आफ्नो वरिपरि मुस्कुराइरहने मानिसहरु हेर्न चाहन्छु

- कृष्ण भट्टराई, अश्विनी कोइराला

भाद्र २८, २०७३

 

शत्रुघ्न सिन्हा, अभिनेता

शत्रुघ्न सिन्हा हिन्दी चलचित्रका स्थापित अभिनेता हुन् । कुनै बेला अमिताभ बच्चन नायक र शत्रुघ्न सिन्हा सहनायक भएका हिन्दी चलचित्र सबैभन्दा बिकाउ मानिन्थे । उनका विश्वनाथ, कालीचरण, कालापत्थर, नसिब, दोस्ताना आदि चलचित्र सुरपहिट मानिन्छन् । चलचित्र विश्वनाथमा उनको थेगो खामोस हिन्दी चलचित्रकै सदावहार थेगो मानिन्छ ।

करिब २ सय चलचित्रमा काम गरेका शत्रुघ्न एक दशकयता भारतीय जनता पार्टीको राजनीतिमा संलग्न छन् । बिहारको राजधानी पटनाबाट भारतीय संसदको तल्लो सदनमा पटक–पटक निर्वाचित सिन्हा भारतको केन्द्रीय मन्त्री रहिसकेका छन् । उनका दुई छोरा लव–कुश हिन्दी चलचित्रमै सक्रिय छन् भने छोरी सोनाक्षी हिन्दी चलचित्रकी चर्चित नायिका हुन् ।

 

सिजी फिल्म एवार्ड वितरणका क्रममा प्रमुख अतिथिको हैसियतले काठमाडौं आएका सिन्हासँग साप्ताहिकका लागि कृष्ण भट्टराई तथा अश्विनी कोइरालाले होटल सोल्टीमा करिब ५५ मिनेट लामो कुराकानी गरेका थिए :

मुम्बई घुम्न जाँदा हामी तपाईंको घर हेर्न गएका थियौं । तपाईंको घरको बाहिर रामायण लेखिएको थियो, किन होला ?

त्यो घर मात्र होइन, पूरा रामायण त्यसभित्र छ । मेरो बायोग्राफी पढ्नुहोस्, त्यसमा सबै कुरा लेखिएको छ । मैले रहरले त्यो नाम राखेको होइन, मेरो जीवनमा रामायण दोहोरिएको छ । त्यही कारणले त्यो हवेलीको नाम रामायण राखिएको हो । त्यो नाम मेरो बुवाले नै राखिदिनुभएको हो । 

रामायण कसरी दोहोरियो ?

अयोध्याका राजा दशरथका कति जना छोरा ? चार जना होइन ? । नाम ? उही त हो नि, राम, लक्ष्मण, भरत र शत्रुघ्न । हो, मेरो बुवा भुवनेश्वरप्रसाद सिन्हाका पनि चार जना छोरा, जसको नाम बुवाले राम, लक्ष्मण, भरत र शत्रुघ्न राख्नुभयो । म त्यही रामायणको कान्छो छोरा हुँ ।

 

जब म युवा थिएँ, त्यतिबेला मैले एउटी युवती भेटेँ, उनको नाम पुनम थियो । उनको र मेरो विवाह हुन पूरै १४ वर्ष लाग्यो । रामायणमा वनवास भयो, यहाँ लभवास भयो । त्यति मात्र होइन, मेरो पहिलो सन्तान एउटा होइन, दुईवटा जन्मिए, अनि मैले नाम राखेँ– लव–कुश । अब भन्नुहोस् पूरा रामायणको कथा मेरो घरमा आएन त ? (लामो हाँसो) 

सोनाक्षी निकै चर्चित नायिका भैसकेकी छिन् तर लव–कुशको नाम उति सुनिदैन, किन होला ?

