेलका पानीमा हुने सबै खालका संक्रमणको अनुसन्धान गर्‍यो ।

 

उक्त अनुसन्धानसँगै श्रेष्ठ खानेपानी विज्ञका रूपमा चिनिए । उनकै टिमले मेलम्चीको मुहानको पानीको परीक्षण गरेर काठमाडौंमा पानी ल्याउन उपयुक्त भएको निष्कर्ष निकालेको थियो । अस्ट्रियाबाट घाँसको एक प्रजाति नर्कटबाट खानेपानी शुद्ध पार्ने विषयमा विद्यावारिधि गरेका रोशनले करिब एक दशक खानेपानी शुद्धीकरण अभियान चलाउने एन्फो नेपालको प्रमुख भएर काम गरे ।

 

सन् २००५ देखि यू एन हेभिटाटमा काम गर्न थालेका श्रेष्ठले बंगलादेशका २५ वटा सहरमा खानेपानी शुद्धीकरण अभियानको नेतृत्व गरे । सन् २०१२ यता उनी विश्वकै सबैभन्दा ठूलो परोपकारी संस्था बिल एन्ड मेलिन्डा फाउन्डेसनको स्वास्थ्य अनुसन्धान विभागअन्तर्गत दक्षिण एसिया प्रमुख छन् ।

 

तपाईं विश्वकै ठूलो परोपकारी संस्थाको एउटा विभागको प्रमुख हुनुभएको छ, एउटा नेपाली यो तहमा पुग्नु आफैंमा आश्चर्य होइन ?

नेपालीहरूको क्षमता धेरै ठूलो छ । राजनीतिक अस्थिरता तथा गरिबीका कारण मात्र हामी कमजोर देखिएका हौं । म जुन पदमा छु, त्यो पदमा पुग्न अमेरिकाका एकसे एक विज्ञले प्रतिस्पर्धा गरेका थिए, तर नेपाल, भारत र बंगलादेशजस्तो स्वास्थ्य प्रभावित मुलुकमा दशकौं काम गरेको अनुभव उनीहरूसँग थिएन । ज्ञान उनीहरूको जत्तिकै हुनु र फिल्डमा पनि वर्षौं खटिएका कारण पनि म यो पदमा पुगेको हुुँ । म यो पदमा पुग्नुले पनि नेपालीहरूको क्षमता माथि छ भन्ने प्रमाणित हुन्छ । 

आफ्नै दिसा–पिसाबबाट निस्किएको पानी प्रशोधन गरी पिएको दाबी गर्नुभयो, यो दाबी ऋाम्मीन्सले कसरी पत्याउलान् ?

मैले मात्र किन, बिल गेट्स स्वयंले दिसा–पिसाबबाट निस्किएको पानी प्रशोधन गरी पिएको भिडियो आफ्नै ब्लगमा राखेका छन् । उक्त भिडियो लाखौं पटक हेरिएको छ । जब बिल गेट्सजस्ता प्रख्यात व्यक्तिले त त्यस्तो पानी पिउँछन् भने हामी अनुसन्धानमै खटिने मानिसले आफंैले अनुसन्धान गरेको प्रविधिको परीक्षण त गर्नै पर्‍यो नि । म मात्र होइन, अबको केही वर्षमा तपाईंले पनि आफ्नै मलमूत्रबाट प्रशोधित पानी पिउन सक्नुहुनेछ । त्यस्तो दिन धेरै टाढा छैन । 

 

बिल गेट्सजस्ता संसारका सबैभन्दा धनी व्यक्तिले आफ्नै दिसा–पिसाबबाट निस्कने फोहोर पानीलाई प्रशोधन गरेर पिउँछु भनेर किन प्रचार गर्नुपर्‍यो ?

किनभने अहिले मानिसको मलमूत्रबाट फैलिएको जीवाणुका कारण संसारभर झाडा–पखाला, आउँजस्ता विभिन्न किसिमका रोग लागिरहेको छ । यो रोग निवारण गर्न वार्षिक २ खर्ब २३ अर्ब डलर खर्च भैरहेको छ । यस्तो खर्च प्रत्येक वर्ष बढिरहेको छ । सन् २०१५ मा यो खर्च १ खर्ब ८२ अर्ब डलर मात्र थियो । यसको अर्थ के हो भने यदि मल–मूत्रबाट फैलने रोगलाई पूर्णरूपमा नरोक्ने हो भने यी सामान्य रोगका लागि खर्बौं डलर खर्च गर्नुपर्ने हुन्छ । यति पैसा खर्च भए पनि यी रोगबाट प्रत्येक वर्ष ५ लाख मानिस मरिरहेका छन् । 

