यौन स्पर्श कसरी प्राप्त गर्ने ?

- डा सुमनराज ताम्राकार

भाद्र ३०, २०७३-  

मानव जीवनमा स्पर्शको आफ्नै महत्व छ । आफ्नो यौन भावना प्रकट गर्न र यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको विशेष महत्त्व एवं योगदान हुन्छ । पुरुष र महिला दुवैको शरीरका यौनाङ्गमा मात्र नभै शरीरभरि नै यौन संवेदनशील क्षेत्रहरू छन् । तिनीहरूको स्पर्श एवं घर्षण मात्र पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ ।वरिपरिको वातावरण तथा मानवीय सम्बन्ध विचार गरेर मात्र यौन स्पर्श गर्न सकिन्छ । स्नेहपूर्ण स्पर्श सर्वदा स्वीकार्य भए पनि यौन स्पर्श चाहिँ यौन साथी वा दम्पतीबीच मात्र हुनसक्छ । यौनिक हिसाबले दृश्य, गन्ध वा ध्वनिको आफ्नै महत्व भए पनि जोसुकैलाई यौन परिकल्पना वा यौन परिदृश्यपछि वास्तविक स्पर्श गर्न पाए कस्तो हुने थियो होला भन्ने भोक जाग्छ । यौन प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि लिङ्गबीचको मिलन वा घर्षण हो । जुन यौनाङ्ग बीचको स्पर्शको पृथक् रूप हो ।

 

यस अर्थमा स्पर्शबिना चरम सन्तुष्टि अर्थात् अर्गाज्म प्राप्त गर्न असम्भव प्राय: छ । यौनाङ्ग बीचको घर्षण (स्पर्श) बाहेक अँगालो मार्नु, सुमसुम्याउनु, चुम्बन गर्नु, दबाउनु, हल्का चिमोट्नु, कान टोक्नु, औंला टोक्नु सबै यौन स्पर्शका रूप हुन् । धेरैजसो यौन दुव्र्यवहार वा यौन हिंसामा पनि स्पर्शकै भूमिका हुन्छ । सार्वजनिक स्थानमा तथा अपरिचित एवं नातेदारका यौन संवेदनशील अङ्गहरूको स्पर्श सामाजिक दृष्टिले वर्जित छ, तर पनि कतिपय पुरुष सार्वजनिक यातायातमा विशेषत: बाह्य घर्षण (स्पर्श) कै माध्यमबाट क्षणिक यौन आनन्द लिने लालसा राख्छन् ।


विशेष खालको कपडा तथा यौन खेलौनाको माध्यमबाट यौन आनन्द लिँदा पनि स्पर्शकै भूमिका हुन्छ । सफल यौन जीवनका लागि स्पर्श (घर्षण) को महत्व थाहा पाउनुका अतिरिक्त यसको गलत प्रयोगबाट निस्कने परिणामसम्बन्धी जानकारीसमेत राख्नु बुद्धिमानी हुन्छ ।


आकर्षणको केन्द्र
जीव विज्ञानअनुसार महिला तथा पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक पैदा गर्ने गुणहरू हुन्छन् । यसैकारण पनि विशेषत: किशोरावस्थामा पुगेपछि विपरीत लिङ्गीप्रति आकर्षित हुन थालिन्छ । यस्तैमा पुरुष तथा महिलाका लागि यौन आकर्षणका आ–आफ्नै अङ्ग वा अपेक्षा हुन्छन् ।


पुरुषहरू महिलाको शरीरको गोलाइप्रति आकर्षित हुन्छन् । उनीहरू अनुहार, वक्षस्थल, काँध, नाइटो, कम्मर, पिँठ्यूका साथै ओंठ, गाला, आँखा, बोली तथा पहिरनबाट पनि आकर्षित हुन्छन् । महिलाहरूलाई भने पुरुषको बलिष्ठ तथा सुगठित शरीर, चौडा छाती, सानो पुट्ठा, सुलुत्त परेको पेट, छातीको तथा नाइटो मुनिको रौं यौन आकर्षक लाग्छ । पुरुषको ओठ, आँखा पनि आकर्षक नै मानिन्छ ।

पोर्नोग्राफीबाट परिचित महिलाले आफ्नो भावी पुरुष पार्टनरको लिङ्ग ठूलो र लामो होस् भन्ने कामना गर्न सक्छन् । सारांशमा महिलालाई पुरुषको व्यक्तित्वले लट्ठ पर्छ । यद्यपि व्यक्तिविशेषको दृष्टिकोणले गर्दा कसैलाई के, कसैलाई के आकर्षक लाग्छ भने एउटा व्यक्तिलाई आकर्षक लागेको व्यक्ति वा अङ्ग अर्कोलाई अनाकर्षक लाग्न सक्छ । त्यसैले यो पनि सापेक्षिक विषय हो ।

प्रकाशित :भाद्र ३०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्