नेपाल अग्लो ठाउँमा छ, पहाड छ, त्यही भएर खबर आउन ढिला भएको होला (हाँसो) । लव चलचित्र नायकका रूपमा आउँदैछन् । उनी निकै राम्रो अभियन गर्छन्, मान्छे पनि ह्याण्डसम छन्् । कुशचाहिँ निर्देशनमा रुचि राख्छन् । तपाईंहरूले चाँडै लव–कुशलाई पनि बलिउडमा जमेको हेर्न पाउनुु हुनेछ ।

तर, उनीहरूभन्दा ७ वर्ष कान्छी सोनाक्षीले बलिउडमा हंगामा मच्चाइ सकिन् । तपाईंको यति ठूलो नाम हुँदा पनि सोनाक्षीका पिताका नामले चिनिन थाल्नुभएको छ, कस्तो लाग्छ ?

सोनाक्षीलाई भगवान् रामको कृपा प्राप्त छ । उनी चाँडै लोकप्रिय भइन् । उनका दाजुहरूको पनि समय आउला । जहाँसम्म सोनाक्षीको पिता भएका नाताले म चिनिन थालेको छु भन्ने कुरा छ, यसमा मलाई गौरव छ । हेर्नुहोस् कुरा के छ भने कुनै बेला अमिताभलाई महान् कवि डा. हरिवंश राय बच्चनको छोराका रूपमा चिनिन्थ्यो ।

 उनको इज्जत उनको बुवाको नामका कारण थियो तर पछि यस्तो समय आयो कि, डा. बच्चन जस्तो व्यक्तित्वले पनि आफ्नो छोराको नामबाट चिनिनुपर्‍यो । एकपल्ट डा. बच्चनले कुनै अन्तर्वार्तामा भन्नुभएको थियो– एउटा मान्छेले कति गरेर गयो भनेर उसको योगदान मात्र हेरिँदैन, उसका सन्तान कस्ता भए भन्ने पनि हेरिन्छ । उहाँ अमिताभ बच्चनको प्रगतिमा निकै खुसी हुनुहुन्थ्यो । म जब सोनाक्षीको लोकप्रियता र सफलता देख्छु, मलाई डा. बच्चनको त्यही कुरा सम्झना आउँछ । 

सोनाक्षी नेपाल आउँदा हामीले उनलाई भेटेका थियौं । आज तपाईं पनि आउनुभयो, यो संयोग हो कि नेपालप्रति तपाईंहरूको मोह ?

ओहो, नेपालबाट फर्किएको दुई–तीनसम्म सोनाक्षीले यहाँको मात्र कुरा गरिरहिन् । भन्दै थिइन्, पापा, नेपालमा हामीलाई त्यहाँको सेनाले सुरक्षा दिएको थियो । त्यति ठूलो भीड त मैले भारतमा पनि फेस गरेकी थिइन् । त्यहाँ मेरा त्यति धेरै फ्यान रहेछन् ।

 

ऊ नेपाल धेरै राम्रो रहेछ भनेर कुरा गरिरहेकी थिई । मैले भने, बेटा, तिमी त भर्खरै पुग्यौ, म त आँधी–तुफानको सुटिङको बेलादेखि नै त्यहाँ गैरहेको छु । त्यसपछि उनले नेपालका बारेमा धेरै सोधी–खोजी गरिन् । 

 

नेपालसँग गाँसिएको कुरा कसरी सम्झनुहुन्छ ? 

म पटनामा जन्मिएँ, त्यही हुर्किएँ । पटना नेपालबाट नजिकै भएकाले होला मैले नेपालका सम्बन्धमा धेरै कुरा सुनेको थिएँ । मैले उहिले नै यहाँका मानिस मिलनसार, बहादुर र मेहनती छन् भन्ने कुरा थाहा पाएको थिएँ । हाम्रो घरका धेरै सहयोगीहरू नेपाली नै छन् । म सुटिङमा नेपाल आउन थालेको पनि धेरै भयो ।

 