यो कुरा थाहा पाएपछि विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले यसलाई रोक्न सकिन्छ कि सकिँदैन भनेर विद्वान्हरूसँग छलफल गरे । उनले के पाए भने हामीले प्रयोग गर्ने ट्वाइलेट वा खुला दिसाका कारण नै यति ठूलो समस्या निम्तिएको रहेछ । त्यसपछि उनी ट्वाइलेटमै यस्ता समस्या समाधान गर्न सकिन्छ कि सकिँदैन भनेर लागेका हुन् । उनले यसमा अर्बौं डलर खर्च गरिरहेका छन् । 

अहिले यो संस्था दिसा–पिसाबसम्बन्धी रोग विश्वबाटै उन्मूलन गर्न लागेको हो ?

यसले अरू काम गरि नै रहेको छ, तर यो फाउन्डेसनले गरिरहेको महत्वपूर्ण काम मानिसले गर्ने दिसा–पिसाबमा हुने जीवाणुलाई कसरी शून्य पार्ने भन्ने नै हो, तर यो काम त्यति सरल भने छैन । त्यसैले यसलाई केही फरक तरिकाले बुझ्नुपर्छ । 

 

सरल तरिकाले बुझाउनुपर्दा मानिसको दिसा–पिसाबबाट हुने रोगलाई कसरी घटाउन सकिन्छ ?

अहिले संसारमा ७ अर्ब मानिस बस्छन् । तीमध्ये २ दशमलव ७ अर्ब मानिसले चर्पी प्रयोग गर्छन् । अहिलेसम्म मानिसको धारणा के छ भने चर्पी प्रयोग गर्‍यो भने रोग लाग्दैन, तर यो कुरा गलत छ भन्ने कुरा यही चर्पीमा हुर्किएका कीटाणुका कारण बर्सेनि स्वाथ्यमा खर्बौं रुपैयाँ खर्च भैरहेबाट प्रमाणित हुन्छ । तैपनि वार्षिक ५ लाख मानिस मरि नै रहेका छन् । 

यसको अर्थ के हो भने चर्पी प्रयोग गर्ने मानिसको संख्या बढे पनि त्यसको व्यवस्थापन राम्रोसँग हुन सकेको छैन । त्यो चर्पीबाट निस्किएको फोहोर कतै न कतै पानी वा खानेकुरामा मिसिएको छ, जसले गर्दा समस्या जस्ताको तस्तै छ । २ दशमलव ४ अर्ब मानिसको घरमा चर्पी नै छैन, उनीहरूको समस्या आफ्नै ठाउँमा छ । 

अहिलेसम्म नेपाल सरकारले चर्पी प्रयोग गर्‍यौ भने तिमी झाडापखाला र आउँजस्ता समस्याबाट मुक्त हुन्छौ, त्यसैले चर्पी प्रयोग गर भनिरहेको छ नि ? 

यो झूटो कुरा हो । हामीले प्रयोग गरेको चर्पीको दिसा कहाँ जान्छ ? कतै न कतै त रहन्छ । त्यसबाट पानी एवं खाद्यान्य संक्रमित भैरहेको छ । फलस्वरूप चर्पी प्रयोग भएको सहरमा पनि झाडापखाला र आउँ फैलिरहेको छ । यो कुरा काठमाडौंजस्तो राजधानीमा समेत पखाला, जन्डिस, टाइफाइडका बिरामी बढेको तथ्यबाट पुष्टि हुन्छ । जबसम्म हामीले ट्वाइलेट प्रयोग गर्दागर्दै त्यो दिसा र पिसाबलाई शुद्ध पार्न सक्दैनौं, तबसम्म हामी स्वस्थ रहँदैनौं । त्यसैले खुला दिसामुक्त क्षेत्र हुनेबित्तिकै समस्या समाधान हुन्छ भन्ने होइन । हो, ट्वाइलेटका कारण जताततै फोहोर देखिने समस्याबाट मुक्त हुन सकिन्छ, तर रोगबाट मुक्त हुन ट्वाइलेटमा नयाँ प्रविधि आउनैपर्छ । 

त्यो कसरी सम्भव छ त ?

