फेदेनको चिठी

- किशोर नेपाल

आश्विन ९, २०७३

 

यात्रा संयोग होइन, सन्दर्भ हो जीवनको । जीवनसँग जोडिएको मनोरम सन्दर्भ । जति ज्ञानको आर्जन हुन्छ यात्राबाट, अन्यत्र कतैबाट पनि प्राप्त हुन सक्दैन । यात्राको निरन्तरताले मानिसलाई परिपक्व बनाउँछ । यात्राले जीवनका विविधतालाई समेट्छ । इच्छा र आकांक्षाका नयाँ आयाम खोलिदिन्छ । त्यसैले भनिएको हो– ट्राभेलिङ इज दि इन्ट्रिगल पार्ट अफ दि लाइफ ।

यात्रा–सन्दर्भ मेरो नयाँ स्तम्भ होइन । यो अहिले नयाँ सन्दर्भसँग जोडिएको मात्र हो । यो स्तम्भमा मानिसको जीवन र यात्राहरूको सन्दर्भ जोडिनेछ । समयका सत्यहरूलाई स्थापित गर्ने एउटा पुलका रूपमा यो स्तम्भ अघि बढ्नेछ । हाम्रो समाजमा प्रकट भएका विविध अवतारलाई आवाज दिने प्रयत्न गर्नेछ यात्रा–सन्दर्भले ।

शिल्पि प्रदेश

१० वर्षको अन्तरालमा फिदिम बजारले ठूलो फड्को मारिसकेको छ । यो अहिले एउटा सहरका रूपमा परिचित हुन थालेको छ । एक दशकअघि एउटै पनि ढंगका होटल थिएनन् यहाँ । अहिले सुविधासम्पन्न होटलहरू खुलेका छन् । फिदिमका सुन्दर लिम्बू महिलाहरू अत्यधिक जागृत छन् । यो ती जागृत महिलाहरूकै बजार हो । जहाँ सुन्दर मानिसहरू हुन्छन् त्यहाँ सौन्दर्य प्रसाधनको व्यापार त चल्ने नै भयो ।

 

बजारमा सौन्दर्य प्रसाधन मात्र होइन, मोबाइल फोन, मोटरसाइकल, फेसन परिधान अर्थात् आधुनिक र सम–सामयिक जीवनका सबै आवश्यकता उपलब्ध छन् । फिदिम बजारले उपभोक्ताका प्रत्येक चाहना पूरा गर्ने आकांक्षा राखेको छ । अबको एक दशकपछि फिदिम एउटा सानदार सहरका रूपमा स्थापित भैसक्नेछ । यो नेपालको पूर्वी पहाडी क्षेत्रको आवश्यकता पनि हो ।

राजनीति गर्नेले शब्दहरूको मर्म र महत्त्व बुझिदिएको भए नेपालको प्रादेशिक संरचनामा एउटा मौलिक र कल्पनाशील प्रदेश थपिन्थ्यो– शिल्पि । यो प्रदेश कला र संस्कृतिको क्षेत्रमा काम गर्ने कलाकारहरूको अधीनमा रहने थियो । फिदिमका लिम्बू नेता चन्द्रराज आङ्दम्बेको चिन्तन हो यो । शिल्पि प्रदेश, नामै रोचक छ । यो चिन्तन, ‘वकायदासाथ घनिभूत हिसाबले छलफल गरेर’ आएको हो ।

 

लिम्बुवानका नेताहरू तमोर नदीमा माछा मारेकै भरमा राजनीतिमा आएका होइनन् । चिन्तनको लामै श्रृंखला चलेको छ लिम्बुवानमा । ती चिन्तनहरूले राष्ट्रिय राजनीतिमा प्रवेश पाएका छैनन् । स्थानीय तहमा पनि चिन्तनका यस्ता कुरा बुझने मानिस कमै छन् । संवत् २०६२/६३ मा लिम्बुवान आन्दोलन उत्कर्षमा थियो । लिम्बू नेताहरूले त्यो उत्कर्षलाई लिम्बुवानका पक्षमा परिणाममुखी बनाउन सकेनन । सत्ता राजनीतिको सम्मोहन चर्को थियो । 

त्यही सम्मोहनमा परेर उनीहरू फुटे । यतिबेला संघीय समाजवादी गठबन्धनको नाममा जुटेका छन्, तर यो समयमा चौतर्फी आशा छैन । लिम्बुवानमा अलिकति हताशा छ, अलिकति निराशा छ । हिजोको आवेग मत्थर भएको छ । मनमा उठेको रिस साम्य भएको छैन, तर त्यो रिस कतै लगेर पोख्ने मनस्थितिमा छैनन् जनता । जारी भएको संविधानमा अलिकति सुख–सुविधाका कुरा थपिदिए हुन्थ्यो भन्ने मनस्थिति विकसित भएको छ जनतामा । अहिले गाउँपालिका र नगरपालिकाको नामांकन सकिएको छ ।

 

