हामी आफ्नो संस्कार बिर्संदैछौं

- अश्विनी कोइराला

भाद्र २१, २०७३

 

नेपालमा विभिन्न किसिमका सांगीतिक ब्यान्ड सक्रिय छन्, तर आध्यात्मिक ब्यान्डको प्रयोगलाई भने नितान्त नौलो मान्नुपर्छ । अर्जुन बाबु (लामा) र नवराज पाण्डेको दिव्य सेवा सांगीतिक ब्यान्ड यस्तै नौलो प्रयोगमा जुटेको छ । यो ब्यान्डले हिन्दू धर्मावलम्बीहरूले मनाउने जन्मदेखि मरणसम्मका कार्यक्रममा भजन प्रस्तुत गर्छ ।

 

बुद्ध धर्मावलम्बीहरूको पर्वमा त्रिपिटकको भाका हाल्छ र आवश्यक परे बाइबल र कुरानका आयातमा पनि संगीत भर्छ । भारत, दुबई र हङकङबाट समेत निमन्त्रण प्राप्त गर्न थालेको यो समूह मन्दिरमा पूजापाठ गर्दा पनि उपस्थित हुन्छ र व्यक्तिगत विवाह–व्रतबन्धमा पनि भक्तजनलाई नचाउँछ ।

 

यो ब्यान्डले आमा समूहलाई संगीत सिकाएर आफूजस्तै भजन मण्डलीसमेत तयार पार्दैछ । भदौ ३० गतेदेखि युएईको समुिद्रक जहाजमा हुने एक साता लामो श्रीकृष्ण सत्संगमा यो समूहले विशेष प्रस्तुति दिने भएको छ । नेपाली संगीतमा व्यवस्थित रूपमै नयाँ धार भित्र्याउने दिव्य सेवा सांगीतिक समूहका संयोजक अर्जुन बाबुसँग साप्ताहिकले लामो कुराकानी गरेको थियो । 

 

खासमा आध्यात्मिक ब्यान्डको आवश्यकता किन पर्‍यो ?

संगीतका विविध आयाम हुन्छन्, तीमध्ये एउटा भक्ति संगीत पनि हो । संगीतले हँसाउँछ, रुवाउँछ, उत्साह दिन्छ, भावुक बनाउँछ भन्ने कुरा सबैलाई थाहा छ, तर यसभित्र भक्ति फुटाउने शक्ति पनि छ भन्ने कुरा धेरै कमलाई थाहा छ । हाम्रा शास्त्रहरूमा संगीतलाई ईश्वरसँग जोड्ने शक्ति भएको उल्लेख गरिएको छ । आजभोलि यस्ता कुरामा विश्वास गरिँदैन । हामीले शास्त्रका कुरामा सत्यता छ कि छैन भनेर अनुसन्धान गर्‍यौं र व्यवहारिक रूपमा त्यसको प्रयोग गर्‍यौं ।

 

हाम्रो ब्यान्डका सदस्यहरू गाउँदा–गाउँदै त्यो अवस्थामा पुग्नुभयो । त्यसपछि हामीले खुला समूहमा यसको प्रयोग गर्न थाल्यौं । जब हाम्रो संगीत सुन्दासुन्दै मानिस ‘नो माइन्ड’ को अवस्थामा पुगे, शास्त्रको कुरा सत्य प्रमाणित भयो । त्यसपछि नै यसलाई एउटा अभियान बनाएर अघि बढेका हौं । 

 

तपाईंको संगीत सुन्दा हिन्दू भजन मण्डलीजस्तो लाग्छ । हिन्दू धर्मको प्रचारमा लाग्नुभएको हो ?

भक्ति संगीत कुनै सम्प्रदायसँग नजिक हुँदैन । तपाईंले बाटोतिर निधारमा चन्दन लगाएर धेरै युरोपियन–अमेरिकनहरूलाई ‘हरे राम हरे कृष्ण’ भन्दै नाच्दै–गाउँदै हिँडेको देख्न–सुन्न सक्नुहुन्छ । भक्ति संगीतको प्रारम्भ पूर्वबाट भएकाले उनीहरूले हरे राम हरे कृष्ण भन्दै हिँड्दा हिन्दू धर्मको प्रचार गरेजस्तो लाग्न सक्छ । वास्तवमा उनीहरू भक्ति संगीतबाट ओतप्रोत भएका हुन् । हामी कुनै सम्प्रदायमा बाँधिन चाहँदैनौं ।

