सुम्निमाको सपनामा सरिता

- किशोर नेपाल

आश्विन १, २०७३-  

सामाजिक चेतना प्रसारणका लागि रंगमञ्च सशक्त माध्यम हो । यो कुनै नयाँ वक्तव्य होइन । नयाँ के हो भने, नेपाली रंगमञ्चमा सामाजिक चेतना फैलाउने नाटकहरूको अभियान एकपटक फेरि सक्रिय भएको छ । ‘ड्रामा विथ अ मेसेज’ अहिले यस्तो माध्यमका रूपमा विकसित हुँदैछ जसले रंगकर्मलाई पनि आर्थिक रूपले अलिकति सबल बनाउन खोजेको छ र चेतनाको प्रसारमा पनि राम्रो योगदान दिन सक्ने सम्भावना बढेको छ । 

 

नेपालमा नाटकको लोकप्रियता ‘सडक नाटक’ मार्फत बढेको हो । सडक नाटक देशमा राजनैतिक चेतनाको विस्तारका लागि कोसेढुंगो सावित भएको हो । यो अभियानमा नाट्यक्षेत्रका कलाकार मात्र होइन, सबैको सहभागिता थियो । कवि, लेखक, पत्रकार, बुद्धिजीवी, कर्मचारी सबै क्षेत्रका मानिसहरू सडक नाटक अभियानका अभियन्ताका रूपमा देखा परे । २०४६ सालको परिवर्तनसँगै सडक नाटकको राजनैतिक उद्देश्यको पहिलो अंक पूरा भयो । दोस्रो अंकमा, यो नाटक खासै प्रभावकारी देखिएन ।

 

केही गैर–सरकारी संस्थाले यो अभियानलाई निरन्तरता दिन मद्दत गरे पनि सडक नाटक व्यवसायिकताको भड्खालोमा पर्‍यो । निर्देशकहरूको व्यक्तिगत चाहना, सरकारी पक्षको राजनीतिसँग निर्देशकहरूको बढ्दो हिमचिम र भलाकुसारीले सडक नाटकलाई मात्र होइन, रंगमञ्चलाई नै अतिशय व्यवसायीकरण गर्‍यो ।

 

अब, तेस्रो अंकमा नाटक एकपटक फेरि चम्किन थालेको छ । नयाँ निर्देशकहरू, नयाँ कलाकारहरू नयाँ र मौलिक विषयका साथ नाट्य संसारमा देखा पर्न थालेका छन् । तुलनात्मक हिसाबले नाटकका दर्शक पनि बढेका छन् । थिएटरहरू खुलेका छन् र नाट्यकर्मीहरूको मनोबल बढेको छ । नाटकमा गैरसरकारी संस्थाको प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता पक्कै छ, तर प्रभाव न्यून छ । सामयिक घटनाक्रमहरूको नाट्य रूपान्तरण गर्ने चलन अगाडि आएको छ । 

 

मण्डला थिएटरको प्रस्तुति नाटक ‘बोक्सीको घर’ यसको एउटा महत्वपूर्ण उदाहरण हो । नेपालको मधेस–तराईमा महिलाहरूलाई बोक्सीको आरोप लगाएर यातना दिने चलन नयाँ होइन । पछिल्लो समयमा त्यस्तो चलनका विरुद्ध सञ्चार जगत्मा निरन्तर समाचारहरू आउन थालेका छन् भने नाट्यकर्मीहरूको ध्यान पनि त्यसतर्फ आकर्षित भएको छ । निश्चय नै यो सुखद पक्ष हो । ‘बोक्सीको घर’ – नाटकका रूपमा अभिनेतृ सरिता गिरीको एकल प्रस्तुति हो ।

 

२४ वर्षको तन्नेरीसँग आठ वर्षको उमेरमा विहे भएकी बालक पात्रको भूमिका पतिको मृत्युपछि ससुराले उसमाथि गरेको बलात्कार तथा त्योसँगै उसमाथि थोपरिएको बोक्सीको आरोप र त्योसँगै भएका पाशविक अत्याचारको कथालाई मुख्य पात्रका रूपमा सरिताले जसरी अभिव्यक्त गरेकी छिन् समीक्षकहरूले त्यसको प्रशंसा गरेका छन् ।