केही वर्षभित्रै सम्भव छ । अहिले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले खर्बौं रुपैयाँ यही प्रविधिका लागि खर्च गरिरहेको छ । यो अनुसन्धानले नयाँ खालको ट्लाइलेटको परीक्षण पूरा गरेको छ । बिल गेट्सले पिउने पानी यस्तै दिसा–पिसाबबाट निस्किएको पानी हो । हामीले पनि यही पानी पिइरहेका छौं । जसरी संसारबाट पोलियो उन्मूलन गर्न सकियो, त्यसैगरी नयाँ प्रविधिको ट्वाइलेटले झाडा–पखाला, आउँ, टाइफाइडजस्ता दिसा–पिसाबबाट लाग्ने रोगको अन्त्य हुन्छ भन्नेमा हामी विश्वस्त छौं । 

यसको परीक्षण कहाँ भैरहेको छ ?

भारतको तामिलनाडुमा । 

तपाईं नेपाली भएर पनि आफू प्रमुख भएको यति ठूलो काम भारतमा ? नेपालमा गर्न मिल्दैनथ्यो ?

कुनै पनि नयाँ काम गर्न त्यो देशको सरकार र जनता सकारात्मक हुनुपर्छ । यो संस्थाले के काम गर्दैछ, यसले गरेको काम समाज र देशको हितका लागि कति लाभदायक छ भनेर बुझेको हुनुपर्छ । भारतको तामिलनाडु सरकार स्थायी सरकार हो । त्यहाँको राज्य सरकार पाँच वर्षका लागि निर्वाचित छ । उसले गरेको निर्णय तुरुन्तै परिवर्तन हुँदैन । नेपाल जस्तो मुलुकमा नौ–नौ महिनामा सरकार परिवर्तन हुने भएकाले एउटा सरकारले गरेको निर्णय अर्को सरकारले परिवर्तन गर्न सक्छ । 

अर्को कुरा, भारतको तामिलनाडु राज्य धेरै शिक्षित जनता भएको ठाउँ हो । त्यहाँ ९९ प्रतिशत जनता शिक्षित छन् र दिसा–पिसाबबाट लाग्ने रोग र त्यसबाट हुने क्षति उनीहरूले बुझेका छन् । उनीहरू आफैं यस्ता काम हाम्रो राज्यमा गर्नुहोस् भनेर अनुरोध गर्छन् । बाक्लो जनसंख्या भएका कारण पनि हामीले गरेको परीक्षण कति सफल भयो भनेर जाँच्न सजिलो हुन्छ । 

 

तामिलनाडुमा भएको परीक्षण सफल भयो भने हामीले प्रयोग गर्ने ट्वाइलेट कस्तो हुन्छ ?

ट्वाइलेटभित्र एउटा विशेष मेसिन जडान हुन्छ । जुन मेसिनले तपाईंले गरेको दिसालाई तुरुन्तै शुद्धीकरण गरेर त्यसमा भएको पानीलाई पिउन योग्य बनाउँछ । बाँकी रहेको छोक्रालाई माटोमा परिवर्तन गरिदिन्छ ।

 

आममानिसले त्यस्तो ट्वाइलेट घरमा राख्न सक्छन् ?

यो बिल एन्ड मेलिन्डा फाउन्डेसनले खर्बौं रुपैयाँ खर्च गरेर तयार गरेको अनुसन्धान हो, तर यो कुनै व्यवसायिक संस्था होइन । 

त्यसैले यो प्रविधिको कपी राइट कुनै व्यवसायिक संस्थासँग छैन । अनुसन्धानमा लाग्ने लगानी शून्य भएका कारण व्यवसायिक संस्थाले थोरै मात्र नाफा राखेर आफ्ना सामग्री बजारमा पठाउँछन् । यसका लागि चिनियाँ व्यवसायिक कम्पनीले संसारकै सबैभन्दा सस्तो ट्वाइलेट मेसिन बनाउँदैछ । 

बिल गेट्सको आग्रह नै के थियो भने बरु खर्बौ रुपैयाँ खर्च होस् तर यसबाट सबैभन्दा गरिब जनताले प्रयोग गर्ने खालको ट्वाइलेट बनोस् । जसरी पोलियोको थोपा सित्तैंमा खाएका कारण आजका बालबालिका पोलियोमुक्त भए, ठीक यही शैलीमा ट्वाइलेटमा प्रयोग हुने कच्चापदार्थ र उत्पादन लागतबाहेक अरू पैसा खर्च नहोस् भन्ने गेट्स दम्पतीको आग्रह छ । यसकारण यो ट्वाइलेट आममानिसले प्रयोग गर्न सक्ने खालको हुन्छ । 

 

बिल गेट्सजस्ता संसारकै सबैभन्दा धनी व्यक्ति यसरी संसारकै नक्सा बदल्ने समाजसेवामा किन लागे होलान् ? उनको उद्देश्य के छ ?