 

त्यसैले गुम्बामा पनि हाम्रो प्रस्तुति हुन्छ, मन्दिरमा पनि हुन्छ र व्यक्तिगत घरमा पनि यस्ता कार्यक्रम हुन्छन् । हामी चर्च र मस्जिदमा पनि आफ्ना प्रस्तुति दिन्छौं र उनीहरूको आस्थाअनुसार हाम्रो संगीतले उनीहरूले मान्ने गरेको ईश्वर–अल्लाह आदिलाई महसुस गरून् भन्ने चाहन्छौं । त्यसैले पनि हामीले आफ्नो संगीतलाई आध्यात्मिक संगीत नाम दिएका हौं । 

 

अरू सांगीतिक ब्यान्ड र तपाईंहरूको सांगीतिक ब्यान्डमा के फरक छ ?

अरू संगीतले तत्काललाई रमाइलो दिन्छन् तर हाम्रो प्रस्तुतिले मानिसलाई गहिराइमा लान्छ । हाम्रो प्रस्तुति शास्त्रीय संगीतका आधारमा तयार भएकाले सुरुमा यो सामान्य लाग्न सक्छ । जब कसैले हाम्रो प्रस्तुति सुन्दै जान्छ, ऊ आफैंभित्र डुब्दै जान थाल्छ । ऊभित्र पनि भक्ति प्रस्फुटित हुन थाल्छ । त्यसपछि असली संगीत के हो, महसुस हुन्छ । 

 

संस्कृत भजनहरू सुन्दा र नेपाली बोल्दा तपाईं लामाको छोरा भन्ने लाग्दैन नि, किन होला ?

संस्कृतका शब्दले हाम्रो जिब्रो तेजिलो हुन्छ । हाम्रो भाषाको जननी संस्कृत भएकाले त्यसले शब्दको भाव, भङ्गिमा लय सबै दुरुन्तै टिप्दो रहेछ । मलाई धेरैले लामाको छोरो भन्दा पत्याउनु हुन्न । आजभोलि मलाई के लाग्न थालेको छ भने हाम्रो भाषा यति गहकिलो, प्राज्ञिक र संगीतमय भए पनि किन यसको माउ भाषा संस्कृतलाई हामीले मास्यौं ? हिन्दू धर्मभित्र यति ठूलो दर्शन छ, यसलाई किन हामीले महत्व दिन छाड्यौं ?

कतै हामी आफ्नो सम्पदा मास्नतिर त लागेका छैनौं ? हुन त मभन्दा धेरै ठूला विद्वान्हरू यो देशको भाषा र संस्कृतिमा काम गरिरहनुभएको छ । म एउटा गायकले यस्ता कुरा गर्न मिल्छ कि मिल्दैन, भन्न सक्दिनँ । तैपनि के लाग्छ भने हामीसँग ठूलो सम्पदा छ । म जति–जति गहिरिँदै जाँदैछु, हिन्दू धर्मका गम्भीर कुराले अझ बढी आकृष्ट हुँदैछु । 

 

सानैदेखि भक्ति संगीतमा लाग्ने रुचि थियो ?

मेरो प्रतिभा केमा छ म आफैंलाई थाहा थिएन । प्लस टुमा छँदा एकपल्ट मैले सार्वजनिक कार्यक्रममा नारायणगोपालको गीत गाएको थिएँ । सबैले मलाई तिम्रो स्वर नारायणगोपालको जस्तै छ, संगीत सिक भनेर कर गरे । म सामान्य कृषकको छोरा, आमा–बुवा पढ्नुभन्दा खेती–किसानी गरे हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो ।

 

सकेसम्म पढाउनु नपरोस् भन्ने आमा–बुवासँग विद्रोह गरेर मैले घर नै छाडेको थिएँ । कलेज पढ्ने खर्च जुटाउन झोलुङ्गे पुल बनाउने कम्पनीमा काम गर्थें । त्यति बेला मलाई संगीतका बारेमा त केही थाहा थिएन, भक्ति संगीत, शास्त्रीय संगीत आदि त धेरै टाढाको कुरा । 

 

संगीतको अध्ययन कसरी सुरु गर्नुभयो ?

