साडीको बदलिँदो रूप

- युवराज गौतम

भाद्र २९, २०७३- 

साडी नेपाली मात्र होइन, दक्षिण एसियाकै महिलाहरूको सदावहार पहिरन हो । साडीलाई महिलाहरूको महत्वपूर्ण पहिरन मानिन्छ । नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोसाकका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी नारीका लागि परम्परा धान्न पनि साडी अनिवार्य छ ।

 

बिहेबारी, चाडपर्व, पार्टी, पारिवारिक जमघट आदिमा साडी अनिवार्य मानिन्छ । हिन्दू नारीहरू साउन महिनामा हरियो तथा तीज र दसैंमा रातो साडीलाई प्राथमिकता दिन्छन् । बार्‍ह हाते साडी र ब्लाउजमा सजिनुको आनन्द नै अर्कै छ । कुर्ता, सलवार तथा पाइन्टभन्दा साडीको इज्जत बढी छ । चाडपर्वमा साडीको महत्व बढी हुन्छ । कुनै बेलाको ट्ेरडिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्याम्मरस बन्न थालेको छ । आधुनिकतासँगै साडीको लुक र स्टाइल पनि परिवर्तन हुँदै गएको छ ।

 

बारुले कम्मरमा आकर्षक मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्युँ खुला भएको ब्लाउज नलगाए साडीको गरिमा नै घटेजस्तो थालेको छ । साडी लगाउँदा नाभी र पिठ्युँ नदेखिए महिलालाई ‘पुरानो पाराकी’ भन्न थालिएको छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीका कारण महिलाहरू सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । साडीकी सौखिन बौद्ध, काठमाडौंकी फेन्सी व्यवसायी नीता अधिकारी बजारमा नयाँ फेसनका रूपमा भित्रिएका साडी नबिराई किन्छिन् । ‘नयाँ साडीमा सजिएर मन्दिर जान मात्र नभै चाडबाडमा आफन्तहरूकहाँ जान पनि सजिलो लाग्छ,’ उनले भनिन् । नेपालमा साडीको फेसनले बृहत् रूप लिँदै गएको नीताको बुझाइ छ । 

 

कस्ता–कस्ता साडी ?

जब टेलिभिजन तथा चलचित्र रंगीन भए त्यसपछि साडीको फेसनले एउटा नयाँ रूपप्राप्त गर्‍यो । हिजोआज ट्ेरडिसनल साडी पनि विकिनी ब्लाउजमाथि लगाए बोल्ड र ग्लाम्मरस देखिन्छ । नेट जालीदार तथा हलुका साडीका साथै बनारसी साडी नेपाली महिलाहरूको रोजाइमा पर्छ । त्यसबाहेक सिल्क, सिफन, नेट, लेहंगा, जर्जेट साडी पनि नेपाली महिलाहरूको छनौटमा पर्छन् । प्रिन्टेड लेस, नेट बोर्डर, जर्जेट सिमर आदि फेब्रिकमा फिक्स साडी पनि धेरैले रुचाउँछन् ।

 

 न्युरोडस्थित काष्ठमण्डप साडी सेन्टरका दिपेश डंगोल भन्छन्, ‘फिक्स साडी धेरैको रोजाइमा पर्छ किनभने यो साडीमा मुजा पनि फिक्स नै हुन्छ त्यसैले लगाउने र समात्ने झन्झटबाट मुक्ति पाइन्छ ।’ हिजोआज साडी लगाउने पुस्ता पनि एकदमै चुजी छ । सबैको रोजाइ फरक–फरक हुन्छ । यद्यपि रातो, हरियो, गोल्डेन, रानी, ओरेञ्ज तथा पर्पल रंगका साडी धेरैको रोजाइमा पर्छन् । ब्लाउज पनि थरीथरीका छन् जसमध्ये क्रेप सिल्क, समर भेल्भेट, जर्जेट तथा फूलकारी धेरैको छनौटमा पर्छ । 

कहाँ जाँदा कस्तो साडी ?