ङ्याङवारक, फालेलुंग, कुम्मायक, मित्लाजुंग र फागुनन्दजस्ता लिम्बू शव्दावलीअनुरूपका नाउँले नामांकन गरिएका गाउँहरू स्थानीय तहमा पहिचानका प्रतीक बनेका छन् । 

 

लिम्बूवानको सामाजिक जीवनमा महिलाहरूको सहभागिता बढदै गएको छ गुणात्मक र संख्यात्मक दुवै हिसाबले । ‘कुरा त हो,’ स्थानीय समाजसेवी निरन्ती तुम्बायो भन्छिन्, ‘संस्थाहरूको पद–धारण गर्ने कुरामा चाहिं महिलाहरू कि त उपाध्यक्षका लागि कि कोषाध्यक्षका लागि मात्र योग्य ठहरिन्छन् । निर्णायक र नेतृत्वदायी ठाउँ पुरुषले नै ओगट्छन् । त्यसैले, पहिलो काम स्थानीय तहको नेतृत्वमा महिला पुग्नुपर्छ ।

पाँचथर, लिम्बुवानको हालको सदरमुकाम फिदिमलाई लिम्बूहरू फेदेन भन्छन् । फिदिम औपचारिक हिसाबले जनजिब्रोमा चढेको नाम हो । 

अब यसको नाम परिवर्तन गरेर फेदेन नै बनाए पनि केही फरक पर्दैन । बम्बई मुम्बइ बन्न सक्छ, पटना पाटलिपुत्रमा रूपान्तरित हुन सक्छ र कलकत्ता कोलकातामा परिणत हुन सक्छ भने फिदिमको नाम फेदेनमा परिवर्तन गर्दा के फरक पर्छ ? त्योभन्दा अलि पर गएर, लिम्बूको बाहुल्य भएका नौवटा जिल्लाको समूह लिम्बुवानलाई एक नम्बर प्रदेशको नामका रूपमा स्वीकार गर्दा कोही तल–माथि पर्ने होइनन् ।

 

भाषाले एक–अर्कालाई बुझाउँछ । नामले एक–अर्कालाई चिनाउँछ । लिम्बू भाषाविद् हरिश्चन्द्र लावतीले भनेजस्तै, भाषा र संस्कृति राजनीतिक विषय होइनन् । देशको नयाँ संरचना तयार पारिने समयमा भाषिक र सांस्कृतिक संरचना सुदृढ नबनाउने हो भने धेरै कुरा बिथोलिन्छ । 

 

सिक्किम कनेक्सन

पाँचथर फिदिममात्र होइन । पाँचथर नेपालको पूर्वी सिमाना हो जो सिक्किमसँग जोडिन्छ । पाँचथरको प्रानबोंग गाउँ सिक्किमसँग सम्बन्धको सहज बिन्दु हो । कुनै समयमा सिक्किमका धनाढ्य व्यापारी डुन्डु भोटेले आफनो निजी लगानीमा सिक्किमदेखि प्रानवोंगसम्म ५० किलोमिटर बाटो बनाएका थिए । उनी नेपालीहरूले सिक्किमको बजारबाट सहज रूपमा किनमेल गर्न पाउन भन्ने चाहना राख्थे । त्यो बाटोमा ल्यान्डरोभर जिप चल्थ्यो । अहिले अवस्था विपरीत छ । त्यो बाटो बिग्रिइसकेको छ ।

 

बाटोका कारण सिक्किमको बजार पुग्नु प्रानवोंग र वरपरका नेपालीहरूका लागि कठिन छ । अहिले न डुण्डु भोटेजस्ता उदार मानिस छन्, न त सरकारले नै भारतीय सीमासम्म आवागमन सहज बनाउने कुनै योजना बनाएको छ । पाँचथरमा दुर्गम गाउँहरू थुपै्र छन् । ती दुर्गम गाउँको अवस्था नसुध्रिएसम्म विकासको कुनै अर्थ छैन ।

प्रानबोंग, पाँचथरको बाटो सिक्किम कनेक्सन कति सहज छ अथवा असहज छ त्यो त योजनाकारहरूले थाहा पाउने विषय हो तर स्थानीय मानिसहरूको भनाइमा प्रानवोंग नै सिक्किमसँग सम्बन्धको सहज बिन्दु हो । सिक्किमीहरू नेपालीको माया गर्छन् । एक प्रकारको अपनत्वको भाव छ नेपालप्रति । ती भारतीय मूलका भैसकेका नेपालीहरूको सदाशय नै हाम्रा लागि सर्वोत्तम कोसेली हो । 

पाँचथरमा समस्या छन् । ती सबै समस्याको समाधान लिम्बुवानको भावनालाई अलग राखेर गर्न सकिँदैन । सभ्यता, सम्पदा र संस्कृतिका हिसाबले लिम्बुवान प्रचुर मात्रामा धनी छ । लिम्बुवान सांस्कृतिक महत्वको पर्यटक भूमि बन्न सक्छ । यसमा कुनै द्विविधा छैन ।

प्रकाशित :आश्विन ९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्