सुगमकी गायिका छोरी

- साप्ताहिक संवाददाता

भाद्र ३०, २०७३-सुगमकी गायिका छोरी : गायक सुगम पोखरेलकी १० वर्षीया छोरी एञ्जेलिजा बुवाकै बाटोमा अघि बढेकी छिन् । यसैसाता एञ्जेलिजाले बुवाकै शब्द तथा संगीतको ‘मलाई उड्न देऊ...’ शीर्षकको गीत रेकर्ड गराइन् । छोरीलाई अध्ययनसहित हरेक कुरामा स्वतन्त्रता दिनुपर्छ भन्ने सन्देश बोकेको यो गीत सुगमले केही वर्षअघि नै छोरीकै लागि भनेर कम्पोज गरेका थिए । गायक तथा संगीतकार सनुप पौडेलकी सांगीतिक विद्यार्थी एञ्जेलिजाले सोही दिन गायक कमल के क्षेत्रीको दसैं–तिहार गीतमा पनि स्वर प्रदान गरिन् । 

बलरामको एकल 

गायक तथा संगीतकार बलराम राजवंशी शनिबार काठमाडौंमा पहिलो एकल गायन कार्यक्रममा प्रस्तुत भए । ‘बलराम राजवंशी एकल साँझ’ शीर्षकको उक्त कार्यक्रममार्फत गायक राजवंशीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरे । एकल गायन कार्यक्रममा गायक राजवंशीलाई क्रोमाटिक ब्यान्डले वाद्यवादनमा साथ दिएको थियो । 

 

विवादमा फन्टास्टिक

युवापुस्तामा अत्यन्त लोकप्रिय गीत ‘फन्टास्टिक’ को म्युजिक भिडियोलाई युट्युबले हटाइदिएको छ । अल्मोडा राना उप्रेतीको स्वर, संगीत तथा शब्दको उक्त गीतमाथि प्रतिलिपि अधिकार हनन भएको उजुरी परेपछि युट्यूब उक्त कदम चाल्न बाध्य भएको बताइन्छ । उक्त गीतमा मन श्रेष्ठले कम्पोजिसनका आधारमा प्रतिलिपि अधिकार दाबी गरेका थिए । युट्यूबमा अहिले उक्त गीतको कभर तथा लिरिकल भर्सन मात्र उपलब्ध छ । अल्मोडाले ‘पानी पर्‍यो’ लोकधुन भएकाले यो कसैको व्यक्तिगत सम्पत्ति नभएको बताउँदै पब्लिसिटीका लागि यस्तो स्टन्ट गरिएको दाबी गरेका छन् । 

अस्ट्रेलियाबाट

अस्ट्रेलियामा बसोबास गर्ने संगीतकार टीका दाहाल तथा गायिका अबुन पाण्डे त्यहाँका सांगीतिक कार्यक्रमहरूमा सहभागी भैरहन्छन् । उनीहरूको जोडीले दुई दर्जनभन्दा बढी गीत रेकर्ड गराइसकेको छ । उनीहरूको सहकार्यमा अस्ट्ेरलियाबाटै नेपाली गीतहरूको एकल एल्बम सार्वजनिक हुने तयारीमा छ । 

प्रकाशित :भाद्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्