नेपालसँग मेरो मुटुको नाता छ । यो मैले मुखले तपाईंहरूलाई खुसी बनाउन भनेको होइन । म धेरै तरिकाले नेपालसँग जोडिएको छु । अनि अर्को कुरा गोर्खा रेजिमेन्ट्का कारण नेपालीहरूको पहिचान विश्वभर वीर योद्धाका रूपमा जोडिएको छ । त्यसले गज्जबको फिल दिन्छ मलाई । मैले नेपालीहरूको संगत गर्दा पाएको एउटा कुरा के भने उनीहरू वचनका पक्का हुन्छन् । उनीहरूले वचन दिएपछि त्यसलाई निर्वाह गरेको पाएको छु । 

 

नेपालको प्राकृतिक सम्पदामा तपाईंका धेरै चलचित्र सुटिङ भएका छन् । त्यतिबेलाको काठमाडौं र अहिलेको काठमाडौंमा के भिन्नता पाउनु हुन्छ ?

उस्तै सुन्दर छ । त्यतिबेला धेरैजसो फिल्म भक्तपुरमा सुटिङ हुन्थ्यो । काठमाडौंको यति नजिक त्यस्तो प्राचीन सहर देख्दा नै हामीलाई अचम्म लाग्थ्यो ।

 

अहिले पनि काठमाडौं र भक्तपुरका प्राचीन स्मारक उस्तै छन् । यसरी पुराना धरोहर बचाउन सक्नु चानचुने कुरा होइन, तर अहिले म काठमाडौं आउँदा धेरै प्रहरीले मुखमा मास्क लगाएको देखेँ । यहाँका युवतीहरू साह्रै सुन्दर छन् उनीहरूले पनि मास्क लगाएर मुख छोपेको देख्दा मेरो मायालु मन उदास भयो । अलिकति पोलुसनचाहिँ बढेकै हो । 

अर्को कुरा, पशुपतिनाथ मेरा प्रिय देवता हुन् । अघिल्लो वर्षको नयाँ वर्ष मैले काठमाडौंमै मनाएको थिएँ । त्यतिबेला हामी परिवारसहित (सोनाक्षी बाहेक) काठमाडौं आएका थियौं । अब भन्नुस्, जुन मानिसले आफ्नो नयाँ वर्ष नेपालमा मनाउँछ, उसले नेपाललाई कति मन पराउँछ होला ? 

तपाईं रामको सच्चा भक्त, यहाँको कला संस्कृतिका बारेमा केही भन्न मन छ ?

अस्ति म यहाँ आउँदा यहाँ ऋषिपञ्चमीको धुम थियो । हामीलाई एयरपोर्टबाट सोल्टी होटल पुग्नै गाह्रो भयो । नेपाली महिलाहरू नाचगानमा मस्त थिए । कुन देश कति सम्पन्न छ भन्ने कुरा त्यो देशले आफ्नो भाषा, संस्कृति र पर्वहरूलाई कसरी संरक्षण गरिएको छ भन्ने कुरामा पनि भर पर्छ । 

 

मैले यहाँका महिलाहरूले तीज पनि धुमधामसँग मनाएको चाल पाएको थिए । यी सबै देखेर मैले गाडीमै नेपालको संस्कृतिका बारेमा कुरा गरिरहेको थिएँ । ऋषिपञ्चमीको नाम मैले पनि सुनेको रहेनछु । जबकि, म यस्ता कुरामा विशेष ध्यान दिन्छु । अब सीताजी नै यहीँ जन्मनुभएको हो भने यस विषयमा म अरू के भनूँ ? म नेपालको कलासंस्कृतिको अझै विकास होस् भन्ने चाहन्छु । 

तपाईं अहिले भारत सरकारको प्रभावशाली व्यक्तिमध्ये पर्नुहुन्छ । तपाईंको पार्टी सरकारमा छ । भारतले प्रगति गरिरहेको छ, तर छिमेकी देश नेपालको प्रगतिको गति सुस्त हुँदा कस्तो महसुस गर्नुहुन्छ ?

