Teej banner

ओस्कारमा कालो पोथी

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७३

 

ओस्कार एवार्ड–२०१७ मा नेपालको प्रतिनिधित्व चलचित्र ‘कालो पोथी’ ले गर्ने भएको छ । एकेडेमी अफ मोसन पिक्चर आटर्स एन्ड साइन्सेसद्वारा सन् २०१७ मा घोषणा गरिने ८९ औं ओस्कर एवार्डका लागि विदेशी भाषी चलचित्र जाँचपास समितिले ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ तथा ‘को आफ्नो’ मध्ये कालो पोथीलाई छनौट गरेको हो । कालो पोथीले यसअघि विदेशमा सम्पन्न विभिन्न एवार्ड समारोहमा पुरस्कार जितिसकेको छ ।

 

नायक/नायिका सम्मानित

चितवन जिल्लामा जन्मिएर कलाक्षेत्रमा सक्रिय नायक सरोज खनाल तथा नायिका ऋचासिंह ठकुरीलाई सम्मान गरिएको छ भने पत्रकारिताको क्षेत्रबाट समाज परिवर्तनमा भूमिका खेलेको भन्दै साप्ताहिककर्मी विमल खतिवडा पनि सम्मानित भएका छन् । ग्रेट एफएमले तीजको अवसरमा उनीहरूलाई सम्मान–पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 

चीन पुगे निरक 

निर्देशक निरक पौडेल चीन सरकारको निमन्त्रणामा चीनको राजधानी बेइनिजङमा आयोजित चलचित्र निर्देशकहरूको सेमिनारमा सहभागी हुन चीन पुगेका छन् । सेमिनारमा चीन, केन्या, श्रीलंका, नेपालसहित २० देशका निर्देशकहरूबीच इन्टरनेसनल मिडिया वर्कसप, प्रोड्युसर अफ डकुमेन्ट्री एन्ड क्रस कल्चर कम्युनिकेसन, मल्टिनेसनल को–अपरेसन, मल्टिमिडिया इन्ट्रिग्रेसन एन्ड कोलाब्रेसन इन फिल्म इन्डस्ट्रीजस्ता शीर्षकमा छलफल हुने बताइएको छ ।

विकास बोर्डको छापा

चलचित्र विकास बोर्डको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार राजधानीको नयाँ बसपार्क, सामाखुसी तथा गंगबु क्षेत्रमा छापा मारी चलचित्रजन्य वस्तुको पाइरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूले अनाधिकृत रूपमा चलचित्रजन्य वस्तुको पाइरेसी गरेको प्रहरीको दाबी छ । 

दुबईमा नेफ्टा

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले आइतबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नवौं नेफ्टा एवार्डको आधिकारिक लोगो सार्वजनिक गरियो । यसपटकको नेफ्टा एवार्ड आगामी पुस ८ गते (डिसेम्बर २३) दुबईमा सम्पन्न हुनेछ । एवार्डका लागि नेफ्टाले यसपटक स्पेक्ट्रम एड्भरटाइजिङ एन्ड मिडिया कन्सल्टेन्ट तथा कन्सेप्ट भिजन फिल्म प्रोडक्सन एवं वितरक कम्पनीसँग सहकार्य गर्ने भएको छ । 

अफ्रिकन चलचित्र महोत्सव 

नेपाल–अफ्रिका फिल्म फेस्टिबलमा सहभागी हुन एक दर्जन अफ्रिकी चलचित्रकर्मी काठमाडौं आइपुगेका छन् । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले आयोजना गर्ने यो महोत्सव कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सञ्चालन हुनेछ । महोत्सवमा नेपालसहित विभिन्न नौ देशका चलचित्र प्रदर्शन गरिनेछन् । 

 

प्रकाशित :भाद्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्