चीनमा न्हुँको संगीत

- किशोर नेपाल

भाद्र २६, २०७३-  

न्हुँ बज्राचार्य । न्हुँ अर्थात् मुस्कान । मुस्कान पनि मन्द–मन्द । आफ्नो सांगीतिक मुस्कानले मानिसलाई निराशा वा अवसादहरूबाट पूर्ण मुक्ति दिने सर्जक, संगीतकार । प्रयोगधर्मी, कल्पनाशील र सरल व्यक्तित्व । न्हुँ को एक मात्र परिचय यही हो । उनी विनयशील छन् । संस्कृत भाषामा लेखिएको ‘प्रज्ञा पारमिता ह्दयसूत्र’ लाई संगीतबद्ध गरेर उनी आफूलाई मात्र होइन, संगीतका पारखी सबैलाई सन्तुष्टि दिन्छन् । 


संस्कृत, नेपाली, तिब्बती तथा अंग्रेजी भाषामा अविरल संगीत सिर्जना गर्ने यी संवेदनशील संगीतज्ञ बितेको दिसेम्बर महिनादेखि लोकप्रिय गायिक आनी छोइङ डोल्मासँग मिलेर चिनियाँ संगीत संयोजनमा लागेका छन् । सानै उमेरमा विश्व संगीतको राम्रो परख गरेका न्हू जुनसुकै भाषामा संगीत संयोजन गर्न सक्षम छन् । संगीतलाई दार्शनिक परिवेशमा उभ्याउँदै उनी व्याख्या गर्छन्, ‘त्यसै पनि संगीत आफैंमा युनिभर्सल भाषा हो । शब्द चेतना हो, संगीतले त्यो चेतनालाई मानिसको मस्तिष्कमा संचारित गर्छ । संगीत सुन्ने गुणी मानिसले त्यसलाई आत्मसात् गर्छ र आनन्दित हुन्छ ।’


‘संसारमा धेरै भाषा छन् । किन रोज्यौ त चिनियाँ भाषा ?’ बिना कुनै संकोच र दम्भ न्हुँ चिनियाँ भाषा र संगीतको विशाल बजारलाई संकेत गर्छन् ।
‘त्यसो भए न्हुँ  पनि अब म्युजिक मेकिङबाट मनी मेकिङमा लाग्यो ?’
‘त्यो पनि चाहिने रहेछ । मनी पनि जीवन र संगीतको एउटा महत्वपूर्ण फ्याक्टर रहेछ । नेपाली संगीतकारहरूले अहिले आएर यो कुरा बुझ्न थालेका छन् । म रेडियो नेपालमा पहिलो पटक रेकर्डिङ गर्न जाँदाको समयमा एउटा संगीतकारले जम्मा २० रुपैंयाँ पारिश्रमिक पाउँथ्यो । सार्वजनिक उत्सवहरूमा गाउँदा कसैले पैसा दियो भने हामी आफू अपमानित भएको मान्थ्यौं । अहिले त्यो परिस्थिति छैन । सामाजिक परिवर्तनसँगै संगीत पनि पेसा र व्यवसायको हैसियतमा आएको छ । चिनियाँ संगीत संयोजन गर्न थालेपछि पैसा पनि आउन थालेको छ । सुरुवात राम्रो छ ।’


न्हुँ र आनीले चिनियाँ र मले भाषा बोलिने सिंगापुरमा गएको दिसम्बरमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । यो वर्ष जनवरीमा उनले मलेसियामा कार्यक्रम गरे । त्यसपछि संयुक्त राष्ट्रसंघ र हङकङमा कार्यक्रम गरेपछि बेइजिङ, ताइवान र तिब्बतको युशु (खम्पा जातिको बसोबास भएको भूमि) तथा लाङझाउमा उनका कार्यक्रमहरू आयोजित भए । 
सांघाई सहरमा न्हुँ र आनीका दुईवटा गीतको रेकर्ड गरिए । चेन्दू प्रान्तमा आनीले गाएको ‘बटुवा हुँ बटुवा’ सुपरहिट भयो । चिनियाँ भाषामा संगीत संयोजन गर्दाको अनुभव सुनाउँदै न्हुँ  भन्छन्, ‘चिनियाँ र नेपाली संगीतको ध्वनि, लय र ताल मिल्छन् । अलिकति फरक के भने संगीतका महिला श्रोताहरूले भाव मात्र अनुभूत गरेझैं लाग्ने ।’