 

डेढ दशकअघि सुप्रसिद्ध लेखक तथा नाटककार विजय मल्लको नाटक ‘पत्थरको कथा’ बाट आफूलाई रंगमञ्चमा प्रस्तुत गरेकी सरिता दर्शकहरूले आफ्नो अभिनयप्रति देखाएको अभिरुचि एवं प्रशंसाबाट पुलकित भएकी थिइन् । उनले आफूले दर्शकहरूबाट पाएको प्रशंसा र मान्यतालाई अनमोल सम्पत्तिका रूपमा स्वीकार गरिन् । स्कूले जीवनमा मार्सल आर्ट खेलेर ब्ल्याक बेल्ट जितेकी सरितालाई यो कलाले निकै मद्दत गर्‍यो ।

 

नाटकमा अभिनयलाई मानिसहरू भावको खेलमात्र सम्झन्छन्, तर रंगमञ्चका कलाकारहरूका लागि आफ्नो अभिनय कला चम्काउन शारीरिक श्रम पनि त्यत्तिकै आवश्यक छ । सरिता भन्छिन्, ‘अभिनय भनेको डेढ सय क्विन्टलको भारी बोक्नुजस्तै हो । भारी बोक्दा शरीरले मात्र त्यसको अनुभव गर्छ । अभिनयमा मन र मस्तिष्क उत्तिकै स्ट्रेसमा हुन्छन् । ती सबै स्ट्रेसलाई झेलेपछि मात्र अभिनयमा निखार आउँछ ।’

 

जस्तो कि, अक्सर नाटक र सिनेमाहरूमा कलाकारहरू समान चरित्रमा देखा पर्छन्, सरिता अहिलेसम्म त्यस्तो कुनै समान भूमिकामा देखिएकी छैनन । उनी अभिनयका नयाँ–नयाँ सम्भावनाहरूलाई उधिन्न चाहन्छिन् । ‘अग्निको कथा’, ‘मिस मार्गरिता’, ‘ताराबाजी लैलै’ र ‘जात नसोध्नु जोगीको’ जस्ता नाटकमा अभिनय गरेर आफ्नो खुबीको प्रदर्शन गरिसकेकी सरिताले अभिनय गरेका नाटकको संख्या नै २ सय नाघिसकेको छ, तर अभिनयको प्यास मेटिएको छैन । 


सरिता उदार छिन्, नाटकमा पनि र जीवनमा पनि । अनुदारवादी, सौन्दर्य–श्रृंगार र स्वैर–कल्पनामा आधारित नाटकहरूभन्दा जीवन र जगत्का यथार्थवादी धरातलमा आधारित नाटकहरूमा अभिनय गर्न रुचाउँछिन् उनी । सामयिक चेतना जगाउन बोक्सीको घर सफल भएको अनुभव गरेकी छिन् उनले । ‘बोक्सीको घर’ र अहिले मिडियामा देखिने समाचारहरू निश्चय पनि सम्बन्धित थिएनन् ।

 

दर्शकहरूले पनि यसलाई नाटककै रूपमा लिए । बोक्सीको घरलाई मूलधारका मिडियाले थिमका रूपमा त्यति उठाएनन् कि ? यो मेरो आशंका हो । ड्रामा र मिडियाको राम्रो मिश्रण भएको भए यो नाटक अझ प्रभावकारी हुने थियो,’ यस्तै सोच्छिन् सरिता ।सुम्निमाको अभिनयमा रमाउने मन छ सरितालाई । भ्रमर चुम्बनमा नै झर्ने शिरीषको फूलकी साकम्बरी अर्की पात्र हुुन् जसको जीवनलाई उनी अभिनयमा उतार्न चाहन्छिन् । उनी रोमान्टिक अभिनय गर्न चाहन्छिन् । उमेरको एक हद नाघेका पात्रहरूको जीवनको पुनरावृत्ति उनको खोजी हो । 

 

