करोडौं दाउमा

- कृष्ण भट्टराई

आश्विन ५, २०७३

 

चाडपर्वको मौसम पारेर चलचित्र प्रदर्शन हुने ट्रेन्ड पुरानो भैसकेको छ, र आजका मितिसम्म आइपुग्दा यो ट्रेन्डलाई पछ्याउने निर्माताहरूको संख्या घटेको छैन । खासगरी नेपालमा तीजको पूर्वसन्ध्यादेखि तिहार–छठसम्म नेपाली चलचित्र प्रदर्शन गर्न निर्माताहरूको तँछाड–मँछाड हुन्छ ।

 

रक्षाबन्धनदेखि छठसम्म प्रदर्शन हुने चलचित्रको लगानी एकत्रित गर्ने हो भने करिब २५ करोड रुपैयाँभन्दा बढी पुग्ने देखिन्छ । करोडौं लगानी गरेर निर्माण गरिएका यी चलचित्रको आम्दानीले भने चाडपर्वको पूर्वसन्ध्यामै निर्माताहरूलाई निराश पार्न थालेको छ । तीजको दुई साताअघि पनि ठूलै बजेटका दुई चलचित्र ‘वीर विक्रम’ तथा ‘चपली हाइट–२’ प्रदर्शन भए । 

यो वर्षको तीजको पूर्वसन्ध्या पारेर ठूला बजेटका तीनवटा चलचित्र प्रदर्शनमा आए । प्रशस्त प्रचार–प्रसार गरिएका ‘ब्रासलेट’ तथा ‘लाल जोडी’ सँगै ‘वृन्द्रावन’ लाई पनि जुधाइयो । यो सामग्री तयार पारुन्जेलसम्म यी तीनमध्ये कुनै पनि चलचित्रले ‘सुपरहिट’ को ट्याग भिर्ने अवस्था छैन । ‘लगानी नै सुरक्षित गर्लान् कि नगर्लान् भन्ने चिन्ता पो छ, काठमाडौंको एउटा प्रतिष्ठित सिनेमा हलका सञ्चालक भन्छन्— ‘चाडपर्वका अवसरमा कम्तीमा दुईवटा चलचित्रसम्म प्रदर्शन गर्नु ठीकै हो, एकैपटक तीनवटा चलचित्र जुध्दा दर्शक नै अन्यौलमा पर्छन् ।’ 

यसबीच अघिल्लो शुक्रबार ठूलो लगानीको चलचित्र ‘छक्कापञ्जा’ प्रदर्शनमा आयो । यसअघि ‘६ एकान ६’ तथा ‘वडा नम्बर ६’ बाट पाएको ऐतिहासिक सफलतालाई ‘छक्कापञ्चा’ दोहोर्‍याउने क्रममा छ । ‘छक्कापञ्जा’ सँग अन्य कुनै नेपाली चलचित्र नजुधेकाले पनि यसलाई अतिरिक्त व्यवसायिक फाइदा मिलेको बताइन्छ । 

दसैंअघिको मौसमलाई क्यास गर्ने उद्देश्यले भदौ ३१ गते शुक्रबार तीनवटा चलचित्र प्रदर्शन हुँदैछन् । गाँठो, बिजुली मेसिन, ड्राइभर दाइजस्ता चलचित्रले भदौ ३१ को प्रदर्शन मिति तय गरिसकेका छन् । यीमध्ये साइन्स फिक्सन चलचित्र ‘बिजुली मेसिन’ को बजेट नै १ करोड रुपैयाँ छ । नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठजस्ता नयाँ अनुहारले अभिनय गरेको सुरज भुसालद्वारा निर्देशित चलचित्र ‘गाँठो’ मा पनि ५० लाख रुपैयाँभन्दा माथिकै लगानी छ । बीएस बलामीले गाडीमा काम गर्ने ड्राइभरहरूको संघर्षमा आधारित चलचित्र ‘ड्राइभर दाइ’ मा पनि करिब ५० लाख रुपैयाँ लगानी गरेका छन् । 

 

यो हिसाबले भदौ ३१ गते प्रदर्शन हुने चलचित्रको कूल लगानी नै २ करोड रुपैयाँभन्दा माथि छ । यी तीन चलचित्रको लगानी सुरक्षित हुन कम्तीमा ६ करोड रुपैयाँको व्यवसाय हुनैपर्ने देखिन्छ, अन्यथा यी चलचित्रको लगानी डुब्ने निश्चित प्राय: छ । असोज ७ गते प्रदर्शनमा आउने चलचित्र ‘झुम्की’ ले प्रचार–प्रसारमा प्रशस्त खर्च गरिरहेको छ । दयाहाङ राईलाई मुख्य पात्र बनाइएको निर्देशक निश्चल बस्नेत सरप्राइज प्याकेजका रूपमा छन् । चलचित्र ‘कबड्डी’ का निर्देशक रामबाबु गुरुङद्वारा लिखित यो चलचित्रले व्यवसायिक सफलता हासिल गर्ने कुरामा चलचित्र समीक्षकहरू पनि आशावादी छन् । 

असोज १४ गते प्रदर्शनमा आउने चलचित्र ‘सफर’ को सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । आशिष श्रेष्ठद्वारा निर्देशित यो चलचित्रमा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोखरेल, नुरजा श्रेष्ठजस्ता नयाँ अनुहार हावी भए पनि चलचित्रले आफ्नो बजेट भने गोप्य राखेको छ । दसैंअघिको सबैभन्दा आकर्षक डेट अर्थात असोज २१ गतेका लागि हालसम्म जम्मा दुईवटा चलचित्र फ्लोरमा देखिन्छन् ।

 

छविराज ओझाको चलचित्र ‘किस्मत–२’ ले दसैंको पूर्वसन्ध्याको आकर्षक मिति छनोट गरेको छ । निर्माता ओझाले ‘किस्मत–२’ को बजेट त सार्वजनिक गरेका छैनन् तर चलचित्रको छायांकनमा गरिएको मेहनत देख्दा यसमा ६० लाख रुपैयाँभन्दा बढी नै लगानी भएको अनुमान गर्न सकिन्छ ।

 

दसैंपछि छठसम्म प्रदर्शन हुने चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको छैन, तर जात्रा, पुरानो डुंगा, पलास, द फेमस, द विनर, परदेशीको उमंग जस्ता चलचित्र तिहारको आसपासमा प्रदर्शनमा आउने अनुमान गरिन्छ । दसैंपछि र छठअघि प्रदर्शनमा आउने चलचित्रको लगानी ७ देखि १० करोड रुपैयाँसम्म हुनसक्छ ।

प्रकाशित :आश्विन ५, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्