न्हुँ र आनीले चीनमा नेपाली संगीतको नयाँ बजार फेला पारेका छन् । यो बजार यी दुई व्यक्तित्वमा मात्र सीमित हुने होइन । न्हू आफैंलाई लागेको थियो, त्यो बजारमा उनको आफ्नै संगीतले तहलका मच्चाउला कि नमच्चाउला, ‘चीन जानुभन्दा अघि म जे सोचेर त्यहाँ गएको थिएँ त्यो भन्दा धेरै फरक थियो चीन । त्यहाँ मैले व्यापक परिवर्तन आएको पाएँ । 


त्यो मेरा लागि आश्चर्यजनक थियो । चिनियाँहरूले हाम्रो संगीतमात्र होइन, बिस्तारै नेपाली गीतहरू पनि मन पराउन थालेका छन् । राजनीति आफ्नो ठाउँमा होला, तर कला र संगीतको क्षेत्रमा त्यसको प्रभाव देखिएन । आनीले चिनियाँ भाषामा गाएको एउटा गीतमा ‘ओम मनि पद्मे हूँ’ मन्त्रको उपस्थिति थियो । उक्त गीतले मानिसहरूको आत्मालाई छोएको अनुभव गरें मैले ।’


गोपाल योञ्जन, दिव्य खालिङ र प्रकाश गुरुङ पछिको पुस्ताका प्रतिनिधि संगीतज्ञ हुन न्हुँ । ती संगीतकारहरू हार्मोनियमको बेसमा संगीत सिर्जना गर्थे, तर न्हुँले सधैं गिटारसँग खेले । उनले गिटारको बेसमा गीत–संगीतको संयोजन गरेको देखेर हेर्नेहरू छक्क पर्थे । न्हुँ सुरुदेखि नै प्रयोगवादी थिए । उनले अहिलेसम्म ५ सयभन्दा बढी गीतमा संगीत संयोजन गरिसकेका छन् । 


तीमध्ये एकसय गीत कवि तथा सर्जक दुर्गालाल श्रेष्ठले रचना गरेका छन् । गीत–संगीतमा जहाँ–जहाँ सम्भव छ त्यहाँ–त्यहाँ प्रयोग गरेका छन् उनले । संगीतमा सर्वोत्कृष्ट प्रयोगकर्ताको नाम लिँदा उनी गोपाल योञ्जनको सम्झना गर्छन् । बज्राचार्य भन्छन्, ‘गोपाल योञ्जन मेरा लागि आदर्श संगीतज्ञ हुन् । उनी सधंै नयाँ रहे । उनका गीत कहिल्यै फेल खाएनन् ।’


‘परिवर्तनसँगै तरंगित हुन्छ संगीत,’ न्हुँ भन्छन्, ‘अहिलेको पुस्ताले मास्टर रत्नदास प्रकाशको गीत ‘फिल’ गर्न जानेन भने के गर्ने ? संगीत संयोजक हुुनु र कवि हुनु उस्तै हो । कविले संगीतका लागि वातावरण तयार गरिदिन्छ । त्यही वातावरणमा संगीत निर्माण हुन्छ । संगीत मानिसको दिमाग हुँदै आत्मामा प्रवेश गर्छ । ध्वनि आफैंमा केही होइन । त्यसको आधार हो भिजन । रविशंकरले सितार बजाउँदा उनी सितारका राजा हुन्छन्, मैले गितार वजाउँदा म गिटारको राजा हुन्छु ।’

 