साडी जहाँ मन लाग्यो त्यहीं लगाएर जाने पोसाक होइन । डान्सपार्टी वा डेटिङमा जाँदा साडी लगाउने कुरै आउँदैन । विवाह, व्रतबन्धका भोज तथा भेटघाट, चाडबाड आदिमा साडीको रूपरंग तथा लगाउने तौरतरिकाले व्यक्तित्व निर्धारण गर्छ । त्यसैले यसमा सजग रहनु पर्ने सल्लाह फेसन डिजाइनर तथा कोरियोग्राफरहरूले दिँदै आएका छन् ।

 

यतिबेला चाडबाडको मौसम भएकाले साडी लगाउँदा रंग तथा डिजाइन छनौटमा विशेष ध्यान पुर्‍याउनुपर्छ । तीज तथा दसैंमा रातो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ । विभिन्न कलर कम्बिनेसन गरेर साडी तयार पार्ने चलन बढ्दो छ । तीजमा व्रत बस्नुपर्ने भएकाले यसमा केही सजगता अपनाउनुपर्छ । 

दिनभरि भोकै बसेर घाम–पानी नभनी पूजापाठ एवं नाचगान गरिने भएकाले धेरै हेभी साडी लगाउन हुँदैन । अहिले साडीमा हाफ इम्ब्रोइडरी तथाी हाफ प्याचको चलन बढ्दो छ । महिलाहरूको हाइट र कम्प्लेक्सअनुरूप प्याचको कलर एवं डिजाइन निर्धारण गर्नुपर्छ । रातो साडीमा सिल्भर भेल्भेट प्याच वर्क, रेडमा प्यारोट ग्रिन तथा ओरेञ्जको कम्बिनेस उपयुक्त मानिन्छ । विवाह तथा भेटघाटमा पनि साडी लगाउने कुरामा विशेष ध्यान दिनुपर्छ ।

 

चाडबाडमा लाइट पिंक, ग्रिनको एल्लो सेड, लेमन ग्रिन, पिच, डार्क पर्पल, रानी, रोयल ब्लु आदि कलरलाई रातोमा मिक्स गरिएको साडी लगाउन सकिन्छ । रातो साडीमा फरक कलरमा हेभी वर्क गरिएको ब्लाउज अझ बढी खुल्छ । रातोमा हरियो, गोल्डेन, ओरेञ्ज, एल्लो, पर्पल, ब्लु, अफ ह्वाइट जुनसुकै कलर त्यत्तिकै सुहाउने भएकाले रातो साडीमा आफूलाई मन परेको कलर एवं फेब्रिक प्रयोग गरी डिजाइनर लुक्स दिन सकिन्छ । पार्टी वा विशेष कार्यक्रमहरूमा नीलो तथा कलेजी रंगको साडी प्रयोग गर्न सकिन्छ । 

 

मूल्य थरीथरीका 

नेपालमा धेरैजसो साडी भारतबाट आयात गरिन्छ । नेपालमा जापान र बंगलादेशबाट पनि साडी आउँछन्, तर त्यहाँका साडी नेपालमा डिजाइन चेन्ज गरेर बिक्री गरिन्छ । मोती, सितारा, पोते, पत्थर भरेर साडीलाई नयाँ डिजाइन दिइन्छ । डिजाइनअनुसार यसको मूल्य फरक–फरक हुन्छ । नेपालमा चाडबाडको समयमा ५ हजारदेखि ५० हजारसम्मका साडी बढी बिक्री हुने व्यवसायीहरू बताउँछन् । 

