सुवासित बिछोड

- नीरा शर्मा

आश्विन १, २०७३

 

बगरको तातो बालुवामा गडेका

आफ्नै पदचाप खोज्दै थिएँ ।

 

तिमी यसरी गयौ

जसरी

नजिकैबाट छोएर जान्छ बतास,

जसरी

घण्टौं बस कुरेर बसेको बेला

आफ्नै मान्छे

आफ्नै आँखा अगाडिबाट

हुइँकेर जान्छ मोटरसाइकलमा

र बिलाउँछ टाढा कतै

जसरी

हुत्तिन्छ मट्यांग्रो गुलेलीबाट

जसरी

हराउँछ सानो बालक मान्छेकै भीडमा 

जसरी खस्छन्

औंलाका कापहरूबाट

हत्केलाले थेग्न नसकेको

एक मुठ्ठी पानी

 

र जसरी

उडिजान्छ फूलबाट बास्ना

उसै गरी गयौ तिमी ।

म निर्मिमेष हेरिरहेँ

पर ....पर ... परसम्म पछ्याइरहेँ

तिमीले छोडेर गएको तिम्रो आकृति

र हराइरहेँ

तिमीले छरेर गएको

तिम्रो मगमगाउँदो सुवाससँग ।

प्रकाशित :आश्विन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्