अमेरिकाको तीज

- श्रद्धा श्रेष्ठ “बिमला”

भाद्र २०, २०७३- 

घरबाट सात समुन्द्र पारी । एक्लै यो पराईको भूमीमा, भोक तिर्खा नभनी, काम गर्दै पढ्दा कस्लाई पो घरको याद नआउला र ? अझ चाडपर्ब आउँदा त मन खुम्चिएर कति सानो हुन्छ । अनि सोच्छु, प्रबिधिले यती सम्म प्रगती गरोस कि आवाज मात्र हैन, स्वयं मानिस नै आफुसामु ल्याईदियोस् आउला नि कुनै दिन । अरु बेलामा त काम र कलेजले गर्दा दिमाग खाली रहन पाउँदैन, ठिकै थियो । तर जब चाडपर्वमा पनि त्यस्तै पेलिनु पर्थ्यो, मन त्यसै खिन्न हुन्थ्यो, अनि मुटु भन्दा बेस्सरी आँखाहरु बोल्थे, रुन्थें । घरबाट टाढा भएको यो दुई बर्षमा घर सम्झेर म कती रोएँ, कति, लेखाजोखा नै छैन । बिशेष दशैं तिहार अनि तीजमा त म आफू मात्र एक्लै हैन अरुलाई पनि रुवाउँथे  । घरमा फोन गरेर आमा, बहिनीहरु उता रुने, म यता रुने । यो पालीको तीजमा पनि म संग त्यस्तै एउटा बाटो थियो अनि अर्को अलिकती बेग्लै थियो । म जस्तै पराईको भिडमा नेपाली मनहरु खोज्नेहरुको एउटा समुह छ, फेसबुकमा  ।

 

US  Nepal Help Network (UNHN) अमेरिकामा भर्खर नयाँ आउने नेपालीहरुलाई, अमेरिकामा धेरै बर्षदेखि बस्दै आएका नेपालीहरुले आफ्नो अनुभवका आधारमा सहयोग गर्न सकुन भन्ने उद्देश्यले खोलिएको समुह अमेरिकाको भर्जिनियाँ राज्यमा बस्दै आउनुभएका दाजुहरु श्रीहरी अधिकारी, भुवन राई र त्यस्तै टेक्सास राज्यमा बस्नुहुने प्रवेश नेपाल, दिब्सन न्यौपानेको संचालनमा रहेको यो समुहले अमेरिकामा बस्ने थुप्रै नेपालीहरुलाई जोडेको छ । 

 

         र, नेपालीहरुकै लागी थुप्रै उदाहरणीय काम गरेको छ । नयाँ बिद्यार्थीहरुलाई यहाँको नयाँ वातावारणमा कसरी घुलमिल हुने भनेर सिकाउने देखि लिएर धुर्मुश–सुन्तली फाउन्डेशनलाई ३ लाख रुपैंयाँ भन्दा बढी रकम सहयोग गर्ने जस्ता कामहरु यहाँबाट भैरहेका छन् । 

नेपालको विनाशकारी भूकम्प जाँदा त्यहीं मैदानमा उत्रिएर सहयोग गर्ने यो समुहले टेक्सासमा रुशल श्रेष्ठको ज्यान जाँदा पनि सहयोग गरेको थियो । उनको शवलाई नेपाल पठाउने र करीब २० लाख रुपैयाँ उठाएर उनको परिवारको राहतको लागी नेपाल पनि पठाएको थियो । मैले यो सब कुरा किन भनिराखेको भने, यो समुहका सदस्यहरु ठुलो मनका धनी छन् । उनीहरुलाई एकचोटी भेट्ने ठुलो इच्छा पनि थियो ।

 

यो भन्दा राम्रो मौका के होला र भनेर यो पालीको तीज, सबैजना भेटेर टेक्सास राज्यको अर्भिङ्गमा मनाउने प्रस्ताब राखियो । अमेरिकाभरी बिभिन्न राज्यमा छरिएर बसेका थुप्रै सदस्यहरु यस कार्यक्रमका लागी भनेर टेक्सास आउने रहर देखाए ।

 

हामीलाई कार्यक्रमको आयोजना गर्ने थप हौशला मिल्यो  । अन्य राज्यमा हुनेले प्लेनको टिकट काट्न लाग्नुभयो भने हामी यता हल बूकिङ, डिजे, खानपिनको व्यवस्थातिर लाग्यौं । आँटेपछि नहुने के छ र ? 

 

अघिल्लो आईतबार, अगस्ट २१ तारीखमा हामी सबै भेट भयौं । कैयौ दाजुभाईहरुले दिदी, बहिनिहरुका लागी भनेर कोशेली ल्याई दिनुभएको थियो  । आउन नमिल्नेहरुले फेसबुक मार्फत नै तीजको शुभकामना दिनुभएको थियो । रातो र हरियो सारीमा दिदी, बहिनी अनि दौरा सुरुवालमा दाजुभाई सजिएका थिए । तीज त नेपालमा नै मनाएको भन्दा केहि फरक थिएन  । यो माहोल देख्दा एक अर्काको भाईचारा देख्दा कहींकतै पनि लाग्दैन थियो कि हामी सबै फेसबुक गु्रपबाट भेटिएका थियौं भनेर ।

 

हामी करिब १० हजार नेपालीलाई बाँधेर राख्ने UNHN लाई धेरै–धेरै धन्यबाद छ । डिजे दाईले तीजको गीत बजाउनु भएको थियो । हामी सबै जना त्यहि तीजको गीतमा नाच्यौं । पोहोर साल खिन्न भएर रोएको मन यसपाली आफ्ना साथीभाई, अग्रजहरुहरुको बिचमा मस्तसंग नाँच्यो । यसपालीको तीजमा न त आमा रुनु भयो । न त म रोएँ । उल्टो आमाले पठाईदिनुभएको सारी लगाएर सेल्फी खिचेर पठाएँ ।

प्रकाशित :भाद्र २०, २०७३

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्