बिल गेट्सका बुवा वकिल थिए । छोराले कम्प्युटरबाट पैसा कमाउन थालेपछि उनका बुवाले संसारभरि शिक्षा फैलाउन आफूले कमाएको केही रकम खर्च गर्न अनुरोध गरेका रहेछन् । त्यसअनुसार केही करोड डलर उनले समाजसेवामा पनि दिन थाले, तर जब सन् १९९७ मा  उनले रोटा भाइरसका कारण संसारभर वार्षिक ५ लाख बालबालिका मर्छन् भन्ने कुरा सुने, उनलाई अचम्म लागेछ ।

 

एउटा सानो भाइरसले लाखौं बालबालिका मर्छन् भन्ने कुरा उनको कल्पनाबाहिर रहेछ । उनले स्वास्थ्यकर्मीहरूसमक्ष यसको सामाधानको उपाय सोधेछन् । चिकित्सकहरूले स्वास्थ्यसम्बन्धी गहन अनुसन्धान र त्यसबाट निस्किएको निष्कर्षबाटै समस्या समाधान हुने उपाय सुझाएपछि गेट्सले प्रत्येक वर्ष ४ अर्ब डलर अनुसन्धानका लागि खर्च गर्ने घोषणा गरे । 

उक्त घोषणापछि धमाधम संसारका अन्य धनीहरूले समाजसेवामा आफ्नो लगानी बढाउने घोषणा गरे । वारेन बफेटले प्रत्येक वर्ष २ अर्ब डलर बिल फाउन्डेसनलाई दिने कुरा बताए । बिल सन् २००८ मा माइक्रोसप्ट कम्पनीबाट राजीनामा दिँदै यसैमा होमिए । उनको उद्देश्य आफू मर्नुअघि विश्वका कुनै पनि मानिस सामान्य रोग लागेर नमरून् भन्ने नै हो । संयुक्त राष्ट्रसंघले सहस्राब्दी विकास लक्ष्यमा जुन उद्देश्य लिएको छ, बिल गेट्स र उनकी श्रीमतीको उद्देश्य त्यही नै छ । 

यति ठूलो परिवर्तन आउँदैछ तर यस्ता परिवर्तनसँगै अविकसित देशका धेरै धर्म संस्कृति पनि मासिने गरेको छ । यो परिवर्तनले नेपाल जस्तो मुलुकलाइ के असर पर्ला ?

म नेवार परिवारको एउटा सदस्यका नाताले यस्ता कुरामा सचेत नहुने कुरै छैन । बिल गेट्स र उनकी श्रीमती मेलिन्डा कुनै पनि देशको धर्म, संस्कृति, परम्परालाई आफ्नो परोपकारी कामले सहयोग पुगोस् तर कुनै नकारात्मक असर नपुगोस् भन्ने चाहन्छन् । त्यसैले उनीहरू समस्या समाधानका लागि मात्र काम गर्छन् । 

जस्तो, यो फाउन्डेसनले अहिले संसारभर एचआईभी पोजेटिभ भएका व्यक्तिहरूका लागि नि:शुल्क औषधिको व्यवस्था मिलाएको छ । पोलियो उन्मूलन, लाइब्रेरीको स्थापना र त्यसमा त्यही देशका भाषा–संस्कृतिका पुस्तकहरू पढाइ भैरहेको छ । उनीहरूले जति काम गरेका छन् र संसारलाई जसरी हेरेका छन्, मलाई लाग्छ, यस्तो सोच ईश्वरले मात्र राख्न सक्छन् । उनीहरूलाई मैले नजिकबाट चिन्ने मौका पाएँ, मलाई त उनीहरू भगवानकै रूप लाग्छन् । 

तपाईंले करिब ५ वर्ष यो संस्थामा काम गरिसक्नुभयो, अबको योजना के छ ?

यो ट्वाइलेटले व्यवसायिक रूपमा उत्पादन सुरु गरेपछि म जागिर छाड्छु । त्यसपछि देश र समाजको भलाइको काममा लाग्छु । हुन त मैले अहिलेसम्म समाजकै लागि काम गरिरहेको छु तर त्यसमा मेरो आम्दानी पनि हुन्थ्यो, अब म पनि नेपाल फर्किएर पूर्ण रूपमा समाजका लागि समर्पित हुनेछु । आखिर असल मानिसको संगत त व्यवहारमा पनि देखिनै पर्‍यो नि, होइन र ?

 

प्रकाशित :आश्विन १०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्