साह्रै दु:ख लाग्छ । मलाई लाग्छ, कुनै पनि भारतीय नेपाल अविकसित भएकोमा खुसी हुन सक्दैन । नेपालको आन्तरिक कुरामा बोल्न मलाई पार्टीले पनि दिँदैन र सरकारले पनि दिँदैन । त्यसैले मसँग राजनैतिक प्रश्नचाहिँ नसोध्नु होला । 

तै पनि हृदयदेखि एउटा कुराचाहिँ बोल्न मन लाग्छ । त्यो के भने गएको २५ वर्षमा नेपालमा २२ पल्ट सरकार परिवर्तन भयो रे, यदि यो सत्य हो भने विकास किन भएन, कारण यसैमा छ । सरकार स्थायी भएन भने एउटा सरकारले काम गर्ने योजना बनाउँदा बनाउँदै सरकार ढल्छ, अनि अर्को सरकारले फेरि नयाँ तरिकाले काम गर्न खोज्छ । त्यो सरकार पनि ढलेपछि त कुरै बिग्रिहाल्यो नि । मेरो विचारमा कुनै पनि सरकारले स्थायित्व कायम गर्न सक्नुपर्छ । 

 

तपाईं लोकप्रिय नायक मात्र होइन, राजनीतिज्ञ पनि हुनुहुन्छ । नेपालको आन्तरिक राजनीतिमा भारतको...?

प्लिज यो कुरा गर्दै नगरौं । म यहाँ अभिनेताका रूपमा आएको छु । मैले राजनैतिक कुरा गर्न मिल्दैन । 

 

ठीक छ, फिल्मकै बारेमा कुरा गर्दा पनि बलिउडका धेरै फिल्म विदेशमा सुटिङ हुन्छ, त्यो सुटिङ नेपालमा गर्न मिल्दैन ? 

अवश्य मिल्छ, तर नेपालले बलिउडलाई आकर्षित गर्न केही प्याकेज दिनुपर्छ । जस्तो म एकपटक उत्तर प्रदेशको फिल्म बोर्डको अध्यक्ष भएको थिएँ । त्यतिबेला बलिउड फिल्मको ५० प्रतिशतभन्दा बढी सुटिङ उत्तर प्रदेशमा भयो भने अनेकौं सुविधा प्रदान गर्ने घोषणा हामीले गर्‍यौं । त्यो निर्णयले उत्तरप्रदेशमा धेरै फिल्मले सुटिङ गरे । नेपाल सरकारले पनि बलिउडका फिल्मलाई नेपालमा आकर्षित गर्न होटलमा छुट दिन सक्छ । 

सुटिङ स्पटलाई चाहिने सामग्रीमा सहयोग गर्न सक्छ । मैले सुनेअनुसार नेपालमा फिल्म सिटीसमेत छैन । जबकि अहिले निकै राम्रा नेपाली फिल्म बन्न थालेका छन् । ‘लुट’ भन्ने फिल्मको नाम त मैले धेरै पटक सुनेको छु ।

यहाँका प्रतिभा बलिउडमा पनि रुचाइन्छन् । सौन्दर्यका हिसावले माला सिन्हा र मनीषा कोइरालाको म फ्यान नै हुँ । नेपालीहरूको यस्तो कुरा बलिउडलाई थाहा छ, तर बलिउडलाई नेपालतर्फ आकर्षित गर्न व्यवहारिक नीति तयार गर्न सक्नुपर्छ । 

 

तपाईंको बोल्ने तथा लगाउने शैलीको आफ्नै पहिचान छ, कसरी यस्तो पहिचान बनाउनुभयो ?