बजारमा जर्जेट, नेट, भेल्भेट तथा फ्रेञ्च सिफनका भरेका साडीको माग पनि उत्तिकै छ । सिफन तथा नेटमा पाइने यस्ता साडीको मूल्य ८ हजारदेखि ३५ हजारसम्म पर्छ । नेटको साडी भने सिफनभन्दा दोब्बर महँगो हुन्छ । नेटको साडी ६ हजारदेखि ५० हजार रुपैयाँसम्ममा आउँछ । जर्जेट तथा टिसुको मूल्य ५ हजारदेखि ४५ हजार 

रुपैयाँसम्म पर्छ ।  

नायिका, रेखा थापा 

साडी मलाई सबैभन्दा मन पर्ने पहिरन हो । म विशेष अवसरहरूमा साडी नै लगाउँछु । साडी आफैंमा ग्ल्यामरस पहिरन भएकाले पनि यसप्रति मेरो आकर्षण जोडिएको हो । मेरो नजरमा साडी सबै वर्ग र उमेरका महिलाहरूका लागि उत्कृष्ट पहिरन हो । साडीले नारीलाई पूर्णता दिने भएकाले पनि अरू पहिरनसँग यसको तुलना हुन सक्दैन । जब म टिनएजमा थिएँ त्यतिबेला साडी कसरी लगाउनुपर्छ भन्ने खुल्दुली हुन्थ्यो ।

 

जब मैले साडीको महत्त्व थाहा पाएँ, साडी लगाउन सिकें त्यसपछि मलाई के लाग्यो भने महिलाहरूका लागि सबैभन्दा उत्कृष्ट र आकर्षक पहिरन भनेकै साडी हो । अन्य पहिरन जतिसुकै ग्ल्यामरस र आकर्षक भनिए पनि ती पहिरनले साडीको ग्ल्यामरलाई चुनौती दिने हैसियत राख्दैनन् । कम्मर तथा नाभी क्षेत्रको आकर्षणलाई राम्रोसँग झल्काउने भएकाले पनि साडीको सेक्सीनेससँग अरू पहिरनले प्रतिस्पर्धा गर्न सक्छन् जस्तो लाग्दैन । 

 

डिजाइनर सरिता महर्जन, स्टाइलिस्ट बुटिक, कुपन्डोल समयसँगै साडीको फेसनमा समेत निकै परिवर्तन आइसकेको छ । साडीको फेसनमा विविधता पाइन्छ । आधुनिक डिजाइनले साडीको दायरालाई फराकिलो बनाएको छ । साडीको फेसनमा अहिले जोइन्ट साडी पहिलो नम्बरमा छ । सिफन तथा जर्जेटमा तयार गरिने यो साडी विवाहित तथा अविवाहित दुवै वर्गप्रति लक्षित छ । सिफनको साडीलाई दुई फरक रंगमा कम्बिनेसन गरेर पनि डिजाइन गरिन्छ । दुई फरक रंग प्रयोग गर्दा प्राय: सादा सिफनलाई फरक–फरक तरिकाले रंग्याइन्छ । यसबाहेक विभिन्न रंगको कम्बिनेसन गरेर जोइन्ट साडी तयार गर्न पनि हाम्रा डिजाइनरहरू खप्पिस छन् ।

 

कलर कम्बिनेसन मिलाइएका जोइन्ट साडीमा बोर्डर राखेर वा सादा लेसमा डिजाइन गर्ने चलन पनि अहिले लोकप्रिय छ । यस्तो साडीको लेयरमा एउटा रंग हुन्छ भने सप्कोमा अर्कै रंग हुन्छ । यसरी फरक–फरक रंगमा डिजाइन गरिएका जोइन्ट साडीलाई कतिपय अवस्थामा स्टिचसमेत गर्नुपर्छ । यस्तो साडी पार्टी वा अन्य कुनै अवसरमा लगाउन आरामदायक तथा आकर्षक मानिन्छ । जोइन्ट साडी फेसनमा आउनुको कारण लगाउन कम समय लाग्नु तथा यसले लेहेंगा र साडी दुवैको काम गर्नुनै हो । 

प्रकाशित :भाद्र २९, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्