मैले कलानिधि इन्दिरा संगीत महाविद्यालयबाट संगीत सिक्न थालेको हुँ । चण्डीप्रसाद काफ्लेको सानिध्यमा रहेर मैले संगीतमा स्नातकोत्तर गरें । दिनभरि फलाम वेल्डिङ गर्ने काम गर्थे । आगोको रापले कहिले आँखा दुख्थ्यो, कहिले अनुहारको छाला उप्कन्थ्यो । धेरै थाकेको मानिसले संगीतमा ठूलो साधना पनि गर्न सक्दैन । तैपनि म बिहान ३ बजे नै उठेर बिहान ६ बजेसम्म दैनिक ३ घन्टा साधना गर्थे । यसले मेरो प्रतिभा निखार्दै गयो । संगीतको अध्ययन सकेपछि म होटलहरूमा गाउन थालेँ । त्यतिबेलासम्म भक्ति संगीतमा लागौंला भन्ने सोच थिएन । 

 

भक्ति संगीतको सोचचाहिँ कसरी आयो ?

मेरा गुरु आफैंमा योगीजस्तो हुनुहुन्थ्यो । विवाहित भए पनि ब्रह्मचारीजस्तो जीवन बिताउनुहुन्थ्यो । उहाँ स्वामी प्रपन्नाचार्यको आश्रममा गैरहनु हुन्थ्यो । बेला–बेलामा हामी पनि त्यहाँ पुग्थ्यौं । प्रपन्नाचार्यको कथा र जीवनप्रतिको सोच सुनेर हामी छक्क पथ्र्याैं ।

 

त्यतिबेला म बौद्धको ५ तारे होटल हयात रिजेन्सीमा गाउँथे । त्यहाँ आउने पाहुना निकै सम्य र संगीत मन पराउने हुँदाहुँदै पनि रक्सीको नशा चढ्न थालेपछि उहाँहरू आफैंमा हराउन थाल्नुहुन्थ्यो, जसले गीत सुन्ने अफर गर्नुहुन्थ्यो, उहाँहरू गीत सुनाउने बेलासम्म अरूतिरै मग्न भैसकेको हुनुहुन्थ्यो । मलाई लाग्यो, मैले यत्रो वर्ष संगीतमा गरेको साधनाको अपमान गरिरहेको छु । त्यसपछि चर्चित गायक हुने, एल्बम निकाल्ने सोच पनि मर्दै गयो । त्यसमाथि एकजना महिलाको संगतले म पूरै परिवर्तन भएँ । 

 

कस्ती महिला ?

मेरो गायन क्षमता देखेर एक जना धनाढ्य महिला मेरो संगतमा आएकी थिइन् । मेरो क्षमताबाट उनी यति प्रभावित भइन् कि उनले मलाई तानपुरा, हार्मोनियम तथा गितार किनिदिइन् । त्यति बेला मसँग त्यति पैसा हुँदैनथ्यो । एउटा साधकका लागि यी सामग्रीको महत्व त्यो व्यक्तिलाई मात्र थाहा हुन्थ्यो । उनको त्यस्तो माया देखेपछि म पनि पग्लिएँ ।

 

उनका श्रीमान् देशबाहिर बस्ने र उनीसँग सम्बन्ध पनि बिग्रिसकेका कारण म उनीसँगै बस्न थालेँ । मलाई लाग्यो, अन्य धेरै गायक–गायिकालाई उद्धार गर्न कोही व्यक्ति आएजस्तै ती महिला पनि मेरो जीवनमा आइन् । अब मेरो सांगीतिक जीवन सरल हुन्छ । त्यसपछि म संगीतमा अझ बढी खट्न थालेँ, तर भाग्यमा अर्कै कुरा रहेछ । एक दिन एउटा व्यक्तिगत निहुँमा उनी मसँग रिसाइन् । उनले ती सबै सामग्री टुक्रा–टुक्रा पारिदिइन् । त्यति मात्र होइन, घरबाट १ लाख ६० हजार चोरेको भनेर प्रहरीमा रिपोर्ट गरिदिइन् । स्वभाविक रूपमा कानुनले महिलाको कुरा सुन्छ । म समाजका अगाडि अपराधी भएँ । घरले पनि म निर्दोष छु भनेर विश्वास गरेन ।

 