नाटक र सिनेमालाई निर्देशकको कला भनिन्छ । यो मान्यता परम्परागत भए पनि यसको वैकल्पिक मान्यता मूलधारका नाटक र सिनेमा दुवै विधामा स्थापित भएको छैन । सरिता स्पष्ट भन्छिन्, ‘नेपाली रंगमञ्चमा देखिएका धेरैजसो निर्देशक ‘रहर’ मात्र भएका छन् । उनीहरूमा दृष्टिकोणको विकास भएको छैन । कति निर्देशक पात्रले बोल्नुपर्ने ठाउँमा आफैं वकवक गरिरहेका हुन्छन् । संगतिको अभाव छ उनीहरूमा । हिजो र आजको दौरानमा, नाटकमा पात्रको भूमिका र त्यसको महत्व बुझ्ने एकमात्र निर्देशक सुनिल पोखरेल हुन् । सुनिलमा दृष्टिकोण छ । उनले नाट्यकला र रंगमञ्चलाई ह्दयदेखि नै भोगेका छन्, बाँचेका छन् र सुमसुम्याएका छन् । अनुप बराल, अशान्त, सुलक्षण भारती, राजन खतिवडा, घिमिरे युवराज, विमल, पशुपति राई र सिर्जना सुब्बा उत्कृष्ट निर्देशकका रूपमा प्रभावशाली छन् ।’

 

नेपालमा रंगमञ्चहरू सीमित छन् । साँघुरा छन् । अहिले चलेका थिएटरहरूको भविष्य स्थिर र सुनिश्चित छैन । रंगमञ्चका रूपमा सर्वनामलाई छाडेर अरू कुनै पनि थिएटरको स्थायित्वका बारेमा यसै भन्न सकिने स्थिति छैन । नाट्यकर्मीको हुटहुटी र हिम्मतले मात्र धानेका नाट्य प्रतिष्ठानहरूको अस्थिरता भनेको नाट्यकमीहरूले मानसिक रूपमा अहिले भोगिरहेको अस्थिरता हो । सरिता भन्छिन्, ‘यही अवस्था कायम रहने हो भने थिएटर कोल्याप्स हुने भय छ ।’


‘हो, हाम्रा थिएटरहरू साना छन् । साना थिएटरमा काम गरिरहेका हामी ठूला थिएटरका ठूला फ्रेममा हराउँदा रहेछौं । भव्य सेटिङमा काम गर्ने अभ्यास बढाउनु जरुरी छ हामीले, तर खोइ हामीसँग ठूलो थिएटर ?’ सरिताको प्रश्नको जवाफ कसले दिने ? ‘नयाँ छिमलका नाट्य कलाकारहरू समर्पित छन्, तर नाटकमा समर्पण मात्र पर्याप्त हुँदैन । यसमा अनुशासन र दृष्टिकोण दुवै चाहिन्छ । यो विधा र अरू कुनै पनि विधामा सिनियरहरूप्रति सम्मान आवश्यक हुन्छ । अहिले ड्रामाको राम्रो स्कुलिङ नभएकाले यस्तो भएको हो । हामी त ‘आरोहण’ गुरुकुलका प्रडक्ट हौं । दुई वर्ष हामीले कस्सिएर पढयौं ड्रामा । हाम्रो स्कुलिङ राम्रो भयो । संस्कार बन्यो । संस्कृतिलाई बुझ्यौं । अहिले त्यसकै अभाव छ,’ सरिता स्पष्ट शब्दमा भन्छिन् ।

 

हालै शिल्पि थिएटरमा मञ्चित नाटक माधवीमा अर्चना पन्थीको अभिनय उत्कृष्ट रहेकोमा सरिता खुसी छिन् । भन्छिन्, ‘अर्चना सम्भावनायुक्त कलाकार हुन् । उनीभित्रको प्रतिभालाई नाटकका निर्देशकले पूरै बाहिर ल्याउन सकेनन् । माधवीको अभिनयको टाइमलाइनमा उनी चुकेका छन् ।’ जीवनको विचित्रता देखेर सरितालाई रमाइलो लाग्छ । समाजमा कहिलेकाहीं आफ्नो यथार्थ अवस्था पनि अभिनयकै रूपमा हेरिन्छ । कहिले अभिनयलाई नै यथार्थ मानिन्छ । बडो अप्ठेरो छ जीवन । 

प्रकाशित :आश्विन १, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्