म सानैदेखि कलाकार बन्न चाहन्थेँ । मैले कहिल्यै कसैको कपि गरिन । म आफ्नै मौलिक शैली निर्माण गर्न चाहन्थें । यही कारणले मैले जे लगाएँ, त्यो मेरो डिजाइन हुन पुग्यो । मैले जे बोलें त्यो फिल्मी डाइलग हुन पुग्यो । मेरा कुनै पनि कुरा बनावटी छैनन्, नेचुरल छन् । जब म कुनै पहिरन लगाउँछु, त्यो पहिरन पछि गएर विहारी डिजाइन बन्न पुग्छ । 

 

तपाईं ७० वर्ष पुग्नुभयो तर तपाईंको स्वास्थ र उठबस अझै युवाको जस्तै रसिक लाग्छ । यसको रहस्य के हो ?

म आफ्नो वरिपरि मुस्कुराइ रहने मानिसहरू हेर्न चाहन्छु । लौ हेर्नुस् (वरपर भएका युवतीहरूतर्फ देखाउँदै) यहा पनि मैले वरपर हाँसिरहने सुन्दरी राखेको छु । म नियमित योग एवं ध्यान गर्छु । खाना थोरै खान्छु । त्यसपछि जमेर व्यायाम गर्छु ।

 

मानिसहरू धेरै खान्छन्, थोरै व्यायाम गर्छन् । म थोरै खान्छु, धेरै व्यायाम गर्छु । यही कारणले म अरूभन्दा फरक छु । मुख्य कुरा योग हो । बाबा रामदेव टेलिभिजनमा देखिनु अघि नै मैले योगको महत्व बुझेँ । मेरो एउटा बानी के छ भने कुनै राम्रो कुरा छ भने त्यसलाई म ह्दयदेखि नै स्वीकार गर्छु । 

 

तपाईं चलचित्रमा लोकप्रिय हुँदाहुँदै राजनीतिमा आउनुभयो । अहिले राजनीतिबाट हेर्दा त्यो लोकप्रियतालाई कसरी हेर्नुहुन्छ ? आफूलाई कहाँ पाउनुहुन्छ ?

म आफूलाई भाग्यमानी मान्छु । चलचित्रमा म लोकप्रिय थिएँ, इज्जत कमाएको थिएँ । राजनीतिमा पनि मैले त्यो लोकप्रियता गुम्न दिइन । जमेर जनताको कुरा उठाएँ । जनताले चाहेको जस्तो काम गरेँ । कतिपय साथीहरू अहिले बलिउडमा गुमनाम छन् । मलाई अहिले पनि जनताले चिन्छन् । किनभने म जनताका बीचमा छु । मैले आफूलाई धेरै फरक पाएको छैन । म त्यहाँ पनि लोकप्रिय थिएँ, यहाँ पनि लोकप्रिय छु । 

 

कहिलेकाहीँ आफ्नै पार्टीभित्र लडाइँ गर्नुहुन्छ, किन ?

किनभने मलाई राजनीति गरेर पैसा कमाउनु छैन, कुनै फाइदा लिनु छैन । भगवान् रामको कृपाले मेरो सात पुस्तालाई पुग्ने पैसा फिल्म इडस्ट्रीले दिएको छ । जब मेरो मनले यो कुरा ठीक छैन भन्ने मान्छ, म आफ्नै दलभित्र पनि संघर्ष गर्छु अर्थात् कुरा बाहिर ल्याउँछु ।

 

मलाई पार्टीले कारबाही गर्ला भन्ने डर लाग्दैन । तपाईंलाई मैले केही राजनैतिक कुरा पनि गरेँ, किनभने मलाई बोल्न मन लाग्यो । म मनको कुरा सुन्ने मानिस हुँ । सेतोलाई कालो र कालोलाई सेतो भन्न नजान्ने मानिस हुँ । राजनीतिमा धेरैजसो स्वार्थको लडाइँ हुन्छ । मानिसहरू त्यो ठाउँमा पुगेपछि सत्य कुरा भन्न सक्दैनन् तर मलाई त्यस्तो कुनै बाध्यता छैन । 

 

 

प्रकाशित :भाद्र २८, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्