म घर जान पनि सकिनँ, काठमाडौंमा पनि बस्न सकिनँ । संगीत छाडेर गुल्मीमा एक्साभेटर चलाउन थालेँ । फोनमा उनको धम्की आउँथ्यो । प्रहरीले पनि खोजी गरिरहेको थियो । दुई वर्ष भागी–भागी बिताएँ । अन्त्यमा केही सीप नलागेपछि सदरमुकाममा सिडिओ अफिस पुगी आत्मसमर्पण गर्दै यथार्थ कुरा बताएँ ।

 

पछि यथार्थ कुरा खुल्यो । म निर्दोष देखिएँ । यो घटनाले मलाई पूरै परिवर्तन गर्‍यो । मभित्र भक्ति संगीत प्रस्फुटित हुन थाल्यो । म मन्दिर गएर आमा–दिदी बहिनीहरूसँग गीत गाउन थालेँ । संगीतको आकर्षणले मानिसहरू जम्मा हुन थाले । अन्त्यमा तबलावादक नवराज पाण्डेसँग भेट भएपछि भने यसलाई व्यवस्थित ब्यान्ड बनाएँ । 

यो ब्यान्डले अहिले के–के गर्छ ?

नारायणगोपाल संगीतका हस्ती थिए, तर उनीपछि नारायणगोपालको पदचाप पछ्याउने कति छन् ? उनले कति चेला उत्पादन गरे ? इतिहास खोतल्ने हो भने नारायणगोपाल जन्मिए, कालजयी गीत गाए तर आफूसँगै आफ्नो प्रतिभालाई पनि लिएर गए । अहिले रामकृष्ण ढकाल, राजेशपायल राई, शिव परियार, प्रमोद खरेलहरूको युग छ ।

 

उहाँहरूले कति विद्यार्थी जन्माउनुभयो ? उहाँहरूको पदचिह्न पछ्याउने कति गायक–गायिका छन् ? खोज्दा धेरै पाइँदैनन् । हरेकको एउटा समय हुन्छ । उनीहरूले नाम–दाम कमाउँछन् र हराउँछन् । यद्यपि हरेकले आफ्नो एउटा धरोहर निर्माण गर्नुपर्छ र आफूपछि त्यसको निरन्तरता होस् भन्ने कुरामा ध्यान दिनुपर्छ । म हराउन चाहन्नँ । भक्ति संगीतको एउटा युग सुरु गर्न चाहन्छु । हरेक घरमा एक थान हार्मोनियम, तबला र तानपुरा होस् अनि सबैले संगीतको थोरबहुत ज्ञान प्राप्त गरुन् ।

 

यसो गर्दा मानिस आफै सात्विक, नैतिक र आध्यात्मिक हुन थाल्छ । हामी भक्ति संगीत मात्र प्रस्तुत गर्दैनौं, संगै भक्ति संगीतका विद्यार्थी पनि उत्पादन गर्छौ । भोलि हामी नरहँदा पनि नेपालमा भक्ति संगीत नमरोस् । अहिले केही भजन मण्डली छन्, तर ती संगीतले मानिसलाई रुवाउँदैन, नो माइन्डमा पुर्‍याउँदैन । हामी त्यस्तो समूह तयार पार्नेछौ, जसले हाम्रो अनुपस्थितिमा पनि हाम्रो आभास दिलाओस् । 

 

बेला–बेला भारत पनि जानुहुन्छ । भारतमा भक्ति संगीतको अवस्था कस्तो छ ?

हामीलाई तीन पटक चौधरी ग्रुपले आफ्नो प्रस्तुतिका लागि बोलाएको थियो । ती प्रस्तुति यति बेजोड भए कि भारतबाट पनि बोलावट सुरु भयो । त्यसपछि नै हाम्रो समूहलाई भारतबाट पनि निम्तो आउन थालेको हो । हामीले चण्डीगढमा दुई महिना भक्ति संगीत प्रस्तुत गर्‍यौं । भारतमा भक्ति संगीतको स्थिति धेरै माथि छ । उनीहरूले आफ्नो संस्कारलाई जोगाएर राखेका छन् । त्यहाँ भक्ति संगीतको ठूलो इज्जत छ, तर हामी भने भएको संस्कार पनि बिर्संदै छौं । 

 

प्रकाशित :भाद्र २१, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्