न्हुँ भन्छन् : ‘आधुनिक संगीत कुनै पनि अनुशासनमा बाँधिदैन । लोक संस्कृति, भजन, वाल्ट्ज, शास्त्रीय सवै प्रकारका संगीतको फ्युजन हुन्छ आधुनिक संगीतमा । बच्चु कैलाशले वाल्ट्जमा प्रयोग गरेका थिए । मेरो आफ्नै संगीतमा ल्याटिन, ज्याज, ब्ल्यूज, रक तथा शास्त्रीय संगीतहरूको फ्युजन हुन्छ । संगीत अनुशासनमा नबाँधिए पनि गाउने मानिस संगीतको अनुशासनमा बाँधिन्छ नै । 

 

यति हो कि ऊ बन्धनको घेरामा हुँदैन । संगीतकारको संगीतमा बनेका गीत गाएर गायक–गायिकाहरू लोकप्रिय हुन्छन्, तर संगीतकार भने अलिकति पनि चर्चामा आउँदैन । गायक–गायिका संगीतका अनुहार हुन् । दर्शक वा श्रोताहरू गायक–गायिकामा फोकस हुनु अलिकति स्वाभाविक हो र अलिकति उनीहरूको अज्ञानता हो । संगीतकारको काम स्टुडियोमा सीमित हुन्छ । 


न्हुँ परिवर्तनमा बढी केन्द्रित छन् । उनी त्यतिबेलाको फ्रिक स्ट्रिट झोंछेंमा हुर्किएका थिए । अंग्रेजी गीत र संगीतले कोलाहलमय बन्थ्यो त्यसबेलाको झोंछे । परिवर्तनको त मुहान नै फुटेको थियो । त्यतिबेलादेखि अहिलेसम्म संगीतको विश्व रंगमञ्चमा ठूला–ठूला उथलपुथल आइसकेका छन् । पश्चिमी संसारमा नयाँ पुस्ताको संगीत आइसक्यो । उनी त्यससँग अझै ‘अपडेट’ भैसकेका छैनन् । उनको यौवन विटल्स, बब डायलन, बब मार्ले र टिना टर्नरहरूको गीत सुनेर बित्यो । 

त्यतिवेला उनको आफनै ब्यान्ड पनि थियो । माइकल ज्याक्सनको उदयपछि त्यो ब्यान्डको अस्तित्व सकियो । माइकल ज्याक्सन जुन हिसाबले संगीत संसारमा प्रवेश गरेका थिए त्यसले संगीतका अपेक्षाहरूलाई ह्वात्तै बढाएका थियो । ‘योगेश्वर अमात्यका गीत नेपाली संगीतमा परिवर्तनका प्रतीक हुन् । हाम्रो समाज परिवर्तन भैसक्यो । तैपनि दोष लगाउने र खोट देखाउनेहरूको कमी छैन,’ न्हुँ भन्छन् । नेपालमा ब्यान्ड राम्रा भए पनि ती सबै सिंगर फोकस्ड भए । योगेश्वरचाहिँ वन म्यान ब्यान्ड हुन् । 


‘नेपाली संगीतको क्षेत्रबाट अहिले नै ठूला अपेक्षा राख्नु हुँदैन । हाम्रो मार्केट सानो छ । यहाँ भयंकर ठूलो स्टुडियो खोल्नु पनि व्यवहारिक हुँदैन । नेपालले संगीतमा आफ्ना सम्भावना खोज्न सकेको छैन । अहिले जनताको स्तरमा दोहोरी गीत लोकप्रिय छ । मलाई दोहोरी गाउन आउने भए कति गाउँथे होला ? मलाई लागेको छ, दोहोरीको महत्व अझ बढाउनुपर्छ ।

 

त्यसका लागि यसलाई उच्चाहट लाग्ने तहसम्म पुग्ने मेलोडीलाई स्मार्ट बनाउनु आवश्यक छ । यस विषयमा सोच्न ढिला गर्नु हुँदैन,’ न्हुँको भनाइ छ । अन्तिम प्रश्न— समग्रमा के भो त प्राप्ति ? न्हुँ — हामीले बनाएका र गाएका गीतहरू सेन्सर हुन्थे । अहिले खुला संस्कृति छ । स्वतन्त्र समाज छ । यो भन्दा आत्म–सन्तोषको कुरा अरू के हुन सक्छ ?

प्रकाशित: भाद्र २६, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्